कथा : श्रद्धाञ्जली

~जीतबहादुर कटुवाल~

सिमलको रुखमा चराको कल्याङमल्याङसँगै वसन्तीको निद्रा खुल्यो । सँगै सुतेकी छोरी मस्तसँग निदाइरहेकी थिई । ठ्याक्कै बाबुकै अनुहार लिएर जन्मेकी छे । अब त छोरी पनि ठूली भई । लोग्नेको घर जाने दिन पनि धेरै छैन । उसको छेका भएको पनि दश वर्ष जति भइसक्यो । छोरीलाई बिदा गरेपछि उनको बोझ त हलुका होला तर उनको ममताको घाउ भने चहर्‍याएर खपिनसक्नु हुनेछ ।

मनमा यस्ता भाव सल्बलाए । सुतेकी छोरीलाई पातला कम्बल ओडाइदिँदै उठिन् । उनी हातमा कुचो लिएर सिकुवा बढार्न थालिन् । आँगन नजिकै फुलेको भोगटेको फुल हावाले उडाएर भुईँभरि पारेको रहेछ । बढारेको फोहर बाँसको ढाकीमा उठाएर बाटामा लगेर फलिन् । फर्केर आई भित्र पस्न खोज्दा अचानक उनका आँखा दैलोमाथि टाँगिएको उनको पतिको मधुरो ,पुरानो फोटोमाथि पर्‍यो ।

“ ए, आज त वैशाख दश गते । सुनिताको बाबु खसेको दिन । ” दैलोमा टाँगिएको फोटो झिकेर हातमा लिइन् । अनि फोटोमा लागेको धुलोलाई हातले पुछिन् । नियालेर फोटो हेरिन अनि फोटोमाथि म्वाईँ खाइन । उनका मनमस्तिष्कमा बेहुली भएर यस घरमा भित्रिएको दिन , लोग्नेसँग हस्सी ठट्टा गरेको, उनले माया गरेर निधारमा म्वाँइ खाएको क्षण, कहिले रक्सी खाएर मातेर घर झगडा गरेको दिन, लोग्नेसँगै माइत गएको , राती अबेरसम्म दुखसुखका गफ गर्दै बाँसका कोनिया ,पङ्खा डाली बुनेको , विरामी भएर अस्पतालमा सुतेको , मृत्युवरण गर्ने बेलाका टिठलाग्दा आँखाले टुलुटुलु हेरिरहेको आदि अहिल्यैजस्तो लाग्यो । रामप्रितसित जीवनभरिका लागि गाँसिएको लगनगाँठो देवले बैंसमै चुँडाइ दियो । तैपनि स्मृतिका डोभ भने बाँचुञ्जेल नमेटिने भएर उसको मनमा खोपिएका छन् । उसले आफ्नो यौवनको बाढीलाई मर्यादाको बाँधले छेकेर राख्न सकिन् । पोथी कुखुराले ससाना चल्लालाई पखेँटाले छोपेर हुर्काएझैँ चार सन्तानलाई हुर्काइन् । लालु ,ललन ,लेलाहा र सुनिताका लागि आमाबाबुको दोहोरो भूमिका निर्बाह गरिन् । आफ्नो सुखलाई त्याग गरेर छोराछोरीको सुरक्षित भविश्यका लागि आफूलाई समर्पित गरिरहिन् । उनका मनमा यी घटनाको परिदृश्य झल्मलायो ।

पूर्वस्मृति

वसन्तीले हँहँ गर्दै बाँसका चोयाबाट ढकिया बुनिरहेको पतिको निधारमा हातले छाम्दै भनिन् , “ यसरी मात्र हुँदैन । औषधि गर्न जानु क्या ! “

उनको लोग्ने रामप्रितलाई चार दिनदेखि अलिअलि ज्वरो आइरहेको थियो । बिरामी भए पनि हिजोसम्म काममा जान टुटेको थिएन । काममा नगए परिवारको मुखमा माड नलाग्ने परिस्थितिसँग परिचित थिए । पहिलो दिन कामबाट घर आएपछि हलुका टाउको दुखेको भनेका थिए । वसन्तीले रक्सीले होला भन्ने ठानिन् । दिनभरि गाउँबस्ती डुलेर काम गर्नु अनि अलिअलि पैसा कमाएपछि आधाजति रक्सीमा सकेर आधाले घरखर्च धान्ने उनको लोग्नेको बानी उनका लागि भलिभाँति परिचित थियो । रामप्रित मात्र होइन भँगेरी टोलका प्रायजसो सबै डोमको साझा परम्परा यहीँ थियो । देब्रे हातमा झण्ड्याएको पोलिथिन झोला उनले पत्नीतिर हुत्याउँदैँ टाउको दुखेको कुरा सुनायो । उनको सासबाट निस्केको हरक्क रक्सीको गन्ध वसन्तीको नाकमा ठोक्किन पुग्यो ।

वसन्तीको नाकको डाँडी खुम्चियो । आँखी भौँ तलमाथि भए ।

“ रक्सी बेस्सरी खाएपछि अनि टाउको दुख्दैन त । ” उनले हेलचेक्र्‍्याइ साथ बोलिन् । रामप्रितको मुख विकृत भयो । तर बोली फुटेन

