~सुरेन्द्र श्रेष्ठ~
सुर्योदयको हँसिलो मुस्कान सँगै
श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ
रातको अन्धकार रूपी अट्टहास निल्दै
धुपि-सल्लाको पातहरु फहराउदै
रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी
पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै
मदन पोखराका कफि खेतहरु झुमेर नाच्छन्
तिम्रो मुटु भएर बग्ने माडी खोला
महाभारत पहाडका नागबेलीसँग गुडुल्किएर
खेतका गह्रा-गह्रा भिजाउदै
बेसीका खेतालासँग झ्याउरेमा कमर भाच्छन्
सत्यवतीमा भाकल गर्ने तिर्थालुहरु
बहिरी सत्वती मातासँग चिच्याई-चिच्याई आशिष माग्दा
कराङ-कुरुङ दक्षिणोन्मुख यात्रामा बिचरण गर्दछन्
मित्यालको टोपि खस्ने उकालोमा
नून-तेलको भारि बोकेका ढाक्रेहरु
कौरा, घाँटु घन्किरहेका मगर गाँउ हुँदै
“ओके बाजे” सँग हातमेलो गर्दै
कुटो,कोदालो लिएर बाटो खन्छन्
बिकाश र सम्भावनाका गोरेटो पहिल्याउदै
जातिय बिबिधता र पाल्पाली सभ्यतालाई
टँडिखेलमा कवाज खेलिरहेका पाईलाहरु लेफ्ट-राइटमा पोख्छन्
मलाई थाहा छ म तिमिलाई अँगाल्न सक्दिन
म काली किनारको रानि महल सरि एक्लिएको छु
तर म तिमिलाई अनुभूत गरिरहेछु, तिम्रो न्यानोपन, ढाकाको न्यानोपन
तिम्रा गुँरास फूल टिप्न सक्दिन, तिम्रो आँसु पुछ्न नै
न त खन्ती,गैंती बोकेर हेक्लाङको बाटो खन्न सक्छु
तथापि हजारौं कोश टाढा यस बिरानो भूमिमा
मेरो ह्दय निकट छौ, मेरो आँखामा
प्रीय! पाल्पा मेरो आँखामा
– नवलपरासी-अरुणखोला,
हाल: अस्ट्रेलिया सिडनी