कविता : मरेको मजदूर सूर्यबहादुरलाई सलाम

~सुजन बुढाथोकी ‘कान्छा’~

तराइका ती बाझो जमिनहरूमा,
मध्यान्न दिनको
टन्टलापुर घाममा
ठेला उठेका
हल्केलाहरुले हलो समाएर
काम गरिरहेकै बखत
भोको पेट बोकेर
मरिरहेका किसानहरू झैँ गरेर
सडक किनारमा लमतन्न परेर
मरिरहेको त्यो मजदुर को हो ?

छातीमा पहाडलाई बोकेर
एकसाथ
अनि टाउकोमा हिमाललाई राखेर
र यो सारा सन्सारको भार खेप्न नसकेर
थकान मारिरहेको
कुनै घायल कछुवा झैँ
अलि पर सरेर
लडिरहेको त्यो लास कसको हो ?

र कस्तो हो यो सिङ्गो सहरलाई
चिहान बनाएर
तेर्सिइरहेको त्यो चित्ता जस्तो
शरीर कसको हो ?
कोरोनाभाइरसको महामारीसँगै
बेरोजगारी र भोकमरीको चपेटामा परेर
मरिरहेका र यो देशका ती जम्मै मान्छेहरू को हुन ?

आखिर किन मर्‍यो उ
ख्याल गर्दिएको भए
यो देशमा सायद,
राहत प्याकेज हराइरहेका
कति हजार सर्वहाराहरूको
जीवित उत्थान हुन्थ्यो होला
सरकार
अनुमान गर्नुहोस्
यदि, हजुरले हिजो
यस्तै सवाल गर्दिनु भएको भए
बेकसुर मरिरहेका
कति मज्दुरहरुको उद्धार हुन्थ्यो होला?

सूर्यबहादुर
तिम्रो उपयोगिता
तिम्रो जीवनको अस्मिता
बस !
एउटा लावारिश बस्तु जत्ति
सायद,पृथ्वीमा मान्छेको मुल्याङ्गकन
उसको प्रयोजन भन्दा धेरै नहुँदो रहेछ !

सबैले तिमीलाई आफ्नू घोडा
र सवारी साधन बनाएर दौडिए
जब उनीहरू आफ्नू गन्तव्यमा पुगे
तब उनीहरू सबैले तिमीलाई बिर्सिए ।

हिजो बाचुन्जेल तिम्रो श्रम शक्ति रहुन्जेल
सबैले तिमीलाई सूर्यबहादुर भनेर सम्बोधन गर्थे
तर अफसोस,आज
तिम्रो शरीर कुनै एउटा खाते कुकुर झैँ गरेर सकिएको छ ।

वैदेशिक रोजगार सम्झिएर
आफ्नै माटोको गन्धहरूमा
आजाद भिसाहरूको बाटोहरू भएर देश डुल्यौ
राजधानीका गल्लीहरूमा
जनावारसङ्गै हिँडेर जिन्दगानी बितायौ
र भारतको कुनै कामदारहरू झैँ गरेर
त्यही आफ्नू जवानी बितायौ ।

भरियाहरू भएर
तिमीले धेरै जनाको भारीहरू बोक्यौ
अस्पतालको बेडबाट उठेर पनि
परिवारको अनिकाल टार्नलाई
नाम्लोहरू लगाएर ब्यहपारिको मालहरूलाई
बजारसम्म पुर्‍यायौ
र ठेला गाडा जत्रै ठूलो
डोकोहरूमा कुनै बुढो गोरुहरू झैँ गरेर
टाढा टाढा सम्म सामानहरू ओसार्‍यौ
भरिया दाइ
इमानदार भएर
आज तिमी मलाइ एउटा कुरा भनिदेऊ
जिम्मेवार भएर
र ती जिम्मेवारीहरुसङ्गै काँधमा त्यत्रो भारीहरू बोक्यौ
तर किन भरिया दाइ
तिम्रो मनले कैले पनि कमिसन मागेन
के
तिमीलाई यो देशको मन्त्री जस्तो
किन कैले पनि कुनै लोभ लागेन ?
सायद,
यो सन्सारमा इमानदार भन्दा ठूलो अर्को कुनै अभागी नहोला
भरिया दाइ
तिमी हिजो पनि गरिब नै थियौ
आज पनि र भोलि पनि गरिब नै रहनेछौ
भरिया दाइ भनिदेऊ
किन तिमी यो दुनियाँकै दरिद्र भएर निस्कियौ?
यदि,
बिल गेट्सको भनाइको आधारमा भन्ने हो भने
गल्ती गर्‍यौ
भरिया दाइ तिमीले ठुलो गल्ती गर्‍यौ
किनकि,मर्दा पनि गरिब नै भएर मर्‍यौ !

