कथा : मूलघाट

~रजित ओझा~

“बा, हेर त कत्रो माछा मारें !”

बर्खायाममा कतैबाट मर्नलाई माछो पनि मूलघाट आइपुगेछ, सन्तेको छोराको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथाभरि म सन्ते नै भनेर लेख्नेछु । हेपाहा कथाकार नभन्नुहोला ! छोराको बोली सुनेर फेरि दिक्क लाग्छ उसलाई । बाउसँग बोल्ने सोमत पनि सिकाउन सकेन सन्तेले ! जहिल्यै बाउलाई तिमी !

० ० ०

दुई महिनाअघिको कुरा हो । सडकछेउमा साहुजीले छोरीलाई हेर्दै सोधेका थिए, “माछा खान्छेउ ?”

छोरीले पनि जुत्ताले भुइँ कोतर्दै भनेकी थिई, “हजुरले किनिस्यो भने !”

“कहाँ पढ्छिन् नानी ?” छोरीको मधुरो आवाज सुनेर सन्तेले प्लास्टिकमा माछा राख्दै सोधेको थियो ।

“लिटिल फ्लावर्समा !”

चोकको महँगो स्कुल । नाम पनि कति गाह्रो ।

“परकासेको पनि बोली यस्तै मीठो भए !” सन्तेले मनमनै सोचेको थियो ।

“बजारमा ठूलो दोकान तपाईंहरूकै हैन ?”

“हो त !”

“म पनि सामान किन्न त्यहाँ आइरहन्छु नि, साहुनी बस्नुहुन्छ धेरैजसो ! मलाई पनि चिन्नुहुन्छ होला !”

“ए ! हो र ? यो प्लास्टिकको झोला त बजार छिराउन दिन्न !” साहुजीले सन्तेलाई माछा झोलामा हालिदिँदै गर्दा भनेका थिए ।

“बुवा, मसँग छ नि हिजो सरले दिनुभएको झोला । हाम्रो स्कुलमा बाँडेको कुहिने झोला अरे ! माटो बिगार्दैन अरे !” छोरीले कुहिने झोला झिक्दा सन्तेले छोरीलाई एकटक नियालेको थियो ।

“कति राम्रो बोली नानीको !” सन्तेले पैसा राख्दै गर्दा भनेको थियो । साहुजी पनि मख्ख पर्दै हाँसिदिएका थिए ।

० ० ०

उसको परकासेको बोली ती साहुजीकी नानीको जस्तो कहिल्यै भएन ।

“खोला बढेको बेला माछा मार्न नजा भनेको हैन ?” सन्तेले माछामा खासै ध्यान दिएन । हुन पनि खोला बहुलाएको छ हिजोदेखि ! अस्तिसम्म सुसेली मार्ने खोला हिजोदेखि ठूलो आवाजमा बग्न थालेको छ । थोरै माथि भएको घरमा स्पष्टै सुनिन्छ । हुन त त्यो खाली–खाली घरमा त्यही खोलाको आवाज न हो सुनिने !

“यही माछा बेचेर मेरो स्कुलको फि तिर न ! मलाई दिनदिनै किचकिच गर्छन्, बालाई लिएर आऊ भनेर !”

सन्तेको चित्त चिरिए जस्तो हुन्छ ।

साहुजी भेट भएलगत्तै ऊ बजार उकालो चढेको थियो— छोरोलाई पढाउने ‘लिटल फ्लावर्स’ खोज्दै ! एकमुठी पैसा बुझाएपछि प्रकाश पनि एक भारी किताब बोकेर लिटल फ्लावर्स जाने भएको थियो । शुरु–शुरुमा त घाटमा उसका मात्रै दाउरा बिक्री हुन्थे । बजारबाट झरेका मलामी पनि उसलाई चिन्थे । सन्तेकै बाट किन्थे । तर, आजकल दाउरा बेच्ने धेरै भए कि मान्छे कम मर्न थाले, सन्तेले खुट्याउन सकेको छैन । कहिलेकाहीँ सुर्ती माड्दै ऊ सोच्छ । कस्तो संसार ! मान्छे मरून् भन्ने रहर पालेर बसेको छ ऊ । स्वार्थ नहुँदो हो त संसार चल्दो हो ?

