कविता : प्रेम

~हिमाल सरोवर~

तिमिलाई आकाशको जून मन पर्छ,
तिमी ताराहरुसँग प्रेम गर्छौ,
म तिम्रो निम्ति,
जूनतारा टिपेर ल्याउन सक्दिनँ ,
तिमी यसलाई धोका भन्छौ,

तिमिलाई वसन्त मन पर्छ,
तिमि फूललाई प्रेम गर्छौ,
म तिम्रो निम्ति ,
फूल चुँडाएर ल्याउन सक्दिनँ ,
तिमी यसलाई स्वार्थ भन्छौ,

तिमिलाई हिमाल मन पर्छ,
म तिम्रो निम्ति,
हिउँ बनेर झर्न सक्दिनँ ,
तिमी मलाई धोजेबाझ भन्छौ,

तिम्रो र मेरो प्रेममा यहि त फरक छ,
तिमी मन परेको चिजलाई
जसरी पनि आफ्नो बनाउन चाहन्छौ,
आफ्नो बनाएर छोड्छौ,

तिमी फूललाई प्रेम गर्छौ,
निमोठेर आफ्नो बनाउछौ,
कुल्चिएर छोड्छौ,
म फूललाई प्रेम गर्छु,
निमोठ्नुलाई पाप सम्झिन्छु,
र फूलले पनि मलाई प्रेम गरुन् भन्ने चाहन्छु,

तिमी जूनसँग प्रेम गर्छौ,
आफ्नो भएन भने,
जूनमा पनि दाग छ भन्छौ,
म जूनलाई प्रेम गर्छु,
जूनको उज्यालोले मलाई प्रेम गरे झैं लाग्छ,
जूनको सुन्दरताको बारेमा कविता लेख्छु,

तिमी हिमाल मुस्कुराएको देख्छौ,
आफ्नो भएन भनें,
हिउँ पगाल्न खोज्छौ,
बादलसँग गुनासो गर्छौ,
म हिमाल रोएको देख्छु,
पीडा लुकाएर हासे झैं देख्छु,
तराई र पहाडसँग ,
हिमालको बलियो साइनो गाँस्न खोज्छु,

तिमिले प्रेम गर्ने चिजहरुसँग ,
मेरो पनि प्रेम नभएको होइन,
तिम्रो र मेरो प्रेममा यहि त फरक छ,
तिमी प्राप्तिलाई मात्र प्रेम बुझ्दछौ,
म तिम्रो यो प्रेमलाई पनि प्रेम गर्छु,
म निस्वार्थ प्रेम गर्छु,
र प्रेम गरिरहन्छु!

*-हिमाल सरोवर-*सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.