~श्याम साह~
भन्सारमा पोस्टिङ भएको दोस्रो दिन नै सशस्त्र प्रहरीको हवल्दारले उसको सामान र साइकल दुबै खोसेर मेरो अगाडि ल्याएको थियो ।
तलबाट माथिसम्म नियालेँ । गहुँगोरो वर्णको भए पनि घामले डढेर निकै कालो देखिन्थ्यो । दुब्लो यति थियो कि उसका गाला भित्र धस्सिएर दाँत बाहिर आएको देखिन्थ्यो । लुङ्गीमाथि गन्जी लगाएको थियो । काँधमाथि गम्छा थियो । साइकल चलाएर होला, बेला बेलामा उसले गम्छाले आफ्नो पसिना पुछिरहेको थियो । फित्तावाला चप्पल लगाएको थियो । एउटा चप्पलको फित्ता चुँडिएको थियो र उसले त्यसलाई डोरीले बाँधेर काम चलाएको थियो । उसका कुर्कुच्चाहरू चिरिएका जस्ता देखिन्थे ।
‘के भो हवल्दार साब ?’
‘कुनैको पनि भन्सार काटेको छैन हजुर । काट्न भन्दा मानेन । अनि यता ल्याएको ।’
लेनदेनको हिसाब नमिलेर यहाँ ल्याएको हो भन्ने बुझ्न खासै गाह्रो भएन ।
‘नाम के हो भाइको ?’
‘जितन माझी ।’
‘के छ यसमा ?’
‘चिनी र तेल छ हजुर ?’
‘अनि यसको भन्सार काट्नु पर्छ भन्ने थाहा थिएन र ?’
‘गाउँमा भोज छ हजुर, त्यसैको लागि लगेको ।’
सबै बिलेकियाहरूले दिने उत्तर नै यही हो । यही सामान बेचेर उनीहरू फाइदा गर्छन् । त्यही फाइदाबाट उनीहरूको गुजारा चल्छ ।
‘छोड्दिनुस् यसलाई ।’
‘हजुर सर ?’
मेरो कुराले हवल्दारलाई झड्का जस्तै लाग्यो । समातिएको सामानको लिलामीबाट निश्चित कमिसन पनि पाउने हुन्छ उनीहरूले । त्यसैले उसको प्रतिक्रिया स्वाभाविक थियो । जितन माझीको अनुहार भने उज्यालो भयो । तर त्यतिन्जेलसम्म म उनीहरूको प्रतिक्रिया हेर्न म बसिनँ ।
करिब एक घण्टा जति भएको थियो, म आफ्नो अफिसको.कोठामा बसेको । कसैले ढोका ढकढकाएको थियो । मेरा अफिसका स्टाफहरू कसैले पनि ढोका ढकढकाउँदैनन् । यसरी ढोका बजाउने नयाँ र बाहिरका नै हुने गर्छन् ।
‘खुलै छ । आउनुस् ।’
हात जोडेर जितन माझी भित्र छि¥यो । मैले केही भन्नु भन्दा अगाडि नै उसले पसिनाले भिजेको सयको पुरानो दुई ओटा नोट मेरो टेबलमा राख्यो ।
‘के हो यो ?’
मलाई रिस भन्दा पनि बढी झर्को लागेको थियो । यस प्रकारको अवस्थाको मैले कल्पना समेत गरेको थिइनँ ।
‘मैले प्रत्येक खेपको यति दिन्थेँ हजुर । उहाँलाई पनि यति दिन खोजेको त पाँच सय माग्नु भयो । त्यति त हाम्रो फाइदा नै हुन्छ हजुर । अनि यतिको रिस्क र मेहनत केका लागि ? यति मात्र भनेको के थिएँ समातेर ल्याइहाल्यो हजुर । अर्काको भाग खान जानेको छैन हजुर । त्यसैले यो ल्याइदिएको ।’
सबै कुरा सिस्टममा चलेको छ यहाँ । शोषण सिस्टममा छ । भ्रष्ट्राचार सिस्टममा छ । मलाई थाहा छ, उसलाई त्यत्तिकै छोड्नुको अर्थ राज्यको राजस्व छोड्नु हो । ल्याएको एक बोरा चिनी र एक टिन तेलबाट उसले बढीमा हजारदेखि पन्ध्र सय कमाउँछ । यसैबाट उसको र उसको परिवारको जीवन चलेको छ । ऊ जस्तै पचासदेखि साठी परिवारको जीवन यसरी नै चलेको छ ।
‘तिमी जस्तो यस जिल्लामा मात्र पचासदेखि साठी जना छौ यस्तो काममा । प्रत्येकले दिनमा पाँच सयदेखि हजारसम्म राजस्व छलेर हिँड्छौ । सामान्य हिसाबले पनि हेर्दा तिमीहरूले सरदर महिना पच्चिस तिस लाखको राजस्व छलेका छौ । थाह छ, यो कति ठुलो अपराध हो ?’
