~अशोक थापा~
हिजोआज नेपाली वाङ्मय वृत्तमा शताब्दीपुरुषका रूपमा दुई विम्ब परिचित छन्, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी। धेरैले चिनेका अनि पढेका छन्, यी दुईलाई। कारण, मिडियामा यिनको कभरेज बाक्लो छ। यीद्वयको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै अब लागौं, शताब्दीपार हायमनदासतिर।
दार्जिलिङ, सिलिगुरी, सिक्किम, डुवर्सतिर साहित्यिक यात्रामा भेटिए, शताब्दीपुरुष हायमनदास राई किरात।
सिलिगुरीबाट झन्डै ६० किलोमिटर पर। टिस्टा खोलाको बाघेपुल तरेर पर डुवर्स पुगेपछि जैविक विविधता मिलेको बस्ती छ। तलतिर चियाको कमान, डम्म हरियाली। माथि आकासै छेड्लान्जस्ता सुपारीका सुरिला घना रूख। त्यसको माथि थाप्लोमा छ, गोरु बथान स्थान।
हो, त्यहीँ भेटिएका हुन् हायमनदास। जसले इन्द्रबहादुर राई र लीलबहादुर क्षत्रीलाई पनि साहित्यको कखरा सिकाएका थिए। ‘हरेक दिनलाई मेरो जन्मदिन हो भनेर पूरा ऊर्जासहित काम गर्ने हो भने अगाडि बढ्न सजिलो हुने रहेछ’, गर्विलो भाषण दिइरहेका थिए उनी।
उनको अभिनन्दनमा जुटिरहेको थियो, सिलिगुरी नेपाली प्रचार समिति। सहभागीहरू खुसी देखिन्थे। कतिसम्म भने राईका खुट्टा ढोग्दै थिए। आशीर्वाद लिन व्यस्त थिए।
दृश्य किन पनि सम्मोहनकारी थियो भने यताका जोशी र घिमिरेका पनि ठूल्दाजु थिए, उनी।
राई १९७५ माघ ३० गते जन्मेका हुन्। माधवप्रसाद घिमिरे त्यसको एक वर्षपछि १९७६ असोज ७ मा अनि सत्यमोहन जोशी १९७७ वैशाख ३० मा। संयोग के भने यी तीनै जना ७-७ महिना कान्छा छन्।
अभिनन्दन कार्यक्रममा बोल्दै गए राई, तेजिला आँखाले सबैलाई सत्कार भाव पस्कन पनि भ्याए, ‘मान्छे जति बूढो हुँदै जान्छ थप सुन्दरता हृदयमा घुस्दै जाँदो रहेछ। मेरो जीवन लम्बेतान देख्नुहुन्छ तपाईं, काल पर्खेको मुडो पनि ठान्नुहोला तर त्यसो होइन। म त सोच्दै छु, झन् व्यवस्थित उत्कर्षतिर गइराखेको छ यो यात्रा।’
पुख्र्याैली पेसा खेतीकिसानी, धार्मिक आस्थाका कवीरपन्थी र शिक्षण पेसाबाट आजीविका चलाएको कुरा पनि बताउन भ्याए राईले। यद्यपि पढाउने नोकरीमा आफू पूरा नरत्तिएर ‘नवयुग नेपाली पुस्तक मन्दिर’ नामक प्रकाशन संस्था खोलेर धमाधम नेपाली साहित्यका किताब छाप्न थालेको सफल कथा पनि उत्तिकै रुचिका साथ सुनाए उनले।
राई सम्पर्कसूत्र-पुल बनिरहे नेपाल र भारतका नेपाली साहित्यकारमाझ। उनको लक्ष्य थियो नेपाली साहित्यिक कृतिहरू छाप्ने, ओझेल परेका व्यक्तिलाई उजिल्याउने, नयाँलाई स्वागत गर्ने अनि विशिष्ट साहित्यिक कृति सार्वजनिक गर्ने। यो कर्म निरन्तर गरिरहे राईले। यसैको परिणाम हो, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ अनि अच्छा राई ‘रसिक’को ‘दोभान’ जस्ता उपन्यास।
