समीक्षा : मधुपर्कमा उद्घाटित प्रश्न

~कुलचन्द्र वाग्ले~

साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो । प्रश्नले ब्यूँझाइ दिएर ।

कोर्समा पढेका कथा,कविता उपान्यास अथवा साहित्यकार भनी कुनै विधाको परिचित व्यक्तिले लेखिदिएका अक्षरहरूलाई साहित्य मान्ठान्दै आएको व्यक्ति, नियात्रा, संस्मरण वा अनुभूति पनि साहित्यमै पर्छ भन्ने चाहिं मलाई थाहा थियो । अहिले विधा धेरै छन्, नेपाली शैली, सिल्पको बाटो हुँदै विदेशी विधा भित्रिएका छन्, भित्रि रहलान् । साहित्य विस्तारित छ ।

तर साहित्य के हो ? भाषाको अभिव्यक्ति कि, भावको बाफ वा अनुभूतिको तस्बिर ? जे भए पनि मानवीय साहित्यको अभिव्यक्तिमाध्यम प्रयोगशील भाषा नै हो । साहित्यको व्यक्त हुने माध्यम भाषा बन्नैपर्छ, भाषालाई अभिव्यक्ति हुन साहित्य नै चाहिन्छ भन्ने हुदैन ।

त्यसो त सुस्त श्रवणहरूलाई गरिने हस्त इसारामा पनि, त्यस्तै स्वर, सङ्गीतका लागि हातमा छडी समाएर निर्देश गर्ने शैलीमा पनि, अनि ब्राहृमण बटुकले वेदका ऋचा सस्वर पाठ गर्दा त्यही अनुरूप हातको आरोह अवरोह प्रस्तुतिमा पनि अथवा गायकले स्वरमा मिलाएर तन्काउने र खुम्च्याउने हातमा पनि अर्थात् शारीरिक भावभङ्गीमामा पनि बुझ्ने र बुझाउने अर्थ यदि भाषा हो भने यसरी पनि भाषा र साहित्य व्यक्त हुन जाला । अथवा ती आरोह अवरोह साहित्यका अभिव्यक्ति माध्यम मध्ये मान्न सकिने पनि हुन् कि ? थाहा छैन, मान्दै जाँदा कति मान्ने, कहाँसम्म पुग्ने ? शायद् फैलनुको सीमा छैन, सञ्कुचनको जस्तो ।

किन होला, मधुपर्ककर्मीको रूपमा पाएका प्रश्नले मलाई यो उमेरमा त्यति पनि नबुझ्ने भनेर लज्जित बनाइ रहन्छ । पात हल्लिन्छ, म बुझ्छु हावा चलेछ । यो बुझाइ भाषा हो कि होइन, पातमा ठोकिएको हावाको सुसेलीमा साहित्य छ कि छैन ? थाहा भएन । प्रश्न बग्रेल्ती छन् । उत्तर सीमित । प्रश्न सजिला, उत्तर जटिल । प्रश्न सबैसँग छन्, उत्तर शायद् धेरैसँग छैनन् ।

प्रश्न हुनै पर्छ, उत्तर कठिन वा शायद् हुदै नहोस् तर पनि प्रश्न आवश्यक छ । प्रश्नले नै जिज्ञासालाई अभिव्यक्ति दिन्छ । त्यही जिज्ञासाको खोजीमा उत्तर भेटिन्छन् र मानिसलाई जानकारी हुन्छ । आधुनिक भनिएको युगसम्म आइपुग्दाको ज्ञान-विज्ञानको सूत्राधार जिज्ञासा हो, त्यसको उत्तर खोजाइको परिणाम विकास हो ।