“ लोग्नेमान्छेको जात यस्तै हो दिनभरि काम गर्‍यो । अनि पैसाजति रक्सीमा सक्यो । ” वसन्तीले फत्फताउँदै लोग्नेले ल्याएको झोला खोतलिन् । अलिकति खोर्सानी ,एक पावाजति प्याज अनि दुई केजी चामल रहेछ ।

“ विहान पल्ला गाउँमा पनि रक्सी खाएर मानिस मर्‍यो भनेर सोनालाल भन्दै थियो । युरिया हालेको हुन्छ रे रक्सीमा अचेल । धेर नखानू भनेको कहिल्यै मान्ने होइन । ” पत्नीको फत्फताइ कायमै थियो । उनको बोलीमा पतिको आरोग्यताको कामना थियो । उनको आँखामा पति प्रेमको तलाउ गहिरियो । यो माया भन्ने चिज पनि विश्वव्यापी हुँदोरहेछ । धनी ,गरिव ठूला साना सबैका लागि उस्तै । माया गर्ने तरिका फरक तर मायाको भाव उही , अभिव्यक्तिको भाषा फरक तर लय उही , वसन्तीलाई यस्तै महसुस भो ।

“ रक्सी खाएर कोही मरेको होला ? मेरो बाजेले खायो , बुबाले खायो केही भएन मलाई किन हुन्छ कि ? नखाइ कसरी काम गर्न सकिन्छ ?” रामप्रितले पत्नीको कुरालाई अविश्वासको पगरी गुथाइदिए । अनि जबरजस्ती फिस्स हाँस्न खोजे तर उनको गालाको छाला सोहोरिएर बिरुप देखियो । ओठको विवृतमा एकमुठी हाँसो पनि अडेन ।

वसन्तीले लोग्नेको अनुहार नियालिन् । ज्वरोका कारण रातो थियो । हिजोदेखि मन लगाएर खाना पनि खाएका थिएनन् । मैलो कमिजको जोडा घुँडा च्यातिएको पेन्टले उनको शरीरजतिक्कै टिठलाग्दो उनको दरिद्रताको झल्को दिएको थियो । इलामे झारले ढाकेको उनको करेशाबारीसँग मित लाउने खालको उनको झुस्स दारीले अनुहारलाई अझ दिक्क लाग्दो तुल्याएको ठानिन् । रामप्रितको निधारमा तेर्सा तीन ओटा रेखा कोरिएका थिए । जन्मिदै भावीले निधारमा कोरिदिएका होलान् । जति उमेर बढदै गएअनुसार रेखा प्रबल बनेका होलान् भन्ने मनमनै सोचिन् ।

चार सन्तान सहित छ जनाको पारिवारिक रथ हाँक्नु चानचुने कुरा थिएन । त्यो पनि सम्पत्ति भए त सही नै हुन्थ्यो । सम्पत्तिको नाममा यही एउटा दुई कोठे भुईँघर । घर त के छाप्रो । त्यो पनि ऐलानी जग्गामा । बाँसको टाटीलाई माटोले लिप्सेको । सिमेन्टको बोरालाई तुनेर बाँसकै फ्रेममा राखेर बनाएको ढोका थियो । फुर्सदमा बाँसको चोयाबाट बन्ने सामान पङ्खा ढाकी कोनिया ,चङ्गेरी ,सखारी पेटारी, डगरी ,कनसुप्ती .आदि बुन्यो ,गाउँघरमा लगेर बेच्यो । शौँचालय सफाइ गर्‍यो । यस्तैउस्तै कामले जेनतेन उनको परिवारको गर्जाे टरेको थियो । वसन्ती घरमा काम गर्थिन् । फुर्सतको समय कहिलेकाहीँ सामान बेच्न लान्थिन् । लोग्ने घरबाहिरको काम गर्थे । दुईजनाको प्रेमको निसानीस्वरूप तीन जना छोरा र एउटी छोरी बाँसका मुनाजस्तै थिए । उनीहरूलाई हुर्काएर बढाएर पुख्र्यौली पेशा सम्हाल्न सक्ने बनाउनु बाबुआमाका रूपमा उनीहरूको प्राथमिक दायित्व थियो । परिवार भनेको दुई पाङ्ग्रा भएको रथजस्तै त हो । एउटा पाङ्ग्रा नहुने हो भने रथ गुडाउन गाह्रो हुन्छ । लोग्नेलाई तलमाथि भयो भने यी लालाबाला कसरी हुर्काउने ? सोच्दै वसन्तीको माथा फन्फनी घुम्यो । उनी यस्ता कुराको कल्पना गर्न पनि चाहन्नन् । तैपनि अनायास स्वाट्ट दिमागमा यस्ता कुरा थाहै नपाइ घुसेर उनलाई तर्साउँछन् । मुटुभित्रदेखि जलन उठ्यो । लोग्नेको मायाको खहरे उर्लियो । अलिक ज्यादा रक्सी खाएर मातेको बेलाबाहेक अरू बेला त सोझो लाग्छ उनलाई लोग्ने । कुनै कुरा मनमा राख्दैनन् । सबै कुराको पोको पत्नीलाई सम्हाल्न दिन्छन् । अनि मिहिनेति पनि उत्तिकै छन् । कति राम्रा बाँसका सामान बनाउँछन् । अरुले दुई ओटा बनाउँदा उनी तीन ओटा बनाउँने खुवी राख्छन् । बा आमाले सात वर्षकै उमेरमा कुरा छिनेर तेह्र वर्षको उमेरमा त पोइको घरमा आएको कुरा सम्झिन् । त्यो बेला देखि रामप्रितसँग मिलेर जीवन नौकाको बहना खियाएकोे पनि चौध वर्ष भएछ । उनले मनमनै औँला भाँचिन् ।