नेपाली नाटकका पुराना हस्ती भीमनिधि तिवारी एवं हृदयचन्द्रसिंह प्रधानसम्मलाई आफ्नो प्रकाशनमा जोडे उनले। तिवारीको ‘पाँच ऐतिहासिक नाटक’ र प्रधानको ‘उनी देवता हुन्’ जस्ता नाटक उनकै प्रकाशनबाट सार्वजनिक भए। अगमसिंह गिरी, हरिभक्त कटुवाल, गुमानसिंह चामलिङ आदिलाई पनि साहित्य क्षेत्रमा थप परिचित बनाउन लागे उनी। उनले गुमनाम नवप्रतिभालाई अवसर दिए।
साहित्यमा प्रचारबाट चर्चित हुनु र कृतिबाट स्वचर्चित हुनुमा राई दोस्रो कित्तामा परे। उनले आफ्नो र आफ्नो कर्मको स्वप्रचार कहिल्यै गरेनन्। उनी शिक्षण र सिर्जनमा एकोहोरिए, काव्यमा बाँधिए, सम्पादनमा घोरिए र आख्यानमा संग्रालिए। ‘चौकिदार’, ‘अभागिनीको साथी’, ‘केही नमिलेका रेखाहरू’, ‘हाइकिङ’ जस्ता नौ कथासंग्रह प्रकाशित गरे उनले। ‘देवराली’, ‘कुण्डल’जस्ता औपन्यासिक कृति छाप्न पनि भ्याए। डेढ दर्जन जति कविता कृति पनि छापिए।
नेपाली साहित्यका जेठा शताब्दीपुरुष राई विशेषत : आख्यानकार हुन्। कवि हुन्। समाजसेवी, शिक्षाविद् र भाषिक अभियन्ता हुन्। फरक भूगोलमा रहेर एक शताब्दीसम्म साहित्य सेवा र त्यसैमा योगदान दिने साहित्यकार ओझेलमा हुनु आश्चर्यको कुरा हो।
राईले लेखनका लागि रोजेको भाषा पनि नेपाली नै हो। राईको मनमा कहीँ न कहीँ छुटाइ र विच्छेदको दर्द देखिन्थ्यो हृदयमा। भारतीय भूमिमा बाँचिरहेका राईलाई विच्छेद गराएको भूगोलले हो, नचाहेर पनि तोडिनुपर्ने अरू कुनै कारण थिएन। एउटै भाषा भएर पनि टुक्रिएर बस्न पनि सम्भवत : उनलाई इच्छा थिएन। फुटेर पनि एउटै संस्कारमा जोडिनुपर्ने, भिन्न भएर पनि एकै ठाउँ सम्मिलित हुनुपर्ने कटु विरोधाभाष बाँचेर पनि राईले नेपाली भाषाको निरन्तर सेवा गरिरहे। संस्कार र संस्कृति मिलेर पनि राजनीतिक सिमानाले तोडिनुपर्ने यो एउटा असह्य नियति भोगेर पनि उनी सहनशील बनिरहे।
खासमा भाषाको कुनै भूगोल हुँदैन। संस्कृतिको राजनीतिक सिमाना नहुनुपर्ने हो। तर हायमनदास राईलाई सम्भवत : भूगोलले छेक्यो। भारतीय नेपालीभाषीमाझ उनी लोकप्रिय पनि छन्। फाट्टफुट्ट सम्मान पुरस्कारको पोल्टा पनि भरेका हुन् उनले तर नेपालले चिन्दै चिनेन उनलाई। राई अपरिचयको गर्तमा ओझेल परिरहे। बादलले छेकिरह्यो एउटा चमकदार र गहकिला स्रष्टालाई।
भाषा नेपाली भएकै कारण बंगालभाषी बहुल क्षेत्रमा विभिन्न खेपको सास्ती भोगे भारतीय नेपालीले। खेदिए, कुटिए, मारिए पनि। भाषा स्वतन्त्रताको मुद्दाको विषय बन्यो। नेपाली भाषा र गोर्खाली जातिका लागि समयसमयमा विविध आयामका आन्दोलन भए। त्यस आन्दोलनको एक पहरेदार थिए राई। उनी भारतमा बस्ने गोर्खालीका लागि एउटा दृढ सतिसाल बनेर उभिए र उभिइरहे एक शताब्दीदेखि। उनी जातीय चिनारी, भाषिक पहिचानका लागि जोखिमपूर्ण यात्रा हिँडिरहे, फरक विचारको पहरोसँग कुहिनो जुधाइरहे। नेपाली समाजले भने उनलाई पढ्न त के चिन्ने औपचारिकता पनि गरेन। उनी काठमाडौंका लागि कहिल्यै परिचयका लायक भएनन् र उनी लड्दा सहारा दिने हात त झन् परको कुरा।
प्रकाशित : २८ असार २०७६
(स्रोत : अन्नपूर्ण दैनिक – फुर्सद )