~जंगब चौहान~
गाउने नै हो भने अब
पत्थरको होइन
मान्छेकै गीत गाउनुपर्छ ।
ए, मेरो देशका गायकहरू
अब भजन हैन
जीवन्त गीत गाउनुपर्छ ।
लौ हेर यो ढुगोलाई
निर्जीव, चेतनाशून्य छ यो
तिम्रै धर्मभीरुतामा
यसले शक्ति पाएको छ
तिम्रै अज्ञानतामा यसले
उपासनाको अर्थ पाएको छ
जति गाऊ यसको गीत
भजन-कीर्तन जति गर
अहँ, यो पग्लिंदैन ।
छैनन् कुनै आँखाहरू यसका
मुटुको ढुकढुकी केही छैन
सञ्चारित हुँदैन कुनै सन्देश यसबाट
निष्प्राण छ यो कालो पत्थर ।
अनि यी पुजारीहरू
सपाट अर्थ बोकेर
हामीलाई भन्न लाइरहेछन्
दिनलाई रात
र रातलाई दिन
आफ्नै आँखाहरू छोपेर
कसरी स्वीकार गर्नु यो पत्थरको कथालाई
यो सम्वेदनाहीन देवत्वलाई ?
(स्रोत : नेपालीकविता डट कम)