व्यक्तित्व समीक्षा : मिथिला सङ्गीत र महाकवि विद्यापति

~धीरेन्द्र प्रेमर्षि~

राष्ट्रकवि माधवप्रसाद घिमिरे मैथिली भाषालाई गीत-सङ्गीतको भाषा भन्नुहुन्छ । मैथिलीलाई गीतको भाषा बनाउनुमा मिथिलाको गौरवमय संस्कृतिको विशेष भूमिका अन्य साहित्यिक विभूतिहरूमा भने महाकवि विद्यापति (ई.सन् १३६०-१४४८) को नाम पनि अग्रणी छ । उसो त त्यसपूर्व नै सिमरौनगढलाई राजधानी बनाएका कणर्ाटवंशीय मिथिला राज्यका संस्थापक नान्यदेव (ई. सन् १०९७) स्वयं सङ्गीतका महाज्ञाता थिए । उनले ‘सरस्वती हृदयालङ्कार’ मा रचना गरेर आफ्नो साङ्गीतिक दखलको परिचय दिइसकेका थिए । त्यसपूर्वदेखि पनि लोक व्यवहारमा गीत-सङ्गीतले महìवपूर्ण स्थान ओगटेको थियो । विद्यापतिले मिथिलाको सङ्गीत-परम्परालाई विशेष फराकिलो बनाउन महìवपूर्ण टेवा पुर्याएका थिए । प्रायः त्यसैले जन्मदेखि मृत्युसम्मका यावत संस्कार एवं अवसरहरूलाई गीत-सङ्गीतमा आवद्ध गरेर राखिएको मिथिलामा विद्यापतीय सङ्गीतको आफ्नै विशिष्ट स्थान रहेको छ । चौधौँ शताब्दीका यी विश्वकवि विद्यापतिका हजारभन्दा बढी सङ्ख्यामा पाइने सुललित पदावलीहरूले मिथिलाको लोकसंस्कार र जनकण्ठमा मात्र सम्मान पाएका छैनन्, विविध सङ्गीत घरानाका पनि अनिवार्य अङ्गको रूपमा आफूलाई प्रतिष्ठापित गरेर एउटा बेग्लै सङ्गीत परम्पराको रूपमा पनि आफ्नो पहिचानलाई अक्षुण्ण राखेका छन् तर विद्यापतीय सङ्गीतको कुरा गर्नुभन्दा अघि हामीले मिथिलाको सङ्गीत परम्परामा दृष्टिपात गर्नु आवश्यक हुन जान्छ । मिथिलामा सङ्गीतको विकाससम्बन्धी कुरा गर्दा पनि मिथिलाकै विद्वानहरूमध्येका ज्ञान र योगका श्रेष्ठ व्यक्तित्व याज्ञवल्क्यको स्मृतिमा भनिएको छ-

वीणा वादन तत्वज्ञः श्रुति जाति विशारदः ।
तालज्ञश्चा प्रयासेन मोक्षमार्ग प्रयच्छति ।।

अर्थात् सङ्गीतरूपी एक मात्र साधनबाट धर्म, अर्थ, काम एवं मोक्ष चारैथरिको पुरुषार्थ प्राप्त गर्न सकिन्छ ।

सङ्गीतको विकासमा वेद-परम्परा, पुराण-परम्परा र ऋषि-परम्पराको विशेष योगदान रहेको मानिन्छ । यी तीनैथरि परम्परालाई विभिन्न महषिर्हरूले आ-आफ्नो सक्रियता तथा संलग्नताबाट अगाडि बढाए । यस्ता महर्षि तथा व्यक्तित्वहरूमा क्रमशः नन्दिकेश्वर, नारद, स्वाति, तुम्बरू, भरत, दत्तिल, कोहल, विशाखिल, कश्यप, याष्टिक, आञ्जनेय, हनुमन्मत, शार्दूल, मतङ्ग, सुधाकलश, अभिनवगुप्त, महाराज भोज, नान्यदेव, सोमेश्वर, जगदेक मल्ल, शारदातनय, सोमराज, जयदेव, शारङ्गदेव, पं. दामोदर, पं. अहोबल, पं. लोचन झा आदि प्रमुख मानिन्छन् ।

