~गोपालप्रसाद रिमाल~
“नारी के हो?”
सोध्ने, “लौ विचार गर, म भरेतिर आउँला”
भनेर हिँडिहाले,
जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकी-
नारीलाई लुकेर हेरेको सम्झेँ, ऊ सिँगार गर्न लागेकी छ,
ऐनामा प्रतिबिम्बित आपनो हरेक अङ्गलाई ऊ
टोह्लाएर हेर्दी रहिछ,
अनि देखा परेको आफूलाई आँखा चिम्लेर खोज्दी रहिछ,
बिर्िर्सँदी रहिछ, अनि फेरि ऐनामा प्रतिबिम्बित आफ्नो हरेक
अफ्नो हरेक अङ्गलाई टोह्लाउँदै निहार्दी रहिछ।
ए सोध्ने कता पुगे हँ? सुनिने दूरीसम्म मात्र उनी पुगेका भए
म उनलाई चिच्याएर भए पनि भनिदिन्छु,
“उसको रुपलाई मात्र लिने हो भने
नारी आफैँ उसको र हाम्रो पनि आश्चर्य हो !”
सिँगार सिद्धिन्छ,
उसको मीठो अधरमा अब साँझको हावाले हल्लाएको
दीप-शिखाजस्तो मुस्कान खेल्नेछ,
अनि आफ्नो प्रेमीको अङ्गालोमा बाँधिएर,
हल्लिँदो मुटुको पीङ खेलेर उसको नानीमा ऊ
आफुलाई निहारेर हेर्नेछ,
अनि सुतेपछि स्वप्नमा आफैलाई देख्नेछ,
आफ्नै उपस्थितले रमाइलो भएको सपनाको
जूनमा ऊ अभिसार गर्नेछ।
ए सोध्ने कता पुगे हँ? सुनिने दूरीसम्म मात्र
उनी पुगेका भए उनलाई म चिच्याएर भए पनि
भनिदिन्छु, “उसको रुपलाई मात्र लिने हो भने
नारी आफैँ उसको र हाम्रो पनि आश्चर्य हो !”
नारी जस्तो यहाँ सुन्दर निर्माणजस्तै सपना
र सपनाजस्तै बुरबुरे भएकी छ, उस्तै ऊ विनाश
जस्तै खँदिली पनि छ,
ऊ झाँक्रो फिँजाएर युद्धमा आँधी भएर आउँदा
संसारलाई मसान तुल्याउँदै हुर्रिएकी पनि छ।
यो त कथा भो, सुनेको कुरा भो,
मैले यहाँ नारीलाई धेरैजसो बरबरी रोएको देखेको छु।
ए, सोध्ने कता पुगे हँ? उनलाई म नारी यसरी
रोई भनेर उनको आँखामा केही आँसु ल्याउँछु,
अनि आश्वासन दिँदै भन्नेछु,
“हो नारी रोई, तर ऊ आँसु मात्रै होइन,
कहीँकहीँ उसले आफूलाई पाई पनि सकेकी छ !”
नारीको निर्माणको बारेमा मैले यस्तो हल्ला सुनेको छु-
चकमन्न रातमा ताराहरुले कानेखुसी गरेको सुनेथेँ
बूढा ब्रह्मा साराका सारा जूनकीरीहरुलाई
पछि लाएर संसारको सबभन्दा सुन्दर कुञ्जभित्र
चाहिने सर्दाम लिएर पसेछन्। सर्दाम यस्तो रहेछ,
रवि-शशिको पृथ्वीमा पर्ने, मरेको आधा तेज (त्यसै बेलादेखि आधी
पृथ्वी अँध्यारो भएको रे !)
आकाशको समात्न सकिने भाग,
आगोको छोए पनि नपोल्नेचाहिँ हिस्सा,
इन्द्रधनुको अदृश्य आधा चक्का बुन्ने हावा
जसको एक खुट्टा पानीमा र अर्को खुट्टा घाममा पर्दछ।
यति सर्दाम लिएर जूनकीरीहरुको प्रकाशमा
बूढा ब्रह्मा नारी निर्माण गर्न लागेछन्।
बनाइसकेपछि उनी हर्षले गद्गद भएछन्।
उनले त्यस बेला छोडेको खित्का हावाको हरेक झोकामा
अझै ओसारिदै छ रे।
मैले यो कुरा ताराहरुबाट आफैँले सुनेको भनेछु।
हैन ब्यारे, मैले यो रहरलाग्दो झूट बोलेँ।
यस्तो राम्रो कुरा आफैँले सुनेर पृथ्वीमा सबभन्दा
पहिले ल्याएको छु भन्ने श्रेय लिन को नचाहोस्?
कुरा के भएको थियो भने ताराहरुले त्यो कुरा
रातभर आफ्नो सुनौला मनमा खेलाइसकेपछि,
पछि बिहानीपख नारीको गाला रङ्गको गुलाफको
फूलमाथिको शीतको थोपालाई भनेर लुकिहाले,
शीतको थोपाले नारीको आँखाको नानीजस्तो
कालो भमरालाई सुनाएछ,भमराले नारीको
कपालको कालो रङ्गको नाता परेको कोइलीलाई
सुटुक्क भनेछ। अनि कुञ्जमा कोइली “को हो ! को हो !” भनेर
मलाई पर्खिरहेको रहेछ। म पुगिहालेँ।
उसले मलाई भनिहाल्यो।
भएको कुरा यै हो।
ए सोध्ने कता पुगे हँ? टाढै पुगिसके होलान्।
भरे आउनेबित्तिकै मलाई कोइलीले भनेजस्तै गरी
सबै कुरा एक-एक गरेर भनिदिन्छु।
साथसाथै यो पनि भनिदिन्छु नारी सृजनकर्ताको आनन्द हो।
बूढा ब्रह्मा अझै हाँस्तै छन्,
नारीले केटाकेटी छँदा पुतली लखेटेको देखेर, यौवनमा
आफ्नै छायालाई लखेटेको देखेर, पछि आफ्नै
प्रतिरुप केटाकेटीलाई माया गरेको देखेर।
नारी के गर्छे !
ऊ चन्द्रले समुद्रमा झैँ हाम्रो हृदयोदधिमा
हाँसो र आँसुको ज्वारभाटा उमाल्छे।
हाम्रो हृदयबाट अँजुली भरेर ऊ आफूलाई त्यसमा हेर्दछे।
अनि नुहाउँछे। उसको यो रहस्यमय खेललाई
म के भनूँ? प्रेम?
सोध्ने भरे आउँछन्, बरु अलि ढिलो गरेर आऊन्।
त्यतिन्जेल यी मीठा तीखा कल्पना र चित्रहरुलाई छहारीमा
बसेर गाईले घाँस उग्रेझैँ गरी म मनमनै खेलाइरहन्छु।
उनी आएपछि एक-एक गरेर सबै कुरा भनिदिन्छु।
साथसाथै यो पनि भनिदिने विचार गरेको छु, “हेर बाबै !
कृपा गरेर अर्कोचोटी यो प्रश्न गर्दा तिमीले
‘नारी’ शब्द बोल्दाखेरि देखिएको तिम्रो आँखाको चमकलाई
मेरो हृदयको गहिराइमा नहराउने गरी छाड्न नबिर्से
किनभने त्यो चमक नभए नारीउपरको हरेक बिचार
रुखो हँदो रहेछ, त्यो चमकबिना
नारी ‘नारी’ शब्दमा अटाउन पनि आटाउन्न।”