~गोरखबहादुर सिंह~
“ल, तेरो निर्णय !”
हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय थियो ।
लामो प्रयासपछि छ महिनापहिले मात्र गाडीवाल कार्यालयको हाकिम हुन पुगेका र सरकारी गाडीको निजी प्रयोगमा रमाइरहेका रामप्रसादले परिपत्रको विषयबारे सामान्य हल्ला नसुनेका त होइनन्, तर हल्ला त्यति छिटै निर्णमा पुग्नेछ भन्ने सोचेका थिएनन् ।
हुन त परिपत्रमा जरुरी काम परे तालुक अड्डाको स्वीकृतिमा चलाउन सकिने प्रावधान नभएको होइन, तर त्यसरी स्वीकृति लिएर चलाउँदा पनि धार्मिक स्थल, वनभोज वा भोज- भतेर आदिमा गाडी लैजान पूर्ण प्रतिबन्ध लगाइएको थियो-रामप्रसादलाई परेको खास मर्का।
उक्त परिपत्र जारी गरिएको दुई महिना पनि पुगेको थिएन, रामप्रसादलाई एउटा जुक्ति फुर्यो । जुक्तिको कार्यान्वयनले गाडीको जहाँकहीं कुद्ने बाटो पहिलेभन्दा सुगम बन्यो । बरु ड्राइभरलाई भने सानो झन्झट थपियो- बिदाको दिन सरकारी नम्बर प्लेटको ठाउँमा निजी रङ्ग र नम्बरको प्लेट लगाउनुपर्ने झन्झट। पछि-पछि त रामप्रसादको गाडी बिदाबाहेकका दिनमा फनि नम्बर प्लेट बदल्न अभ्यस्त हुँदै गयो ।
(स्रोत : बगर साहित्यिक पत्रिका बर्ष २३, पूर्णाङ्क ७१, २०६१ कार्तिक-मार्ग-पुस)