~प्रवीण राई जुमेली~
उद्घोषित हुन्छ अचानक नै एउटा पीडापूर्ण कारावासको समाप्ति
दुर्बल हात-खुट्टाहरु बेडीमुक्त हुन्छ अचानक नै
अचानक नै उघारिएको पनि हुन्छ फलामे ढोका
जहाँबाट देख्छु क्षितिजले छेकिएको
सानो टुक्रा आकाशलाई देख्छु निर्धक्क
जब कारागारको संघार बाहिर राख्छु पयरहरु अनि
कुन्नि कसले भनिरहेको हुन्छ पछाडिबाट
कि अब त्यहाँ स्वतन्त्र भएँ ‘रे
कि अब म जान सक्छु कहीं पनि र गर्न सक्छु ‘रे केही पनि
अलमल्ल छन् ब्रेलमाथि अन्धा औंलाहरु कठै
अनुभूति हराएको स्पर्शहरुले पनि रोइदिन्छ केवल अक्षमता
स्वतन्त्रता नाम नै कहीं छैन कुँदिएको मैले पढेको किताबभित्र
ओ शिक्षक म एउटा बुद्धु छात्र हूँ तिम्रो
सफलता समेट्न असफल रहेको सधैँ तिम्रो पलायनपछि यता
अनि बेसीनै दुख्न लाग्छ जब मनको घाउहरु यहाँ
उच्छवासहरु फुत्किहिँड्छ आकाश खोज्दै
जब बादलको उन्मुक्त उडानहरु पनि हेर्छु त्यहाँ
सोंच्छु अनि आकाशनै सायद स्वतन्त्रताको अर्को नाम हुनपर्छ
मनले पनि लुटिएको आफ्नो घरबारको सम्झना गर्दो रहेछ
यसैले त यो आगोसितै खेलिरहन्छ सधैँ
अनुवाद भएर आवाजबाट बमहरुमा
बाहिर सडकतिर गश्ती लगाइरहेको गेस्टापोहरुबीच पड्किन तयार छ
भ्यागुता बाँच्ने कुवाको परिधि नभन्नू मलाई
नभन्नू निस्सहाय आँखाहरु धृतराष्ट्रको
एउटा जबर्जस्त योद्धाको अनावरण हुँदैछ मभित्र
असत्य र अनास्थाको विरुद्धमा लड्नलाई
बिलीन हुँदैन कदापी सीमान्तको प्रच्छेदनले पिता र ईश्वरले दिएको उज्यालोहरु
ब्यर्थ भएर रहनेछ विभाजन र द्रोहको मिथ्यारोपहरु यहाँ
अंगालेर अनि त्यही पराजयलाई
कदापि युग-युग रुँदिनँ म
जब मरिसकेका छन् पिताले उडाएका परेवाहरु सबै
आफ्नै विवेकको आधारमा भूकम्प निर्माण गर्दैछु म
मलाई सम्झौताको कुटनीतिज्ञले नफकाउनू
सुरक्षाका ढालहरुले पनि नबार्नू मलाई जाकिन दिनू मलाई सीमान्तहरुमा
असमानताका जङ्गलहरु फाँडेर आस्थाको बस्ती बसाउन सकूँ म
हरेक पल हरेक ठाउँ यो विशाल जमातभित्र
उत्खनन गर्छु केही निचोर्छु केही
अनि सधैं झैं हत्केलाभरि समेटिन आइपुग्छ एकलोपनकै त्यही पुराना गन्धहरु
म त केवल एउटा सानो पिंजडाबाट ठूलो पिंजडामा सारिएको रहेछु
जहाँ विचारहरुलाई माटोविहीन सानो गमलाभित्र
दुइ थोपा पानीको भरमा जिवित राखिँदो रहेछ
जब आर्तनादहरु चिच्चाइउठ्छ आफन्तहरुकै हेला-होंचोमा दमित आत्माले
अन्धाधुन्ध आक्रमण पनि बोलिदिन्छु भत्भत पोलिएर वीरगतिको इच्छाले
भो नग्नता नदेखाउनू मलाई तरुणीको
नदेखाउनू मलाई महलका तलाहरु पनि मृत्युतिर औंल्याएर नडराउनू मलाई
म मृत्यु बोकेर आएको योद्धा होइन जिन्दगी फर्काउन आएको फकीर हूँ
म पनि खुप चिन्छु जिन्दगीलाई
यसैले त जबरजस्त उठान भइरहेछ यो युद्धको
यस युद्धले उडाँएको धुलो हेरेर कुनै खण्डहरबीच उभेर
चिच्चाइरहेको एउटा भग्न बौलाहा नसोंच्नू मलाई
किनकि कुनै आँगननजिकै छाडिएको कुनै बतासे नानीको अनुवाद होइन म
मेरो त भन्न मिल्ने आमा पनि छिन् एउटी भन्न मिल्ने बाबु पनि छन् एउटा
निस्केर आउनू मनको उज्यालो बोकेर अब त विचारको किल्लाबाट बाहिर
खनेर निकाल्नू आफैलाई पुरिएको चिहानबाट
ए आवाद गर्नपर्छ अब त यो श्मशानघाटलाई पनि।।
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम