~प्रभा कैनी~
अमेरकिामा गर्मीका दिन सुरु भएका थिए। तर, हामीलाई अझै जाडो लागिरहेको थियो। एक-दुई दिनदेखि बल्लबल्ल दिन खुलेर घामको ताप बढ्न लागेको महसुस गरेका थियौँ। तैपनि, नेपालमा जस्तो न्यानो अनुभूति भएको थिएन। छोरा नवीनसँग धेरै अघिदेखि एलिनोर गुरुआमाकहाँ पुर्याइदिन अनुरोध गरेकी थिएँ। अस्पतालको व्यस्तताका कारण साइत कहिले जुर्छ भन्नै सकिरहेका थिएनन्। तर, साइत जुर्यो, ४ जुन २०११ मा। उनलाई तालिमका लागि न्युयोर्क जानु रहेछ। बाटोमा पर्ने कनेक्टिकट राज्यमा गुरुआमा बस्नुहुन्थ्यो। मेरो मन खुसीले अकासियो।अमरज्योति जनता हाई स्कुल, लुईंटेल, गोरखा, जहाँ ५० वर्षपहिले मैले जिन्दगीका पहिला पाठहरू सिकेकी थिएँ। उक्त हाई स्कुलको स्थापना भएको आधा शताब्दी बितिसकेछ। स्थापनाकालदेखि हाई स्कुलको ज्योति यत्रतत्र फैलिएको थियो। हरेक वर्ष जति विद्यार्थीले एसएलसी दिन्थे, सबै पास हुने निश्चितै हुन्थ्यो। दे शभरकै नतिजामा आधा परीक्षार्थी पनि उत्तीर्ण नहुने समयमा शतप्रतिशत नतिजा एकदमै असाधारण मानिन्थ्यो। धेरै जना प्रथम र द्वितीय श्रेणीमा मात्र पर्थे, नगन्य मात्र तेस्रो श्रेणीमा।
एसएलसी बोर्डमा पनि यसै स्कुलको नाम अग्रपंक्तिमा आउँथ्यो। ०२६ सालको एसएलसीमा बाबुराम भट्टराई र उपेन्द्र देवकोटा बोर्ड प्रथम र दसौँ स्थानमा परेर नेपालै हल्लाएको आजैजस्तो लाग्छ। ०२२ सालदेखि ०३५ सालसम्म कोही अनुत्तीर्ण नभएको र एक दर्जनभन्दा बढी विद्यार्थी बोर्डमा पर्न सफल भएको इतिहास कायम गरेको छ यसले।
यही हाई स्कुलमा मैले १५ पुस ०२० देखि अध्ययन गरेकी थिएँ। ०२५ सालमा एसएलसी दिएँ। २२ वैशाख ०२६ मा परण्िााम हेर्न पालुङटार पुगेका थियौँ। त्यस बेला पालुङटारमा साताको केही दिन हवाईजहाज बस्थ्यो, त्यसमा काठमाडौँबाट गोरखापत्र पुग्थ्यो। अचेलजस्तो अनलाइनको सहुलियत त झन् कसले सोचेको थियो? न पत्रपत्रिका जताततै पुग्थे, न त फोनको सुविधा।
गोरखापत्र हेरेर मैले तरक्क आँसु खसालेँ। सायद मैले कमै सोचेकी रहिछु, प्रथम श्रेणीमा पर्छु भनेर। त्यस बेलाकी संकोची किशोरी म। स्वभावैले लघुताभासले ग्रस्त रहिछु क्यारे! रुद्र देवकोटा, प्रभा देवकोटा र कृष्ण देवकोटाको नम्बर प्रथम श्रेणीमा देखियो। अमरज्योतिका धेरै भाग्यमानी केटासरह भएको महसुस गरेकी थिएँ, त्यस दिन।
त्यस नतिजाका पछाडि धेरै लुकेका अनुहार थिए भन्ने कुरा मैले वयस्क हुँदै जाँदा महसुस गरेँ। आमा विद्यादेवी देवकोटा र गुरुआमा एलिनोर एल्किन्स, थमस भर्गिस, मेरी भर्गिस, भीमप्रसाद कट्टेल, गोपाल देवकोटा, कृष्ण भट्टजस्ता कर्मठ शिक्षकको प्रयासको उपलब्धि थियो त्यो। अचेल भने एसएलसीको परीक्षाफल निस्केको दिन जुन जुन स्कुलको नतिजा राम्रो देखिन्छ, त्यस स्कुलका शिक्षकलाई धन्यवाद दिन मन लाग्छ। किनभने, विद्यार्थी औसतमा उत्तिकै क्षमताका हुन्छन् र विद्यार्थीको क्षमता वृद्धि गराउने काम शिक्षकको लगनशीलता र परश्रिममा भर पर्ने कुरा हो।