“ जेठो माहिलो सुँगुर चराउन गए ? ” रामप्रितले बोली फुट्यो ।

“ अघि नै गए । तर अझै आइ पुगेका छैनन् । ” वसन्तीले जवाफ दिइन्

उनीहरूले चारोटा सुँगुर पालेका छन् । सुँगुरलाई पुग्दो चारो घरमा नहुँदा आफ्नो अधिनको गाउँका सडक किनार र बाँसघारीतिर दिनहुँजसो दुई दाजुभाइ सुँगुर चराउन जान्थे ।

“ भोलि बिहानै खाना बनाइदिन्छु । खाएर दवाइ गर्न जानु । ” वसन्तीले गलालाई अवरुद्ध बनाउँदै बोलिन् । ”

त्यहीँ बेला दाजुले कुट्यो भन्दै सानो छोरी रुँदै उनको छेउमा आइपुगी । उनले तानेर काँखमा बसाइन् । छोरीको सिँगानको लत्को नाकबाट तेर्सिएर दाइने गालाको बीचसम्म थियो । वसन्तीले हातले पुछेर बाहिर मिल्काइन् अनि हात भुईँमा पुछिन् ।

“ किन कुट्यो ? न रो न रो । ” वसन्तीले थप्थपाइन् ।

“ मैले खेलाउने गाडी खोस्यो अनि मैले थुकेँ अनि कुट्यो । ” उसले हिक्कहिक्क गर्दै भनी ।

“ यो कान्छो चाहिँ फटाहा छ । यसलाई नकुटी भएन । ” उनले छोरीलाई फकाउने सुरमा भनिन् ।

लेलाहा ङिच्च गर्दै ढोकाबाट चिहाउँदै थियो । उसको मैलो कट्टुमाथि नाङ्गो भुँडीमा पानीका छिटाले लेग्रा परेको प्रष्टै देखियो ।

“ बुइनीलाई कुटिस ? तँलाई पख । ” वसन्तीले हात उज्याइन् । लेलाहा कुलेलम ठोक्यो ।

बेलुकाको खाना खाने बेला भयो । सबै छोराछोरी बाबुको वरिपरि बसे । वसन्ती भात पस्किन लागिन् ।

“ दबाइ त गर्नु तर पैसा छैन । के गर्ने होला ? ” रामप्रित पत्नीका अगाडि निरुपाय प्रस्तुत भए ।

मसँग भएको एउटा फुली पनि सुनिता जन्मिदा सकियो । अब केही छैन । चन्देश्वरसँग छ कि , माग्नुस न । ” स्टिलको थाल लोग्नेतिर सारिदिँदै वसन्तीले उपाय सुझाइन् ।

“ के देला सालेले । परार उसकी स्वास्नी बिरामी परेको बेला यादव मुखियाको छोराको सदगतीमा बेचेको आगोबाट आएको तीन हजार मध्ये दुई हजार उसैलाई दिएँ । सालेले दुई महिनामा निव्र्याजी फिर्ता गर्‍यो । तर मलाई अस्ति दुई सय पनि पत्याएन । एक नम्बरको बैगुनी छ । ” रामप्रितले छिमेकी चन्देश्वरप्रति गुनासो पोखे ।

वसन्ती एकछिन मौन भइन् । रामप्रित पनि पत्नीको कालोकालो अनुहारका बीचमा टप्किएको रातो टीकामा ज्वरोले मधुरो भएका आँखा तेस्र्यायो ।

उसलाई लाग्यो उसकी पत्नी अरुका पत्नी भन्दा ज्यादा असल स्वभावकी छे । उसको कति धेरै चिन्ता गर्छे । कहिल्यै नराम्रो बोल्दिन । टोलका अरु महिला दिनको दुईपटक कोही न कसैसँग दन्तबझान गरिरहेकै हुन्छन् । तर वसन्ती कहिल्यै कसैसँग झगडा गरेको उनलाई थाहा छैन । उनलाई लाग्छ उनकी वसन्ती हिलोमा सप्रिएकी कमल पुष्प हो । उसको ओठको उन्मिलन कमलको कोमल पत्र भन्दा कम छैन ।

“ जसरी भए नि ओखती पानी त गर्नैपर्छ । अँ , बरु मैले एउटा जुक्ति सोचेँ । ”

वसन्तीले पूरै भन्न नपाउँदै रामप्रित बीचैमा प्वाक्क बोल्यो । “ भन ,के कुरा हो । ” उनलाई आफ्नी पत्नी समझदारसमेत भएको कुरामा लेसमात्र पनि शङ्का थिएन । उनले पत्नीको मुहारमा अपलक हेरिररहे ।