केही क्षण बोलेन ऊ । गम्छाले फेरि उसले पसिना पुछ्यो ।
‘मेरो घर यहीँ कमलावाडी हो हजुर । यो बाटो प्रत्येक रात पाँचदेखि दस ओटा ट्रक पास हुन्छ । मलाई लाग्दैन कि राती तपाईंहरू भन्सार काट्नु हुन्छ । म त पढेलिखेको मान्छे होइन हजुर तर प्रत्येकमा करोडौँ माल जान्छ । अब त्यसबाट कति राजस्व मासिन्छ आफै हिसाब गर्नुस् । एउटा कुरा भनूँ साब ? ती सबै ट्रकको अगाडि पछाडि पुलिस हुन्छ । अब कहाँ कहाँ सेटिङ हुन्छ त्यो त हजुरलाई नै थाह होला ।…’
ऊ फेरि एक क्षण चुप लाग्यो र मेरो अनुहार नियाल्यो ।
‘…छोटी मुह बढ्का बात भए जस्तो छ हजुर, माफ गर्नु होला । …’
‘चिया खान्छौ ?’
ऊ झस्क्यो । सायद भन्सार कार्यालयको हाकिमले एउटा बिलेकिया जो साइकलमा सामान ओसारपसार गरेर आफ्नो जीवनयापन गर्छ, उसलाई चिया सोध्नु अपत्यारिलो लाग्यो होला । तर ऊ भन्दा बढी म आफै झस्केको थिएँ । किनकि एउटा सामान्य मानिस जसले स्कुलको मुख देखेको छैन, पाँच सय कमाउन आफ्नो जीवन धरापमा राख्छ, जसका कारणले ऊ जेल पनि जान सक्छ तर उसले करौडौँको तस्करीको जानकारी राख्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आफै संलग्न हुन सक्ने कार्यालयको कार्यालय प्रमुखलाई हाकाहाकी मुखमै भन्ने आँट राख्छ ।
उसले केही बोलेन । यति काफी थियो । मैले घण्टी थिचेँ । अफिसको पिउन रामचन्द्र भित्र आयो । उसको आँखा जितन माझीमाथि प¥यो ।
‘तु यत कथि करैछी रे ?’ रामचन्द्रले उसलाई देख्ने बित्तिकै हप्काउँदै सोध्यो । ऊ केही बोल्न सकिरहेको थिएन ।
‘मैले हो बोलाएको । दुई कप चिया ल्याइदिन सक्नुहुन्छ हाम्रो लागि ?’