कणर्ाटवंशका प्रथम मिथिला नरेश नान्यदेव सङ्गीतशास्त्रका मूर्धन्य विद्वान थिए । उनीपछि नै मिथिलामा कला र कलाकारिताले पुनर्जीवन पाएको मानिन्छ । उसो त मिथिलामा वैदिक युगदेखि नै सङ्गीतको परम्परा थियो भन्ने विद्वानहरूको भनाइ छ । सङ्गीतको प्रचार-प्रसारमा पुरोहितवर्गको अहम् भूमिका रहेको थियो । यज्ञादि अनुष्ठानहरूमा यी ब्राहृमण/ पुरोहितहरू छन्दोबद्धरूपमा सस्वर सामवेदको ऋचागायन गर्दथे । उसै पनि सङ्गीतको उत्पत्ति सामवेदबाटै भएको मानिन्छ । प्राचीन कालमा मैथिल ब्राहृमण परिवारका प्रायः सबै नै सदस्य सामवेदका ज्ञाता हुने गर्दथे । यो परिपाटी निरन्तर चलिरह्यो । आज पनि मैथिल ब्राहृमणहरूको जन्मदेखि लिएर यज्ञोपवितसमेत विभिन्न संस्कारमा कुनै न कुनै रूपमा सामगान गर्ने प्रचलन कायमै छ । त्यसैले मिथिलाको सङ्गीत-परम्परा वैदिक कालदेखि नै सुरू भएको भन्दा कुनै अत्युक्ति नहोला ।

सामगानको परम्परासँगै लौकिक सङ्गीत परम्परा पनि मिथिलामा सुरू भयो । यस्तो सङ्गीतमा नियमको कुनै बन्धन हुँदैनथ्यो । वस्तुतः सामगानमा पहुँच हुन नसकेका ब्राहृमणइतरका वर्गले यस लौकिक परम्पराको सूत्रपात गरे । यसमा जीवनका यावत गतिविधिको सजीव चित्रण रहने गर्दथ्यो । यस्तो सङ्गीतमा परम्परागत रूढीको ठाउँ लोकजीवनले लिँदै गयो । सङ्गीतका यी दुई धारा मिथिलामा निकै समयसम्म चलिरहे । कालान्तरमा सामगानपछि गाथागायनको परिपाटी सुरू भयो । सलहेस, लोरिक, नैका-बनिजारा, दीनाभद्री आदि पचासौँ किसिमका गाथा अद्यापि मिथिलामा प्रचलित छन् । यसैबीच छन्द गायनको एउटा नयाँ परम्पराको सुरुआत भयो र छन्दगानपछि मिथिलामा प्रबन्ध गायनले ठाउँ लिँदै गयो । एवं क्रमले मिथिलामा फस्टाएको सङ्गीतका प्रवर्द्धकहरूमा राजा नान्यदेवपछि उनकै वंशका अन्तिम राजा हरिसिंहदेव निस्किए । हरिसिंहदेवका राजपण्डित ज्योतिरीश्वर ठाकुरले सम्पूर्ण आर्यभाषाहरूमध्येकै पहिलो गद्यग्रन्थ मैथिली भाषाको ‘वर्णरत्नाकर’ मा गायन, वादन एवं नृत्यको पूर्ण विवरण दिनुका साथै सर्वप्रथम राग-विन्यास तथा विभिन्न लोकगीतहरूको चर्चा पनि गरेका छन् ।

हरिसिंहदेवको पतनपछि मिथिला राज्यको राजधानी सिमरौनगढबाट विस्थापित भएर ओइनीमा पुनस्र्थापित भयो । ओइनिवार वंशकै एक अत्यन्त कलाप्रेमी, कुशल राजा भए शिवसिंह । यिनै शिवसिंहका बालसखा तथा कुशल मन्त्री र प्रमुख सहयोगी थिए विद्यापति ठाकुर । विद्यापति सिद्धहस्त कवि हुनुका साथै विभिन्न क्षेत्रका प्रकाण्ड विद्वानसमेत थिए । उनले संस्कृत, प्राकृत, अवहट्टा र मैथिलीमा गरी दर्जनौँ कृतिहरूको प्रणयन गरे । संस्कृतमा मात्र साहित्य सिर्जना गरिने तत्कालीन परम्परालाई तोडेर ‘देसिल वयना सभजन मिट्टा’ को उद्घोषका साथ जनभाषामा जुन किसिमले रचनाहरू गरे, त्यो एउटा युगान्तकारी कदम थियो । आज साढे छ सय वर्ष बितिसक्दा पनि विद्यापतिलाई जनमनमा बसाइराख्न सकेको मुख्य उनका रचना भनेकै मैथिलीमा उनले लेखेका कोमल पदावलीहरू हुन् । कविगुरु रवीन्द्रनाथ ठाकुरले आफ्नो काव्यचेतनाको प्रमुख स्रोत राधाकृष्णको प्रणय प्रसङ्गसम्बन्धी पदावलीहरूलाई नै मानेका छन् । महाकवि विद्यापतिको समयमा स्वयं उनको गायनका साथै पश्चिमी भारतबाट झिकाइएका गायकहरू- सुमति, उदय, जयत आदिको विशिष्ट गायकीबाट विद्यापतिका गीत र तिनका सङ्गीत दिनानुदिन जनमानसमा लोकप्रिय एवं समादृत हुँदै गए ।

