~नेत्र तामाङ~
आजभोलि फिरफिरे निकै खुसी देखिन्छन् । जाडो सकिनै लागेकोले हो कि, उसलाई उड्नउड्न मन लागिरहेको छ । फुर्रफर्र गरिरहेकैले उनको नाम फिरफिरे राखेको रे । खुसीको अर्को कारण पनि छ । केही दिनपछि उनको विहे हुदैछ । उनलाई लिन टाढाबाट बेहुला आउदैछन् रे । बाआमाले उनलाई चहिने सबै लुगा किनीसके ।
उनलाई बाआमाले टाढा निस्कन दिदैनन् । उनलाई भने माथि माथि आकाशसम्म उड्न मन छ । साना पुतली पकडेर खाने मन छ । तर के गर्ने बाआमाले भनेको मान्नै प¥यो ।
खेतका वरिपरी घुमेरै उनले दिन काट्नुपर्ने भयो । लामखुट्टे र भुसुना खाँदा खाँदा उसलाई वक्क लागिसकेको थियो । आजभोलि त यिनीहरू पनि पाउदैनन् । चिसोमा पानीका भएका चेपागाडा पनि सकिए । उसलाई टाढा जाउ जाउ लाग्यो ।
‘चरा जातिको जन्तु आउछन, तिनीहरू निकै डरलाग्दा र ठुला हुन्छन’ सम्झाउदै आमाले भन्नुभयो, ‘हामीलाई त एक गाँसमै सिध्याइदिन्छन्, त्यसैले धेर टाढा जानुहुन्न ।’
विहेको दिन आयो । घरमा थुप्रै साथीहरू जम्म भए । मिल्ने साथी पनि आएकी थिइन् । साथीले उनलाई रातो सारी र ब्लाउज लाइदिइन् । सारी र ब्लाउज ठुलो भएकोले उनले रातो कुर्ता सुरुवाल लगाइन् । घुम्टो पनि लाएर हेरिन तर उनलाई मन परेको थिएन । तैपनि जालीको घुम्टो भएकोले लगाउन सजिलै भयो ।
‘अबुई, कति राम्री भई फिरफिरे, तँ त,’ उनकी साथीले भनिन् । साथीको कुराले उनी दंग भई । आफु कस्तो भई होला, उनलाई हेर्न मन लाग्यो । उनी साथीहरूको वीचबाट भुर्र उडी पानी भएनिर गइन् । सफा पानीमा एकछिन हेरिरहन् । निकै राम्री पो भइछु । उनी निकै खुसी भइन । बेहुला पनि यस्तै भएर आउने हुन कि उनी सोच्दै लजाइन् ।
आकाश सफा भएकोले घाम लागिरहेको थियो । खेतका गरागरामा पानी थिए । एकैछिनमा एकहुल गाइनेकीरा उड्दै उनको घरनेर आईपुगे । कुनैले खैरा लुगा लाएका थिए । रंगीविरंगी लुगा लाएका जन्ती देखेर फिरफिरे निकै खुसी भइन् ।
उनको आँखा ठुलो थियो । धेरै टाढासम्म ठम्याउथिन् उनी । हुलको बेहुला चिन्न उनलाई गाह्रो भएन । छाता ओढेका बेहुलालाई उनले चियाएर हेरिन । अबुइ कति राम्रो, कुृइरेका जस्ता कैला आँखा । आकाशे रंगको कमिज सुरुवाल लगाएका । कालै टोपी, कालै कोट अनि कालो जुत्तामा कति राम्रो । फिरफिरेलाई बेहुला निकै मन पर्यो ।
उनी अगडिपट्टिको पखेटा चलाउदै माथि उडिन् । फेरि पछाडिका पखेटा चलाउदै तल झरिन् र एकपटक पानीमा डुबुल्की मारिन् । उनको सबै कपडा चिसो भयो । घाम लागेकोले ती कपडा एकैछिनमा सुक्यो । उनको घर वरपर वनमारा र तीतेपाती थिए । उनका बाआमा र साथीहरूले बेहुला र जन्तीलाई निकै आदरसाथ स्वागत गरे ।
‘अब तिम्रो हाम्रो भेट हुदैन होला छोरी,’ अन्माउने बेलामा आमाले रुदै भन्नुभयो, ‘हामी बुढाबुढी भइसक्यौ ।’ आमा रोएको देखेर फिरफिरेलाई पनि रुन मन लाग्यो । उनका आँखा आँशुले भरिए ।
एकैछिनमा अन्माउने बेला भयो । वर्षसम्म पानीमा राखेर हुर्काएकी छोरी पराइघर जान लागेकोमा उनका बाआमालाई नरमाईलो लाग्यो । ‘ल ज्वाइसाब, छोरीलाई राम्रो हेरविचार गर्नुस,’ बाले भन्नुभयो, ‘त्यतातिर छेपारो, भ्यागुता धेरै आउछन भनेको सुन्छु, अलि ख्याल गर्नु, यिनलाई पनि त्यताको वातावरण सिकाउनु ।’ बेहुलाले मुन्टो हल्लाए ।
‘ल यसरी रुने हो,’ आमाले आँशु पुछ्दै फिरफिरेलाई सम्झाइन्, ‘राम्रो सँग घरजम गरेर खाएस ।’ ज्योतिषबाले पुजा गरिसकेपछि उनीहरू विदा भएर बेहुलाको गाँउतिर लागे । बाआमाले डाँडामा पुगिन्जेल फिरफिरे तिर हेरिरहे । फिरफिरे पनि परबाट आफ्ना बाआमालाई हात हल्लाउदै कहिल्यै नभेट्ने गरी बिदा भइन् ।
-नागरिक दैनिकको जुनकीरीमा माघ २९, २०६७ मा प्रकाशित
(स्रोत : रचनाकारको ब्लगबाट सभार)