“सोनवापुर गाउँ बन्धक दिऔँ । त्यो थोरै टाढा पनि छ । पछि कमाइएछ भने फिर्ता गरौँला । उपचार गरेर बचेको पैसा सुनिताको छेका ( केटा पक्षसँग विवाहको लगनगाँठो तय गर्ने संस्कार ) गर्नका लागि राख्नुपर्छ । ऊ पनि पाँच वर्ष लाग्न आँटी ।” पत्नीले सुझाइन् ।

रामप्रित एकछिन घोरिए । उनका मनका उठेका विकीर्ण भाव समेटिएर उही आफ्नो अधिनमा रहेको गाउँमा एकाकार बन्यो । वसन्तीले मुन्टो उठाएर उनलाई हेरिन् । रामप्रितको अनुहार विहानको उदाउँदो सूर्यझै रातो भएको थियो ।

“ अँह, गाउँ त बेच्दिन । तीन जना छोरा छन् । उनीहरूलाई पनि त बाउबाजेको पर्साद राखिदिनुपर्छ । फेरि गाउँ बेचेर सुँगुर कहाँ चराउनु ? सामान कहाँ बेच्नु ? काम पनि त घटछ । आम्दानी नभए कसरी व्यवहार चलाउनु ? ” रामप्रितले पत्नीको लोलीमा असहमतिको बोली मिसाए ।

“ कुरा त ठीकै हो । तर समस्या परेपछि घर ,जग्गा, सुन ,चाँदी ,गाउँ ,सम्पत्ति भनेर कहाँ सुख पाइन्छ । अहिले हामीसँग अरु उपाय नै छैन । हामीसँग भएको सोनवापुर बन्धकी दिए पनि अहिलेलाई गरिखान पेलाही गाउँ छँदैछ । छोराहरू बढदै छन् । निको भएर सबैजना मिलेर कमाइ गर्न सक्यौँ भने त्यस्ता अरु गाउँ पनि किन्न सकिन्छ । डोम बस्तिमा पैसाको खाँचो सबैलाई परेकै हून्छ । आखिर तपाईँ ठीक नभए केकालागि चाहियो गाउँ ? ” वसन्ती निकै वुिद्धमान र ज्ञानी सावित भइन् ।

वसन्ती साँच्चिकै वसन्त ऋतुझैँ सौम्य,स्निग्ध मनकी धनी छिन् । वसन्तीको पति हुन पाउँदा रामप्रितको छाती गर्वले चौडा भयो । उनको मन पालुवा पलाएका वृक्षझै हरियाली बन्यो । पत्नीको अकाट्य अभिव्यक्तिको विपक्षमा कुनै तर्क फेला पार्ने औकात उसमा थिएन । उसले केवल मुन्टो हल्लाएर पत्नीको कुरामा स्वीकृति जनायो ।

गाउँ बन्धकी त दिने , तर कसलाई ? उनका अगाडि तत्कालै प्रश्नको अर्काे तगारो तेर्सियो । किनकि भोलि नै पैसा चाहिएको थियो उनलाई । केही छिनको संलापका क्रममा उनकी पत्नीले विनोद मरिकको घर जाने सल्लाह दिइन् । उनले पक्कै केही सहयोग गर्लान भन्ने आशा थियो ।

भोलिपल्ट बिहानै रामप्रित विनोदको घर जान तरखर गरे ।

“ पाए सापटी लिनु ,नभए सोनवापुर गाउँ नै बेचीदिनु । ” आँगन कटेर बाटोमा निस्किएको रामप्रितलाई हेर्दै वसन्ती कराइन् ।

डोम वस्तीको पुछारमा विनोद मरिकको घर थियो । रामप्रितको घरबाट त्यहाँ पुग्न मुस्किलले करिब तीन सय मिटर बाटो हिँडनु पथ्र्याे । तीन ठाउँमा बस्दै बल्ल विनोदको आँगनमा पुग्यो । हिँडेर पुग्दा रामप्रितलाई स्वाँस्वाँ भो । गोडा फतक्क गले । निक्कै नातागतको अनुभव भो । एक वर्ष रोगिएर चाउरी परेझैँ लाग्यो । विनोद आँगनमै बाँसका चोया काटदै थियो । उसले रामप्रितको अनुहारमा हेर्दै भन्यो , “ लौ, के भो ? निकै दुब्लाएछौ । अनुहार पनि रातोरातो हेर्दैछु । ”

पर्तिर लडिरहेको बाँसको मुडा उठाएर रामप्रित असजिलो पाराले बसे । अनि भने , “ खै के भो के भो , तीनचार दिन देखि बिरामी छु । मर्न लागेँ भित्रैभित्रै आगोले जलेजस्तो भएको छ । वसन्तीले दबाइ गर्न जा भनेर मार्न लागिसकी । ”

“ ठीकै त हो , दबाइ पानी त गर्नुपर्छ । म पनि अघिल्लो महिना झण्डै थला परेको दबाइ खाएरै निको भएँ । ” विनोदले मुख र हात एकै साथ चलाउँदै भन्यो ।

“ त्यहीँ भएर त तिमीसँग पैसा माग्न आएको । देऊ न ,भोलि नै दबाइ गर्न जान्छु । ” रामप्रितले राख्न दिएकोझैँ गरेर सोझैसँग मुख फोरे ।

