~सुनील बाबु श्रेष्ठ~
लमतन्न पसारिएका यी वाटाहरु
मेरै घरको आँगन हुँदै
अगाडी कहाँसम्म पुग्छन होला?
अनि यी वाटाहरु हुँदै
हरेक बिहानी उषाहरु झर्नुअघि नै
सयौ सपनाका गरुँगो भारीहरु बोकेर
खै कताको गन्तव्यतिर हिडेका हुन्
उर्लदो नदीका बहाव झै
हुलका हुल यी यात्रीहरु !
आजपनि सदा झैँ आँखाहरु मिच्दै
जव आङ्ग तन्काउँदै निस्कन्छु आँगनमा
डोकाभरी भाँडावर्तन र ओड्ने ओछ्याउने कसेर
हातमा साना नानीहरु डोर्याउदै
भारी जस्तै गह्रौ मन बोकेका
एउटा सिङ्गो अँध्यारा अनुहारहरु गएको देख्छु ।
थाहा छैन कुन ठाउँ होला त्यो
यी आशातीत यात्रीहरुले खोजेका
सपनाका सुखी वस्तीहरु?
हिजो पनि यसरी नै
एक हुल वलिष्ठ लक्का जवानहरु
प्रियसीको मनलाई मरुभूमि बनाएर
उदास उदास छातीहरु बोकी
खै ! समुन्द्रपारि
कता हो कता गन्तव्य खोज्न निस्किएका रे ।
अस्ति अस्ति पनि यसरी नै
एक नवयुगल जोडी
भर्खरै बिहे गरेर सुहागरात मनाउन नपाउदै
हतार हतार दाँया बाँया नहेरी
यी बाटाहरुमा भौतारिरहेका थिए
सपनाका नयाँ गन्तव्यहरु खोज्न ।
मैले पनि
आफ्नो सपनाका गन्तव्यहरु खोज्न
यी बाटाहरु छिचोल्न नखोजेको त कहाँ हो र?
कयौ चोटी मन दह्रो बनाएर
कहिले दिनमै हिडेको छु यो बाटो
कहिले औंसीका रातहरुमा राँको बाल्दै हिडेको छु
कहिले जुनेली रातहरुमा
ताराहरु पछ्याउदै टाढा टाढा पुगेको छु
कहिले मनदेखी आँटै निकाल्न
खुब रक्सी धोकेर बेहोसीमा हिडेको छु
तर अहँ ! लमतन्न सुतेका यी बाटोहरु हुँदै
मैले आफ्नो गन्तव्य भेट्न सकिन ।
जव मैले क्षितिजपारीको
त्यो अग्लो डाँडाको भन्ज्याङबाट तल नियाले
झलमल्ल वत्तिको प्रकाश हुँदापनि
रात त आखिर त्यहाँ पनि पर्ने नै रहेछ
दिनमा सुर्यको प्रचण्ड उज्यालोमा हेर्दा
सुकुम्बासीका अतृप्त र काकाकुल जिन्दगी त
त्यहाँ पनि उस्तै हुँदोरैछ
अझ त्यहाँ त् झन् पाईदैनरै’छ
आशुँका नदीहरु बगाउन
कुनै दयावान जमिनहरु ।
त्यसैले त होला !
यही बाटो हुँदै गएका अँध्यारा अनुहारहरु
चाउरिएका बुढो छाला बोकेर
पुन: फर्कदै आएको भेटेको छु
प्रियसीको मन मरुभूमि बनाएर हिडेकाहरु
बन्द बाकसमा
मलामीसंगै फर्किएको देखेको छु
गाउँमा टिक्न नसकेर भौतारिएकाहरु
आखिरी श्वास आफ्नै माटोमा बिसाउन भन्दै
घर फर्कदै आएको भेटेको छु ।
यी दृश्यहरुले भनिरहेको थियो मलाई
लमतन्न सुतेका यी बाटाहरुहरु
क्रमश: लम्किरहेको मात्र छ यसरी नै
अनन्त अनन्तसम्म गन्तव्यबिहिन भएर ।
ए सपनाका गन्तव्यमा हिडेका यात्रीहरु !
मनभरी मृगतृष्णा बोकेर
अन्जान जुन र ताराहरु छिल्चोल्दै
खै कता हो कता किन हिडिरहने?
छोडीदेउ यी बाटाहरुलाई
लम्कन देउ यसरी नै
कहाँसम्म जान्छ जान देऊ
आउँ ! हामी चाहिँ यही बसौ
र यी बाटाहरुको अन्तिम गन्तव्य बनाऔ
आफ्नै भीरपाखा, खेतबारीमा
फुलाउनुपर्छ मनमोहक फूलहरु
अनि यी लमतन्न सुतेका बाटोहरु हुँदै
जानुपर्छ सहरहरुमा एकदिन
हामीले फुलाएका फूलहरु बेच्न ।
– सेतोपाटी अनलाईन खबर पत्रिकामा प्रकाशित
२०/११/२०१९
दिक्तेल खोटाङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )