कथा : मखुन्डी

~प्रयास लामा~

“ओई त्यो केटीले त हामीलाई हेरिरहेको जस्तो छ हेर त।” कुईनोले मलाई कोट्टाउँदै टासीँले भन्यो।

“आ छोडन भाई, स्वाट्ट पारी हालन् घर जानु ढिलो भैसक्यो।” सम्झाउने सुरमा त्यसलाई भन्दै थिए तर मेरो आखाँ भने त्यसले देखाए तिर नै पुगिसकेको थियो। आखिर मन नै त हो।

“आज त न्यु इयर पार्टि सकेर मात्र जानुपर्छ।” त्यो अझै थप्ने शुरमा थियो।

सानो डल्लो अनुहार । सानै नाक तर गाजल लाएका आखाँ भने ठुला ठुला देखिने। राम्री भनिहाल्न नमिले ता पनी आर्कषक देखिने त्यो अपरिचित अनुहारले हामीलाई नै हेरि रहेको थियो। उसले हाई हिल्समा पर्पल स्हिथ ड्रेस लगाएको थिईन्। आखाँ जुझे पछी उ सरासर हामी भए तिर आईन्।

“हाई” आफ्नु हात अघी बढाईन्।

अघाडी बढाएको हात समाउदै चिने-नचिनेझै गरेर सोधे ” तिमी त नुमा होईन?”

“हो त चिन्नु भएन ?”

“झण्डै नचिनेको मैले त। निकै स्लिम भएछौ नि त।।” जिस्काई पठाउछु।

“एनी वे हेप्पी न्यु ईयर” उसले मुसुक्क हासेर भनी।

“सेम टु यु, बसन्” म अलिक सरेर उसलाई ठाउँ दिन्छु।

टासीँले पुलुक्क मलाई हेर्यो र उब्रेको स्वाट्ट पारेर घर जाउँ हैन ढिलो भैसक्यो भनेर हिडन खोज्यो।

“बर्षमा एकदिन त हो यार बसन्। न्यू इयर पार्टी सकेरै जानु पर्छ।” भन्ने मेरो पालो थियो। त्यसलाई बस्ने सकेंत दिदै अझै एउटा वाईन मगाईदिए।

टेबलमा वाईन आउँदा टासीँको अनुहार उज्यालो भयो।

“तिमी केही पिउँछौ।” म नुमालाई सोध्छु।

“बरु बाहिर जाउँ न। यहाँ त कति चर्को म्यूजिक छ।” जवाफको साटो उसले प्रस्ताव राखिन्।

पाँच बर्ष अघी खोरीबारीको यात्रामा सयोंगवस भेटेकी नुमालाई फेरी भेटिएला भनेर कहिल्ये सोचेको थिईन। त्यो यात्राको एउट छुट्टै स्थान छ मभित्र अझै पनी। एउटा सिङ्गो कथा नै छ।

“पाँच बर्ष अघी खोरीबारीको बसमा प्रथम भेट भएको है हाम्रो?” म कुराको सिलसिला अघी बडाउँछु।

“हो र? पाँच बर्ष भयो र?” जवाफमा उसले भनिन्।

म केही अन्दाज गरे जस्तो गरेर भन्छु “बेसी पनी भयो होला म यता सरूवा भएको नै पाँच बर्ष हुन लागेछ।”

केही सोचेँ जस्तो गरेर उ मुसुक्क मुस्कुराईन एउटा मिठो मुस्कान।

एकतिस डिस्मबरको रात। भित्र बार जतिकै भिड भए पनी बाहिर सुनसान छ। शितल छ। जून लागेको सफा आकाश छ। सिलीगुडीको सिटी सेन्टर न्यू इयरको स्वागतमा झलमल्ल बलेको छ। हामी चाउरमा सफा ठाउँ हेरेर बस्यौ।

“जाडो भएन” उसलाई सोध्छु।

“आज त त्यती छैन, हिजो अस्ती सम्म निकै थियो।” उसले भन्यो।

“हिजो अस्ती सम्म? माने तिमी यतै छौ? तिम्रो त घर दमक होईन र?” मेरो सोझो जिज्ञासा थियो तर मेरो जिज्ञासालाई महत्व नदिई उसले हासेँर भन्यो ” आज त रोमांटिक वेदर छ भन्दा पनी हुन्छ। त्यै माथि न्यु इयर। साच्ची तपाईको गर्लफ्रैंड छ?”