बङ्गालमा रवीन्द्र सङ्गीतको मर्यादा र प्रचलन शीर्षमा भएझैँ मिथिलामा वा मैथिलहरूको बसोवास रहेको स्थानमा विद्यापतीय सङ्गीत आजपर्यन्त अत्यन्त सम्मानित अवस्थामा रहेको छ । त्यसभन्दा पनि बढी महत्वको कुरा के छ भने विद्यापतिका हरेक गीत-सङ्गीतले मिथिलामा लोकगीतको स्वरूप ग्रहण गरिसकेका छन् । त्यसैले मिथिलाका ऋतुगीतहरू होउन् वा संस्कार गीतहरू, साधुसन्तले गाउने सधुक्कडी गीतहरू होउन् वा शिष्ट मञ्चहरूमा गाइने सुगम सङ्गीत- हरेकमा जुनसुकै बेला हामीले ‘भनहि विद्यापति’ को भनिता जोडेर गाइराखिएको पाउन सक्दछौँ । कतिपय अशिक्षित वा अल्पशिक्षित वर्ग हालका दिनहरूमा विद्यापतिको नाउँबाट अपरिचित पनि पाउन सकिन्छन तर त्यस्ताले समेत आफ्नो जीवनको दुःखसुखमा गाउने विभिन्न समय प्रहर वा चाडपर्वका गीतहरूमा विद्यापतिलाई भने गाइरहेकै हुन्छन् । यति मात्र नभई सम्पूर्ण मिथिलामै ‘विदापत नाच’ पनि उत्तिकै प्रचलित छ, जसलाई हामी विद्यापति-गाथाको रूपमा हेर्न सक्दछौँ ।

विद्यापतिका गीतहरू जनमानसमा यति विघ्न भिज्न सक्नुमा उनका गीतमा पाइने भावगत उच्चता एवं सौन्दर्यले मात्र नभई ती गीतहरूको सुरम्य सङ्गीतले पनि ठोस टेवा पुर्‍याएको देखिन्छ । विद्यापतिका गीतहरूको प्राचीन हस्तलेखहरूमा राग, ताल आदिको समेत निर्देश पाइएबाट के स्पष्ट हुन्छ भने उनी सङ्गीतशास्त्रका पनि कुशल ज्ञाता एवं सिद्धहस्त गायक थिए । उनले पाएका विभिन्न उपाधिहरूमध्ये ‘कविकोकिल’ उपाधिले गायनमा समेत उनको दखल हुनुलाई प्रमाणित गर्दछ । अर्थात् उनको स्वर कोइलीको झैँ सुरिलो थियो । जसरी उनले आफ्ना गीतहरू जनभाषामा सबैले सजिलैसँग बुझ्न सक्नेगरी प्रस्तुत गरे, त्यसैगरी गीतका सङ्गीत पनि आममानिसले सहजै टिप्न, गुन्गुनाउन र गाउन सक्नेगरी निर्दिष्ट गरे । त्यसैले सुर-तालको सामान्य ज्ञान भएका मानिसले पनि राम्रैसँग विद्यापतिको गीत गाउने गरेको हामी पाउन सक्छौँ । विद्यापतिका सबैजसो गीतहरू आमजनसमुदायमा चार-पाँचथरिका भाकामा मात्र गाउने गरिएको पनि सामान्यतया देख्ने गरिन्छ । यद्यपि महिलाहरूले गाउने, साधुहरूले गाउने, नटुवाहरूले गाउने, बूढापाकाले गाउने सबैथरि विद्यापतिका गीतमा सम्बद्ध गायकहरूको वर्गीयपन तथा आ-आफ्नै किसिमका केही पृथक भाका भने देखिने गरेका छन् ।