अब झस्कने पालो रामचन्द्रको थियो । बडो सकस भए जस्तो थियो उसलाई । त्यसपछि घुरेर जितन माझीलाई हेर्दै ऊ त्यहाँबाट निस्कियो ।
‘हजुरका अगाडि रामचन्दर भए पनि हाम्रो त रामचन्दर मालिक हो । हेर्नुभएन कसरी खाउँला झैँ हेर्दै थियो मलाई ? पूरै सैतान आदमी हो साब । इन्सानियत नामको कुनै चिज छैन । यसले साब एक हजारमा मेरो स्वास्नीको सोह्र भरीको हौसली बेइमानी गरिहाल्यो । छोरा बिरामी हुँदा एक हौसली राखेर एक हजार लिएको थियो । त्यसैलाई उसले दश हजार बनाइ दियो साब । …’
‘अनि प्रहरीमा खबर गर्नुपर्दैन । गाउँका जान्ने सुन्ने बोलाए पनि त हुन्थ्यो ?…’
‘गाउँमा जान्ने, बुझ्ने त एउटा उही हो साब । सबैले उसबाट कर्जा खाएको छ । थाना प्रहरी पनि हाम्रो कहाँबाट हुनु ? …’
त्यसै बेला रामचन्द्रले चिया लिएर आइपुग्यो । जितनका अगाडि ऊ त्यसरी आउँदा उसको अनुहार रातो भएको थियो । त्यसपछि धेरै कुरा गरिनँ मैले । चिया खाएपछि ऊ हिँडेको थियो । त्यसपछि रामचन्द्र उसले केही भन्यो कि भनेर सोध्न आएको थियो । मैले खासै केही भनेको छैन भनी टारँे ।
***************************
त्यसको केही दिनपछि नै अनुसन्धानको एक जना प्रहरीले दुई ट्रक माल भन्सार नकटाइकनै पास भएको जानकारी गरायो । यसरी पास हुने गाडीहरूमा हाम्रै नाकाका कर्मचारी तथा प्रहरीको मात्र नभई माथिसम्मको मिलिभगत हुन्छ । मैले तत्काल सिडिओलाई खबर गरेर छापा मार्न जानुपर्ने कुराको जानकारी गराएँ ।
त्यसपछि लगत्तै ट्रक भएको ठाउँमा पुग्दा प्रहरीले ट्रकलाई घेरा हालिसकेका थिए । ट्रकलाई भन्सार कार्यालय लग्ने बित्तिकै धेरैका फोन आउन थाले । मैले मोबाइल स्विच अफ गरँे । ल्यान्डलाइन फोनको रिसिभर हटाइ दिएँ । त्यसपछि ट्रकलाई सिधै राजस्व अनुसन्धान कार्यालय इटहरीतर्फ प्रस्थान गराएँ ।
साँझ मात्र मोबाइल अन गरेँ । त्यसपछि पनि फोन आउन थाल्यो । विभागबाट पनि फोन आयो । त्यहाँ एक मन्त्री र केही सभासदहरूको फोन आयो । सायद ठुलै गिरोह सञ्चालन गर्नेको सामान परेछ । प्रोत्साहन गर्नुपर्नेमा उल्टै सोचविचार गरेर काम गर्ने निर्देशन प्राप्त भयो ।
जागिर खान थालेदेखि नै भ्रष्ट्राचारको सिस्टम देखेर एक प्रकारको बिरक्ती सुरु भएको थियो । त्यस घटनाले मेरो बिरक्तीलाई झन् बढाएको थियो । त्यति धेरै आदर्शवादी होइन म । त्यसैले पुरै सिस्टममा कायापलट ल्याउँछु भन्ने सपना देखेर त्यो काम मैले गरेको पनि होइन । बस्, मेरो नाकैमुनि त्यस्तो घटना घट्दा देख्न नसकेर प्रतिक्रिया मात्र जनाएको थिएँ । तर त्यसको पनि यति धेरै प्रतिक्रिया आउन थाले पछि मेरो बिरक्ती झन् बढेको थियो ।