यिनै लगनशील शिक्षकमध्ये एक हुनुहुन्थ्यो, एलिनोर एल्किन्स, त्यस बेलाकी अमेरकिी युवती। हामीलाई अंग्रेजी पढाउनुहुन्थ्यो। औसत शिक्षकभन्दा मिहिनेती। हाम्रो कमजोर अंग्रेजीका कारण बढी मिहिनेत गर्नुपर्ने बाध्यता थियो उहाँलाई। स्कुलमा जति समय पढाउनुहुन्थ्यो, त्यसभन्दा बढी समय विद्यार्थीका होमवर्क जाँचेर रात छर्लंगै पार्नुहुन्थ्यो। भ्याए खाने, नभ्याए नखाने तर कापी नजाँची नहुने, हरेक दिन। हरेक कक्षाका ३०-४० विद्यार्थीका आज लगेका एस्से, समरी, स्टोरी र अरू प्रश्नोत्तरका कापी भोलिपल्ट राता अक्षरले सुधारएिर आउँथे। अनि, हरेक विद्यार्थीलाई कापी फिर्ता गर्ने क्रममा उत्ति नै समय दिएर सम्झाउनुहुन्थ्यो। उहाँ भूगोल पनि उत्तिकै सहज तरकिाले पढाउनुहुन्थ्यो। शारीरकि शिक्षा र स्वास्थ्य पनि उहाँले पढाउनुपथ्र्यो बेलाबेलामा। विद्यार्थीमा खेलकुदप्रति दिलचस्पी जगाउन पनि विशेष रूपले लाग्नुहुन्थ्यो। ब्याडमिन्टन खेलमा मेरो दक्षता देखेर मलाई विशेष हौसला दिनुहुन्थ्यो।
ब्याडमिन्टन, नेट र कर्क उहाँले आफैँ किनेर बाँड्नुहुन्थ्यो। गरबि विद्यार्थीलाई कलम, कापी र लुगा दिँदा उहाँलाई विशेष आनन्द आउँथ्यो। उहाँको काम गरििदन धेरै कामदार लालायित हुन्थे। तर, उहाँले चलनचल्तीको भन्दा फरक र अधिक रकममा काम कहिल्यै लगाउनु भएन। यसो गर्दा कामदारले नेपालीलाई उपेक्षा गर्ने र समाजमा असमानताको भाव बढ्ने मान्यता राख्नुहुन्थ्यो।
तीन दशकभन्दा बढी सेवा गरेपछि उहाँ अमेरकिा फर्किनुभयो। यसबीचमा केही मित्रले उहाँलाई भेटेर आएको कुरा मलाई नसुनाएका होइनन्। सन् १९९८ मा म पहिलोपटक अमेरकिा पुगेका बेला भाइ लक्ष्मणले गुरुआमा आफ्नो घरमा केही दिन बसेर फर्किएको कुरा सुनाएका थिए। त्यस बेला म अमेरकिाको सुदूरपश्चिमस्थित हवाई राज्य र एरजिोनाबाटै नेपाल फर्कनुपरेकाले उहाँलाई भेट्न पाइनँ। यसपटक उहाँलाई जसरी पनि भेट्ने मेरो उत्कट इच्छालाई छोरा नवीनले सार्थक बनाए।
कनेक्टिकट राज्यको फार्मिङटन भन्ने स्थानमा गुरुआमा बस्नुहुँदो रहेछ। फोन गरेर समय मागेँ। दिनको करबि ११ बजे रोड आइल्यान्डबाट हिँडियो।
पहिलो उद्देश्य गुरुआमालाई भेट्ने थियो भने अन्तिम गन्तव्य न्युजर्सी राज्यको पार्सिपेनी भन्ने ठाउँ थियो, जहाँ नवराज पन्त र उनका परविार बस्थे। गाडी अगाडि बढ्यो, जीपीएसले बाटो निर्देशित गर्दै गयो। तीन घन्टापछि गुरुआमाको घरअगाडि पुगियो। गुरुआमाले हामीलाई स्वागत गर्नुभयो। हामी धेरै बेर अँगालोमा बाँधियौँ।
जंगलको हरयिालीबीच सुन्दर र घमाइलो घर। घरबाहिर दूबोको चौर, राताम्य गुलाब। शान्त र सुरम्य। उत्तिकै व्यवस्थित। एक्लै बस्नुहुँदो रहेछ उहाँ। घरका धेरैजसो सजावट र पहिचान नेपाली। हिमाली रेन्जको ठूलो तस्बिर, बाबुआमाबाहेक सजाइएका अधिकांश फोटो नेपालीकै। नेपाली खास्टो र त्यसनजिकै बसेकी मोटी बिरालीको नाम पनि मीठी। घरभित्र सजाइएको फोटोमा आफ्नो पनि उपस्थिति देखेर मनमनै प्रफुल्ल भएँ। गुरुआमाका हजारौँ विद्यार्थीमा म पनि उहाँको सम्झनामा रहेछु।
स्वयंसेवी शिक्षकका रूपमा जिन्दगीका हराभरा दिनहरू अनकन्टार पहाडमा बसेर झन्डै तीन दशक बिताउनुभयो गुरुआमाले। हामीलाई अध्ययनपछि आफ्नै देश र गाउँको उन्नतिमा संलग्न हुन प्रोत्साहन र सल्लाह दिनुहुन्थ्यो। तर, अहिले समय उहाँको चाहनाभन्दा विपरीत बहेको छ। धेरैजसो मेधावी विद्यार्थीलाई आफ्नै देशमा पाउँदा कस्तो लाग्छ भनेर सोधेँ। गुरुआमाले मलाई स्पष्ट उत्तर दिन चाहनुभएन। तर, आफ्नो विश्वास व्यक्त गर्नुभयो, प्रभुको इच्छा !
