नियात्रा : अफ्रिका महादेशको मेरो भ्रमण

~राज अनुराग~

विश्व मानचित्रमा अध्यारो महादेशको उपनामले परिचित अफ्रिका महादेश हो भनेर बिद्यार्थी जिवनमा सामान्य ज्ञानका हरफहरुमा पढ्दा देखि नै अनेकौ जिज्ञासाहरु मनमा आईरहन्थे । आधुनिक बिकासको आधारमा हेर्दा अध्यारोमा सूचिकृत भए पनि त्यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको सूचिलाई हेर्ने हो भने प्राकृतिको उज्यालो त्यहि लुकेको आभाष हुन्थ्यो । त्यसलाई नियाल्न कहिलेकाँही गुगल म्यापको सहयोगले फन्को मार्थे । बिश्वको सबैभन्दा ठूलो भिक्टोरिया ताल, लामो नदी नाइल, बिश्वका दुर्लभ वन्यजन्तुहरुलाई संरक्षणको लागि स्थापित बिशाल राष्ट्रिय निकुञ्ज र बन्यजन्तु आरक्षहरु भित्रको गतिविधी नजिकबाट अवलोकन गर्न पाउने भए अनुपम आनन्दको अनुभूति हुने कल्पना गर्दथे ।

त्यहि अफ्रिकाका मुलुकहरुमा इथियोपियाको भोकमरी, रुवाण्डाको नरसंहार इतिहासको पानामा लिपिबद्ध छ भने दक्षिण सुडान, कंगो लगायतका मुलुकहरुमा द्धन्दले सिर्जित चरम गरिवीको अवस्था र जातिय द्धन्द अझै बिकराल रुपमा रहेको छ जसको न्युनिकरण र द्धन्दबाट प्रताडितलाई राहतको लागि संयुक्त राष्ट्र संघ र त्यससँग आवद्ध एजेन्सीहरुको अथक प्रयास निरन्तर जारी रहेकोछ ।

समय क्रमसँगै जिन्दगीमा सिर्जित हुने अवसरहरुलाई उपयोग गर्दै जाँदा मेरो पनि अफ्रिका महाद्धिपका केहि मुलुकहरुको भ्रमण गर्ने अवसर मिल्यो । आफुले चाहेका मुलुक र ठाउँहरुको भ्रमण गर्ने चाहना पुरा नभए पनि अवसर पाएका ठाउँहरुको भ्रमण गरी अनुभव संगाल्ने मौका पाए ।

काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुरु भएको मेरो हवाइजहाजको यात्रा भारतको मुम्बइ हुँदै इथियोपियाको राजधानी अदिसअवावामा रहेको बोल अन्तराष्ट्रिय विमानस्थालमा गएर जमिनसँग साक्षात्कार हुन्छ । बिहानीको सुनौलो सुर्यको किरणसंगै देखिएको राजधानीको दृश्‍य र एयरपोर्टको संरचनात्मक सुन्दरतालाई नियाल्दा म अच्चम्मित भए । इथियोपिया भन्नासाथ चरम गरिवी र भोकमरी सबैको दिमागमा आउँथ्यो । मैले बिद्यार्थी जिवनमा बिश्‍वको सबैभन्दा गरिव देश भनेर सामान्य ज्ञानका पानाहरुमा पढेको तथ्य परिवर्तन त भयो तर त्यो हिसावको समृद्धी मैले कल्पना गरेको थिइन । आधुनिक प्रविधिले सम्पन्न एयरपोर्ट र यात्रुको सेवामा तल्लिन कर्मचारीहरु हँसिला देखिन्थे त्यतिमात्र होइन उत्कृष्ट सेवा प्रदान गर्न बिश्व भरि प्रख्यात इथियोपियन एयरलाइन्सका बिमानहरु निरन्तर उडान गरिरहेका देखिन्थे । इथियोपियाले छोटो समयमा हासिल गरेको आर्थिक समृद्धी र बिकासको फड्को बिश्‍वलाई नै उदाहरणीय रहेको अनुभव मैले पनि गरे ।

त्यहाँको ट्रान्जिट पछि मेरो यात्रा दक्षिण सुडानको राजधानी जुवा तर्फ अगाडी बढ्‍यो । दक्षिण सुडान बिश्‍वको कान्छो मुलुक, आन्तरिक द्धन्दको कारण अफ्रिका कै ठूलो भूपरिवेष्ठित राष्ट्र सुडान विभाजन भई अलग भएर नयाँ देश बनेको थियो । जुवा अन्तराष्ट्रिय बिमानस्थलको दृश्‍यले नै मुलुकको अवस्था जाहेर गरेको थियो । मलाई अफ्रिकाको भ्रमण खासै सहज पनि थिएन पहिलो पटक काला जातिको देशमा पाइला टेकेर त्यस्तै मानिससँग साक्षात्कार गर्दै थिए । यसै सन्दर्भमा दक्षिण सुडान द्धन्दरत मुलुक त्यसको बर्णन कहाँबाट शुरु गरुँ भन्ने कुरा मलाई धेरै दिनसम्म दुविधा भईनै रहेको थियो । राजधानी शहरमा पनि थोरै मात्र कालोपत्रे सडक सवारी साधनको आवत जावत खासै बाक्लो थिएन । त्यसमा पनि अधिकांश सवारी साधनहरु यु.एन.नम्बर प्लेटमा देखिन्थे । द्धन्दको जर्जरताले राजधानी शहर भए पनि विकासको दृष्टिमा धेरै पछाडी रहेछ ।

मेरो यस लेखाइमा दक्षिण सुडानको गतिविधिले खासै महत्व पाएको छैन । मेरो मुख्य यात्रा थालनी त्यतिबेला शुरु हुन्छ जब म पाँच जना सहकर्मी साथीहरुको साथमा जुवाबाट युगाण्डाको एन्तवे प्रस्थानको लागि हिँडे । बिश्वको सबैभन्दा ठूलो भिक्टोरिया तालको किनारमा रहेको एन्तवे अन्तराष्ट्रिय विमानस्थलमा तालको पानीमा छायाँ पार्दै हामी सवार जहाज अवतरण हुन्छ । आकाशबाट तालको दृश्यलाई हेर्दा लाग्थ्यो कुनै महासागर हो जस्तो । अध्यागमनको काम सकेर विमानस्थालबाट ट्याक्सी वे मा पुगेपछि पैदल हिडेर तालको दृश्य अवलोकन गर्दै जाने साथीहरुको चाहनामा अनुसार हामीले पैदल यात्रा शुरु गरियो । विमानस्थलको बिशाल एरिया भएको कारण हाम्रो चाहना थकाईसम्म पुग्यो ।मुद्रा सटहीको लागि मनी चेन्जर अफिसमा पुगियो त्यस दिनको सटही दर १ अमेरिकी डलर बराबर ३७०० युगाण्डान सिलिङ्ग रहेछ । हामीलाई धेरै सिलिङ्ग साटेर समस्या हुने हो कि जस्तो लागेको तर सहज समाधान भयो किनकी युगाण्डान सिलिङ्ग पचास हजारसम्मको एउटै नोट हुने रहेछ ।मलाई महसुस भयो बिरानो मुलुकमा पनि लखपति भएर हिड्दा कुनै सुरक्षात्मक चूनौती नहोला । साँझ परिसकेको थियो ट्याक्सीको यात्रामा हामी कम्पाला तर्फ लागियो । युगाण्डा पुगेपछि मलाई पहिलो रहर थियो बिश्‍वको सबैभन्दा ठूलो भिक्टोरिया तालको दृश्‍य अवलोकन गर्ने जुन केहि मात्रामा पुरा गरेको थिए । तालको किनारा आएपछि ट्याक्सी रोकेर पुनः अवलोकन गरियो साँझको समय भएकोले हाम्रो क्यामरामा कैद भएको दृश्यमा पनि सन्ध्या प्रतिविम्वित भएकJ थियो । बेलुकीको समय कम्पाला नपुग्दै हामी सडक जामको शिकार भयौ जामले काठमाडौको झल्को पनि मेटायो ।अफ्रिकाको भौगोलिक बनावट फरक किसिमको देखिने रहेछ खासै अग्ला पहाडहरु नभएको समथल तराईका फाँटहरु पनि कमै मात्र रहेको होचा होचा पहाडहरु मात्र रहेको भुवनौट देख्दैमा रमाइलो अनुभव भयो । युगाण्डाको भौगोलिक अवस्थिती पनि पहाडका थुम्काहरुसँग फैलिएको रहेछ राजधानी शहर कम्पाला आधुनिक बिकासका आयामहरुसँग समेटिएर विकासशिल हुंदै गरेको मैले पाएँ ।

