~चन्द्र रानोहोंछा~
सपनाले मानिसको भोग खान्छ
र, अमर बन्छ
बिलाएर जान्छौं हामी
फेरि, बाँचिरहन्छौँ …
उज्यालो डो¥याउँदै हिँडेको पाइताला
जब हराउँछ कुनै अँध्यारोमा …
अँध्यारो त्यो सपना हो
जो कहिले चराजस्तो भुर्रर उडेर डालीमा बस्छ
डालीबाट खसेर शितको देह माटो हुन्छ
कहिले सुकेको पात भएर त्यो सर्लक्क भुइँमा खस्छ
भुइँको धूलो बसाइँ सर्छ
सपना यस्तो दोखिया ताल हो
जहाँ मानिस फेरि नउत्रिन डुब्छ
जीवनको एकमात्र शाश्वत सङ्गीत हो–
मुटुको धड्कन
जो सुखमा भन्दा सुमधुर दुःखमा बज्छ
तन्द्रामा भन्दा सुरमा निन्द्रामा बज्छ
आँखा चिम्लिएपछिको मौन दृश्यालयमा
सर्वप्रथम आफैंलाई देखिन्छ
जहाँ आँसुको पर्दा हट्छ
र, आफ्नै व्यथाहरूको भग्न सङ्ग्राहलय भेटिन्छ
जब चेत खुल्छ
आइपुग्छु हुत्तिएर सामुन्ने
आफूभन्दा बढी दुख्ने सम्झना
बाहिर चोट लाग्दा बग्ने रगत
र, भित्र चोट लाग्दा झर्ने आँसुको केन्द्र एउटै हुन्छ
त्यो फूल
जसलाई भर्खरै आँधीले चुडाइलग्यो– भ्रम हो
त्यो तीनतारा
जो यसबेला ठिक मेरो शिरमाथि चम्किरहेछ– भ्रम हो
हर्ष, छटपटी, जलिरहेको चिता
या चिताबाट उठिरहेको माया– सब झुट हुन्
कसैले–
कुनै मन्दिर, मस्जिद, गुम्बा या देउरालीमा
अथवा मान्छेको हृदयमा देउता छ भन्ला–
जो मिथ्या हो
केवल सत्य हो ऐठन,
भोक र सपना
जसले मानिसको खुन चुस्छ र शक्तिशाली बन्छ
निभेर मेटिन्छौं हामी
फेरि, बाँचिरहन्छौं ।
***