रामप्रितको अप्रत्यासित कुरा सुनेर विनोद अक्क न बक्क भयो ।

“ मसँग कहाँ छ र पैसा ? हेर न ,तीन चार दिन देखि काम पाएको छैन ढकिया पङ्खा, कोनिया बुनेर भोलि गाउँ डुलाउनु छ । एक दुई पैसा त आइ हाल्ला कि । ”

रामप्रितमा मौलाएका आशाका किरणलाई विनोदको जवाफले निस्तेज पार्न खोजेझैँ देखियो । रामप्रितले पुनःः संयत भावमा याचना गरे , “ त्यसो नभन न ,विनोद , मलाई अलिकति पैसा देऊ । म तिमीलाई सोनवापुर गाउँ नै कागज गरिदिन्छु । ”

रामप्रितका ओठ थर्थराए । हातखुट्टा कामे । धुमिल आँखाले एकनाससँग विनोदलाई हेरिरहे । सोनवापुरको कुरा गरेपछि विनोदका आँखा अलिक उज्याला भए ।

मसँग छैन त के दिउँ । भए दिन्थेँ । ” विनोदले रामप्रितको क्लान्त्त मुहारका शुष्क भावहरू नियाल्दै बोले ।

“ थोडी रक्सी खान मागेको हो । दबाइ गर्नका लागि हो । मलाई वसन्तीले नै पठाएको क्या । शङ्कै नगर , म कागज गरिदिन्छु । ”

ढोकाको खापामा अडेसा लागेर विनोदकी पत्नी प्रमिलाले सुरुदेखि नै सबै कुरा चाख लिएर सुनिरहेकी थिई ।

उसले भनी , “ हुन्छ ,मसँग अलिकति सुन छ लगेर बेच्नुस । अनि केही पैसा पनि छ मेरो । लगेर दबाइ गर्नु । ”

प्रमिलाको कुराले रामप्रितको निभ्न लागेको मनको दीपमा आशाको वर्तन थपियो । उनको अघिसम्मको नियाउरो अनुहारमा अलिकति धिपधिपे उज्यालो सल्बलायो ।

“ ठीकै छ नि त । तँ भन्छेस भने हुन्छ तर गाउँ लेखेर दिनुपर्छ । ”

केहीबेरको मोलतोलपछि दुवैबीच सहमति भो । सोनवापुुर गाउँ पच्चीस हजारमा किन्न विनोद तयार भो । तर उसले वसन्तीले मन्जुरी दिनुपर्ने

एउटा शर्त राख्यो । विनोदले उसको छोरा कुलदीपलाई वसन्तीलाई बोलाउन पठायो । वसन्ती आइपुगेपछि सबैजना माइनज्वाइन (मुखिया) का घरतिर लागे । मुखियाले दुवैजनाका कुरा सुनेपछि काँचोकागजमा तमसुक लेखे । रामप्रितले कराहीको पिँधको कालोमा खाने तेल घोलेर बनाइएको मसीमा बुढी औँला चोपेर ल्याप्चे गरिदिए । वसन्ती पनि उसैगरी साक्षी बसिन् । आजैका दिनदेखि रामप्रितको अधिनमा रहेको सोनवापुर गाउँको अधिपति विनोद मरिक हुने भयो । विनोदले बीस हजार बराबरको तिलहरी सुन र पाँच सयका दश ओटा नोट रामप्रितका हातमा राखिदियो ।

बेलुका रामप्रितको घरमा सानोतिनो भोज चल्यो । मुखिया आए , विनोदका बुढाबुढी आए । अनि छिमेकी गङ्गु मरिक र चम्पलाल निम्तारु थिए । सुङ्गुरको मासु पाक्दै थियो । खाँदै गफमा जमे ,उनीहरू । चारपाँच बोतल लोकल रक्सीको बन्दोवस्त थियो । पाँच जना लाठेले पाँचै बोतल रक्सी सुँगुरको सित्तनसँगै बडो स्वाद मानीमानी सिद्याइदिए । बिरामी छु भन्दाभन्दै पनि मेजमानीहरुको कर नाइनास्ती गर्न नसक्दा रामप्रितलाई एक गिलासजति पिउन करै लाग्यो । आठ बजेतिर खुट्टा लर्बराउँदै मुखियासहित सबै पाहुना आआफ्नो घरतिर लागे । भोजमा रामप्रितको एक हजारजति सकिएछ । गाउँ किनमेल गर्दा मुखिया सहित गाउँका भद्रभलादमीलाई भोज खुवाउनु पर्ने प्रचलनको निर्वाह दुवैजोइपोइले मिलिजुली गरे ।

त्यो रातभरि रामप्रितलाई छाती दुख्यो , ज्वरो आयो , खोकी पनि लाग्न सुरु भयो । विरामले आलसतालस पार्‍यो । बिरामी त बिरामी भैहाले , उनकी पत्नी र छोरोहरूले पनि सुत्न पाएनन्

भोलिपल्ट वसन्तीले लोग्नेलाई अस्पताल पुर्‍याइन् । तर रामप्रितको हालत निकै चिन्ताजनक थियो । दुईदिन अस्पतालमा राखेपछि पैसा पनि सकियो । अस्पतालले पनि निकालिदियो । घर पुगेको पर्सिपल्ट रामप्रितले यस संसारलाई त्याग गरिदिए । वसन्तीका थाप्लामा दैवको मुङ्ग्रो बज्रियो । त्यसपछि उसको जिन्दगीको अझ सङ्घर्षको अध्याय सुरु भयो ।

