कविता : फूफु

~आनन्द पौड्याल~

सानो नानी हाँस्दाखेरि दाँत कति राम्रा ।
सधैँभरि यात्रा जाँदा अघि हुने हाम्रा ।।
कोही मान्छे भेट हुँदा मुस्कुराई हाँस्ने ।
नयाँ चिज हेर्नलाई कम्मर नै कँस्ने ।।

कति तीखो दिमाग त्यो थोरै मात्र पढ्ने ।
विद्यालय जाँदा जाँदै बुद्धि ज्ञान बढ्ने ।।
यता उता रमाउँदै छुनुमुनु गर्ने ।
आफन्त र बाबु आमा सधैँ खोजी गर्ने ।।

प्रकृति र तारा जून हेर्दा खुशी हुने ।
ज्ञानगुन सिक्न भनी सधैँ अघि जाने ।।
हँसिलो नै मुहारले नयाँ सिप सिक्ने ।
अति राम्रो काम गरी समाजमा बिक्ने ।।

परिश्रमी फल टिप्न सक्रियता वढ्यो ।
दिमाग नै तिखार्न पो नयाँ कुरा पढ्यो ।।
बाबु आमा गुरुलाई मान्ने गरे राम्रो ।
मेहनत गरेर नै जीउने बानी हाम्रो ।।

आकाशको बादलले के के झार्छ हेर ।
समय त अमूल्य छ बुझ त्यतिखेर ।।
ज्ञान बुद्धि विवेकले असल नै हुने ।
जस्तो बेला आए पनि नगर्नु है रुने ।।

सिक्न भनी सधैँभरि तम्तयार हुँदा ।
पढ्दा लेख्दा सिक्दा बोल्दा टिप राम्रा बुँदा ।।
सत्य कुरा हृदयमा ज्ञानी बन्न तिम्ति ।
निरन्तर पढाइले भारी हुन्न विन्ति ।।

बाबु आमा धरती र आकाशको याद ।
शरीर पो कपास झैँ हल्का हुने ज्यादा ।।
अत्यधिक ज्ञान लिन सधै अघि हुने ।
हृदय नै छुने भए सोमा साक्षी हुने ।

ज्ञान बुद्धि बढाउँन सवै कुरा सुन्नु ।
नौनी मात्र लिन भनी मनमनै गुन्नु ।।
स्कुल जाने वेला भने अत्तालिने बानी ।
फूफु गरी खुवाउँदा रमाउँने नानी ।।

मिति २०७६ साल चैत १७ गते, सोमबार, साँझ ६ बजे ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.