~पूर्ण वैद्य~
समयको अनन्त लामो दुलोबाट
मनौँ एक साँप्रा समय थुतेर
तिथिमितिका चक्कु र ब्लेडले
ससाना टुक्रा पारी
बगरेले मासु भाग लगाएजस्तो
भाग लगाएको
वर्षभरिको कालखण्ड यो
पस्किरहेछ मेरो सामु आज
यसलाई मिठो गरी पकाउ या
त्यसै कुहाएर फाल
यसैबाट आआफ्नो कथा बन्छ
समय त जसरि पनि सिद्धिन्छ
तर लिनु पर्ने गुठीभोजको एउटा भागजस्तो
जेजस्तो पनि समय
भोग्न बाध्य छु म आज
हेर्दा त यो
जीवनको जुनसुकै हिसाब पनि
मिलाउन हुने
क्यालकुलेटरको किबोर्डजस्तै दिखिन्छ
हुन त, वर्तमानका पलहरूले नै रोपिन्छन्
आउने समयका सारा अनुहारहरू
यसरी आउँने समयका दिनाङ्क कोठाहरू
नियाल्दानियाल्दै मलाई आज फेरि यो
कुनै बाघचालका कोठाखानाझैँ लाग्न थाल्छ
जहाँ क्रुरताहरु चालमारेर बसेका छन्
कुन दिनको अंकबाट
एक्कासी बाघ उफ्रेर
कता आक्रमण गर्ने हो
केही थाहा छैन
कुन मितिको किनार छुने बित्तिकै
कता बिस्फोट भएर
जीवनमाथि क्रुर हत्या-हिंसाका
विभत्स मृत्युहरू खनिने हो
काही थाहा छैन
यतिखेर एम्बुस बिछ्याएको बाटोबाट
सन्त्रासले काँप्दै नयाँ वर्ष आइरहेछ
एकले अर्काको विरुद्ध तेस्याइरहेको
दुई बन्दुकको तातो नालको
बीचबाट ‘शुभकामना’
आफैँ सब जलेर आइरहेछ
आफ्नो रगत आफैँ पिएर
उद्दण्ड छिन्नमस्ता भई
आज देश काता गइरहेछ
केही ठेगान छैन
उसैलाई सस्काउँदै नाङ्गै नाचिरहेका
यी वर्णिनी र डंकिनी भन्नेहरू
को हुन्
केही पत्तो छैन
यसरि म उमङ्गहीन भएर
यी सन्त्रस्तित दिनाङ्कका छापाहरूबाट चुहिने
समय भर्दै ओसारिरहेको छु
जीवनको डोकोमा
आफूलाई छोई
भोलिको एउटा रुप उतारौँ भन्दै सायद
वस्तुत: यही वर्षवर्षमा विभजित गरेका
टुक्राटुक्रा समयका पाटोहरू जोडेर
एकजोर जिन्दगी सिउनु त हो
मलाई पनि
आउँने कुनै ठूलो दिनको
समय उत्सवमा सबको अगाडि उभिन
जिन्दगीको अर्थमा
सार्थकताको सुगन्ध भर्न ।
६ वैशाख २०६२
पूर्ण वैद्य (भक्तपुर, नेपाल)