संस्मरण : प्रोफेसर पराजुली

~प्रभा कैनी~

कविवर सिद्धिचरण श्रेष्ठका हरफ गुनगुनाउँदै हामीलाई स्वागत गर्न घरको गेटमा आइपुगे उनी। एरिजोना राज्यको पुरानो राजधानी प्रेस्कटमा १० एकड जमिनको फराकिलो बस्तीको बीचतिर अलिअलि उठेको सानो थुम्कीमा बनेको अल्ट्रा मोडर्न घर। घरमा अमेरिकामा प्राप्त हुने कुनै सुविधाको कमी छैन। उनी यसै घरमा बसेर आफ्नो अफिसका अधिकांश काम सम्पन्न गर्छन्। यस विशाल र सुविधासम्पन्न घरमा उनी प्रायः एक्लै बस्छन् रे! उनी अर्थात् तनहुँ, काहुँमा जन्मिएका, पेसाले प्रेस्कट कलेजका प्रोफेसर प्रमोद पराजुली।

हाम्रो पुरातन आँखाले उनलाई एक्लै देख्यो। वीणा र लक्षुले उनको एक्लो जीवनप्रति दयाभाव दर्साउन पनि खोजे। तर, उनी कत्ति विचलित देखिँदैनथे। हुन पनि साथीको नाममा मानवको कमी थियो, त्यस घरमा। तर, उनी एक्लै थिएनन्। उनको साथमा न्यान्सी नामको एउटा कालो-सेतो टाटेपाटे कुकुर छ, पाँच-सातवटा बाख्रा, आठ-दसवटा भेडा र २०-३० वटा कुखुरा छन्, उनका साथी। हामी पुगेका बेला त प्रेस्कट कलेजका स्नातक तहमा अध्ययनरत उनका छोरा अमलेख पनि थिए।

हो, यिनै अमलेखकी आमासँग प्रमोदले ३०-३५ वर्षपहिले विवाह गरेका थिए, नेपालमै हुँदा। कति वर्ष पतिपत्नीको हैसियतमा सँगै बसे र कहिलेबाट अलग अलग बस्न थाले, त्यो त यकिन भएन, यकिन गर्न पनि जरुरी मानेका थिएनौँ। तथापि, फरासिला प्रमोदले हामीसँग आफ्नो पारिवारकि स्थिति लुकाउन चाहेनन्। उनकी पूर्वपत्नी एलिजावेथ पनि प्रमोदजस्तै एक्लै बस्छिन् रे, अमेरिकाको अर्कै राज्य ओरेगनको पोर्टल्यान्डमा। अलग-अलग बस्ने यी पूर्वदम्पतीका चाहना भने प्रायः उस्तै उस्तै रहेछन्। एलिजावेथ पनि प्रमोदजस्तै वातावरण संरक्षणको क्षेत्रमा तल्लीन छिन् रे! वर्तमान अवस्थामा उनीहरू पतिपत्नीको नातामा आबद्ध छैनन् रे! तर, उनीहरूका बीचमा कुनै वैरभाव पनि छैन रे, मित्रवत् व्यवहार छ रे! भाइ लक्ष्मणको घर ग्नेन्डेल आएपछि प्रमोदको भिजिटिङ कार्ड हेर्दै वेबसाइटमा खोजेँ। चितवनमा प्रमोदले आफ्ना बन्धुबान्धवको सहयोगमा एक फार्मिङ सुरु गरेका रहेछन्। नाम रहेछ, अजम्बरी फार्मिङ। उक्त फार्मिङमा प्रमोद र एलिजावेथको पनि उत्तिकै संलग्नता देख्दा उनले भनेझैँ उनीहरूबीचको मित्रता टुटेको रहेनछ।

उनको निम्तोलाई सहर्ष स्वीकार्दै हामी उनको घरमा पुगेपछि, प्रमोदका छोरा अमलेखले हामीलाई ताजा गाँजर र स्याउको जुस पिलाएर स्वागत गरे। हामीसँगै केही क्षण डुले र खाना खाएपछि आफ्नो होस्टलतिर लागे। प्रत्येक शनिबार उनी बुबाकहाँ आउँछन्, दुई जना सँगै खाना खान्छन्, केही समय बुबाको घरका पाल्तुसँगै जंगल र डाँडापाखा डुल्छन् अनि लाग्छन्, आफ्नै बासस्थानतिर। त्यसो त उनी बाबुकहाँ मात्र होइन, आमाकहाँ पनि यसरी नै बेलाबेलामा जान्छन्, बस्छन्। आफूहरू अलग-अलग बस्ने भए पनि छोराप्रतिको दायित्व दुवैले बराबरी वहन गर्छन् रे! हाम्रो जस्तो बुबालाई छोडेर गएकी आमाको मुखै हेर्न वर्जित गर्दो रहेनछ, अमेरिकी समाजले।