****************************
त्यसको केही समयपछि दोस्रो मधेश आन्दोलन सुरु भयो । टीकापुर घटनाले राज्य संयन्त्र स्तब्ध भएको थियो, जसको प्रत्यक्ष असर पूर्वतर्फको आन्दोलनमा देखियो । दमनमा एक प्रकारको प्रतिशोधको भावना प्रत्यक्ष देखिन्थ्यो । त्यसको तुलनामा सिराहामा भने क्षति कम देखिएको थियो । यसको प्रमुख कारण प्रमुख जिल्ला अधिकारी नै थिए । दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न प्रहरी प्रमुखहरूले गरेको प्रस्तावलाई उनले मानेनन् । प्रहरी प्रशासनलाई संयमित नै राखे । सेनाको रासन बोकेको ट्रक दुर्घटना बाहेक अरू खासै कुनै अप्रिय घटना घटेन ।
आन्दोलनको सुरुवातसँगै भन्सारको काम पनि ठप्प भएको थियो । त्यसपछि अफिसको तनाव घटे पनि घरको तनाव बढेको थियो । तस्कर नियन्त्रण गर्ने निकायका कर्मचारी आफै पनि तस्करबाट ग्यास, पेट्रोल तथा अन्य सामान आपूर्ति गर्न अभिशप्त भएका थिए । अफिसको काम खासै हुँदैनथ्यो । नियमित बैठक बाहेक अरू कामै थिएन ।
बिहान घुमेर फर्कंदा माडर चोकको चिया पसलमा केही क्षण बस्ने नियमित क्रियालाप नै थियो । यदि तराईको राजनीति बुझ्नु छ भने चोकचोकमा हुने चिया पसल भन्दा अर्को कुनै राम्रो ठाउँ छैन । केही दिन अगाडि मात्र बरमझियामा प्रहरी र आन्दोलनकारी बिचको भिडन्तमा केही मानिस मारिएका थिए । त्यसले आन्दोलन झन चर्केको थियो । त्यस दिन माडरचोकमा बिहानैदेखि टायर बालिएको थियो । बिस पच्चिस जना बिहानदैखि प्रदर्शनमा थिए । त्यहाँ मैले जितन माझीलाई फेरि देखेँ ।
त्यसले फेरि मलाई अचम्मित बनाएको थियो । खासमा बिलेकियाहरूलाई कमाउने त्यो सुनौलो अवसर थियो । खास गरी ग्यास र पेट्रोलमा भएको कालोबजारीका कारण त्यसको भाउ आकासिएको थियो । साइकल चढनेहरू मोटर साइकलमा काम गर्न थालेका थिए । तर जितन भने उही पुरानै हुलियामा थियो । यस पटक भने उसको काँधमा गम्छा थिएन । तर अर्को चप्पलको फित्ता पनि डोरीले बाँधिएको थिया ।
‘ओ जितनजी ! कि छै खबर ? ’
मैले मैथिलीमै उसलाई बोलाएँ । अनि ऊ झसङ्ग भएर मतिर हे¥यो । एकक्षण अलमल प¥यो । अनि हाँस्यो ।
‘नमस्कार सर !’
‘ल आउनुस् । चिया खाऔँ ।’
ऊ चारैतिर अप्ठ्यारोसँग हे¥यो र लजाउँदै आयो । त्यो भन्दा पहिला भिडसँग केही भन्यो । सायद मेरो परिचय दियो होला । सबैले एकपटक मतिर हेरेका थिए ।
‘अनि कमाउन छोडेर कहाँ आन्दोलनमा हिँडेको त ? …’
खासमा मैले उसँग सोधेको होइन । उसलाई जिस्काएको थिएँ । तर ऊ जिस्किएन र गम्भिर भएको थियो ।
‘त्यो त गद्दारहरूले गरेकै छ नि सर । यसमा हजुरहरूलाई त खुसी लाग्छ नै । ’