साहित्यलाई कसैले प्रगतिशीलताको थालको घेराभित्र अर्थ्याए । के हो प्रगतिशीलता ? यसमा पनि प्रश्न छन् । भो, अहिले त्यता नलागौँ । किन कि प्रश्न साहित्यकै विषयमा गम्भीर छ, विशाल छ । साहित्यमा इम्पोज्ड प्रगतिशीलता त त्यसको एक धरो टुक्रो न हो । मूर्धन्य साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले ठीक भनेका छन्- साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

साहित्य जीवन एवं समाज सापेक्ष हुन्छ, प्रकृति सापेक्ष हुन्छ, अर्थात् साहित्य निरपेक्ष रहने विषय छैन, हुदैन भन्ने मान्यता छ । यसरी हेर्दा साहित्य विधा वा वादको टुक्राभन्दा माथि खण्ड, अखण्ड हुँदै विशाल आकृतिमा देखापर्छ । आग्रह साहित्यमा शालिनता बढी खोजिन्छ ।

मनमा आएजति प्रश्न गर्न पनि सम्भव हुँदैन, सहज लाग्दैन । साहित्यलाई संस्कृतिको द्योतक र पहिचानको स्वरूप पनि भनिन्छ । जसमा राष्ट्रियता विम्बित छ । साहित्यले भाषाको पहिचान बोक्छ, सामाजिक चरित्रलाई उद्घाटित गर्छ र संस्कारको साङ्गोपाङ्ग उहापोहलाई प्रतिविम्बित र निर्देशित पनि गर्छ । यही उच्चता शिक्षित समाजले साहित्यलाई प्रदान गरेको छ, सम्मान स्थापित छ । सङ्क्षिप्त तर उदाहरणका लागि भन्दा नेपालको साहित्य नेपालीको पहिचान हो, यही पहिचान हाम्रो राष्ट्रिय पहिचानको पनि महत्त्वपूर्ण हिस्सा हो, अर्थात् राष्ट्रियता ।

साहित्यको यस्तै वैशिष्ट्यका कारण विश्वका अन्य मुलुकले साहित्यकर्मीलाई अत्यन्त सम्मानित स्थान दिएका छन् । तिनका आवश र ठाउँलाई कुनै तीर्थस्थल जस्तै सजाएका छन्, संरक्षित सङ्ग्रहालय बनाएका छन् । हाम्रो प्रसङ्ग बेग्लै छ । हेरेर ल्याऊँ, सोचौँ- कठै महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य, कविशिरोमणी लेखनाथ पौडेल आदि आदि । यिनका नाममा कसैले केही गरिदिए हामीले गीत गाएका छौँ । नभए राज्यले गर्नुपर्ने दायित्त्व शायद अहिलेसम्म बुझेको छैन । भाषण भने गरिदिन्छन्, राज्य सञ्चालनको ठूलो/सानो ओहदामा बसेकाहरू । शब्द सञ्जालले साहित्य र यसका कर्मीलाई बेलुन बनाई दिन्छन् । साहित्यकारको गनिमत यहाँ यत्ति हो, अहिलेसम्म ।