विद्यापतिका गीत र विद्यापतीय सङ्गीत मिथिलाको जनमानसमा छरिएर रहे तापनि विद्यापतीय गायकीका विशिष्ट गायकहरू भने समय-क्रममा चारैतिर छरिँदै गए । यसले गर्दा मूल मिथिलामा प्राचीन गरिमामयता, शुद्धता एवं वैशिष्ट्यका साथ सम्पूर्ण रूपले विद्यापतीय सङ्गीत जीवन्त छ भनेर भन्न सकिन्न । खासगरी महाराजा शिवसिंहको अवसानपछि यवनहरूको चर्तिकला र पछि भारतमा इस्ट इन्डिया कम्पनीको अतिक्रमणपछि कलाकारहरू आ-आफ्नो जीउज्यान जोगाउँदै जाति-धर्म तथा कलाको संरक्षण गर्न भनी लाखापाखा लागे । तथापि केहीले भने मिथिलाको माटोलाई छोड्न चाहेनन् । यसरी हाल पनि मिथिलामा मुख्यतः चारवटा सङ्गीत घराना सक्रिय छन् । यी घरानाहरू अमता घराना, मधुबनी घराना, पँचगछिया घराना र पनिचोभ घरानाका रूपमा चिनिन्छिन् । क्षितिपाल मल्लिक, मनसा मिश्र, माङ्गन झा, रामचन्द्र झा आदि यी घरानाहरूका संस्थापकहरू हुन् । यी सबै घरानाका बेग्लाबेग्लै विशेषता र गायकीहरू छन् । तर घरानाहरू मिथिलाका भएका र विद्यापति मिथिलाका पर्याय भएकाले प्रायः सबै घरानाको गायकीमा विद्यापतीय सङ्गीतले गरिमामय स्थान पाएको छ । खासगरी ध्रुपद गायनमा विश्वप्रसिद्ध अमता घरना विद्यापतीय गायनमा पनि उत्तिकै कुशल मानिन्छ । भनिन्छ, विद्यापतिसँग एउटै सभामा बसेर उनका गीतहरू गाउने राजगायक जयत गौडÞकै वंशजहरूले यस अमता घरनाको स्थापना गरेका हुन् ।

विद्यापतीय सङ्गीत अनेकौँ सङ्क्रमणहरूको प्रहार सहँदासहँदै पनि अद्यापि पूर्णतः अस्तित्वमा छ । यसको भविष्यप्रति पनि निराशावादी हुने कुनै कारण देखिँदैन । घरहरू भत्केर जान सक्छन्, घरानाहरू सखाप हुन सक्छन् । समयक्रममा मैथिली भाषै पनि अस्तित्वको सङ्कटमा पर्न सक्छ तर साढे छ सय वर्षदेखि विभिन्न किसिमका हावा-हुण्डरीको हण्डर खाएर पनि जगमगाइरहेका विद्यापतिका गीत र विद्यापतीय सङ्गीतको ज्योति यसैगरी सहस्रौँ वर्षसम्म अस्तित्ववान् रहने छन् । हामीले बोल्ने भाषा राजनीतिक चक्रव्यूहमा परेर वा हाम्रै उदासिनता अथवा दुष्कर्मले गर्दा कालान्तरमा जुनसुकै नामले जानियोस्, जुनसुकै अवस्थामा पुगोस्, हाम्रा गायनहरूमा, हाम्रा संस्कारहरूमा मैथिल कविकोकिल महाकवि विद्यापति ‘भनहि विद्यापति’ भन्दै अनन्त कालसम्म टुप्लुक्क हामीसामु प्रकट भइहाल्नेछन् । यस सन्दर्भमा विद्यापतिका बारेमा जर्ज गि्रयर्सनले भनेका शब्दहरू यस्ता छन्- “भलै हिन्दू धर्मको सूर्य अस्ताओस्, भलै कृष्णको स्तूतिका लागि जनमानसमा विश्वास र श्रद्धा बाँकी नरहोस् तर राधा-कृष्णको प्रणय-प्रसङ्ग चित्रित विद्यापतिका गीतहरूप्रतिको हाम्रो अनुराग कदापि घट्ने छैन ।”

– धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
काठमाडौँ, नेपाल

(स्रोत  : मधुपर्क २०६८ कार्तिक)

This entry was posted in समीक्षा, स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.