कविता : टोल

~विमल निभा~

मेरो टोलका मानिसहरू
झगडा गर्छन्
प्रेम गर्छन्
इर्ष्या गर्छन्, सहारा दिन्छन्
गाली गर्छन्, सहयोग गर्छन्
मिलेर बस्छन् र कहिलेकाहीँ पिटापिट पनि गर्छन्

यही टोलमा
केही यस्ता घरहरू पनि छन्
जो न झगडा गर्छन्, न प्रेम गर्छन्
न इर्ष्या गर्छन्, न सहारा दिन्छन्
न गाली गर्छन्, न सहयोग गर्छन्
न मिलेर बस्छन्, न पिटापिट नै गर्छन्

तिनीहरू एकअर्कालाई हेर्छन्
दाह्रा लुकाउँछन्
बङ्गारा भित्र मुस्कुराउँछन्
र बर्षैपिच्छे
एक-एक तल्ला
थप्छन्

प्रत्येक पल्ट थपिएको तल्लाबाट हेरे
यो सत्य हो
टोलमा एकता छ
वर्गहरूमा समानता छ
तर नजिक आएर हेर भाइ
यहाँ विभाजनमा स्पष्टता छ
घरहरूका अनुहार
र मानिसहरूका उचाई नै
दुइटा छन्
तिमी मेरो मात्र होइन
जनसुकै टोलमा पनि गएर हेर भाइ
तिमीले पाउँने सत्य त्यहाँ फरक हुन्छ
मानिसहरूको मात्र होइन
टोलको पनि वर्ग हुन्छ

– काठमाण्डौ, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.