~रविन साम्पाङ राई~
भुगोल उस्तै छ ।
सगरमाथाले शिर झुकाएको छैन
उ चमचम विश्वको शिर भई चम्किरहेकै छ ।
पूर्खाले कोरेको राष्ट्रको सिमारेखा,
आज पनि उस्तै छ
यौद्धाको रातो रगत अझ तैनाथै छ ।
न त शहिदहरु क्रान्ती गर्न खोज्दैछ
छ त, उनीहरु शहिद गेट मै छ ।
न त गौतम बुद्ध
हातमा तरबार र ढाल बोकेर,
रणमैदानमा उत्रेको छ
छ त उनी, लुम्बनीमा मै छ, उ शान्त छ ।
ऋषीमूनिहरुको तपोभूमि नेपाल
आज पनि उस्तै छ
तपोवनहरु उनीहरुकै राज छ ।
शान्तीको प्रतिक, जोडी सेता परेवाहरु
न त, व्याधाले मार्न सकेको छ,
न त, बाँजले आँट्न सकेको छ,
उ स्वतन्त्र छ,
उ निर्धक्क छ
निला गगनमा
उडिरहेको छ, माथी माथी उडिरहेकै छ ।
त्यसैले, म भन्छु देश विग्रेकै छैन
राष्ट्रको भुगर्भ तात्तिएकै छैन
प्रकृतिले सुवासित पवनहरु
निरन्तर … निरन्तर बहाई रहेकै छ
सुवास एकतमासले छरिरहेकै छ ।
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)