यो सहरमा जीवनभर गोरु गाडा भएर कुद्यौ !
चट्टानसँग जुध्यौ
आफ्नू भए भर्को बल खर्चियौ
भरिया दाइ
तिमी मलाइ अब फेरि अर्को कुरा पनि बताइदेऊ
कि यति हुँदा हुँदै पनि
किन कैले पनि निधारमा पुजिएन
तिमीलाई किन कुनै हल तिहारमा पुजिएन ?

तिमीलाई सम्झिएर
किन तिम्रो मृत्युमा कोही पनि आएन
भरिया दाइ
कठ्याङ्गग्रीएर
हेमन्त शिशिरमा
आफू नाङ्गिएर
भए पनि जीवनभर अर्कोको कपडाहरू ओसार्‍यौ
अन्ततः तर,अफसोस आज
खुद उ आफै मर्दा
उसले आफ्नू शरीर ढाक्ने
एक सर्को कात्रो सुद्द पाएन ।

उ आफ्नू साहुलाई बाउ सम्झिन्थ्यो
यसैले, उ जहिले पनि उसको आदेश मान्थे ।

सायद, सूर्यबहादुरले
जीवनभर यसैले पनि आफ्नू अङ्गमा
एक सर्को कपडा नलगाएको हुनुपर्दछ
किनकि,उसको आदर्श पिता
उसको निमित्त जो उहिल्यै नै मरिसकेको थियो।
यसैले लडिरहेको आफ्नू सन्तानको
आँसुहरूले भिजिरहेको
ओछ्यानहरूमा
उठेर जुरुक्क अहिले चिहानबाट आउन सकेन ।

जीवनमा धेरै नै
जनावारहरुको अवतारमा देखेको
सूर्यबहादुरलाई कल्पिएर
म कैले काहीँ बिचार गर्ने गर्दछु
यदि सूर्यबहादुर ,
हाम्रो गृहमा गाई भएर जन्मिएको भए
उसको सम्झनामा आज
यो देशले कति दिन छाक छोड्यो होला?

म छाती फुलाएर भन्न सक्छु सूर्यबहादुर
यो देशको राष्ट्रिय स्वाभिमान हो
नपत्याए नत्र यो देशको झन्डाहरूमा हेर्नू
त्यहाँ उसको पुरा नाङ्गो आङ्ग झुन्डिएको छ
र उ यो देशको सबैभन्दा माथि उभिएको छ
त्यो अङ्गितध्वाजा उसैको नाम निसान हो ।
नपत्याए नत्र उसको कुर्कुच्चाहरूले कुल्चिएको
तल धुलोहरूमा हेर्नू
उसको डोब !
जो दुरुस्तै यो देशको नक्साहरू जस्तै देखिने गरेर छापिएको छ ।

यो दुनियाँको अनुहार रङ्गिन बनाउनलाइ
अचम्म
उसले आफ्नू निधारको पुरा प्रकाश नै बेचिदियो
अनि आफू एकदम मलिन र मधुर भयो
सूर्यबहादुर
र बसिदियो जिन्दगीभर
भरिएको
ग्रहणहरूले पुरिएको ताराहरू झैँ झरेर
कालो अनुहार लगाएर
धुलाम्य बादलहरू पछाडिको
असीम अन्धकारहरूमा
आएर अनि आफ्नू घर बनाएर ।

तर देख्नेहरू तिमीले फोहोरी भने
तर, तिमीले त्यसलाई कैले पनि
फोहोर भनेनौ
बरु मातृभूमिको माटो सम्झिएर
आफ्नै मनमा सजायौ
र आफ्नू पूरा बदनमा लगायौ ।

तर खै आज तिमीले के पायौ
सूर्यबहादुर तिमीले
आज आफू मर्दा सुद्द
जल्न एक भित्ता जमिन पाएनौ ।

भोट त तिमीले पनि हालेका थियौ
र नागरिक त तिमी पनि हौ
तर, किन तिमीलाई
सम्पत्ति कमाउन नसकेको
कुनै गरिब छोरोलाई झैँ गरेर
दुरब्यहवार गरियो
सायद यसैले पनि तिमीलाई त्यस्तो गरियो
किनकि,तिम्रो परिवार
पैसावालाहरूको कुनै कठोर सरकार जस्तै थियो