युगाण्डाको बसाइमा नाइल नदिको श्रोत जिन्जा र गोलार्द्ध बिचको इक्वेटरलाई सात्क्षात्कार गर्दै हामी कम्पालाबाट सडक यातायात हुँदै केन्याको राजधानी नैरोवी जाने तरखरमा नाइट बस रोज्यौ। अफ्रिकाका विकासशिल राष्ट्रहरुलाई जोड्ने सडक सञ्चाल रहेछ । रुवाण्डाको राजधानी किंगालीबाट नैरोवीको लागि छुटेको “मोडर्न कोष्ट” बसबाट केन्याको राजधानी नैरोवी तर्फ रवाना भए । लग्जरी बस भएको कारण यात्रा रमाइलो नै भयो तापनि पुरै रातको यात्रा पैट्यारलाग्दो हुदै गयो । नेपालको रात्री बसमा यात्रा गर्दा ठाउँ ठाउँमा रोक्ने अनुभव त्यहाँ लागू भएन । फराकिला तथा चिल्लो हाइवेमा गुडेको बसको स्पिड नेपालको भन्दा धेरै थियो । हाम्रो बस केन्याको बोर्डरमा पुगेर रोकियो करिव ३ घण्टाको अध्यागमनको काम सकेर पुनः यात्रा अगाडि बढ्यो । त्याहाँ सिमसिम पानी परिरहेको र चिसो अनुभवले गर्दा समशितोष्ण हावापानीको महसुस हुन्थ्यो तर रातको समय भएकोले बाहिरको दृश्यसँग खासै परिचीत हुन पाइएन ।

करिव सत्र घण्टाको यात्रा पछि स्थानीय समय अनुसार दिउँसोको २ बजे नैरोवी पुगियो । चिल्ला सडक विशाल भवनहरुले सजिएको शहर आधुनिक बिकास तर्फ उन्मुख देखिन्थ्यो । ट्राफिक व्यबस्था तथा सार्वजनिक यातायात खासै व्यबस्थित थिएन । हाम्रा पथप्रदर्शक थिए एक स्थानीय ट्राभल एजेन्ट । उनले हाम्रो भोलीको यात्रा केन्याको व्यापारिक शहर मुम्वाशाको लागि तय भएको कुरा सुनाए त्यो यात्रा पनि रात्रीकालिन नै थियो । नैरोवीको सामान्य शहरी अवलोकनमा त्यो दिन सकियो र मुम्वाशाको लागि हिडियो । चीन सरकारको सहयोगमा तयार भएको नैरोवी-मुम्वाशा आधुनिक रेलसेवा निरन्तर थियो तर अग्रिम टिकट बुकिङ्ग गर्नुपर्ने रहेछ सो अवसर हामीलाई जुरेन । ब्रिटिस इष्ट अफ्रिका कम्पनीको रुपमा ब्रिटिस साम्राज्य शासकले निर्माण गरेको केन्या-युगाण्डा रेलवेका पुराना लिगहरु ठाउँ ठाउँमा देखिन्थे । त्यतिबेला ब्रिटिस शासकहरुले उक्त रेलवे निर्माणको लागि ब्रिटिस इण्डियाबाट धेरै कामदारहरु ल्याएको थियो रे । जसको भग्नावशेष हेर्न पाइयो ।

मुम्वाशामा पुगेर मेरो पहिलो चाहना थियो हिन्द महासागरको पानीमा डुबुल्की मार्ने ।त्यो त्यसैपनि अप्रत्यासित थियो मेरो लागि किनकी मेरो आजसम्म महासागरसँग भलाकुसारी गर्ने अवसर प्राप्त भएको थिएन । बिहानको झिसमिसेको सुनौलो किरणसँगै मैले टेकेको समुद्री किनारको बन्दरगाह सहितको पर्यटकीय शहर मुम्बाशा नै त्यो दिनको अन्तिम गन्तव्य भयो ।

