~जसराज किराँती~
हिमनदीहरू बोकेर मेरो शरीर बगिरहेछ
म हिमाल भइरहेछु
कहीँ म ढुङ्गाबाट ओर्लिएको हुँ
कहीँ म रूखबाट झरेको हुँ
अक्सर पग्लिएर/बगेर
पहाडकी केटीलाई जिस्क्याउँदै/जिस्किँदै हिँडिरहेको हुँ।
छिटको गुन्यू लगाएकी पहाडकी केटीलाई
म त्यस्तै हिमाल जन्माउन दिन्छु
त्यो हिमालसँग बोल्न सक्ने ओठ पनि हुनेछ
त्यो हिमालसँग हिँड्न सक्ने पाइताला पनि हुनेछ
अक्सर योद्धाजस्तै त्यो
बहादुर र फराक छातीको फरासिलो पनि देखिनेछ
त्यो बोलेको र पहाडहरूलाई गीत सुनाएको बेला
म लाटो हिमाल भएर उभिनेछैन
चिसो हिउँ भएर पग्लिने पनि छैन
मेरो शरीरमा जीवनको रङ्ग चढेर म रङ्गीन हुन्छु
ममा प्राण चढेर म जीवित हुन्छु
हो, म पहाडकी केटीलाई त्यही हिमाल जन्माउन दिन्छु
आफै बगिरहेका छाल रोकेर
एक अँगालो छोरो समातेर
झुल्के घामजस्तै म मुसुक्क हाँस्छु।
पहाडकी केटी,
जसको कम्मरमा पटुकी भएर सपनाहरू बाँधिएका छन्
पहाडकी केटी,
जसको छातीमा रगत भएर भविष्यहरू जाम भएका छन्
नदीको किनारजस्तै मस्त भएर
गर्भदान माग्न मसँग त्यो केटी आउँछे
हामी अँगालोमा बाँधिनेछौँ
प्रेमी र प्रेमिका मस्त भएको बेला नआए हुन्छ जूनले
देखा नपरे हुन्छ ताराले।
यस्तोलाग्छ—
त्यो केटी दस हजार सूर्यका पाइतालाहरू कपालमा सिउरिएर
एक डोको जून बोकेर हिँड्छे
यस्तो लाग्छ— त्यो केटी
एक अँगालो क्षितिजको घाँस काटेर दस अँगालो जुनेली बटुल्छे
हिजो बेलुकी एक पेट मरुभूमि बोकेर त्यो केटी
हिउँहरूमा चिप्लेटी खेल्दै घर फर्की
उसले त्यही हिमाल भइरहेका ढुङ्गाहरूमा
आफ्नो खसेको आँखाको सम्झना गरी
उसले त्यही हिउँ भइरहेका भुइँहरूमा
आफू सुतिरहेको आकाशको सम्झना गरी
त्यो केटीले रातभरि
उँभो लेकतिरको डाँडामा
दगुरिरहेको आफ्नो जवानी सम्झी
गीतहरू सम्झी ।
म उसलाई पग्लिँदै बगिरहेका हिउँहरूबाट बोलाउँछु
मेरो स्वर बाँसुरीको धुन हुनेछ
बिनायो वा मुर्चुङ्गाको आवाजजस्तै म उसलाई बोलाउँछु।
ऊ आफू उनन्तीस हजार अग्लिन्छे
र उनन्तीस हजार फैलिन्छे
म विश्वस्त छु
ऊ आमा हुन्छे
आफ्नो काखभरिको छोरालाई
यो नेपालको व्यथा र हिमालको कथा सुनाउँछे
म ढुक्क छु
उसले म लाटाको कथा सुनाएर
छोरालाई जिन्दाबादको आशीर्वाद दिन्छे।
(स्रोत : कविको कविता सङ्ग्रह “जसराज किरातीका प्रतिनिधि कविताहरू” बाट सभार)
So lovely to read these poems by my childhood poet friend Jas Raj Kiranti. Would love to talk to him if you could please pass my phone number 9849215662 and ask him to call me back