जनगणनामा तिम्रो नाम छ छैन
त्यो त मलाइ के पनि थाहा छैन
तर यो पक्का छ कि
अब मृत्यु दर्तामा भने तिम्रो कुनै नाम लेखिनेछैन ।
जरुर जिन्दगीभर मान्छेको आखाहरुमा हराइरहेको
सूर्यबहादुर
जो आफू मर्दा समेत
आज कसैको आखाहरुमा देखिएन ।

नदी किनारको बालुवा त
बोकेर गाउँ सहरमा ल्याएर परिष्कार गरियो भने
त्यसबाट नयाँ घर बन्न सक्छ ।
र शृङ्गार गरेर राखियो भने
मसानघाटको चट्टान पनि
ओडारमा भगवान् भएर पुजिन सक्छ ।
भने
सूर्य बहादुर त मान्छे हो
मान्छे यसैले उ त्यो भन्दा पनि ज्यादा बन्न सक्छ
किनकि,उ यो युगको उ नयाँ आविष्कार हो ।
जरुर सूर्यबहादुर
र यो देशको एक मसुर कर्णधार हो ।

मजदुर जो बिना सरकारको परियोजना बेकार छ
सूर्यबहादुर!जो बिना यो आकाश
यो देश दुनियाँ र यो सारा सन्सार अन्धकार छ
मजदुर यदि नहुँदो हो त
सायद रहने थिएन आज यो सजीव इतिहास
र किसान यदि आज नहुँदो हो
सायद, यो वर्तमान पनि मर्ने थियो ।

आफ्नै पसिनाको कमाइ खाइरहेको
मजदुर दाइ कैले पनि मुर्दा हुन सक्दैन
सायद, मुर्दारहरु त तिनै हुन
जो उसको खुनमा डुबेर रमाइरहेछन्
उसको पसिनामा पौडिएर रझाइ गरिरहेछन्।
यसैले ,अझै पनि सूर्यबहादुर मरेको छैन ।

आलिसान सत्ताहरूभन्दा अलि पर सरेर
अनि असङ्ख्य अभिभाराहरू भिरेर
सडकबाट यो सिङ्गो देश
चलाइरहेको एक
सजीव सर्वहारा हो सूर्यबहादुर।

जो कैले पनि पृथ्वीमा हराउँदैन
दिनभरि भोकभोकै बसेर गौसलाको गल्लीहरूमा काम गर्छ
अनि घाम हराएपछि काठमाण्डुका हरेक चोकहरूमा धाउँछ
र मध्यरातमा हराउँछ अर्कै लोकमा गएर ।
सूर्यबहादुर जहाँ पनि पुग्छ ।

ब्युँझिएर हरछ्यण
जो हिँडिरहेछ एकसाथ सुइका दुइतीन बटा काटाहरु लिएर
हरेक रात
र फेरिरहेछ दिनहरू
परिवर्तन गरेर भित्ताहरूबाट हरदम
र दिइरहेछ हरेक दिन
नवीनतम सन्देश यो दुनियालाइ ।

गुमनाम भएर घडीमा स्वयम्
आफै बाचिरहेको समयलाई हराइरहेको
सायद,सूर्यबहादुरको पनि सपना थियो
रहर थियो,भविष्य थियो
यसैले उ भारी बोक्न सहर आएको हो
तर,केही समयको अन्तरालमा
विश्वमा नेपालमा
कोरोना फैलिए सङ्गै त्यसैको डरले
र कुनै दिन उ आफ्नू ज्याला दर सट्टामा
साहुको घरमा शरण पर्न आएको थियो
मानौँ,माग्यो होला उसले आफ्नू ज्यादा पनि
तर,उसले कैले पनि कुनै अवसर मागेन
सिङ्गदरवार बालुवाटार मागेन
सरकार र उसले यो देश पनि मागेको थिएन
माग्यो त केवल उसले आफ्नू अधिकार
गाँस बाँस कपास र अहार मागेको थियो
हो उसले यस्तै केही सपना देखेको थियो
अतृप्त अभिलाषा र प्यासहरू बोकेर
लकडाउनमा खुल्ला आका सको
चौरमा दिनभर काम गरिरह्यो
घन्टौँ घाममा पैदल हिँडेर
अनि रातमा उ मालिकको दरबार आएको थियो
तर अफसोस घर र ज्यालदरको बदलामा
बिहान
सरकार सट्टामा आफै उ एक लास भएर फर्कियो ।