म उससँग जिस्केको थिएँ तर खुसी भएर होइन । खासमा म एकदमै दुविधामा थिएँ । म मात्र होइन पूरै राज्य द्वैध अवस्थामा हिँडिरहेको थियो । खासमा हामी त्यस समयमा बाँचिरहेका थियौँ, जहाँ देशको आधा जनसङ्ख्या दीपावली मनाइ रहँदा आधा जनसङ्ख्या शोकसन्तप्त थियो । राष्ट्रियताको परिभाषा फराकिलो बनाऔँ ता कि हाम्रो राष्ट्रियता पनि त्यहाँ अटाउन सकोस् भन्ने माग गरेको जनसंख्यालाई बेवास्ता गरी अमूक शत्रु देखाएर त्यसलाई राज्यको मूलधारबाट किनारीकृत गर्न राज्य स्वयं उद्दत भएको समय थियो त्यो । खासमा आफ्नै देशका नागरिकहरूलाई एक अर्काका विपक्षमा उभ्याएर बिचमा विभाजनको रेखा कोरिएको बेला थियो त्यो, जसलाई केहीले राष्ट्रिय स्वाभिमानको आन्दोलन भनेका थिए । खासमा आप्mनै देशका नागरिक चोर, तस्कर र हत्यारा हुँदा पनि त्यसका पक्ष र विपक्षमा लागेर बाझ्ने समयमा थियौँ हामी, जसको एकापट्टि म थिएँ, अर्कोतर्फ जितन माझी थियो ।
मैले जितनलाई अलि बेरसम्मै कुरा गर्छु भनेर बोलाएको थिएँ । तर मेरो जिस्क्याइ र उसको प्रतिक्रियाले वातावरण गरुङ्गो भएको थियो । अझ म त सरकारी तलब खाएर बसेको मान्छे, धेरै बोल्नु पनि ठिक थिएन । जितनको चियाको पैसा दिएर म चाँडै निस्केको थिएँ ।
हुन त भएको केही पनि थिएन । म मधेश आन्दोलनलाई मजाक बनाएर उससँग जिस्केको थिएँ र ऊ अलि झर्केको थियो । तर उसको अलिकति झर्काइले मलाई बेचैन बनाएको थियो । यो त्यस्तै प्रकारको बेचैनी थियो, जुन मधेश आन्दोलनले राज्यलाई पारेको थियो । त्यो घटनापछि जितनलाई भेटेर कुरा गर्ने हुटहुटी ममा झन् बढेको थियो ।
*********************
जितनलाई भेटन रामचन्द्रलाई लिएर उसको घर पुग्दा उसको घरमा घोँघी पाकेको थियो । जितन आफै कुटाइ खाएर थला परेको थियो । अचम्म के थियो भने ऊ आन्दोलनमा कुनै प्रहरीको कुटाइ खाएर थला परेको थिएन । साइकलमा सामान ल्याउँदा बसपिटामा आन्दोलनकारीहरूले नै उसलाई कुटेका थिए । यो कुरा रामचन्द्रले भनेपछि नै म उसकोमा आएको थिएँ । आँगनमा थियो उसको साइकल । जसको अगाडिपट्टि रिम सहित टायर भाँचिएको थियो । असोरामा राखिएको चौकीमा पल्टेको थियो ऊ । हामी पुग्दा दुखाइले कहराउँदै उठेको थियो । दुबै हात जोडेर नमस्ते गर्न समेत उसलाई सकस परेको थियो । जाँदा एक किलो स्याउ र एक किलोको हर्लिक्स बोकेर गएको थिएँ ।
‘जो त बेटा, सर सबके लागि कल से चलाके पानी लक आ त ।’
छेउमा छ सात वर्षको केटा थियो । उसको छोरा । ऊ बिस्तारै उठ्दै छोरालाई अह«ायो । रामचन्द्रले स्याउ र हर्लिक्सको डब्बा जितनतिर तेस्र्यायो ।
‘के जरुरी थियो सर, यो बेकारका चिजको ?’