सानो प्रकाश उसको विचार बिथोल्छ, “बा, के सोचिराको ?”

प्रकाशतिर हेर्दै ऊ खैनी मुखमा च्यापेर प्रश्न गर्छ, “तँलाई थाहा छ, यो खानु हुन्न !”

प्रकाशको निधारमा प्रश्नवाचक रेखा देखिन्छन् । खान नहुने भए उसको बाउले किन खायो ? अनि खाँदै उसलाई खानु हुन्न किन भन्यो ? माग्छ भनेर पो हो कि ? तर, माछा त बाँड्नेले यो किन नबाँड्नू ? माछाभन्दा मीठो त पक्कै नहोला !

प्रश्न टार्न प्रकाश हाँसिदिन्छ । सन्ते साहुजीको छोरीलाई सम्झिन्छ । उसलाई प्लास्टिक कुहिन्न भन्नेसम्म थाहा छ । प्रकाशलाई खैनी खानु हुन्न भन्ने पनि थाहा छैन । पैसा नतिरुन्जेल छोरालाई राम्ररी पढाउँदैनन् कि लिटल फ्लावर्समा ? उसलाई डर लाग्छ । केही गरी दाउरा आज–भोलिमै बिक्री गरेर स्कुलको फिस तिर्न जानु छ ।

“तँलाई कुहिने झोला दिएनन् स्कुलमा ?”

“त्यो त नगरपालिकाले बाँडेको रे !” प्रकाश उत्तर फर्काउँछ । सन्ते खैनी पिच्च थुक्दै तमोरतिर हेर्छ । ठूलो रुखको हाँगा बगाएर लिएर आएको छ खोलाको बीचमा ! ऊ हामफाल्न सक्दैन । बीचमा छ । उसलाई नै पनि बगाउन सक्छ । प्रकाशलाई कसले पाल्ने फेरि ?

“नगरपालिकाले हुनेखानेलाई चाहिँ किन बाँड्ने रैछ ?” सन्ते फेरि प्रश्न राख्छ । उसको सानो छोरालाई उसले प्रश्नको भारी बिसाएको होइन । आफैंले आफैंलाई राखेको होला । आफूसँग राखेको प्रश्नको उत्तर कताबाट पाउनू ?

उसलाई थाहा भए त प्रश्न प्रश्न नै हुने थिएन । प्रश्नको अस्तित्व उत्तरको अनभिज्ञतामा हुँदो रहेछ । नयाँ ज्ञान पाउँछ सन्तेले !

“नगरपालिका पनि बजारमा छ नि त ! उनीहरूकै घरनजिकै !” अनायासै प्रकाशले उत्तर फर्काउँछ । ठीक हो कि बेठीक, सन्तेलाई थाहा छैन । पहिलोले प्रश्न गर्छ, दोस्रोले उत्तर दिन्छ । ठीक–बेठीक छुट्याउन तेस्रो नभए उत्तरमा विश्वासै नहुने !

“तँ यहीँ बस् है ! म हिजो काटेको हाँगा छिमल्छु !”

प्रकाश टाउको हल्लाउँछ ।

० ० ०

“खोलालाई अंग्रेजीमा के भन्छ साँच्ची ?” सन्ते प्रकाशलाई भारी बनाइसकेपछि प्रश्न गर्छ ।

“पढाकै छैन त्यो त !” प्रकाशले टारिदिन्छ ।

“हन, तेरो स्कुलमा केही पढाउँदैन कि के हो ?” सन्तेलाई झनन्न रिस उठ्छ ।

“गर्मीमा काम गरेर आए, त्यत्तिकै रिसाउँछन् !”

“तै पनि !” सन्ते थोरै शान्त हुन्छ ।

“पछाडि होला नि त, अंग्रेजी किताबमा ! भर्खर शुरु–शुरुको पढाउँदैछन् त !”

“यति नजिकैको खोला किन पछाडि राखेछन् त किताबमा चाहिँ ?”