उसले एकगास भोजन मागेको थियो
सरकार मार्सी धानको चामलको भात मागेको थिएन
आवासहरूको निमित्त एउटा सानु सुकुल तिर्पाल
र गुन्द्री मागेको थियो
सरकार ताकी करोडौँको कुनै गलैँचा मागेको थिएन

बुहान,म्यानमार, कतारका कामदारहरूलाई ल्याएर
अनि महँगो क्वारेनटाइनमा सान्दारसङ्ग राखियो
तर,अफसोस आफ्नै देशमा आएर
पनि प्रवेश नपाएर विहारका नेपालीहरू
सिमानाको उदाङ्गो आकाश मुन्तिर
किन कयौँ रात काटिरहे ?
सायद,यसैले पनि उनीहरूलाई बास दिएन
र बोलाएर उनीहरूलाई पहिला नै राख्न सकिएन
किनकि,यो देशमा उनीहरूको कुनै सरकार थिएन
हैन थियो यो देशमा पनि दुइतिहाइको सरकार थियो
तर,त्यो तिनीहरूको मात्र थियो।
त्यसैले तिनीहरूलाई मात्र बोलाइ बोलाइ राखियो ?
अफसोस भरिया दाइलाई राखिएन?

भरिया दाइको कुनै दुइतिहाइ सरकार छैन
र भरिया दाइलाई भारतसम्म पुग्नलाई
भिसा पनि लाग्दैन
तर जब भरिया दाइहरू बेरोजगार हुन्छन्
तब यो देशले काँकडभिट्टामा
भरिया दाइको भिसा पासपोर्ट खोजिरहन्छ ।
र कयौँ दिन भरिया दाइ
म्यादी प्रहरी भएर त्यही उभिइरहन्छ

र कैयौदिन सिमाना गाडिएको
बोर्डर र जङ्गे पिल्लर भएर उ उभिन्छ
र कुनै दिन
उ भारतीय बिस्तारवादको सिकार भएर सकिन्छ ।

भरिया दाइ भोकमारिको लडाइँमा मारिन्छ
हिजो सडकमा हुँदा उसको अस्तित्व
अस्तित्वविहीन थियो
अफसोस र आज पनि
अस्तित्वविहीन नै भएर सकियो

गाडीहरू जस्तै भारीहरू बोकेर
बाचुन्जेल जीवनको पूरा उमेर
फुटपाथमै खेर गो
र आज मर्दा समेत
ग्यारेजमा फ्याँकिएको कुनै
पम्पचर टायरहरू झैँ गरेर
त्यही फुटपाथमै सकिएर गो ।

भाग्यमानी रहेछ भरिया दाइ
किनकि ,आफू जन्मिएको जमिनकै
माटोहरूमा मर्‍यो ।
तर अभागी रहेछ भरिया दाइ
यसकारण कि ,
आफ्नै मातृभूमिमा मरेर पनि
उस्कि आफ्नै आमाले पनि
उस्लाइ स्विकार गरेन।
किन यो देशले उसको लासलाई बुझेन ?
।।
इमानदारिताको कदर गरेर
उसको पार्थिव शरीरमा
झन्डाहरू ओढाएर
किन यो नाममा सलाम ठोकिएन
अनि किन दिएन
उस्लाइ उसको इमानदारिताको पुरस्कार
अनि किन गरिएन उसको नाममा एक छिन मौन धारण

सधैँ अर्काको काममा दौडिएर
बजायो बजाहरु
गायो गानाहरू
अनि हातको हत्केलाभरि
ठेलाहरू उठ्ने गरेर
पड्कायो थपडीहरू
तर अफसोस, आज उ मर्दा
किन एउटा सङ्ख सुद्द बजेन ?
किन
यो सिङ्गो सहरलाई उसको मरणमा कुनै शोक परेन
सायद ,यश कारण पनि यो देशलाई उसको शोक परेन
उ कैले पनि भ्रष्टाचारी भएर निस्किएन
कारण यही हो कि उसले कैले पनि गद्दारी गरेन ।

उपचार गर्ने सूर्यबहादुर
आफै आज दिर्घरोगी भएको छ
उद्धार गर्न सूर्यबहादुर
भाँचिएर आफ्ना दुवै हातहरू
अब कैले पनि नतैरिने गरेर गहिरो सागरमा डुबेको छ

कयौदिन सूर्यबहादुरको लास
क्वारेन्टानमै मरिरहेको कुनै नौजवान झैँ गरेर
कीर्तिपुरको चोकमा कुइरहेका थियो
र त्यो गल्लीगल्लीहरु पुग्ने गरी गनाइरहेको थियो
र त्यहिदिन सर्वहाराहरूको नारा लगाएर
कराइरहेका मार्क्स र लेलिनबादहरु हराइरहेका थिए ।
र हराइरहेका थिए
उक्तिमा उल्लेखित कोरोना उन्मुक्त भनाइहरू झैँ गरेर
मज्दुरमुक्ती जिन्दाबाद भन्नेहरू ?

