~आनन्द पौड्याल~
बन्दा बन्दीको समय उपयोग गरिरहँदा,
हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा
दुई शब्दले मानसिक डुबुल्की मार्दा
साहासिक दृष्यको परिकल्पना बोध गर्दै
करुण भाव र सम्वेदना भित्र रोमलिँदै
प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै
कोही पनि कोहीसँग चाहान्नन् स्पर्श हुन
एकान्त बासले उकुश मुकुश बनाउँदै गर्दा
माहुरीको घार याद हुँदै छ अहिले
भय र त्रासबीचमा दरिलो झड्का लाग्दा
अरवौँ मान्छेका ती मलिन मुहार नियाल्दा
चम्कीलो मुस्कान कोहीमा पनि छाएन
धुलो विहिन प्राकृतिक दृष्य बोध हुँदा
फक्रिएको फूल झैँ देखी मनमुग्ध हुँदै
स्वच्छ प्राणवायुको स्वस्थ अनुभूति गर्दै
कालो बादलमा चाँदीको घेरा रहे जस्तै
ओठ खुला गरी प्रकृति मुस्कुराएको देख्दा
सधैँभरि यस्तै दृष्य हेर्ने रहर जगाउँदै
संसारको मुर्दा शान्ति कहरको अनुभूति गर्दै
सुगाले पिँजडालाई विश्व सम्झे जस्तै
मान्छेको क्रियाकलाप नजरको अपेक्षामा
घरको झ्याल र छतबाट वरिपरि नियाल्दै
एउटा खुट्टा उचाल्दै बाहिर चियाउँदै गर्दा
क्षीतिज पारी आँखाको गिद्देनजर डुलिरहन्छ ।
मिति २०७७ साल बैशाख २८ गते, आइतबार ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )