~गोपालप्रसाद रिमाल~
सवैले टड्कारै सुन्ने गरी टाढैबाट उसले भनेका कुराहरु
त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ
उसले मेरो कानमा खुसुक्क भनेका कुराहरु
कति मीठा होलान् ! म भन्न सक्तिनँ।
उसले टाढैबाट मतिर आँखा उठाउँदाखेरि त
म आनन्दका टाकुराहरुमा उचालिन्छु भने
मलाई थाहा छैन उसले नजिकै आएर
हातले उठाउँदा म कुन स्वर्गमा अकासिने हुँ !
मलाई थाहा छैन।
ऊ नसमातिने हो कि अङ्गालोमा नआउने हो कि
भन्ने किसिमसंग चकचके भएर टाढा देखा
पर्दा त मेरो मन यसरी गाउन थाल्यो भने
म कल्पना गर्न सक्तिनँ लहराजस्तै उसको वरिपरि वेहि्रन
पाउँदा मेरो मुटु कुन-कुन तालमा नाच्ने होला !
म कल्पना गर्न सक्तिनँ।
ऊ टाढै छँदा मबाट सपनाहरु पलाउन थाले।
म कल्पनाहरु खेलाउन थालें।
म भन्न सक्तिनँ ऊ नजिक आए पछि ती सपना, कल्पनाहरु
कुन प्रण भएर पलाउने हुन्।
म कुन जीवन-काखमा खेलाउन पाउने हुँ !
म भन्न सक्तिनँ।
(स्रोत : गोपालप्रसाद रिमालको कवितासङ्ग्रह “आमाको सपना”बाट सभार)