प्रधानमन्त्री ज्यु
उखानहरू मिलाएर बढो ताजुगहरुसहित
अब देशमा कोही पनि
भोक भोकै मर्दैन
अनि,
कसैले पनि अब आँसु झार्नु पर्दैन भनियो
तर अफसोस किन यसको ठिक विपरीत
बिहानै अखबारमा किन लेखियो सरकार
मजदुर मरिरहेको समाचार
र जहाँ ,यो देखेर गुजारा गर्ने गरिबहरूको
आखाहरुबाट खसिरहेको आँसुहरूले
भिझिरहेको अनुहार र बिस्तारै पुछिरहेको थियो
यिनै समचारहरुले भरिरहेका तिनै पत्रिकाहरूले

कयौदिन पछि उसको लासलाई अस्पताल लगियो
अनि अनुसन्धान गरियो
र कोरोना रोग झैँ गरेर यो देखियो कि
`भोकमरी भाइरस पोजेटिभ´ ।
हो उ भोकमरी लागेर मरेको थियो ।

उठ उठ सूर्यबहादुर
यदि त आज उठिनस् भने
तेरो परिवार पनि एकसाथ
तसङ्गसङ्गै सधासधाको लागि सुतिरहनेछ।

सुत सुत
सूर्यबहादुर
आज तेरो सपना पूरा हुदैछ
र तेरो त्यो अभागी अनुहार आज
अखबारमा छापिएको छ ।

र आफ्नै अनुहारको समाचार छापिएको
त्यही पत्रिकाहरूले तेरो नाङ्गो आङलाई
छोपिएको छ
र सङ्गै छोपिएको छ
केही पुराना पत्रिकाहरूले
जहाँ एउटा लामो अछ्ययरमा लेखिएको छ ।

“अन्तरास्ट्रीय मजदुर दिवसको शुभकामना´´

अरे वा र
आफ्नै प्रेमको खातिर
मरिरहेको कुनै महान् मायालु मान्छेको
लासमाथि उपहास गर्दै
प्रेमिकाको ओठहरूबाट हाँसिरहेको
प्रेम दिवसको अनन्त शुभकामनाहरू झैँ गरेर
आफ्नै मरेको छातीहरूमा टाँसिरहेको
मजदुर दिवसको शुभकामना !

अरे………
जिन्दगीभर आफ्नू आहार बनाएर
यो सहरले उपभोग गरिरहेको
र यो देशको सुरक्षाको निमित्त सिमानामा लडिरहेको
अनि आत्मरक्षा नपाएर
कुनै शैनिककमाण्डरहरु जस्तै
या,मानौँ कि कोरोना रोग लागेर
त्यही अस्पतालमा अकाल मरिरहेको
डाक्टरहरू झैँ गरेर

भोकमरीको भुमरीमा परेर
असामयिक मरिरहेको
श्रमिक तिमीलाई मेरो हार्दिक समवेदना

र साथै अभिवादन जिन्दगीभर मरेर
पनि मेरो कवितामा अमर बाचिरहेको
भिखारी मजदुर सूर्यबहादुर तिमीलाई ती
सच्चा क्रान्तिकारी शहीदहरूको सलाम।

– रतुवामाइ,मोरङ्ग

अस्ति भर्खर ज्यालादरि गर्ने सूर्यबहादुर तामाङ्ग नामको मजदुरको भोकमरीमा परेर निधन भएको थियो । जुन एक अति दयनीय र सरकारी अव्यवस्थाको एक कठोर पराकाष्ठा पनि थियो। र यसभित्र आएका अन्य सबै विषयवस्तुहरू निमुखा र निम्नबर्गियहरुको प्रतिकात्मक विषयवस्तुहरू हुन। यो देशको सम्बन्धित निकायले ती वर्गहरूलाई विशेष ध्यान दियोस् । र राज्यमा समानताको हक सबैलाई लागू होस ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.