“म विवाहित हुनु पनी त सक्छु” म हासेँर भनिदिन्छु।

“मलाई केही फरक पर्दैन।”

“फरक पर्दैन भने मैले सोधेको उत्तर देउन्। यता के गर्दैर्छौ? कहिले देखी सिलीगुडी बसेको?”

“————————–” उ केही बोल्दिनन्।

“नुमा के भयो? नरिसाउन् ठट्टा गरेको हौ मैले? यस्तो अल्लारे बल्लारे केटोको गर्लफ्रैंड छैन जस्तो लाग्छ तिमीलाई?” म जिस्किदिन्छु।

“तपाई को हो र मेरो? तपाँईसित रिसाउनु।” उ पनी व्यंग्याक्तमक हासिदिन्छे।

“अँ कोहीँ हैन। ल म गए टासीँले पनि पर्खी रहेको होला।” म रिसाए झै गरेर उठन् खोजे।

“नरिसाउनु होसन् । मैले पनि त्यसै ठट्टा गरेको मात्र।” मेरो हात समाउदै उसले भन्यो।

“अन्त भनन् किन कुरा घुमाई बस्छौ?”

“………………………. आमा बिरामी हुनुहुन्छ। यहीं पछाडी नियोटियामा एडमिट छ। आज संग दुइ महिना हुन लाग्यो।” उसले केही निराश भएर एकै स्वासमा भन्यो।

“अनी आमा चहीँ अस्पतालमा छोडेर तिमी……..”

“तपाईले यस्तो सोच्नु स्वाभाविक हो तर जुन रूप र जुन अवस्थामा तपाई मलाई देखिरहनु भएको छ नी, त्यो मेरो मजबुरी हो। यहाँ म न्यु इयर मनाउनु आएको होईन्। आमा बिमारी हुनु भए देखी म यस बारमा काम गर्न थालेको हुँ।”

उसले गोजीबाट सिग्रेटको प्याकेट निकालेर मतिर बढाई। मैले टाउको हल्लाएर खान्न भन्ने संकेत दिए। उसले एउटा सल्काई।

“कहिले देखी खानु थाल्यौ?” सोधे उसलाई।

उत्तरमा उसले केही भनीनन्। सिग्रेटको धुवाँलाई गोलो बनाएर आकाशतिर छोडिन्।

“आमा मेरो सबकुछ हो र आमालाई बचाउँन म जे पनी गर्न तयार छु।” भनेर कहीक्षण उ चुप लाग्यो।

केही क्षणको चकमन्नता पछी उसले फेरी भन्न शुरू गर्यो “घरमा धेरै दुख थियो। दुई छाक खान पनी धौ धौ पर्ला जस्तो अवस्था थियो। त्यस्तो अवस्थामा पनी मेरो आमाले मलाई रक्सी बेचेर पढाए। तपाईलाई किन ढाटँनु आज म जे छु जस्तो छु आमाले बनाएको।” केही भासिएको स्वर थियो उसको। आमा सम्झेर हुन् या त दुखका दिनहरु सम्झेर उसको आखाँमा ढिलफिल पानी जमिसकेको थियो। सिग्रेट एकपटक लामो सर्को तानेर फालिदियो।