अमलेख अहिले होस्टलमा बस्छन्, बुबाआमा दुवैले उनको अध्ययन खर्च बेहोर्छन्। तर, होस्टल जीवनपछि उनी कुनै दिन आफ्ना बुबा अथवा आमाको घरमा बस्ने र उनीहरूको सम्पत्तिको दाबा गर्ने छैनन्। प्रमोद र अमलेखको मात्रै होइन, सारा अमेरिकीको जीवनपद्धति यस्तै छ। अमेरिकी जीवन नितान्त व्यक्तिवादी प्रकृतिको प्रतीत हुन्छ। आफ्नो कमाइमा कुनै छोराछोरीले पनि दाबा गर्दैनन्, जति नै विपुल औलादका मालिक बाबुआमा किन नहुन्। त्यसो त छोराछोरीले जति नै कमाए पनि बाबुआमा उनीहरूको कमाइको आशा पनि गर्दैनन्।

३५ वर्षसम्म भेट नभएका अमर र प्रमोदको आश्चर्यजनक भेट भएको थियो, त्यस दिन। हामी उनको घरमा पुग्नुअगावै दुई जना बाबुछोराले तयार गरेको सलादको स्वादसँगै यी दुई मित्रले आफ्ना विगतका पाना पल्टाउन थाले। आँप, भुइँकटहर, लेटिस, कुरिलो, मसरुम र चिजलाई मिसाएर तयार गरिएको सलाद जति स्वादिलो लाग्दै थियो, सायद यी दुई मित्रलाई यो भेटघाट र आफूले करबि चार दशकअघि भोगेको नेपाली गाउँले जीवनको अनुभवको संस्मरण, विगत र वर्तमानका राजनीतिक घटना-परघिटनाको व्याख्या-विश्लेषणले पनि उत्तिकै सन्तुष्टि प्रदान गरेको कुराको स्पष्ट अनुभूति हुँदै थियो हामीलाई। उनीहरूको अनुभव र अनुभूतिको स्वाद हामी पनि लिँदै थियौँ।

सलाद र स्न्याक्स खाइसकेपछि हामी पाँचै जना उनको घरको पूर्व डाँडामा चढ्यौँ। हामी पाँच जना मानिस र १५-१६ वटा भेडाबाख्रा। गाउँले गोठालोजस्तै प्रमोद ‘आ…आ…’ भन्दै अघिअघि लागे, भेडाबाख्राको बथान उनको पछिपछि लाग्दै थियो। हामीलाई बेलाबेलामा कन्फ्युजन हुँदै थियो, हामी नेपालको जुम्ला र मुगुतिरका गोठालासँग डुल्दै छौँ अथवा अमेरिकाको प्रसिद्ध विश्वविद्यालयका प्रोफेसरसँग डुल्दै छौँ?

करबि एक घन्टाको उकाली-ओराली पार गर्दै गर्दा प्रमोदले त्यस सुक्खा मरुभूमिजस्तो जमिनमा हुर्केका स-साना पोथ्रा, लेउ, झारपातका उपयोगिता र तिनको संरक्षणका तौरतरिका बुझाउँदै गए। बोटबिरुवा र जीवजन्तुको निकट सम्बन्धको व्याख्या गर्दै प्रमोद अघिअघि लागे, हामी पछिपछि लाग्यौँ। उनी शिक्षक र हामी विद्यार्थी थियौँ, त्यस दिन। डाँडामाथिबाट विशाल सिनोभ्याली देखिँदै थियो भने निकै पर सानफ्रान्सिस्को पहाडको टुप्पामा केही हिउँ देखिँदै थियो। केही दिनअघि मात्र हामीले हेरेको प्रसिद्ध पर्यटकीय स्थल ग्रान्ड क्यानिन यहाँबाट उत्तरमा पर्दो रहेछ भने राता पत्थरको रमणीय वस्ती सेडोना केबल दुई घन्टामा पुगिँदो रहेछ।

