~सविना सिन्धु~
एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । केही थरी फूल, पार्कका मालीहरुले बिक्री गर्छन् र केही सित्तैमा समेत बाँड्छन् भन्ने सुनेकी थिएँ । उनी अशक्त वा दया गर्नु पर्ने प्राणी जस्तो देखिन्न थिइन् । उनको अनुहारको भाव पढ्दा उनी अन्य व्यक्ति भन्दा शान्त र पृथक देखिन्थिइन् ।
आँखा बन्द गर्दा समेत उनकै अनुहार याद आउन थाल्यो । धेरै वर्ष अघि कता–कता कहिले–कहिले देख भेट भएको झैं । कुनै परिचित नजिकको मित्र झैैं । बाल्यकालको साथी सङ्गी झैं । शान्त अनुहार सभ्य पहिरन । मलाई उनी संसारको एउटा अदभुत पात्र झैं लाग्थ्यो । त्यस पार्कमा कति आए होलान् उनले कतिलाई याद गरिन होला !
फरक सोचौं – उनले मलाई त याद गरेकी थिइन् वा थिइनन् । जागरिबाट रिटायर भएपछि पार्कमा छिर्नु मेरो दैनिकी नै बनेको थियो । बस्नको लागि सामान्य घर छँदै थियो । छोरा छोरी हुर्किसकेका थिए । अबको जिन्दगी स्वतन्त्रतापूर्वक आफू बाँच्न सकिने जिन्दगी थियो ।
ती साधारण महिलालाई देख्दा, मलाई धेरै अघि हराएको कुनै माल–वस्तु पाएझैं लागेको थियो। तर यो घनिष्टता मेरो एकतर्फी घनिष्टता थियो । लाग्थ्यो कुनै जादूगरी कलाले बर्षौं पहिले छुटेको प्रिय मित्र मेरो आसपासमा पून पूरानो संस्मरण ताजा गराउन फेरी मेरो दुनियाँमा प्रकट भएकी छन् ।
एक वर्षसम्म यो क्रम यसरी नै चल्यो । अन्तत मैले उनलाई बोलाउने निधो गरेँ । यसपटक पार्कमा पुग्दा उनी पुस्तक हातमा समाएर बसेकी थिइन् । पुस्तकको कभरमा लेखिएको थियो ‘जिवन जिउने कला’ । मलाई लाग्यो यो उमेरमा आएर उनी जिवन जिउने कला सिक्न खोज्दैछिन् । पार्कको बेञ्चिमा बसेकी उनलाई मैले उभिएर हेरेँ । मुस्कुराएँ । बदलामा उनी पनि मुस्कुराइन । मलाई त्यो मुस्कुराहट धेरै अघि साटिइसकेको मुस्कुराहट जस्तो लाग्यो । अगाडिका मिलेका दाँता पूराना र हलुका ‘मैला’ भएझैं देखिन्थ्यो । अनुहारमा पूरानै ओज थियो । बाल्यकालमा स्कुल जाँदा भेट भएझैं । यिनलाई किन घनिष्ट मानिरहेछ मेरो आत्माले ।
मैले राम्ररी बोलाउन नपाउँदै उनी बेञ्चबाट उठिन् । किताब सम्हालेर झोलामा हालिन् र बिस्तारै अगाडि बढ्दै गइन् ।
पार्कका कर्मचारी आएर भने, “म्याडम अलिकति साइड लागिदिनुस न फूलमा पानी हाल्ने समय भयो ।” म साइड लागेँ । सायद यही कुरा थाहा पाएर होला ती महिला बेञ्चबाट उठेर आफ्नो बाटो लागेकी थिईन् ।
‘अब भोली भेट हुन्छ होला’, मैले सोचेँ ।
उनी मसँग बोल्न नखोजेकै हुन त । अचम्ममा परेँ । त्यही पार्कको पल्लो छेउमा प्रेम साटिरहेका एकजोडी युवायुवती थिए । सायद मेरै छोरा छोरी उमेरका हुनुपर्छ ।
पार्कको अर्को साइडमा लामो कपाल भएकी एक्ली केटी थिई । उसको लामो कपाल सुहाउँदिलो गरी टमक्क बाँधेर अगाडि तिर ल्याएकी थिई । उसको अनुहार थाकेको जस्तो देखिन्थ्यो । पहेँला र बैजनी रङ्गका फूलहरु ऊ तिरै फर्किएर फुलिरहेका थिए ।
पार्कमा निकै बेर बसिसकेपछि म घर फर्किएँ । मलाई त्यो शान्त देखिने महिलाको अनुहारले छोड्दै छोडेन । आँखामा उनै चिहाईरहिन् । बेलुका खाना खाइसकेपछि परविारका सदस्य एकैठाउँमा बस्थ्यौं र दिउँस भरीका घटनाहरु सुनाउँथ्यौं । मैले ती महिलाको बारेमा पटक पटक सुनाएकी थिएँ । यस पटक पनि सुनाएँ ।
“….तिनी मुस्कुराइन मात्र । बोलचाल हुनै पाएन ।”, मैले भनेँ ।
–“कहिले काहीँ त्यस्तो …फिलिङ्गस्.. आउँछ क्या । कसै कसैको अनुहार अरु कसैको अनुहारसँग मिले जस्तो लाग्छ ।”, छोरीले भनी ।
“ह्याँ ….त्यस्तो पनि हुन्छ कतै ।”, छोराले नपत्याएझैं गरी भन्यो ।
स्कुले किताबमा पढेको कुनै कथाकी पात्र उनी हुन् की झैं लाग्यो । घामको प्रकाशले होस् वा वर्षातको झरीले होस् धेरै पटक सँग–सँगै यात्रा गरेको कुनै पूरानो तर आत्मिय मित्र हुन् झैं लाग्यो । मसँग यो शहरमा गाउँका पूराना सम्झना मस्तिष्कमा अटाएका छन् । स्कुल पढेको गाउँ । घरबाट स्कुलसम्म यात्रा गर्दाका साथीहरु अब भेटे पनि चिनिन्न। सम्झनामा आईदिँदा धेरै कुरा पाइए झैं लाग्यो । दिनहरु बिते पनि पूराना समयका स्मृतिहरु त छन् । जुनसुकै समयमा नि पूराना दिनहरु सम्झाइरहने ।
घरको ढोका भित्रको वातावरण शान्त थियो । बत्तिको उज्यालोमा घरका सामानहरु टल्किरहेझैं लाग्थे । छोरीले गहिरो स्वास फेरिन् र भनिन्, “मामू कति अपरिचित पनि देखिरहेपछि परिचित झैं लाग्छन् ।”
“तिमीलाई त्यस्तो अनुभव मात्र भएको हो ।”, छोराछोरीका बाबुले मलाई सम्झाउँदै भन्नुभयो ।
“त्यो सोचाई मात्र हो मामू ।”, छोराले भन्यो ।
त्यही पनि मेरो मन कहाँ मान्थ्यो र !