उसको गम्भीर रुप देखेर मनमा चिसो पस्यो र कुरालाई अन्तैतिर लैजाने सुरमा भने “सिग्रेटको बानी लागे पछि त छाडन् गाह्रो हुन्छ है।” उ सायद आफ्नु अतितका दिनहरूमा हराईसकेको थियो। उसले मेरो कुरालाई वास्तै नगरी केही मुस्कुराउन खोजे जस्तो गरेर भन्यो “हामी सानो छदाँ आमाले ठुलो खोंसीमा रक्सी बसाउनु हुन्थ्यो। म र भाई यो डल्ले भाडाको तातो पानी चहीँ मेरो है भन्दै पालैपालो आगो लगाउ थियौ। त्यो तातो पानीले टाउको चाहीँ ननुहाँ है आमा कराउनु हुन्थ्यो। बाल्यकाल साच्चैँ कति रमाईलो हुन्छ जस्तै दुखमा पनी। आमाले रक्सी भुलटुङमा भरेर दोकान पठाउथे। बाह्र बोतल छ भन्नु ल बडालाई अन्त आमाले भनेको एक किलो खानेतेल दिनु भनेको छ भनेर ल्याएर आउनु -आमा अह्राउनु हुन्थ्यो। भाई र म दोकान जानु हानथाप गर्थ्यौ। गिलानीको बोतलमा नापेर पठाएको रक्सी बडाले बियरको बोतलमा नाप्नु हुन्थ्यो र यहाँ हेर दश बोतलमा अलिकति मात्रै बेसी थियो भन्नु ल तेरो आमालाई भनि पठाउँथे। सानो छदाँ जे अह्राईनथ्यो त्यहीँ गरिन्थ्यो। जे भन्नु लायो त्यहीँ सुनाईनथ्यो। कारण जान्ने र बुझ्ने आवश्यकता नै महशूस भएन। जब बुद्धि आउदै गयो। भुलटुङ लिएर दोकानमा रक्सी पुराउन लाज लाग्न थाल्यो। भाईलाई फकाउदै एक्लै पठाउँथे। आमाले कराउनु हुन्थ्यो। एकदिन भाई घरमा थिएन। आमाले मलाई अह्राउनु भयो। मैले जान्न भने। तँहरूलाई के थाहाँ छ घरको दुख। नजा भोकै बस्। आमा कराउनु थाल्नु भयो। म पाचँ लिटरे भुलटुङ स्कुलको ब्यागमा हालेर आमाले नदेखी चुपचाप बाटो लागे। उमेरले बुद्धिलाई छेक्दो रहेछ। असलमा जब मेरो ज्ञान आयो। मैले बुझे आमाले रक्सी बनाउनु भएको हाम्रो पेट भर्नु रहेछ। मैले बुझे आमाले रक्सी बनाउनु भएको हामीलाई पढाउनु रहेछ। र मैले बुझे आमाले रक्सी बनाउनु भनेको हामीले चाडँ पर्व मनाउनु रहेछ। जब मलाई यो सबको आभास भयो मलाई रक्सी बोकेर दोकान जान शरम लाग्न छोड्यो। त्यसबेला एकप्रकारले दुख बुझ्ने भईसकेको थिए सायद। आज मेरो त्यही आमा बिमारी छ। मलाई जे गरेर भए पनी आमालाई बचाउँनु छ।”

“अनि तिम्रो बुवा चाहीँ नी?” नसोधौं भन्दा भन्दै फुत्कि हाल्यो। उसको कुराहरूमा उसका बुवालाई कतै नभेटदा मलाई जिज्ञासा हुनु स्वाभाविक थियो। सायद बुवा बित्नु भएको होला ब्यर्थै सोधे की भनेर सोधीसके पछी ग्लानि पनी भयो।

उमा खासै मेरो प्रश्नको केही प्रभाव देखिन। अघी झै मेरो प्रश्न सुनेनन् की भन्ने पनी एकमनले लागेको हो तर होईन रहेछ। आखाँ बाट चुहुनु लागेको आसुँलाई हत्केलाले पुछ्दै आफ्नु कथालाई क्रमश शुरू गरिन् “घरमा दुख त थियो नै। एकदिन बुवालाई ब्यापार गर्ने सुर चढ्यो। घरमा भएको गाई बाख्रा आमालाई बेच्न लगाईन्। आमा भन्दै थिईन् यो खसी त नबेचौँ बडेको छोरी छ घरमा। परेको बेला हामीलाई कसले पत्याउला र। तर बुवालाई ब्यापार गर्नु थियो। जाबो खसीको के माया गर्छौ ब्यापार सप्रे नाफा त तिम्रै हो बुवाले आमालाई सम्झाउनु भएको सम्झाना अझै आलै छ। तर आमा मान्नु भएन गोठ खाली राख्नु हुदैँन अलाक्षिन लाग्छ, आमाले खसी बचाउँने अन्तिम अस्त्र चलाउनु भयो। केही दिन पछी आमाले एउटा चिठ्ठी बोकाएर मलाई मामाघर पठाउनु भयो। चिठ्ठीमा के थियो थाहा छैन तर मामाले एउटा खबरकागजको पोको मेरो सुरूवालको भित्री गोजिमा हालिदिएर नहराई लगेर आमालाई दिनु अहिले पाचँ हजार मात्रै पु्ग्यो हरे भन्नु भन्यो। मामाघर जादाँ जुन फूर्ति थियो फर्कन्दा थिएन। घर पुगिञ्जेल हातले भित्री गोजी सयौं चोटी छामि सकेको थिए। गोजीमा दश बिस रूपिया भन्दा बडी कहिल्यै नहुने, मेरो लागी पाचँ हजार नहराई लानु ठुलो चुनौती थियो।”