त्यसो त साहित्यकारमा पनि कमजोरी छन् । विगतमा पनि थिए होलान्, अहिलेकामा पनि छन् । साहित्य समय वा समाज सापेक्ष हुन्छ । यसलाई कमाजोरी भनी पुष्टि गर्न विना गहन खोज सम्भव छैन । समयको तकाजाका हिसाबले बहस अर्को अध्याय हो तर प्रवृत्तिगत कमजोरी यस भित्रको विषय हो । राजनीति आदर्श प्रभावित हुनु मानवीय गुण हो, विशेषता र स्वतन्त्रता पनि हो । साहित्यकर्मी पनि आदर्श अनुप्राणित हुन्छ, धेरथोर । तर साहित्यकारका लागि कठिन काम र चुनौती के हो भने- राजनीतिमा आफ्नो आदर्श अनुकूल सपना देख्नु र साहित्यलाई साहित्यकै स्वतन्त्रतामा विचरण गराउनु । जस्तै विश्वेश्वरप्रसाद कोइराला र अरूहरू पनि । कमजोरी वादमा विभक्त साहित्य हो वा साहित्यकार पनि । जसले साहित्यलाई सीमित घेरामा बाध्ने प्रयत्न गरेको छ । हालाँकि यो सम्भव छैन । स्वतन्त्र साहित्यको उछित्तो काढ्ने काम यस क्षेत्रको विकृति पनि हो । स्वतन्त्र र नाङ्गोवीचको विभेद बताइ रहनुपर्दैन । व्यष्टि, समष्टि वा समाज, समय र प्रकृति जे भन्नोस् समग्रमा जीवन जगत्का अनाच्छादित र आच्छादित रहस्य साहित्यका छनौट विषय हुन् । यसमा सङ्कुचन हुन सक्दैन, भयो भने प्रशस्ती पर्चा(पमप्लेट) मात्र बन्छ । साहित्य राजनीतिको पिछलग्गु होइन । कमजोरीकै कुरा गर्दा साहित्यको नाममा प्रशस्ती त्यो पनि र आर्थिक लाभमा व्यक्ति प्रशस्ती, स्तुती गर्ने परम्परा । सामाजिक, साहित्यिक हैसियत नभएका तर आर्थिकदम्भ प्रेरित व्यक्ति अनुप्राणित अति प्रशस्ती ग्रन्थ बजारमा भरमार भेटिन्छन् । यो भन्दा बढी भन्नु जरुरी छैन । साँचो साहित्यकारको प्रशस्ती पैसाले गाउनुपर्दैन, जनतामा पुगेको पहुँचले नै गाइदिन्छ ।

यस्ता धेरै कुरा मधुपर्कले सिकायो वा देखायो । सामान्य पाठक भए पनि त्यहीं काम गर्दा धेरै तर्कना र सोच आउँदा रहेछन् । प्रश्नहरू जन्मिने । साहित्यमा स्थापित र सिकारुहरूसँग बढी नै भेटघाट भइरहने । कविताका दुई हरप याद आए- सङ्गतका फल अनेक छन्, चढें महेशको शिष, मित्र अब जान द्यौ गांगाजीको वीच । सङ्गतको प्रभाव हुने नै भयो ।

गोरखापत्र दैनिकबाट मासिक युवामञ्च हुँदै मधुपर्क साहित्यिक फाँटमा पुग्दा एक प्रकारको रमाइलो लाग्यो र साहित्य विषयमा थप कुतुहल जाग्यो । साहित्यकारसँगको भेट निकै लाभदायी तर कोही कोही भने साहित्यकारकै हुर्मत लिने खालका । त्यो पनि अनुभूतिमा आयो । केही लेख्न मन लागिरहेको थियो । सहकर्मीहरू लेख्न प्रेरित गर्नुहुन्थ्यो । यस्तै प्रेरणाले,शून्य-सर्ग स्तम्भ सुरु भयो, केही अङ्मा लेखें । प्रतिक्रिया आउँथ्यो- राम्रो भनेर । थाहा भएन, राम्रो हो कि होइन, अथवा सिकारुले सम्पादकको राम्रो भनिदिएर आफ्नो पालो र साहित्यकार बन्ने सपना त्यसरी सजाएको हो कि ? अहिलेसम्म बुझेको छैन ।

मधुपर्क साहित्यिक मासिकले नेपाली साहित्यको गौरवशाली इतिहास स्थापित गरेको छ । ४३ वर्ष लामो आरोह अवरोह खपेको मधुपर्कले पाँच सय पूर्णाङ्क प्रकाशन हाम्रा सामु दिएको छ । यही क्रममा सम्पादक श्रीओम श्रेष्ठ रोदनले अनुभूति लेख्न अराउनुभयो, उहाँलाई साधुवाद, अनुभूतिमा पूर्णविराम नलगाएको निवेदनसमेत ।

(स्रोत : मधुपर्क २०६७ माघ)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.