जेठो छोरालाई लिएर काममा जान्थिन् एक्लै लोग्नेमान्छेले गर्न नसक्ने काम गर्थिन् । चर्पीको सफाइ गथिनर्् । स्कुलको सफइ गर्थिन् । बिहान बेलुका र काम नभएको समयमा बाँसका सामान बुनेर आफ्नो क्षेत्रमा बेच्न लैजान्थिन् ।

काममा जाँदा उनी सफासुग्घर हुन्थिन् । कोरीबाटी हलुका शृङ्गार गरेर जान्थिन् । टुपुक्क परेको उनको अनुहारले डोमकी स्वास्नीको झल्को दिँदैनथ्यो ।

एक दिनको घटना

वसन्ती सामान बिक्री गर्न गाउँ गएकी थिइन् । गाउँ चहार्दै उनी मनोहर मुखियाको घरछेउ पुगिन् । गाउँकै धनीमानी मनोहर मुखिया सिकुवामा कुर्सीमा बसेर पत्रिका पढिरहेको थियो । उसले वसन्तीलाई मनोहरले हातको इसाराले बोलायो । सामान बिक्री हुने भो भन्ने खुशीमा वसन्तीका खुट्टामा स्फुर्ति भरियो ।

उनी आँगनको कुनामा बोरा ओछयाएर बसिन् छोरीचाहिँ आमाको काँखमा अडेस लागी । मनोहरले वसन्तीको मुखमण्डलमा चिहाउँदै भन्यो , देखा त के के सामान छन् । उनले टाउकोमा सारीको सप्को मिलाइन् अनि ढकिया कोनिया पङ्खा भुइँभरि फिँजाइन् । मनोहरले सामानतिर कम र वसन्तीतिर ज्यादा नजर दौडायो । गुलाफी रंगको सुतीको सारी र बैजनी रङको चोलो लगाएकी ,सपक्क पारेर कपाल बाटेकी वसन्तीलाई मनोहरका लोभी आँखाले कुनै सम्पन्न घरानाकी रमणीभन्दा कम देखेन ।

उसले मनमनै सोच्योे, , “ लोग्ने मरेपछि पो यो मोरी त झन राम्री देखिन थाली । ”

कमिजको गोजीबाट प्लास्टिकमा पोको पारेको पान निकालेर मुखमा हाल्यो । वसन्तीका शरीरमा दृष्टिवाण निशाना लगाउँदै बडो सानसँग पान चपाउन थाल्यो । उसले हाते पङ्खा लिने निहुँमा वसन्तीको हात समात्यो । वसन्तीले हात छुटाइन् । यसबेला उनको मस्तिष्कमा झन्झनाहट पैदा भो ।

“ कुन सामान लिनु हुन्छ मालिक ? मलाई आज अलिक हतार छ । ” उनले छरिएका सामान भेला पारिन् ।

“ केको हतार छ र त्यस्तो ? बस् दिनभरि यतै । ” उसले भन्यो ।

“ मलाई यहाँ बसेर पेट अघाउने हैन । ” वसन्तीले सारीले शिरलाई ढाक्दै जवाफ दिइन् ।

“ फिक्री नगर । तेरो पेट त म भरिदिन्छु । मैले चाहे भनेँ दुईचार सामान बेचेर कमाउने पैसा त म त्यसै दिन सक्छु । ” मनोहरले पान चपाउँदै बेफिक्रीसँग भन्यो । वसन्तीलाई के भनूँ के भनूँ भो । तर उनको ओठबाट बक फुटेन । ठूला मान्छेसँग मुखमुखै लाग्न उनको मर्यादाले छेक्यो । उनले देखिन् , मनोहर कहिले सुनितालाई त कहिले वसन्तीलाई हेरिरहेको थियो । सुनिता भने हातमा बाँसको पङ्खा बेपर्वाहसँग फन्फनी घुमाउँदै थिई ।

“ छोरी पनि आमाजत्तिकै राम्री हुने रैछे । दुनियाँलाई मोहनी लगाउँछेजस्ती छे । ” उसले आँखा झिमझिम पार्दै बोल्यो ।

छोरीको सुन्दरताको तारिफसँगै आफ्नो पनि तारिफ गरेकोमा वसन्तीलाई अफ्ठ्यारो लाग्यो । उसको भनाइबाट उत्पन्न भएको स्वार्थको गन्ध उनको नाकमा आएर ठोक्कियो ।