उ केही क्षण चुप लागेर आकाशतिर हेरि रहिन् र गोजीबाट सिगरेट निकालेर औलाँको बिचमा खेलाईरहिन्। म उसको कुरा उत्सुकताको साथ सुनिरहेको थिए। तर मेरो उत्सुकताले उसको भावनाहरूमा ठेस नपुगोस भनेर चुप लागेर बसे। केही भनिन्। केही क्षण सिग्रेट औलाँले खेलाए पछि ओठँमा च्यापीन् तर सल्काईनन्। उ यस घरी अघी भन्दा धेरै नै गम्भीर देखियो। अनुहारमा निराशाको बादल छाएको थियो। सायद भनौँ कि नभनौँ भएको हुदोँ हो। मलाई विश्वास गरिहाल्न नसकेको पनी हुनसक्छ। केही बेर पछी सिग्रेटलाई पुन हातमा लिएर औलाँले खेलाउदै उसले भन्यो “पुरुष मान्छे कति स्वार्थी हुन्छ नी!” प्रश्न थियो कि उसले मसंग बिचार पोखेको थियो बुझ्न सकिन्। के भन्ने जब कुरा पुरुषार्थमा आएर अडकेको थियो। यो कुरामा मौन रहनै उत्तम सम्झेको थिए तर उसले “तपाईलाई कस्तो लाग्छ?” भनेर सोधे पछि “सबै पुरूष स्वार्थी हुदैन” भनेर आफ्नु बचावमा उत्रनु परेको थियो। मेरो उत्तर सुनेर उ ब्यंग्यात्मक मुस्कुराई र भन्न शुरु गरीन् “थाहा छ आमाले टन्टालापुर घाम नभनी, लुर्थुकै भिज्ने झरी नभनी, घासँ काटेर पालेको खसी बुवाले आमा जंगल जानु भएको बेला पल्लो गांवको काकालाई सस्तैमा बेचिदिए। आमा घर आई पुग्दा गोठ खाली थियो। आमाले सायद बुवाको नियत पहिले नै बुझिसक्नु भएको थियो। कसैलाई एक शब्द भन्नु भएन। घासँको भारी एकातिर बिसाएर गोठमा एक्लै रोईरही। भोलीपल्ट बुवा गाई बाख्रा बेचेको पैसा र मामाले दिएको सापटी लिएर बजार तिर लाग्नु भयो।

बुवा हिडेको हप्ता दिन बाद पनी फिर्नु भएन। त्यती खेर फोनको जमाना थिएन। आमा आत्तिनु हुन्थ्यो। सुर्ताउनु हुन्थ्यो। तर अहँ बुवाको केही खबर आएन। लगभग बुवा हिडेको एक महिना पछी हुनुपर्छ त्यो खसी किन्ने काका बुवाको खबर लिएर आए। उ त बजार होईन शहर नै पो छिरेछ त भाउजु। मैले भेटेको थिए। घरमा गएर ठिकै छ भन्दिनु भन्दै थिए। सुर्ताउनु पर्दैन भनेको छ है भाउजु। काका भन्नुहुदैँ थियो तर आमाले केही उत्तर दिनु भएन। काकाले खल्तीबाट एउटा चकलेट निकालेर ल यता आईज मिठाई खा भनेर मलाई बोलायो। म मिठाई समात्न अघाडी के बडेको थिए काकाले मलाई च्याप्प समाउनु भयो र कानमा सुटुक्क भन्नुभयो तेरो बुवाले भनेको आमाले थाहा नपाई वुवाले कोठामा राखेको मुसा मार्ने दवाई फ्याँकिदिनु हरे। शहर बाट फर्किन्दा तँलाई ठुलो पुतली भएको जामा ल्याईदिन्छ हरे। मैले त्यसबेला केही बुझ्न सकिन । मुसा मार्ने दवाई आमा देखी किन लुकाएर फ्याक्नु पर्ने भनेर सोचिँरहे। काकाले चिया पानी केही मागेन। आमाले सोध्नु पनी भएन। केही निरिक्षण गरे जस्तो गरेर काका जानु भयो।