समुद्री किनारमा उभिएर हेर्दा आँखाले नभ्याउने पानीको दृश्य र त्यसमा वहने बिशाल छाल हेर्न पाउँदा मेरो मन त्यसै प्रफुलित भयो । जिन्दगीका अनेकौ अनुभवका पानाहरु थप्ने क्रममा मेरो अर्को पाना थपिदै गएको अनुभव भयो । त्यसै क्रममा समुद्रको नुनिलो पानीमा डुबुल्की मार्दै बोटिङ्ग गरियो र त्यहि समुद्रको किनारको चिसो हावालाई समागम गर्दै रातको वातावरण नियाल्दा लाग्थ्यो मुम्वाशा शहर पर्यटकलाई स्वागत गर्न जाग्राम बसेको छ । अर्को दिन नैरोवी फिर्ता हुनु थियो । त्यतिबेला मात्र मैले दिवा यात्राको अनुभव गर्न पाँए र अफ्रिकी ग्रामीण भूमिलाई बसको झ्यालबाट भएपनि अवलोकन गर्न पाए । साँझको समयमा नैरोवी पुग्दा शहरको दृश्य कृतिम बिद्युतीय जग्मगाहटमा व्यस्थ भइसकेको थियो । हाम्रो गन्तव्य उहि होटल थियो रिसेप्सनमा ब्याग राखेर बाहिर टोलाएको थिए । होटलको छेउ मै रहेको इलेक्ट्रोनिक्स पसलबाट एउटी महिला निस्केर “हाई माइ फ्रेन्ड” भनेको आवाज सुने त्यतै केन्द्रित हुँदै हेरेको मसँग अघिल्लो दिन परिचित भएकी महिला रहिछिन् । मैले मुम्वाशा घुमेर फर्किएको कुरा सुनाएँ । केहि दिनको बसाइमा अफ्रिकन महिला साथी थप्न पाउँदा रमाइलो लाग्यो । तिनी महिला साह्रै चाखलाग्दो गफ गर्थिन नेपालको बारेमा जानकारी माग्थिन मैले आई एम फ्रम नेपाल भन्दा “फ्रम इण्डिया, नेपाल एण्ड इण्डिया आर सेम कन्ट्री” भनेर प्रश्‍न गर्दा मलाई नरमाइलो महशुस भयो अफ्रिकामा पनि इण्डिया फेमस रहेको रहेछ। मैले नो इन्डिया, “नेपाल इज द कन्ट्री अफ माउण्ट एभरेष्ट” भने । उनले बुझे जस्तो गरिन् ।