अमेरिका पुगेका नेपालीप्रति नेपालमा रहेका परिवारजनलगायत इष्टमित्रको एक प्रकारको धारणा बनेको देखिन्छ- निश्चय पनि कुनै मेट्रोपोलिटन सिटीमा बसेको, राम्रो जागिरमा लागेको, अत्याधुनिक सुखसुविधामा रमाउँदै गरेको र यथेष्ट आर्जन गर्दै गरेको। निर्जन पाखामा कुखुरा, भेडा र बाख्रा पालेर एक्लो जीवन बिताउँदै छ कसैले भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। झट्ट हेर्दा गृहस्थी जीवन त्यागेर जंगल पसेका हाम्रा पौराणिक कथाका ऋषिमुनिजस्ता। हो उनी बस्छन् एक्लै। सहरी हूलमूलबाट पर, निर्जन भूमिमा तर हाम्रा पुराणमा वणिर्त ऋषिमुनिहरू र यिनको जंगल बसाइ फरक-फरक उद्देश्यले प्रेरति देखिन्छ। उनीहरू घरजम र गृहस्थी त्यागेर आफ्नो बन्धनरूपी जीवनबाट मुक्तिका लागि प्रस्थान गरेको वण्रन पाइन्छ। एक्लै जंगलतिर बसेका छन् तापनि यिनी पुराणमा वणिर्त पलायनवादी होइनन्, न त यिनको बसाइमा इहलीलापछिको पारलौकिक उपलब्धिको कुनै चाहना नै छिपेको छ।

प्रेस्कट कलेजका प्रोफेसर, जो अहिले पनि विद्यावारिधिका विद्यार्थीलाई सुपरीवेक्षण गर्छन् अनि जंगल र जन्तुको अन्योन्याश्रति सम्बन्ध र पर्यावरणको विकासमा तल्लीन छन्। उनको प्रयोग यसै लोकका जीवहरूको सहअस्तित्वका लागि हो भन्ने बुझ्न कत्ति गाह्रो छैन। हाम्रा ऋषिमुनिजस्ता शाकाहारी पनि होइन रहेछन्। उनले हामीलाई आफैँले पालेका बाख्राको मासु, बाख्राकै दूध र दही खुवाएका थिए। परलोकको कमाइको खोजीमा जीउ र दिमागले काम गर्दागर्दै कुटीमा बस्ने ढोँग पनि देखिएन, न त गृहत्यागको बहानामा सन्तानसँग मोहभंग गरेका छन्। छोरा अमलेखसँगको सुमधुर सम्बन्ध र उसप्रति बहन गर्दै आएको दायित्व देखेपछि त्यस्तो आरोप लगाउन मिल्दै मिलेन।

अब रह्यो, श्रीमतीसँगको सम्बन्ध। भौतिक सुखसुविधासम्पन्न घरमा उनकी जीवनसाथीविहीन देख्दा हामी आगन्तुक अलिअलि विचलित भएका थियौँ। तर, उनको हाउभाउमा कतै केही कमीकमजोरी र पश्चात्तापको कुनै आभास मिलेन। हो एलिजावेथसँगको सम्बन्ध पुरातनवादी पतिव्रता नारीपुरुषको जस्तो छैन, सधैँ लोग्नेस्वास्नी सँगै बस्नुपर्ने, एकआपसका तीतामीठा कुरा सहँदै जसोतसो जिन्दगी चलाएको देखिएन। किन्तु दुवै जना आ-आफ्नै उन्नति र प्रगतिमा तल्लीन छन्, दुवै जनाले एकआपसमा समझदारी कायम गरेका छन् र उनीहरू आपसमा खुसी छन् भने अरूलाई यो चिन्ताको विषयवस्तु नै किन हुनुपर्‍यो र?

मित्रवत् सम्बन्धमा रहेकी एलिजावेथ र प्रमोदको बेलाबेलामा सायद भेट हुन्छ, उनका कुराको आशयले यस्तै छनक पनि दिन्थ्यो। तैपनि, हाम्रा आँखाले खोजेको कुरा नपाए नपाएजस्तो लाग्दै थियो, हाम्रो चिन्तनले के के ठम्याउन नसकेजस्तो लाग्दै थियो। पत्नीसँग अलग भएपश्चात् उनले फेरि विवाह गर्ने जमर्को गरेनछन्। तर, प्रमोदकी एक केटी साथी त्यतै कतै छन् र दुवैको फुर्सदको दिनमा कहिले प्रमोदकहाँ कहिले उनीकहाँ जानेआउने क्रम चलिरहन्छ। त्यसैले त उनी खुसी देखिन्छन्, न हरेक दिनको तिक्तता, न सधैँको रत्तिmतामा अभ्यस्त भएजस्तो लाग्यो हामीलाई। धेरै सोध्न सकिएन तर हाम्रा मौन जिज्ञासा बुझेर होला सायद प्रमोद स्वयं ‘न कसैलाई कसैको बन्धन, न कसैलाई कसैको बोझ, हामी आ-आफ्नै किसिमले स्वतन्त्र छौँ, आ-आफ्नै किसिमले खुसी छौँ’ भन्दै मुस्कुराए। आफ्नै परम्परावादी चिन्तनबाट प्रेरति हामीलाई केही असहज लाग्दै थियो। तैपनि, हामीले मुस्कुराएर उनको भावनाको कदर गर्‍यौँ ।

प्रकाशित: वैशाख १४, २०७१

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.