केही महिना पछी हाम्रो घरमा बडी आउनु भयो र आमालाई धेरै सम्झाउँनु भयो। बडीले भन्नु हुदै थियो उतै हिड् अब, त्यो गतिछाडाको आशा नगर। घरमा बुडी, छोरा छोरी हुदाँ हुदैँ…….।बडीले मतिर पुलुक्क हेरेर बाहिर जा भनेर ईशारा गर्नु भयो। आमाले पनी मलाई देख्नु भएछ, आखाँभरी आसु पारेर बडीलाई भनिन् -होसन्, सुनोस यसले पनी।

त्यो दिन बडीले कति कर गर्दा पनी आमा बडीसंग हिडनु मान्नु भएन्। आमाको दिन भरी रक्सी पार्नु र बेलुकी भए पछी रूदै खाना खानु प्राय दिनचर्या नै भईसकेको थियो। मलाई उकुसमुकुस भएर आउथ्यो। बुवा किन घर नआएको? आमा किन दिनहुँ रूनुहुन्छ? मलाई ऐठन पार्ने बिषय बनी सकेको थियो।

एकदिन फेरी त्यहीँ काका आएर आमालाई एउटा चिठ्ठी दिएर गए। तेरो बाउले के लेखेछ, ला पढ भनेर आमाले चिठ्ठी नपढी मतिर हुत्याईदिनु भयो। चिठ्ठी बुवाले नै लेख्नु भएको थियो। म घर फर्किन्छु तर मेरो गल्तीहरू माफ गरिदिनु पर्छ। अझै अरू के के लेखेको थियो तर यो एकलाईन किन हो किन जिवनभरी नभुलिने गरी मेरो दिमागमा खिलियो। बुवाले के भुल गरे र माफी माग्दैँछ मेरो सोचँ बाहिरको कुरा थियो त्यसबेला।

लगभग बुवा हिडेको पाचँ महिना पछी घर फिर्नु भयो साथमा पल्लो गाँवको छेमालाई लिएर। त्यस दिन देखी म, भाई र आमा अलग्गै बस्छौ। मलाई बुवा देखि घृणा लाग्छ। मलाई हरेक पुरुष मान्छे संग घृणा लाग्छ।”

चारै तिर चकमन्न थियो। बार भित्रको कोलाहलसंग मिश्रित गितका धुनहरू मात्र कता कता सुनिन्दै थियो। म भने उसको अन्तिम वाक्यहरू बिच आफ्नु स्थान खोज्दै थिए। केही भन्ने आटँ नआएकै हो। भर्खर बारबाट संगै निस्केको नुमा र अहिले आखाँ अघाडी उभिरहेको नुमा अर्कै हुन् कि जस्तो लागिरहेथ्यो।

सिग्रेट त उसले कहिल्ये देखी औलाँमै खेलाएर आधा भाचिँ सकिको थियो। त्यही भाचिँएको ठुटा ओठमा च्यापीन् र गोजीबाट सलाई निकालेर सल्काउन खोजीन् तर ठण्डाले होला सलाई जल्नु मानिरहेको थिएन। “लौ सल्काउ” आफ्नो लाईटर जलाएर उसको ओठ नजिक पुराईदिन्छु। उ मलाई पुलुक्क हेरेर एउटा ब्यंग्यात्मक हासो हासीँदिन्छे। “कोई कोई बेला ओकेज्नली” त्यो हासोँको उत्तर दिनु जरूरी सम्झे। सायद उसले मेरो यो हरकतलाई दुर्बलता सम्झी कि लाचारी, उ अझै जोडले खित्का छोडेर हास्नँ थालिन। म अकमक्क परेर उसलाई हेरिरहे।