उसले त्यो पोका चौकीमा राख्यो र स्वास्नीलाई लैजानका लागि डाक्यो ।
‘खा ! तागत आउँछ । पूरै पाँच सयको हो । बेकारको भन्छ ।’
रामचन्द्रले उसलाई हप्काउँदै भन्यो । जितन मेरो अनुहारतिर हे¥यो र फिस्स हाँस्यो ।
‘पाँच सय त सर, मेरो पूरै दिनको कमाइ हो । अब त्यसको त हाम्रो औकात कहाँ छ ? हाम्रो तागत त्यो घोँघीबाट आउँछ । एक घण्टा पोखरीमा भिजेर एक हन्डी ल्याएकी छे मेरी स्वास्नीले । सर पनि खाएर जानु होला ।’
‘सर गफ गर्दै बस्नुस्, म घर पुगेर आउँछु ।’
सायद जितनको घरमा मैले खाएपछि उसले पनि खानुपर्छ भनेर होला, रामचन्द्र तर्सेर उठ्यो । त्यहाँबाट हिँड्न खोज्यो । मलाई पनि जितनसँग उसको अगाडि भन्दा एक्लै खुलेर गफ गर्न सकिन्छ भन्ने लाग्यो, मैले रामचन्द्रलाई रोकिनँ ।
‘अनि खुब आन्दोलनकारी भइटोपलेका थियौ । कुटाइ चाहिँ कसरी खाइयो त ?’ मैले जिस्काएरै सोधेँ तर यस पटक ऊ रिसाएन । लजाएर हाँस्यो ।
‘मैले कुटाइ खाएको होइन, खुवाइएको हो सर । अलि पर घर छ उसको । तेल तस्करी गथ्र्यो । केही दिन अगाडि मैले चोकमा गाली गरेको थिएँ । त्यसको बदला लिएको हो उसले । सारस्वरमा एक जनाको सराद्धको भोज थियो । त्यसैको सामान ल्याउँदै थिएँ । उसैले ढुकेर गर्न लगाएको हो ।…’
त्यही बेला उसकी स्वास्नी थालभरि घोँघी लिएर आई ।
‘अहाँ खुब नेता बनल फिरु । उल्टे माइरो खाऊ । लोक कमाक नेहाल भगेलै ।… ’
ठुलै गुनासो थियो, उसकी स्वास्नीको उससँग । तर त्यसले उसलाई केही फरक पार्दैनथ्यो ।
‘कमाइएक कथि कलेलकै त ? आइगोमे जैर गेलै किने ?’
यो उसको आफ्नै सम्झाउने तरिका थियो । खासमा एउटा तेलको तस्करी गर्नेले घरमा दुई सय लिटर पेट्रोल राखेको थियो । राती अलि पर राखेको डिबियाबाट आगो सल्केको थियो । पूरै घर जलेको थियो । त्यस बेला घरभित्र कोही थिएन । त्यसैले मानवीय क्षति हुन पाएन ।
‘त कहाँ सबके घरमे आइग लैग गेलै ?’
तर जितनको त्यस्तो तर्कले काम गरेन । अनि रिसाएर उसतिर हे¥यो ।
‘आव खाइयो देबही कि कपारे प बैठबी ।’
त्यसपछि ऊ बोलिन । ठुस्केर हिँडी । खासमा दुबैको वार्तालाप रमाइलो नै लागिरहेको थियो । तर ऊ हिँडेपछि हामी घोँघीमा केन्द्रित भएका थियौँ । मैले घोँघी कहिल्यै खाएको थिइनँ । खासमा यो हेर्दा शङ्खे किरा जस्तो नै थियो तर निकै सानो । खान मिल्ने कुरा त यसको खोलभित्र थियो । जसलाई जितनले मुखले चुसेर तान्थ्यो । मैले पनि त्यसरी नै तान्न खोजेँ । घोँघी त तानिएन तर त्यसभित्र भएको सुकेको खुर्सानी मसला भने मेरो घाँटीसम्म पुग्यो । नराम्ररी सर्केको थियो । पछि सम्म पिरो भइरह्यो । जितनकी स्वास्नीले एउटा सिन्का ल्याएर दिई । पछि त्यसैले झिकेर खान थालेँ ।
************************************
हामी खाइरहँदा जितनको बुवा आइ पुगेको थियो । रक्सीले टिल्ल थियो । असोराको चौकीमा सबैभन्दा पहिला मलाई हे¥यो अनि छोरालाई । हाँस्यो । बुढाका माथिका बिचका दाँत थिएनन् ।
