~टंक विकल्प~
छोरी !
म त समाजको काँन्लोमा
उभिएको रुख बनेछु
जो कोहीले परबाट हेर्दा पनि
नजिकैबाट हेर्दा पनि
ठिङ्ग उभिएको रुख नै भएछु
कसैले आफ्नो मनस्थिति बिग्रिएको बेला
रातमा तर्साउने देखे होला
दिनमा वर्षाउने देखे होला
तर, म
अकरिलो काँन्लोमा आफैँ मुस्किलले अडिएको
बबुरो रुख
न कसैलाई तर्साउन नै सक्थेँ
न कसैले चाहे जति वर्षाउन नै सक्थेँ
म त बेला–बेला आएको बेगवान आँधीहुरीसँग
मुस्किलले बचेर थर्थराउँदै उभिएको
बखत–बखतको खडेरीले खाएर निरस बाँचिरहेको
पटक–पटकको बाढीले धकेलेर थामिएको
बबुरो रुख थिएँ छोरी !
हो छोरी !
बिरुवा नै हुँदा पनि
म कैयौंपटक लतारिएँ, पटक–पटक निमोठिएँ
अनेकौं पटक संघर्षका जराहरू टेकेर
उठ्ने जमर्को गरेँ
मात्र धुलीकणहरूले छोपेर दिएको अलि–अलि स्नेहले
विस्तारै–विस्तारै पोथ्रो भएँ
मैले, वर्षामा परेको झरी पिएर
वर्षभरिको तृष्णा मेटाउनु पथ्र्याे
शिशिरमा भएको आफ्नै पत्झडको
खुराक खाएर वर्षभरिलाई अघाउनु पथ्र्यो
जेनतेन बाँचेर हुर्केँ,
अर्थात् हुर्किएर बाँचँे
समाजको काँन्लोमा म बबुरो रुख
जब मेरा जराहरूले दरिलो टेक्न खोज्थेँ नि
एउटा जथ्था आएर मलाई बेस्कन हल्लाउँथ्यो
जब मेरा हाँगाबिंगाहरू वृद्धि हुन थाल्थे नि
अर्को जमात आएर छिमल्थ्यो र
मेरो अस्तित्व मुडुलो उभ्याउँथ्यो
त्यही बखत
अर्को एक जमात मबाट सँयाल खोज्थ्यो
फेरि अर्को एक जमात
मबाट सुवासित फूल र स्वादिला फल माग्थ्यो
तर छोरी !
म अरू कै जेमन्तले उभिएको बबुरो रुख थिएँ
थोरै आशाका पाउलाहरू पलाएपछि
मेरो आँङभरि चराहरू गुँड लगाउँथे
ओथारा बस्थे र चल्ला कोरल्थे
बचेरा हुर्काएर आकाशमा उन्मुक्त उडाउँथे
म स्थिर जीवन बाँचेको रूख
चराहरू कावा खाँदै बेगिएको लोभिएर हेर्थें
जब वसन्त झुक्किएर मसँग
ठोकिन्थ्यो कुनै बेला
तब मेरा सिर्जनाका हाँगा पातहरू झ्यामिन्थे
अनि मेरो छायाँमा लेटेर
मेरै पातको पिपिरी बजाउँथे गोठालाहरू
आनन्दको सुसेलीमा गीत सुसेल्थे खेतालाहरू
थकाई मरेपछि आफ्नो गन्तव्य पक्डन्थँे बटुवाहरू
त्यस बखत म भने
आफ्नो काँन्ला माथिको गन्तव्य टेकेर
बटुवाको गन्तव्य हेरिरहन्थेँ
बटुवा गन्तव्यतिर लाग्नुअघि
कोही मैमा ढाकर बिसाउँथे
कोही मैलाई टुक्र्याएर तोक्का लगाउँथे
कोही मेरै आवरण उप्काएर भारी कस्थे
मेरै ढाड टुक्टुक्याएर डोको भर्थे
कोही मैमा छलिएर मैमाथि पिसाब फेर्थे
कोही मेरै जरा उधिन्थे
यसै क्रममा एकदिन
म ठिङ्ग उभिएको रूखलाई
लडाएर मज्जाले कोही हाँसे
कसैले धित मरुञ्जेल शैशैला खेले
त्यसैले छोरी तिमी चाहिँ
म जस्तो समाजको काँन्लोमा उभिएर
घामपानी, हुरीबतास, खडेरी तपिरहने
रूख नबन्नु है
बरू’ म जस्तो समाजको काँन्लोमा
उभिएको रूखलाई ढाल्ने
खुकुरी, आह्रा र वञ्चरो बन्नु है ।
बुधबारे, झापा
(स्रोत : पूर्वान्चल दैनिक)