केही क्षणमै उ एक्कासि हास्नँ छाडेर मलाई ग्वाम्म अंगालो हालिन र रून पो थालिन। एकक्षण त सपना जस्तो नलागेको पनी होईन। के गर्ने। के भन्ने। मलाई केही सुझिरहेको थिएन। उ रूदै भन्दै थिई “मेरो आमाले मेरो लागी धेरै दुख सहेको छ। म मेरो आमालाई जसरी भए पनी बचाँउछु। मलाई तपाईको साथ चाहिएको छ।” आखाँको आसुँ पुछ्दै मतिर हेरेर उसले प्रश्न गरिन “मलाई साथ दिनुहुन्छ नी?” सायद उसको रूवाईले मलाई पनी भावुक बनाएछ। केही थोपा आसुँ मेरो आखाँबाट झरिरहेको महसुस गरे। केही भन्नै सकिन र टाउको निहुराएर आफ्नु साथ ब्यक्त गरे।

“तपाई चाहीँ ब्यर्थै किन रुनु भएको। मैले तपाईलाई पनी रुवाई पठाए नी?” उसले रूमाल झिकेर मेरो आसु पुछिदिईन् र अगांलो हालेर केहीबेर बसे पछी मेरो गालामा म्वाई खाईन्।

मेरो आसुँ रोकिए। म निशब्द भए। म होशमा आए।

“…………. नुमा म तिमीलाई साथ दिन्छु तर तिमीले यो सब गर्नु पर्दैन। हिड जाउँ भित्र।” भनेर म बसेको ठाउँ बाट उठे। उ केही बोलेन सायद उसले आफ्नु हरकत पछिको परिणाम अलि भिन्नै अन्दाज गरेको थिईन्। उसले आफ्नु लुगा मिलाईन्। कपाल कोरिन्। हेण्डबेगबाट सानो ऐना निकालेर लिपस्टिक मिलाईन् र मेरो पछी लागिन्।

“आमाको चाँडै अपरेशन गर्नु पर्छ भनेको छ डाक्टरले। लगभग तिन चार लाखको खर्च आउने रहेछ।” हिडदै गर्दा उसले भन्यो। तिन चार लाख! उसले मबाट कति आशा गरेको होला? मेरो साथको किमत कति हो? म असमंजसमा परे। ब्यर्थै भेट भएछकी जस्तो पनी लाग्यो। भेट नभएको भए यस्तो हुने पनी थिएन सोचेँ। के गर्ने अब त्यत्रो पैसा न आफुसित होस्। सिटी सेन्टर भित्र पस्नै लाग्दा देब्रे पट्टीको एटिएममा छिरे र बिस हजार निकालेर उसको हात थमाई दिएर भने “अहिलेलाई यति राख्दै गर ल। हेरन् एटिएमको विथड्रावल लिमीट नै घटेछ अस्ती सम्म त चालिस दिदै थियो।” आफ्नु असक्षमतालाई लुकाउन यही एउटा बहानालाई काममा लाए। उसले चुपचाप पैसा थापेर हेण्डबेगमा हाली। “म एकक्षिण आमाको अवस्था बुझेर आउछु है। तपाई जादैँ गर्नु होस” उसले भन्यो। “अनि यतिबेला पस्न दिन्छ अस्पतालमा? हिड म पनी गईदिन्छु” मैले भने। “होईन् तपाई जादैँ गर्नु होस म ईनक्वारी सेकसनमा सोध्छु मात्रै र आईहाल्छु।” भनेर उ हिडी। भित्र पस्दा प्राय बार खाली भईसकेको थियो। घडी हेरे पौउने एक भईसकेछ। कतिबेला बाह्र बज्यो। कतिबेला न्यु इयर शुरु भयो पत्तै भएन। टासीँलाई पनी कतै नदेख्दा फोन गर्नुलाई मोबाइल झिके। मोबाइल त साईलेन्ट मोडमा पसेको रहेछ। आमाको छ वटा मिस्डकल भएछ। टासीँले तिन चोटी फोन र दुई चोटी मेसेज गरेछ। प्रथम मेसेज -फोन किन नउठाएको। बाह्र बज्नु पाचँ मिनट मात्रै छ छिट्टो आईज। वाईन पनी मैले सक्दिनु आटें है। दोस्रो मेसेज – म लागेको है घरतिर। होप यु आर ईन्जोईगं युर नाईट (एउटा आखाँ झिम्काएर जिब्रो बाहिर निकालेको ईमोजी पनी हालेछ)।