प्रकाशसँग केही उत्तर छैन । उसको बाउ स्कुलमा उसका साथीभाइले सर, मिससँग गर्नेभन्दा धेरै प्रश्न गर्छ । कहिलेकाहीँ त प्रकाशलाई नि झर्को लाग्दो हो । ‘तिमी पनि पढ्न आऊ’ भन्दिन मन लाग्दो हो । तर, उसको लिटल फ्लावरको फिस चर्को छ । बाउ पनि पढ्न गए दाउरा कसले बेचिदिने ? यो उमेरमा बाउलाई स्कुल ड्रेसमा कस्तो देखिँदो हो ? अझ हाफ पाइन्ट लाए भने ! प्रकाशलाई हाँसो उठ्छ । हाँसो लुकाउन मुख अर्कोतिर फर्काउँछ ।

० ० ०

“बा परबाट लर्को झ¥यो त, मलामी हुन् जस्तो छ !” प्रकाश परको कमिलाको ताँतीजस्तो मान्छेको हुल हेर्दै भन्छ ।

आज त अरु दाउरा बेच्ने पनि छैनन् । ऊ दाम कस्न सक्छ । उसलाई खुशी लाग्छ । कोही नभएको बेला आउने भए । आज त बजारै उसको । ‘यतिमा त मिल्दैन, हुँदैन’ भन्न पाउने भो । अनि प्रकाशेको स्कुलको फिस । भोलि नै बुझाउनुपर्ला । मनभरि योजना बन्छन् । धन्न थोरै अघि उसले भारी बनाएछ । केले अह्रायो कुन्नि ! त्यतिखेर अल्छी लागेर पल्टेको पनि जुरुक्क उठेर भारी बनाउन गयो । अचम्म ।

मान्छेहरू नजिकै आउँदा ठूला हुँदै जान्छन् । एउटा नजिकै आएर सोध्छ, “दाउरा कतिको एक भारीको ?”

“हजार !”

“तोइट ! हजारमा त टायर आउँछ !”

“आफ्नो आफन्तलाई टायरमा बाल्नुहुन्छ भने त कसको के लाग्छ र !” ऊ च्याँठ्ठिन्छ ।

सोध्ने मान्छे यता–उता हेर्छ । आज दाउरा बेच्ने अरु छैनन् । सन्तेलाई पनि थाहा छ । आज उपाय छैन ।

“को हुन् मान्छे चाहिँ ?” सन्ते प्रश्न गर्छ ।

“बजारमा ठूलो किराना दोकान छ नि ! त्यसैका साहुजी !”

सन्तेलाई के भन्ने, आउँदैन । ‘आ ऽऽऽ यस्तै त हो मान्छेको जुनी’ भन्न पनि सक्दैन । छोरीलाई ल्याएनन् होला मलामी ।

‘बुबा, नगइस्यो नगइस्यो’ भन्दै रोई होली । साँच्चै ऊ मरे प्रकाशे कसरी रुँदो हो ? प्रकाशे त पक्कै ‘बुवा नजाऊ, बुवा नजाऊ’ नै भन्दो हो ।

“चिनेकै मान्छे रछन्, मिलाएर दिनू न त !” अनायासै सन्तेको मन बदलिदिन्छ । भारी उठाउन तीन–चार जना मान्छे थपिन्छन् । ऊ पनि भारी सँगसँगै खोलातिरै जान्छ । एकछिन आगो बलेको हेरेपछि सुस्तरी फर्किन्छ । प्रकाशे किताब लिएर पढ्दैछ । उफ्रिँदै आउँछ उसको छेउमा, “मैले तिमीले सोधेको पत्ता लाएँ !”

“के ?”

“रिभर भन्दो रै’छ !”

“के भन्छ ?”

“खोलोलाई के अंग्रेजीमा ! नजिकैको कुरा त पहिला पढ्नुपर्छ भनेर मैले पनि खोजेरै पत्ता लाएँ !”

सन्ते प्रकाशलाई हेर्छ अनि परको सुसाउँदै गरेको तमोरलाई !

(स्रोत : बाह्रखरी दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.