वसन्तीले पुलुक्क मनोहरतिर हेरिन् उसका आँखा गिद्धका झैँ हिंस्रक देखिए ।

उनी अनुहार बिगार्दै सामान लिएर त्यहाँबाट हिँडिन् । मनोहर वसन्ती ,वसन्ती भनेर कराइरहेको थियो । वसन्तीले भने हेर्दै नहेरी फटाफट पाइला चलाइन् । त्यस दिनदेखि कहिल्यै उनले मनोहरको घरतिर हेरेकी छैनन् । बेलुका ओछ्यानमा पल्टेर वसन्तीले दिउँसोको घटना सम्झिन् । उनलाई नमज्जा लाग्यो । उनलाई असुरक्षाको सियोले मुटुमा च्वास्स घोच्यो । उनलाई लोग्नेको याद आयो । साँच्चिकै अहिले उनले एक्लो महसुस गरिन् । उमेरमै लोग्ने गुमाउनुको पीडा उनको आँखाबाट थाहा नपाइ गालामा तप्केछ । देब्रे हातले पुछिन् । ज्यादा खट्पटी भो । छोरीचाहिँ आमालाई समातेर स्वाँस्वाँ गरिरहेकी थिई । छोरीलाई सुम्सुम्याउँदै मनको अन्तर्दाह कम गर्ने प्रयास गरिन् ।

+++

घाटमा आगो बिक्री

समयको पाङ्ग्रा अविश्रान्त गतिमा गुडिरह्यो । छोरी पनि हुर्किई । छोराहरु पनि बढे । बाबुको सीप छोराहरूको हातमा थपक्कै सर्‍यो । उनको जीवनमा सानोतिनो परिर्वतन आयो । पहिले पहिले उनी हिँडेरै गाउँ चहार्ने गर्थिन । उनको लोग्ने साइकल नछोइकनै मरेका थिए तर वसन्ती साइकल चढेर काममा जान सक्ने भइन् । ।

एक दिन बिहानै वसन्ती माइनज्वाइनका घरमा पुगिन् । उनले माइनज्वाइनलाई सोनवापुर गाउँ विनोदबाट फिर्ता लिनका लागि आफ्नो लोग्नेले लिएको पच्चीस हजार फिर्ता गर्न चाहेको बताइन् । त्यसपछि उनी माइनज्वाइनसँगै विनोदका घरमा पुिगन् । विनोदले कागज निकाले । आठ वर्षभित्र रकम फिर्ता गरेर गाउँ फिर्ता लिन सकिने व्यहोरा तमसुकमा लेखेका कुरा पढेर माइनज्वाइनले सुनाए । वसन्तीले विगत तीन वर्षदेखिको पसिनाको कमाइ माइनज्वाइन (मुखिया) का हातमा राखिदिइन् । माइनज्वाइनले गनेर विनोदका हातमा हालिदिए । पैसा फिर्ता पाएपछि विनोदले तमसुक च्यातिदियो । थुकतेल गरेर भएपनि दुखको बेला बेचेको गाउँ फिर्ता गर्न सकेकोमा वसन्तीको आाँखामा विजयभाव सल्बलायो । हृदय नै गदगद् भो ।

“ अब एउटा गाउँ किन्न पाए तीन ओटा छोरालाई एकएक ओटा गाउँ बाँडिदिने थिएँ । ” उनले प्रसन्नतापूर्वक मनमनै गुनिन् । डोम समुदायमा अर्काको अधिनमा रहेको गाउँमा सफाइको काम गर्न र सामान बेच्न सुँगुर चराउन पाइँदैन । गाउँ नहुनेले सीप भएर पनि आफूले उत्पादन गरेको सामान बेच्ने ठाउँ पाउँदैनन् । यो उनीहरूको समुदायको अलिखित कानुन हो । सबैले यसकोे पालना गर्नैपर्छ । त्यसैले जग्गा जमिन ,सुनचाँदीभन्दा पनि महत्वपूर्ण उनीहरूका लागि गाउँ हुन्छ ।

अर्काे दिन वसन्तीले तिनैजना छोरालाई भेला पारिन् । आमाले के भन्न आँटिन् भन्ने कुराको खुल्दुली उनीहरुका मनमा वर्षायामको कालो बादल सरह मडारियो । छोराहरूले आमाको मुख ताकिरहेको देखिन् । “ हेर , छोराहरू , तिम्रा बुबाले तिमीहरूलाई हुर्काउन धेरै दुख गरेका थिए । उनले असमयमै छोडेर गए । मैले तिमीहरूलाई अनेकानेक दुखमा हेलिएर यात्रो बनाएँ । तिमीहरू अझै ठूला हुन्छौ । अनि अलग अलग बस्नेछौँ । अंश का नाममा तिमीहरूका लागि मसँग अरू केही छैन । सोनवापुर र पेलाही दुई गाउँ हाम्रा अधिनमा छन् । अब एउटा गाउँ जोडन पाए तिनै जना छोरालाई गरिखान एउटा एउटा हुने थियो । त्यसैले जसले कमाए पनि खर्च नगरी घरमा जम्मा गर्नु । एक वर्षभित्रमा एउटा गाउँ किन्नुपर्छ । आज दर्पी मण्डलको बुबा मरेको घाटमा आगो बेच्न जानु छ । जेठो बाह्र बजे अगावै घाट पुग्नु । उनीहरू अलिक धनी छन् । आगो बेच्दा दुई हजारभन्दा घटी आउँदैन । म सुनितालाई लिएर सामान बेच्न जान्छु । माहिलो र कान्छोले बाँसका पङ्खा बनाउनु । गर्मी सुरु हुन लागिसक्यो । पङ्खा खुब बिक्छ ।”

छोराहरूले टाउको हल्लाएर मौन सहमति जनाए । उनीहरू कुन्तीका अघि करबद्ध भई बसेका आज्ञाकारी पाण्डव जस्ता देखिए ।

