~कुलचन्द्र वाग्ले~
नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग कुमजोरी खेल्न सक्ने भएको मानिन्छ हाम्रो नेपाली साहित्य । गरिवका विषयमा लेखेको छ, अमिर र फकिरहरू पनि यो साहित्यमा भेटिन्छन् ।
बौद्धिकता पनि, अनि वैचारिक र श्रम पनि, मनोरञ्जन र प्रकृति प्रेम पनि । प्राचीन होस् कि अर्वाचीन, पौराणिक वा ऐतिहासिक नै किन नहोस् । काल्पनिक र तार्किक वा यथार्थवादी, सबै सबै विषयमा बोलेको छ नेपाली साहित्य । घटना र इतिहास वा पुराणका उपविज्य विषयलाई पनि नेपाली साहित्यले आफूमा समाविष्ट गरिसकेको छ । यावत् विषय र प्रसङ्ग अन्तरनिहित गर्दै नेपाली साहित्यले सगरमाथाको उचाइसँग प्रतिष्पर्धा गरेको छ । विश्वसाहित्यको मझेरीमा घुम्टो उघारेर आफ्नो परिचय दिन नेपाली साहित्य ताते होइन, ठम्ठमी हिड्न थालेको छ ।
तर जसरी नेपाली राजनीतिको उकुसमुकुसमा एउटा भयानक सङ्क्रमणको कालखण्डका अघिल्तिर मुलुक यतिबेला उभिएको छ, त्यसरी नै नेपाली समाज पनि सङ्क्रमणको हुस्सुमा भौँतारिएको जहाजजस्तै गन्तव्य भेटिने लालसामा चक्कर काटी रहेको छ । यो गन्तव्य कसरी भेटिने हो, ठोकुवा गर्ने अवस्था देखिदैन । नेपाली साहित्यसामु पनि यही भयानक चुनौती उपस्थित भएको छ । धेरै विषयमा बोलिसकेको नेपाली साहित्यले यो चुनौतीको सामना गर्नैपर्ने भएको छ ।
साहित्य समाजको ऐना पनि मानिन्छ । व्यक्तिको भोगाई र रोजाई पनि हो साहित्य । समाजलाई दिग्दर्शन गर्ने, सही बाटो देखाउने र कोही नपुग्ने ठाउँमासमेत पुग्ने क्षमता राख्छ भनी साहित्यप्रति गौरव गरिन्छ । हो पनि, मानव सभ्यताले भाषाका माध्यमबाट प्राप्त गरेको प्रथम र अन्तिम उन्नत विधि हो साहित्य ।
सन्दर्भहरू पछि विषयतर्फ लाग्दा, गौरवशाली नेपाली साहित्यले यतिबेला भन्नोस् वा अब विद्वेषविरुद्ध जेहाद छेड्नुपर्ने भएको छ । विभाजन र विखण्डनविरुद्ध हार्दिकता बोल्नुपर्ने भएको छ । हो, नेपाली समाजमा विद्वेष फैलाउने, विभाजनका गम्भीर रेखाहरू कोर्ने र विखण्डनको अँध्यारो गल्ली बनाइदिने प्रयत्न भएको छ । अहिले सबैले अनुभूत गरेको कुरा हो, विविधतामा बाँचेको नेपाली समाजलाई क्षेत्रीयता, जातीयता र धार्मिक अन्धविश्वासतिर घसेट्न खोजिएको छ । एनजिओ र आइएनजिओहरू, तथाकथित धार्मिक व्यापारीहरू र राजनीतिको अराजनीतिक निकृष्ट स्वार्थलिप्सा बोक्नेहरू साखुल्ले भएर निर्दोषहरूका बीच भ्रम छरिरहेका छन्, विभेद र साम्प्रदायिकताको विष -विष कुम्भ पयो मुखम्), भने झैं छरिरहेका छन् । समय र समाजको भाषा बोल्ने नेपाली साहित्यले हो यतिबेला यो सानो तर विविधताले पूर्ण मुलुकमा छर्न खोजिएको भ्रम वा विखण्डनको यस्तो रहस्यलाई चिर्नैपर्ने भएको छ, निरुत्साहित गर्नैपर्ने भएको छ । अन्यथा भविष्य नेपालीहरूको मात्र होइन, नेपालको साहित्यको पनि अन्धकार नै देखिन्छ ।