ती शान्त महिलालाई पार्कमा फेरी पनि देखेँ । यसपटक त बोल्छु भन्ने सोचेर उनको नजिक जाँदै थिएँ । ठिक त्यही बेला मैले मेरै छोराछोरीकी उमेरकी केटी उनीसँग बात मार्न थालको देखेँ । खै के गरी बोलाउनू मैले अलिकति असहज महशुस गरेँ ।
मैले केटी तिर इशारा गर्दै भनेँ, “कहाँ देखि आउनु भयो नानी ?”
–“यहाँबाट पन्ध्र मिनेट जति पर हाम्रो घर छ ।”, उसले भनी ।
मैले शान्त महिलातिर हेरेपछि उसले कुरा बुझे झैं गरी भनी, “म उहाँकी छोरी ।” आमा छोरी रहेछन् । मेरो अनुमान सही ठहरियो । कुरो गर्दै जाँदा ती शान्त महिला र म एकै गाउँमा हुर्किएका रहेछौं । घर र परविारका कुरा भए । ती महिला स्कुल पढ्दाकी सहपाठी अम्बिका रहिछन् ।
“म रमा । तपाईँ र म एउटै स्कुल पढेका ।”, मैले बिगतलाई स्मरण गराउन चाहेँ । उनले सम्झिइनन् ।
“लामो समयसम्म उहाँले मानसिक रोगको औषधि खानुभयो । अहिले स्वास्थ राम्रो हुँदै गएको छ । तर उहाँको सम्झना शक्ति निकै कमजोर भईसकेको छ ।”, छोरीले भनी ।
अम्बिका बोलिन् तर उनले मलाई सम्झेकी थिइनन् भन्ने, उनको कुरा गराईमा प्रष्ट झल्किन्थ्यो । ती आमा छोरीसँग बिदा भएर म घर फर्किन थालेँ ।
अम्बिका र म बाल्यकालमासँगै खेल्थ्यौं । स्कुल जाँदा र आउँदा हाम्रा धेरै भावनाहरु साटिन्थे। यति धेरै आत्मिय अरु कोही भएन स्कुले जिवनमा ।
अम्बिका कक्षमा प्रथम हुन्थिन् र निकै महत्वकांक्षी थिइन । म औसत विद्यार्थी । कक्षमा कहिल्यै प्रथम भइन । तर सन्तुष्टिको जिवन बाँचे।
अम्बिका सबै कुरामा सबैलाई जित्न खोज्थिन् । तर पनि आत्मियता र घनिष्टतामा अब्बल थिइन् । स्कुले जिवनको मिल्ने साथीको, अहिलेको उनको अबस्था थाहा पाएपछि टिठ लाग्यो ।
जिवनको दौडमा उनले अब्बल जिवन बाँच्न सकिनछन् । पढाईको गुणस्तर मार्कसिटको नम्बर वा ग्रेडले मापन गर्ला तर जिवनको गुणस्तर मापन गर्ने कुन यन्त्र छ यो दुनियाँमा ?
जिवनमा प्रथम उही हुन्छ जसले अभाव र समस्या बीच रमाउन सिकेको हुन्छ र आत्मसन्तुष्टिको जिवन बाँचेको हुन्छ । उही खुसी र सुखी हुन्छ ।
मेरो मस्तिष्कले उही अम्बिकालाई खोजिरहेको थियो । उनीसँग भेट भएपनि उनीभित्रको पूरानो आत्मिय मित्र अम्बिकालाई भेटिन । उनी अम्बिका थिइन् तर पनि थिइनन् । उनीसँगका पूराना सम्झनाहरु मसँग बाँकी थिए । लामो स्वास लिएँ । मुटु ढुकढुक भयो । बाटोभरी सम्झनामा उनी नै आइँन् । जति बिर्सन खोज्दा पनि उनको स्मृतिले पछ्याईरह्यो ……। …लखेटिरह्यो ।