मलाई मशाइमाराको जंगल सफारी जाने रहर थियो तर समयको अभावले पुरा हुन सकेन । गाइडको सल्लाह अनुसार अर्को दिनको हाम्रो यात्रा लेक नैभाशा तर्फ जाने तय भयो । नैभाशा ताल नैरोवी शहर भन्दा बाहिर उत्तर पश्‍चिम भागमा अवश्थित रहेको रहेछ । ग्रेट रिफ्ट भ्यालीको एक महत्वपुर्ण भागको रुपमा रहेको केन्यान रिफ्ट भ्यालीमा अवश्थित ताल र हिल्स गेट नेशनल पार्क घुम्न नछुटाउने ठाउँ रहेछ । सो तालको नाम स्थानीय मसाई भाषाको “नैपोसा” बाट राखिएको रहेछ त्यसको अर्थ “फ्रेस वाटर” हुने रहेछ । करिव १३९ बर्ग कि.मि. क्षेत्रफलको सो तालमा बोटिङ्ग शुरु गर्दा लाग्थ्यो हामी बिशाल सागरमा प्रवेश गर्दैछौ । हाम्रा गाइड स्थानीय डुङ्गा चालक भए उनले तालको भूबनोट र बिशेषता बारे जानकारी दिंदै गरे । तालको बिचमा पुग्दा पानीको छालको उछालले गर्दा हाम्रो बोट अनियन्त्रित भए जस्तो हुंदा डर लाग्यो तर मोटर वोट भएकोले धेरै जोखिम थिएन । किनारमा बिभिन्न जंगली जनावरहरु विचरण गरिरहेका दखिन्थे । जलगैंडाको बथान तालको पानीमा तैरिरहेको देखिन्थ्थो । करिव ४०० प्रजातीका चराहरुको बासस्थानको लागि प्रख्यात रहेको जानकारी भयो । अंग्रेजी अक्षर सि आकारको द्धिप जुन “क्रिश्‍चियन आइल्याण्ड” को नामले प्रख्यात रहेछ जुन आइल्याण्ड तालको पानीमा तैरिएको जस्तो देखिन्थ्यो ।सेतो घाँटी भएको शिकारी चिल माछाको शिकार गर्न व्यबस्थ देखिन्थ्यो । तालको पानीमा हाम्रो जस्तै अनेकौ वोटहरु दौडिरहेका देखिन्थे । यस्तै मनमोहक दृश्यहरु हेर्दै हाम्रो करिव २ घण्टाको जलयात्रा समाप्त भयो । हिल्स गेट राष्ट्रिय निकुञ्ज भित्रको सफारीमा जान समयले साथ दिएन त्यसैले निकुञ्जको सानो इलाकालाई बाहिरैबाट चिहाएर हामी पुनः नैरोवी फिर्ता भयौं । फर्किदै जाँदा क्षितिजमा देखिने केन्यान रिफ्ट भ्यालीको दृश्य साह्रै मनमोहक थियो त्यसलाई टाढा टाढा धकेल्दै हामी फेरी नैरोवीको शहरी कोलाहलमा समाहित भयौं । केहि दिनको बसाइ र यो भ्रमण सकेर भोलिपल्टको फ्लाइटबाट जुवा फर्किने योजना थियो । सोहि योजना अनुसार ट्याक्सी चढेर नैरोवी स्थित जम्मो केन्याटा अन्तराष्ट्रिय विमानस्थल तर्फ प्रस्थान गरियो ।

अफ्रिकी मुलुकहरुमा मैले बिताएको समय छोटै थियो र प्राप्त गरेको अनुभव धेरै लामो महशुस गरेको छु । दक्षिण सुडानका बासिन्दाहरुको दयनीय जनजिवन, त्यहाँको द्धन्दको भयावह अवश्था मेरा अक्षरका शब्दले बर्णन गर्न कदापी सक्दैनन् । त्यस्तै मैले नौला प्राकृतिक छटाहरुमा रमाउँदा पाएको अनुभव, बिश्वको लामो नदी नाइलको बहावलाई किनारमा बसेर नियाल्दा सोचेको मेरो मष्तिस्कको शब्द, भुपरिवेष्ठित मुलुकमा हुर्केर समुद्रको दृश्य तस्विरमा मात्र अवलोकन गर्न पाएको म त्यहि समुद्रमा डुबुल्की मात्रको स्वर्गीय आनन्द मैले यो छोटो लेखमा व्यक्त गर्न असम्भव देंखे । पूर्वीय हिन्दू सनातन समाजको बन्द सेक्स संस्कृतिमा खेलेर हुर्केको म पश्चिमी संस्कृति हावी रहेका केन्या र युगाण्डा जस्ता आधुनिक सेक्स फ्रि मुलुकहरुमा सञ्चालित रात्रिकालिन डान्सवारहरुमा चहार्दा देखेको दृश्य तथा पर्यटकीय नगरी मुम्वासामा पुरै शहर रातमा जाग्राम बसेको झै लाग्दा घुमेर हेरेको दृश्य मैले यसरी शब्दको माध्यमबाट व्यक्त गर्दा असोभनीय र छाडा लाग्न सक्छ । त्यसैले मेरो यात्रा अनुभवका हरफहरु नटुङ्गिए पनि मेरो यस नियात्रा लेखका हरफहरु यत्तिकैमा टुंग्याउँछु ।।।

राजकुमार बास्तोला “राज अनुराग”
इनरुवा न पा ५ सुनसरी
हालः काठमाण्डौ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.