नेपालमा हुँदा उहाँको विवेक बोलेको थियो। अहिले विश्वासले जितेको महसुस गरेँ। दुई घन्टाको सुखद मिलनपछि सानो उपहार टक्र्याएँ। उहाँले सुनौला पेज भएको अत्यन्त सुन्दर बाइबल दिनुभयो। स्कुले दिनमा गुरुआमाले कोर्सका पाठबाहेक न्यु टेस्टामेन्ट पढाउनुभएको थियो। स्कुलनजिकैको चर्चमा प्रार्थना सभामा सामेल हुने केही विद्यार्थीमध्ये एक थिएँ म। महाभारत र गीताका जस्तै बाइबलमा उल्लेखित कतिपय कथा र प्रसंग मलाई खुबै मन पर्छ। बाइबलका केही प्रसंग अरूलाई पनि सुनाउने गर्छु। बाइबल, कुरान, गीता हाम्रा लागि एकै प्रकारले शिक्षा दिने सामग्री हुन् भन्न सक्ने हैसियत बाइबल अध्ययनले दिएको हो।
अन्त्यमा गुरुआमाले हामीसँगै क्राइस्टको प्रार्थना गर्ने इच्छा गर्नुभयो। बिन्ती गर्नुभयो, ‘हे प्रभु येशू खि्रस्ट ! आज ४५ वर्षपछि प्रभासँग भेट हुने जुन अवसर प्रदान गर्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। मेरी शिष्यको उन्नति देखेर म अति हर्षर्ित भएकी छु। उनी मात्र नभएर उनका जीवनसाथी र छोरा नवीनसँग पनि भेट भएको छ। सबैले आ-आफ्नै किसिमले उन्नति गरेका रहेछन्। यो सबै प्रभुको अनुग्रह र प्रेमको फल हो। अब आज प्रभाहरू न्युजर्सी जाँदै छन्। उनीहरूको गाडीको वरपिरि तपाईंले आफ्ना दूतहरू पठाएर सुरक्षा प्रदान गर्नूस्। उनीहरूका आउने दिनमा सधैँ तपाईंको आशीर्वाद रहोस्।’
गुरुआमा ‘आमिन’ भन्दै बन्द आँखा खोलेर हामीतिर हेर्दै मुस्कुराउनुभयो। धन्यवादसहित अभिवादन टक्र्याएर हामी बाटो लाग्यौँ। हाम्रो गाडीले नेटो नकाटेसम्म गुरुआमा प्रेमपूर्वक नियाल्दै हुनुहुन्थ्यो। गाडीमा बसेर त्यो प्रेमको प्रतीकात्मक पुस्तकका पाना पल्टाउँदै जाँदा न्युयोर्क पुगेको पत्तै पाइनँ ।
सडक, समय र सपना
– मनु आभास
यिनै उपेक्षित सडकहरूमाथि
मनखुसी बुर्कुसी मार्दै
कोरिरहेछ समय
अन्धकार भविष्यको गर्भमा खण्डीकृत भाग्यरेखा ।
यी तिनै सडक हुन्
जहाँ पोखिएका छन् पसिना
टाँसिएका छन् मस्तिष्कका चोइटाहरू
र, लत्पतिएको छ रगत ।
००७ साल-
समय भञ्ज्याङमा बास बसेका –
एक झोला सपनाहरू बोकेर
खुसीको क्षेत्रफल नाप्छ सडकको ।
समय –
०४६ र ०६२ बनेर
झरेका सपनाका पातहरूमा टेक्दै-टेक्दै
ओर्लिन्छ फेरि सडकमा ।
चट्याङ बोकेर हिँड्ने आकाशझैँ समय
जड समय
र, पाषण समय ।
यस्तै समयका एम्बुसहरूमा
विस्फोटित छन् सडकका सपनाहरू ।
यही मस्तिष्कविहीन समय
गणतन्त्रको सपना देखिरहँदा
मझेरीभरि ओच्छ्याएर सहिदका सपनाहरू
संगीनको सिरानीमा मूच्छिर्त छ
विधान हराएको मेरो देश ।
प्रकाशित: माघ ४, २०७१
(स्रोत : कान्तिपुर – कोसेली)