‘बुझ्ले बेटा , जब तक मधेश अजाद न हेतौ तब तक यहा घोँघी मात्रे नसिबमे रहतौ ।’
म ट्वाल्ल परेर बुढाको अनुहार हेरेँ । अनि जितनको अनुहार हेरेँ । ऊ मतिर हेरेर हाँस्यो ।
‘केही दिन अगाडि सिके राउतका कार्यकर्ताहरू यता आएका थिए । त्यस बेलादेखि बुढा यस्तै हो । खै के घोलेर खुवायो । अलिकति पनि रक्सी खाने बित्तिकै उनीहरूले पढाएको सबै ओकल्न थालिहाल्छ ।’
खास गरी आन्दोलन लम्बिन थालेपछि बोर्डर छेउका गाउँहरूमा सिके राउतका कार्यकर्ताको गतिविधि बढिरहेको थियो । तिनका गतिविधिहरू पृथकतावादी नै थिए । फरक कति मात्र थियो भने उनीहरूले हतियार उठाएका थिएनन् । मधेश आन्दोलनप्रति राज्यको बेवास्ता, मधेश केन्द्रित दलहरूको अलोकप्रियताले उसलाई भने लोकप्रिय बनाइरहेको थियो । यस बिचमा उनीहरूले दक्षिण भेगको एउटा गाउँमा नमुना जनमत सङ्ग्रह पनि गराएका थिए ।
नभन्दै बुढाले खल्तीबाट सिके राउतको अपिल भएको पर्चा झिक्यो । सायद आज पनि ऊ उनीहरूसँग भेटेर आएको थियो ।
अपिल हिन्दी भाषामा थियो । जहाँ मधेशलाई उनीहरूले नेपाल राज्यको उपनिवेशका रूपमा चित्रण गरेका थिए । हामी जस्ता कर्मचारी, प्रहरी, तथा राज्यका संयन्त्रलाई फिरिङ्गी भनेर सम्बोधन गरिएको थियो । खासमा नेपालको असमावेशी राज्यको चरित्रलाई राम्रैसँग अतिरञ्जित गरी प्रयोग गरेका थिए उनीहरूले । अझ मधेश आन्दोलनप्रतिको बेवास्ताले उनीहरूको अतिरञ्जनालाई मलजल गरिरहेको थियो ।
‘…एउटा कुरा भनूँ सर ?…’
खासमा कुनै गम्भिर कुरा गर्न लाग्यो भने उसले यसै गरी सोध्थ्यो ।
‘… मलाई लागेको कुरा हो ? हुन त तपाईँ पढेलेखेको मान्छे । ठिक नलाग्न पनि सक्छ । …’
‘… कसले सोचेको थियो, यो देशमा दश दश वर्षसम्म माओवादीले युद्घ लड्न सक्छ भनेर ? कसले चिताएको थियो यहाँबाट राजतन्त्र समाप्त हुन्छ ? तर भयो त । …’
‘… अहिलेसम्म मधेश बेग्लै देश बन्ला भनेर पनि कसैले चिताएको छैन । … तर अवस्था यस्तै रहिरह्यो भने भोलि कसले के भन्न सक्छ ? हिजोसम्म कसैले सोच्नै सक्दैनथ्यो । अहिले कुरा गर्न थालेको छ । भोलि के होला, कसलाई के थाहा ?…’
खै किन हो ? तर ऊ यसो भनिरहँदा आत्तिएको थियो । सायद मसँग एउटा पृथकतावादी नेताको कुरा गरिरहेकाले हो या यसको भविष्यको कल्पनाले हो ? तर उसको कुराले मेरो मुटुमा एक प्रकारको ढ्याङ्ग्रो भने ठोेकेको थियो । के देश साँच्चै त्यतैतिर जाँदै थियो त ? हाम्रो देश र यसको भूराजनैतिक अवस्थाले बेग्लै मधेश सम्भव नै थिएन । तर देशलाई , खास गरी मधेशलाई अस्थिरताको भूमरीमा धकेल्नका लागि पर्याप्त थियो ।
उसको बुवाले नेपाली बुभ्mदैनथ्यो । हामी दुई जना गफ गर्न थालेपछि ऊ हिँडेको थियो । तर लगत्तै केही समयपछि नै रामचन्द्र आएको थियो । अझ धेरै बेर गफ गर्न मन थियो । तर खै किन हो, रामचन्द्रका अगाडि उसले खुलेर गफ गरेन । त्यस पछि म त्यहाँबाट हिँडेको थिएँ ।
