कविता : आन्दोलित फूलहरु !

~सुनील बाबु श्रेष्ठ~

हेर्दै गयौ
खोज्दै गयौ
सोध्दै हिडेयौ भने
सबैले दिने फूलहरुको अर्थ
जहाँपनि एकै हुन्छ
कोमल हुनु
रंगीचंगी हुनु
सुन्दर हुनु
सुवासित हुनु
शान्त हुनु
यसैले त फूलहरु हेरेर
मनैदेखि रमाउन मन लाग्छ
एकचोटी सुस्तरी छोएर
कोमलताको अनुभव गरौ जस्तो लाग्छ
टपक्क टिपेर कोटको खल्तीमा
अथवा शीरमा टक्रक्क लगाउ जस्तो जाग्छ
घरको कुना कुना सजाउन
अथवा प्रियजनहरुलाई उपहार दिन मन लाग्छ
सपनामा पनि यी फूलहरु आउँन
एउटा सुन्दर बगैचा बनाईदिउन्
र ढकमक्क फुलिदिउन जस्तो लाग्छ
मनभरीका तनाव र पिडाहरु बिर्सेर
अन्त कहिँ कतै नगई
यी फूलहरुको बिचमा
भुलेर बसिराखौ जस्तो हुन्छ

तर अचेल यी फूलहरु
सुन्दर शुवासित भएर पनि
सोच्नै नसकिने
विश्वासै गर्न नसकिने गरी
परिवर्तन भएका छन्
र बोकेका छन् आक्रोश र उत्तेजनाहरु
मान्छेहरुको भीड देखेर यी फूलहरु
यति बिघ्न आक्रोशित भएका छन् कि
यी लालीगुँरासका फूलहरुमा
अचम्मै लाग्दो वारुदको गन्ध आईरहेको छ
यी गुलाबहरु तिखा काँडाहरु तेर्साएर
कसैलाई चिथोर्न तम्तयार भएर बसीरहेका छन्
यी चिमालहरु
घृणा मात्र ओकली रहेका छन्
बेली, चमेली, सयपत्री, गोदावरी
साराका सारा यी फूलहरु
पटक्कै मन पराउँन छाडेका छन् मान्छेहरु
मान्छेहरुले स्पर्श गर्न खोज्दा
वलात्कारी हातहरुले नछोउ भन्दै तर्किन्छन्
देख्नै सक्दैनन् मान्छेहरुले हेरेको
नहेर तिम्रा कुदृष्टिहरुले भन्छन
सहनै सक्दैनन् मान्छेहरुले सुंघेको
नसुघ्नु तिम्रा उत्तेजित मनहरुले भन्छन
हैन यी फूलहरु
विद्रोहको आवाज मात्र किन लाउँछन?
ए वलात्कारी !
ए भ्रष्टाचारी!
ए देश बेचुवा!
ए नालायक कपटी!
ए हत्यारा!
ए व्यभिचारी नैतिकहीन !
ए झुट्टाहरुको झुण्ड !
ए मानवता हराएकाहरु !
एकोहोरो यसरी
आकाश थर्काउने गरी
नाराजुलुश गर्दै यी फूलहरुको नदी
न्युरोडबाट भद्रकाली तर्फ बग्दै बग्दै
अझ तल सिंहदरवारको गेटतिर बढ्दैछन् !
के तिनीहरु त्यहाँ अर्को परिवर्तनको लागी
कुनै प्रलयकारी सुनामी सृजना गर्न
अथवा
विष्फोटित हुन त गईरहेका छैनन्?
हैन अचेल यी फूलहरु
अचम्मै लाग्दो गरी आन्दोलित पो भा’छन् त !!!

बाह्रखरी अनलाईन खबर पत्रिकामा प्रकाशित

०७/१२/२०१९
दिक्तेल खोटाङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.