कथा : राक्षस

~अल्पविराम~AlpaBiram

हिजो आज मेरो पांच वर्षको नाती मसंग सुत्न मन पराउन थालेको छ / नाती मसंग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु / मेरो श्रीमानको देहावसान पछि छोरा बुहारी र नाती भए पनि मलाई एकाकिपनको अनुभूति हुने गर्थ्यो / मेरो नाती पनि मसंग सुत्न थालेको धेरै भएको छैन / उसको बहिनी जन्मेको दुई महिना भयो / बहिनी जन्मे पछी उसलाई आफु सुत्ने कोठा गन्हाउन थाल्यो रे / ऊ जब मसंग सुत्न आउँछ त्यस पछी मैले उसलाई एउटा कथा भन्नै पर्ने हुन्छ / उसलाई कथा नसुनेसम्म निद्रै लाग्दैन रे / उसलाई कथा सुनाउनु पर्ने मेरो एउटा अर्को दायित्व बढेको छ /त्यसै भएर मैले दन्त्य कथाहरु पढ्न पर्ने जिम्मेवारी थप्पिएको छ / उसलाई कथा सुनाऊँदा सुनाऊँदा एउटा सिंगो दन्त्य कथाको पुस्तक सकिई सकेको छ / आज मसंग नातिलाई सुनाउने नयाँ कथा छैन |

अजी ( हजुर आमा ) ! कथा भन्नुस् न — ऊ भने मलाई कथा भन्न कर गरिरहेको छ|

मसंग आज नयाँ कथा छैन बाबु !सुत ,थुपुक्क सुत — म भन्छु तर ऊ मानेको छैन / ……

अजी! ड्याडी मम्मी अजीले भनेको नमान्ने बच्चालाई समातेर खाने त्यो छ नि डर लाग्दो राक्षस, हो त्यो! कहाँ बस्छ ? त्यसलाई पुलिसले पक्रन सक्दैन ? ……..

सक्दैन ,बाबु ! सक्दैन /…………….

किन भने त्यो मान्छे जस्तै भएर महलमा बस्छ / आजभोली राक्षस र मान्छे छुट्ट्याउन सकिदैन बाबु ! ……….

किन अजी !राक्षस त महेन्द्र गुफा ,चमेरे गुफा अनि कुमारी गुफा जस्तो ओडारमा बस्छ भन्नु भएको होइन ?……….

हो बाबु ! पहिला पहिलाका राक्षस ओडारमा बस्थे तर आजभोली महलमा बस्ने गर्छन् /……….

पुलिस भन्दा पनि राक्षस बलिया हुन्छन् र अजी ! पुलिसको डण्डा र बन्दुकले पनि केही गर्न सक्दैन ? ………

सक्दैन बाबु ! सक्दैन / ……….

किन अजी ! …………….

किन भने राक्षसको एउटा फोन आयो भने पुलिस त्यसै डराउँछन् / पुलिसको डण्डा र बन्दुक त साधारण मान्छे तर्साउनको लागि मात्र हो /………

अनि त्यसो भए हिजो आज त्यो राक्षसले मान्छे खान छोड्यो त , अजी ! ……….

अँ बाबु ! त्यो राक्षसले मान्छे खान छोडेर मान्छेको आँसु र पसिना खाने र रगतको आहालमा नुहाउन पौडन मन पराउन थालेको छ / भ्रष्टाचारको कलात्मक पलंगमा आराम गर्छ /जिन्ग्रिंग ठडिएको कपाल , फुस्रो कालो रुप , दाह्रा निस्केको नाङ्गो शरीर ,राता राता आँखा देख्दै डर लाग्दो पहिला पहिलाका राक्षसहरु आजभोली टाई सूट लगाएका सुकिला मुकिलामा परिबर्तन भएका छन् / प्राडो पजेरो बलेरो गाडी चढेर सयर गर्न थालेका छन् / ……..

अनि के गर्ने त अजी त्यसो भए / त्यो राक्षसलाई कहिल्यै मार्न नसकिने भयो त ? …………..

सकिन्छ बाबु ! किन नसक्नु ? दह्रो ईच्छा शक्ति त्यागी ईमान्दार बिष्टहरु , थापाहरु ,भट्टराईहरु र खरेलहरु थुप्रै जन्म्यो भने त्यस्ता राक्षसलाई मार्न कुनै कठिनाई पर्ने छैन /……….हामी त नेवार हगि अजी ! ……….हो बाबु हामी नेवार हौँ /नेवारहरुमा गणेशमान सिंहले पदको लोभ गरेनन् / तिमी ठूलो भए पछी अशल मान्छे बनेर त्यो राक्षसलाई पक्रन सक्ने बहादुर बन है ! ……….हुन्छ ,अजी !

त्यति भनेर मेरो नाती ममताको न्यानो अंगालोमा बेरिएर फ्वाँ फ्वाँ निदायो / मेरो कुरा त्यसले कति बुझ्न सक्यो , कति बुझेन / त्यो ठुलो भए पछी कली युगे राक्षसलाई पक्रन सक्ने हुन्छ कि अथवा ढुंगा मुढा चक्काजाम संस्कृति मौलाएको , दिनहुँ पद्धतिको मलामी जाने र विधिको लक्षमण रेखा नाघ्ने दुस्साहशी राक्षसको भीडमा त्यो पनि राक्षस बन्ने हो थाहा छैन / दन्त्य कथाको राजकुमार जस्तै आश लाग्दा दुई चार जना युवाहरुको जमात नदेखिएको होइन तर सीमित युवा शक्तिहरु राक्षसहरुको भीडमा किम्कर्तब्य बिमुढ़ बनिरहेका छन् / भोलि मेरो नातिको लागि कस्तो खालको कथा सुनाउने होला यस्तै यस्तै सोंचाई मनमा खेलाउंदा खेलाउंदै म पनि भुसुक्कै निदाए छु /

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.