नुमालाई बारभित्रै धेरै बेर पर्खिरहे। तर उ आएन। बार बन्द गर्ने तरखरमा लागेको बारको एकजना कर्मचारीलाई नुमाको मोबाईल नम्बर सौध्छु तर उसले नुमालाई चिनेन् । “काम गर्नेहरू धेरै छन्। सायद नयाँ आएको होला। नयाँहरूको नाम मलाई त्यती थाहा छैन।” उसले भन्यो। बार बन्द भए पछी म घरतिर लागे।

त्यस दिनको घटना पछी नुमालाई धेरै दिनसम्म भेटेको थिईन्। भनौ भने कामको चापले म सिटी सेन्टर तिर निक्लनु भ्याएकै थिईन।

तिन चार महिना बादको कुरा हो। एकदिन बेलुकी पख वाट्सएपमा पेम्बाले मेसेज पठाएछ “ओई एउटा दाम्मी केटीको फ्रेंड रिक्वेस्ट आएको छ”। “तँलाई दाम्मी नलागेको को हो र?” रिप्लाई संग एउटा लडी लडी हासेको सिम्बोलिक ईमोजी पठाईदिन्छु। “जानिस!” उता बाट रिसले रातो भएको ईमोजी संग रिप्लाई आयो। आमाले खाना पस्किएर भान्साँबाटै बोलाउनु भयो। “ल भाई च्याट गर अब राम्रोसंगले। तेरै छ जिन्दगी। गरि खा। मलाई आमाले बोलाउनु हुदैछ। म भान्सातिर लागेको।” मेसेज पठाई राखेर म भान्सातिर लागे। खाना खाईवरी एकक्षिण टिभी हेर्न बसे। म ओछ्यान पस्दा नौ नाघिसकेको थियो। वाट्सएप खोले । पेम्बाको तिनवटा मेसेज रहेछ।

“ओई मलाई त कस्तो अर्कवाड लाग्यो। उसको पर्स हरायो रे आज। घरभाडाहरू पनी थियो रे। दश हजार हालि माग्दैछ हेर्न।”

“आज फस्ट च्याटमै कस्तो पैसा माग्देको है”

“ओई काँ मोरिस हौ?”

“नढाट तँ आफै बाठ्ठे भएर हाल्दिन्छु भनिस् होला केटी पट्टाउनुलाई” म रिप्लाई पठाईदिन्छु।

“कस्तो नपत्याएको मुला। पर्खी तँलाई म स्क्रीन सट पठाउँछु।” उताबाट रिप्लाई आयो।

एकक्षिण पछी त्यसको मेसेज आयो।स्क्रीन सट पठाएछ। आखाँ मेरो प्रथम केटीको फोटोमै गयो। सानो डल्लो अनुहार। सानै नाक। गाजल लाएकोले ठुला ठुला देखिन्थ्यो उसका आखाँहरू। फोटो हेरीसकेर नाम पढिरहने मलाई जरुरत परेन। कुनि किन हो त्यती आश्चर्य पनी लागेन।

“अलिक सोचेंर बुझेर………………….” के मन आयो र लेख्दै गरेको रिप्लाई लाई डिलिट गरे। अन्तमा “केटी त राम्री नै रहेछ है। अल द बेस्ट।” लेखेर रिप्लाई पठाई दिए र कोठाको बत्ती निभाएर ओछ्यानमा ढल्के। यस चोटीको न्यू इयर शुरुआत सम्झिन्दा सम्झिन्दै कति बेला निदाएछु पत्तै भएन।

प्रयास लामा,
मङपु, दार्जिलिंग।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : मखुन्डी

  1. Swarup gurung says:

    Metho katha lekhnu vayexa.sarai ramro lekh.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.