विश्वको विश्वास हो, साहित्यले समाजलाई समाल्न सक्छ र समात्न पनि । धेरै कुरामा टुक्रिएको जस्तो लाग्ने यतिबेलाको नेपाली समाजलाई सहभावमा समात्नु परेको छ, समाल्नु परेको छ । यो भूमिका अब बढी साहित्यले नै निर्वाह गर्नसक्छ, गर्नुपर्छ । किन कि विभिन्न स्वार्थहरूको पाइप लाइनबाट बटारेर राजनीतिले ल्याएको अराजक विभेद निवारणका लागि सहायक अब साहित्यमात्र जीवित छ, जो प्रभावकारी पनि हुनसक्छ । जातिमा बाँडिएको, क्षेत्रमा खुम्चिएको र धर्ममा साँघुरिएको, हुँदाहुँदै भाषासँग इष्र्या उत्पन्न गरिएको अर्थात् मानिसलाई पूर्ण मानिस होइन, अर्ध, आंशिक वा अपूर्ण मान्छे बनाउन खोजिएको यो बेला नेपाली साहित्य अन्यायका विरुद्ध, विभेद र विखण्डनका विरुद्ध, विद्वेष वा शत्रुभावका विरुद्ध अनि पिछडिएकाहरूको उत्थान र समर्थनमा सिङ्गो नेपाली हार्दिकतामा बोल्नुपर्ने भएको छ । त्यस्तो हार्दिकतामा न जाति मात्र हुन्छ, न धर्म नै वा न क्षेत्र मात्रै पनि । त्यहाँ त सिङ्गो नेपाल र नेपाली भेटिन्छ, कलमको निबले ताप्लेजुङ र दार्चुला लेखिन्छ अनि प्रत्येक नेपालीको पाइला पश्चिम-पूर्व, उत्तर-दक्षिण यो भूमिमा समानरूपमा हिँडिन्छन् । यदि नेपाली साहित्यले अब पनि यो विषय बोलेन भने, बोलिदिने कोही छैन ।
नेपाली समाजमा पन्पिदै गएको वा पन्पाइदै फैलाउन खोजिएको विद्वेषप्रति समग्र लेखनजीवी वा कलमजीवीहरू, ती साहित्यकार हुन् अथवा पत्रकार नै पनि जाग्रत हुनुपरेको छ, सचेत हुनुपरेको छ । विद्वेषविरुद्ध सक्रिय हुनुपरेको छ । अन्यथा ? यो प्रश्नप्रति नेपालको साहित्य, त्यो जुनसुकै भाषा र भावमा लेख्ने साहित्यकारहरूले एकैछिन गम्भीर भएर सोचिदिए एउटा विद्रुप भविष्य आँखा अगाडि ठोकिने छ । यी पङ्क्तिलाई धृष्टता नमान्ने हो र साच्चै भन्ने हो भने, यदि अर्ति र उपदेशको अर्थमा नबुझ्ने र लेखाइको हार्दिकता बुझिदिने हो भने यतिबेला नेपाली साहित्यका सामु अरू कुनै वाद भन्दा विद्वेषविरुद्धको वाद एकमुष्ट बोल्नुपर्छ । नेपाली समाजलाई बचाइराख्न पनि यस्तो साहित्यवादको खाँचो भएको छ ।
त्यसो त साहित्य सीमाहीन र स्वतन्त्र विषय हो । तर साहित्यसँग पनि मुलुकले कुनै गम्भीर अवस्थामा सीमा केन्दि्रत अपेक्षा गर्ने रहेछ । यही सन्दर्भमा अहिले नेपालले विद्वेषबिरुद्ध साहित्यवाद मागेको देखिन्छ । त्यसो त विद्वेषविरुद्ध राजनीतिकवाद पनि उठ्नुपर्ने हो, नागरिकवाद पनि जाग्नुपर्ने हो । यिनीहरू जे गरुन्, तर यस कालखण्डमा उब्जाउन खोजिएको विद्वेषविरुद्ध लेख्न एवं बोल्न, ‘आऊ समाउ कलमहरू’ भन्ने आव्हान नेपाली साहित्य समाजले गर्नैपर्ने भएको छ । नेपाली कलमहरू जुर्मुराउनु अत्यावश्यक छ ।
(स्रोत : मधुपर्क २०६५ चैत)