कविता : केचनाको उचाई

~प्रेम राई परिक्षित~

सगरमाथाको गन्तव्य
आधि बाटोमा यात्रा बिसर्जन
एउटा अपुरो अनि असफल यात्रा
दोष लिएर बाच्नु छैन मलाई
होचै सहि बरु सिङ्गो केचना भएर
ठिङ्ग उभिनु फरक पहिचान
सफलताको गिनिज बुक भित्र
लिपिबद्ध गौरवपूर्ण पानाहरु बोकेर

सबै होचो कहाँ हेपिन्छ र ?
सबै होचो ढिस्को मात्र कहाँ हुन्छ र ?
त्यही होचो भित्र
म बिष्णुको बामन अवतार भेट्छु
त्यही होचो भित्र
मलाला होचै भएर अग्लिन्छिन कताहो कता.. ?
र त्यही होचो भित्र
म अरुण उपत्यकाको बिशालता अनुभूत गर्छु

त्यसैले,
उचाई होचोमा पनि हुन्छ
बस् त्यसमा गहिराई हुनुपर्छ
उचाई गहिराईमा पनि हुन्छ
बस् गहिरिनु जान्नु पर्छ
उचाई पोकली जस्तै तल झर्नुमा पनि हुन्छ
बस् मान्छेको मन जित्नुपर्छ

म आज त्यही सन्सारले पढ्ने
होचो केचनाकलन बन्ने यात्रामा
गोक्यो आधार शिविर छाडेर
नाम्चे बजार हुँदै
तल…तल…तल… ओर्लिरहेछु
तल…तल…तल… गहिरीरहेछु
उचाईको खोजीमा…..!!

शब्द वर्णन
केचना झापा जिल्लामा अवस्थित नेपालको सबैभन्दा होचो
स्थान जुन समुद्र सतहबाट ७० मिटर उचाईमा छ।
पोकली ओखलढुङ्गा जिल्लामा रहेको नेपालको सबैभन्दा
लामो झरना

(स्रोत : परिवर्तन खबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.