वसन्तीको जेठो छोरो लालु बाह्र बज्नुअगावै बैरियाघाट पुगिसकेको थियो । घाटवरिपरि मान्छेको भीड थियो । दर्पी मण्डलका बाबुको मृत्युको मृत्युका कारण खोलाको बगरलाई शोकले निलेको थियो । कङ्कला स्वर निकालेर विलौना गरेको आवाज वालुवाका कणकणमा ठोक्किएर फैँलिदै थियो । झुमझुममा मानिसहरु बसेर बुढाको गुणगान गाइरहेका थिए । गोविन्द मास्टर साह्रोसाह्रो आवाजमा भन्दै थिए, “ जीवनमा लोभमोह गर्नु व्यर्थ छ आखिर मरेर मान्छेले केही लाँदो रहेनछ । ”

उनैले केही दिन अघि छ सयमा चर्पी सफा गर्ने काम लगाएर चार सय मात्र दिएको घटना लालुले सम्झ्यो ।

उता लास जलाउन चिता बनिँदै थियो । चिता बनाएको ठाउँको तीस मिटर पर लालु मल्लिकले आगो फुक्यो । लास जलाउनका लागि मृतकका घरका मान्छे आगो किन्न आए । लालुले तीन हजार माग्यो । उनीहरुले एक हजार दिने भए । यसपछि केहीबेर मोलमोलाइ चल्यो । अन्ततः लालुले एक हजार छ सयमा आगो बेच्यो । बेलुका खाना खान बसेको बेला यो सम्पूर्ण बेलिबस्तार लालुले सुनायो

बिहानको हातमुख जोरेपछि वसन्ती दुई ओटा कोनिया ,तीन चार ओटा ढाकी , अनि दश ओटाजति पङ्खा बोकेर गाउँतिर हिँडिन् । छोरीचाहिँ उनको पछिपछि लागी । बाह्र वर्षकी सुनिता छोरी मात्र नभएर उसको दुख सुखकी साथी पनि थिई । आमाका लागि सहयोगी पनि थिई ।

वसन्ती साँझमा घर आइपुिगन् । महिलो छोरो ललन बाँसका चोया काट्दै थियो । जेठो लालु अझै आइपुगेको रहेनछ । उनले पोल्टो खोली दशका बिसका,पचासका र सयका गरी जम्मा आठ सय चालीस भएछ । शरद्को खेतमा झुलेका लहलह बालीझै उनको मनको करेशाबारी पनि हराभरा भो । आज राम्रैसँग साहित परेछ । परिश्रमको फल नियालेर आत्मविभोर बनिन् । अलिकति खर्चका लागि छुट्याएर बाँकी सबै काठको खुत्रुकेमा खसाइन् ।

“ कसैकसैले त पचासको सामान बीस रुपैयामा दलाल गरेर हैरान पार्छन् । सित्तै आएझै सम्झिन्छन् । बाँस किन्नु पर्‍यो , चोया काडनु पर्‍यो अनि मिहिनेत गरेर बुन्नु पर्‍यो । हामी जस्ता गरिबलाई दुई रुपैया ठगेर धनी मान्छेले के पाउँछन् ? ” वसन्तीको मन काँक्रोको फेद टोकेसरह तीतो भयो । उनले सुखदुख, मानअपमान सजिलोगाह्रो सबै खाले अनुभव सँगालेकी थिइन् । तुलोमा हालेर नाप्ने हो भने नकारात्मक पल्ला नै भारी हुन्थ्यो ।

+++

उसका मनमा विगतका यिनै परिदृश्य ताजा भएर आए । उनका आँखामा अनायास मोती दाना टप्किए । सारीको सप्कोले पुिछन् । जिन्दगीको यात्रामा एउटा सहयात्रीको अभाव साह्रै खटकिँदो रहेछ । एकल जीवन जिउनुभन्दा ठूलो अभिशाप केही हुँदो रहेनछ । पतिको सम्झनामा कैयन रात कोल्टो फेर्दै सिरानी निथ्रुक्क पारेर बिताएका अनुभव उनीसँग छन् । कुचोलाई बाँसको खटियामुनि थन्क्याएर उनी बाहिर निस्किन् ।

केहीबेरपछि वसन्तीले सबै छोराछोरी र बुहारीलाई बोलाइन् । आमाले आज किन सबैलाई भेला पारेको होला भनेर सबै जान्न उत्सुक थिए । उनको अनुहारको भाषा स्पष्ट थिएन । तर पनि अलिअलि उदासताको रेखा बीचमा उनले झोलाबाट सयपत्री फूलको चिटिकक परेको माला निकालिन् । अनि पतिको फोटोमा लगाइदिँदै भनिन्, “ आज तिमीहरूका बुबाको मरेको दिन हो । अर्थात स्मृति दिवस । आज तिम्रा बुबाकै कारणले तिमीहरू छौ । अनि हाम्रो परिवार छ । त्यसैले ढोग । ” छोरा बुहारी र छोरीले आमाको अनुहारमा अनौठो किसिममको चमक देखे । सबैजनाले पालैपालो फोटोमा नमस्कार गरेर श्रद्धाञ्जली अर्पण गरे ।

रतुवामाई ८ ,दाम्राभिट्टा मोरङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.