************************************************
त्यही भेट जितनसँगको अन्तिम भेट भएको थियो ।
कमलावाडीको चोकमा गोली हानिएको थियो उसलाई । खै कसको मलखाद लिएर आएको थियो ऊ ? कसैले थाहा पाएन । मल लिएर आउँदा एस.एस.बी.का जवानहरूसित विवाद भएको थियो उसको । जम्मा दुई जना थिए त्यहाँ । जसमध्ये एउटालाई मुक्काले हिर्काएर भागेको थियो ऊ । त्यस पछि कमला नदीको तिरैतिर आफ्नो गाउँ छिरेको थियो तर चोकमा उनीहरू पहिले नै आइसकेका थिए । उसलाई देख्नासाथ समातेका थिए र छातीमा दुई गोली हानेर उनीहरू हिँडेका थिए ।
यो घटना घट्दा हामी कार्यालय प्रमुखहरूको मिटिङमा थियौँ । सबैभन्दा पहिले एस.पी.को मोबाइलमा त्यसको खबर आएको थियो । उसले नै सि.डि.ओ.लाई जानकारी गराएको थियो । त्यसपछि हामीले थाहा पाएका थियौँ । छिमेकी देशको प्रहरी हातहतियार सहित देशभित्र छिरेर हत्या गर्नु आफैमा गम्भिर अवस्था थियो । त्यस दिन मिटिङ चाँडै सकियो, हामी घटनास्थलतर्फ लाग्यौँ ।
त्यस बेलासम्म पनि मैले मारिएको मान्छे जितन माझी होला भनेर कल्पनामा समेत चिताएको थिइनँ । सबैभन्दा पहिले उसको साइकल हेरेको थिएँ । त्यसबेला झसङ्ग भएको थिएँ अनि मात्र ख्याल गरेँ, आखिर माझीको घर पनि कमलावाडी नै हो भनेर । मानिसहरूको भिड थियो त्यहाँ । भिड चिरेर भित्र गएपछि आँखा उसको गम्छामाथि परेको थियो । अलि पर डोरीले बाँधिएको फित्तावाला चप्पल थियो । घोप्टिएको थियो उसको लास । अनुहार देखिएको थिएन तर मलाई चिन्न गाह«ो भएन । त्यो जितन माझीकै लास थियो ।
अलि पर तिन जना जोडसँग रोइरहेका थिए । त्यस मध्ये उसकी स्वास्नी पनि थिई । जो बेला बेला बेहोस पनि हु्न्थी । चारैतिर आइमाईहरूले घेरिएकी थिई । तिनीहरूले नै उसलाई सम्हालेका थिए । दुई जना सँगै रोइरहेका थिए । उसको बुवा र छोरा । छोराको आँखाबाट आँसु निरन्तर बगिरहेको थियो ।
‘मालिक पुरे दुनिया उजैड गेल हमर त ।’
मलाई देख्ने बित्तिकै उसको बुवा झन् जोडले रुन थाल्यो । त्यहाँ सि.डि.ओ. सँगै सबै प्रहरी प्रमुख र अरू धेरै कार्यालयका कार्यालय प्रमुखहरू पुगेका थियौँ । सबैले मतिर अनौठो गरी हेरे । खासमा भन्दा एउटा जिल्लाका निम्ति सम्पूर्ण राज्य उपस्थित थियौँ त्यहाँ । तर हाम्रो हैसियत के थियो ? बस्, एउटा निरीह जनताको हत्याको साक्षी । एउटा रिपोर्ट बनाएर पेस गर्ने भन्दा अरू केही गर्न सक्ने अवस्थामा थिएनौँ हामी ।
जितनको लासलाई पोस्टमार्टमको लागि उठाएर लान खोज्दा सबैले एकपटक कोलाहल गर्दै घेरेका थिए हामीलाई । त्यहीँका एउटा स्थानीय प्रहरीले सम्झाइबुझाइ गरेपछि उसको लास लगिएको थियो त्यहाँबाट । एक क्षण त लाग्यो, के त्यो जितनको मात्र लास हो ? कि त्यहाँ हामी पनि छाँै ? हाम्रो निरीहता ? मौनता ? अकर्मण्यता ? एउटा लास नभए अरू के हो त ? एउटा जिउँदो लास बनेर हामी पनि फर्किएका थियौँ ।
(स्रोत : कथालय – अङ्क १ – साउन–असोज, २०७४)