~श्रीधर शर्मा~
चैते हावासँगै
नववर्षको उन्माद बोकेर
भुवादार बादलको
तन्ना ओढी
आँखामा उल्लास भर्न
बगैँचा-बगैँचा हुँदै
उत्साही पैतालाहरू
टेक्दै-टेक्दै
लमकलमक
फड्को मारेर
यसपटक
वसन्त !
तिमी किन आएनौ,
मेरो घरको आँगनीसम्म ?
सदाझैं
हतारहतार
अघि बढिरहँदा
बाटामा ,कतै
कसैले अल्मल्यायो कि-
सधैँ प्रसन्न मुद्रामा
उज्यालो निधार लिएर
आउने तिमी,
यसपटक
किन आएनौ,
मेरो घरको सँघारसम्म?
अब त,
विश्वका डिलहरू भत्किसके
चाहनाका पोथ्रा पनि उम्रिएनन्
खुसीको चँदुवा पनि टाङ्न नै
कहाँ पाइयो र ?
आँगनमा आँखा
ओछ्याइरहेँ
मुटु हल्लाउने गीतको
सुरिलो भाखा बोकेर
यसपटक
वसन्त !
तिमी किन आएनौ,
मेरो मनको ढुकढुकीसम्म ?
– Ithari, Sunsari
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 47 | पुर्णाङ्क 93 | Baisakh-Jestha)