कविता : मङ्गली बज्यैको बिहे

~राजेन्द्र तारकिणी~

उबेला मङ्गली बज्यैको बिहेमा
को को रोएका थिए,
को को नाचेका थिए ?

उनको साँझ
कसरी लजाउँदै पसेको थियो कालो गाजलभित्र,
कलस्यौलीहरूले कसरी सिँगारेका थिए
उनलाई भन्दा बढ्दा कलशहरूलाई,
कसले कसरी ‘चाचरी’ गाएका थिए
कसले कसरी ‘सगुन’ सुसेलेका थिए
क–कसले कसरी
उनका अबोध पाइतालाको पानी खाँदै
‘धर्म’ कमाएका थिए ?

मङ्गली बज्यैको रात
कसरी पिलन्धरे बत्तीसँगै
मलिन मलिन,
थकित थकित,
निराहार उँघेको थियो
कसरी घ्यूका चिराग बाल्दै मान्छेहरूले
तल आँगनमा पर्छेका थिए,
उनको यौवनको प्रथम हकदारलाई
कसरी सिन्दूरको बन्चरो चलाएको थियो उसले
र, कोरिएको थियो सिउँदोमा रातो निशाना !

उनको बिहान
कसरी सिङ्गै लाजको डल्लो भई उदाएको थियो,
कसरी पोतिएको थियो
आकाशभरि,
धरतीभरि,
उनको अबोध अनुहारभरि
कौतुहलको/उद्वेलनको/विरहको लाली
क–कसलाई कसरी
छाँद हालेर बिलौना गाएकी थिइन् उनले
र, वातावरण टिल्ल मातेको थियो करुणाले
कसले कसरी जबरजस्ती डोलीमा हालिदिएका थिए
र, कसरी चुनाराहरूले सकीनसकी बोकेका थिए
जिन्दगीभन्दा लामो भिरालो जङ्गलको बाटो… !

—-

यी सब कथनी कथिसकेर
मङ्गली बज्यैका परेलाबाट
अविरल उर्लिरह्यो बेमौसमी भदौ
उनका थर्कमान खस्रा ओठहरूबाट
जिन्दगीका कैयौँ ‘लोलीगाड’हरू साउनको बुई चढी
एकैसाथ गडगडाएर गए ।

(तर म भरखरै रोएको थिएँ
जब बैनीले डोलीसँग विद्रोह गरिन्
घरको मुटु निचोरेरै एक तीखो बिलौना रोइन्
गाउँ/पाखोको वातावरणलाई एक सिरिन्ज विरह घोेपेर
उनले इन्कार गरिन् सिन्दूरले रेटिएर पराइघर जान
म मात्र रमिता हेर्न नसकेर
वर्षौंपछि रोएँ, निकै रोएँ…)

र, मङ्गली बज्यैको हिर्दयमा
टोकिरहे सम्झनाका सयथरी बिच्छीले… ।

जीवनका तमाम सत्यहरूसँग ठोक्किँदै ठोक्किँदै
आइपुगेकी छिन्, जीवनको अन्तिम डिलमा
आज मङ्गली बज्यै असाध्यै एक्लो छिन्,
भन्दैछिन्–
मेरो निधारका गुज्मुज्ज परेका बाटा हुँदै
कोही आइदिए हुन्थ्यो,
केही ल्याइदिए हुन्थ्यो… !

news24nepal.tv मा प्रकाशित
– न्वादेउ- ६, बैतडी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.