कथा : दुर्लभ समय

~लक्ष्मी गाइजू~Laxmi Gaiju

एउटा निजी कम्पनीका एक सामान्य कर्मचारी राकेश, स्थानीय विद्यालयमा आयाको रूपमा काम गर्ने राकेशकी श्रीमती सुमित्रा, नियमित विद्यालय जाने बहिनी रोजी, छोरा रोहण, छोरी रोहिणी र सधैं घरधन्दा र व्यवहार व्यस्त रहने आमा मनकुमारी, सबैको आ– आफ्नै छुट्टाछुट्टै दुनियाँ थियोे । कसैलाई आफ्नो कार्यबाट कहिले फुर्सद मिलेको थिएन । एकले अर्कोको हालचाल जान्ने बुझ्ने समय कसलाई थियोे र सबैजना बिहान बेलुका औपचारिकताका लागि मात्र भेटघाट हुन्थे । भन्नलाई त एउटै परिवार हो तर कसैको मनको गहिराई नाप्न कसैलाई फुर्सद थिएन ।

त्यो घरको आड भरोसा भनेकै विशेषगरी राकेश नै थियोे । उनैको जागिरबाट नै घरका न्यूनतम आवश्यकताहरू पूरा हुन्थ्यो । सुमित्राको आया जागीर त उसलाई हल्का सघाउने मेलो मात्रै थियो । बिहान उठ्यो, हातमुख धोएर निस्क्यो, अफिसमा मरिमेटी मेसिनले झैँ काम ग¥यो अनि थकित भएर घर आयो, खायो, सुत्यो । भोलि फेरि उहीँ दिनचर्या । न सँगै खानु न सँगै बस्नु, न पहिला जस्तो ठट्टा ठट्यौली गर्दै हाँस्नु हँसाउनु । ऊ साँच्चिकै मेसिन बनिसकेको थियो । समयले स्विच थिच्यो, अनि त्यहीँ रफ्तारमा दौड्यो ।

समयलाइ पछ्याउँदै तेज रफ्तारमा दौडिरहेको यन्त्रमानवझैँ लाग्ने मानिसहरूको गतिमा समयले नै झ्याप्प ब्रेक लगाइदिए सरि भयो अहिलेको लकडाउन । विश्वभरि फैलिएको कोरोना (कोभिड– १९) का कारण नेपाल सरकारले पनि सुरक्षाको निम्ति लकडाउनको घोषणा गरेसँगै राकेशको गतिमा पनि ब्रेक लाग्यो ।

उसलाई अब अफिस जानु थिएन । लकडाउनको दुई चार दिन कोठाभित्रै मोबाइल खेल्दै, सुत्दै बित्यो । समयले एकलकाँटे र एकसुरे बनाइदिएको मन मोबाइलमा गेम खेल्दै र सामाजिक सञ्जालमा औँला नचाउँदै त्यो दुई चार दिन आनन्दले आराम गर्दै बित्यो । तर, ती पलहरू पनि उसलाई झ्याउलाग्दो हुन थाल्यो । कति यसरी बस्ने भन्ने सोच्दै उसले भन्छातिरको बाटो ततायो ।

“सुमित्रा, भान्छामा के के छ ? केही स्पेसल परिकार बनाएर खाऔँ न ।” एकलकाँटे श्रीमानको कुरा सुनेर सुमित्रा चकित परिन् ।

कुरा गर्ने जिस्किने जिस्काउने त उसका लागि एकादेशको कथाजस्तै भइसकेको थियो । आमा श्रीमती छोराछोरीलाई उसले आवश्यकताभन्दा एक शब्द पनि बोली झार्दैनथ्यो । कहिलेकाहीँ फुर्सदको बेलामा पनि मोबाइलमै झुन्दिरहने बानी परेको उसलाई कसैले डिस्टर्व नगरोस् भन्ने चाहन्थ्यो । त्यसैले उसको अनुरोधले सुमित्रालाई चकित पार्नु स्वभाविकै थियो ।

“खै, के बनाउने त ? मलाई त दाल, भात तरकारी र अचारबाहेक केही बनाउन आउँदैन ।” सुमित्राले जिस्किने पारामा भनिन् ।

“केक बनाउँ न युट्युव हेर्दै ?” निकै जाँगरका साथ राकेशले प्रस्ताव राख्यो ।

उसको प्रस्तावमा सुमित्राको पनि सहमति मिल्यो । युट्युवमा हेर्दै भनिए अनुसारका सकेजति सामग्री जुटाएर केक बनाउन थाले । अरू बेला बाबाको अघिपछि नपर्ने रोहण र रोहिणी पनि केक बनाएको हेर्न झुमिरहेका थिए । सबैजना रमाउँदै चाख मान्दै कहिले नबनाएको केक बनाउँदै थिए । कस्तो बन्ने होला भन्ने उत्सुकता सबैमा थियो । अरू बेला आ–आफ्नै दुनियाँमा रुमलिरहने आमा बहिनी श्रीमती छोराछोरी सबै आफ्नो साथमा रमाउँदै गरेको देखेर राकेशको मन पनि प्रफुल्लित भयो । यो जीवन उसले धेरै समयपछि बाँचेको थियोे ।

केक पाक्यो । पाकेको केक हेर्दै सबैजना हाँस्न थाले ।

“कस्तो बनेछ है दाइ ? युट्युवमा त कस्तो राम्रो बन्यो, हाम्रो चाहिँ ।” रोजीले भनिन् ।

“राम्रो त बन्थ्यो नि, त्यसमा भने भने अनुसार गरेमा । घरमा बनाउने त के–के मिल्दैन के के । तैपनि खान त मिठै होला जस्तो छ ।” सुमित्राले सबैलाई भाग लगाउँदै भनिन् ।

सबैले केकको आकार प्रकार, रङमा ध्यान नदिई मिठो मानेर खाए । सबै खुसी भए ।

बेलुकी खाना खाएर रोहण र रोहिणी हजुरआमासँगै टि.भी. हेर्न बसे । राकेश भने एकान्त कोठाभित्र बसेर मोबाइलमा गेम खेल्न व्यस्त भयो । उसलाई हठात् दिउँसोको रमाइलो क्षण याद आयो । आज सबैजना कति खुसी थिए भन्ने सोच्दै ऊ जुरुक्क उठेर गयो र टि.भी. हेर्न बसेका केटाकेटीको छेवैमा गएर बस्यो । बाबाको उपस्थितिले छोराछोरीमा असामञ्जस्य पैदा भयो । उनीहरूले एक अर्कालाई पुलुक्क हेरे । आफ्नो बाबा यसरी आफूसँगै बसेर टि.भी. हेरेको उनीहरूले कहिले थाहा पाएका थिएनन् ।

“छोरी यता आऊ न ।” छोरीलाई आफूतिर तान्न खोज्दै राकेशले भन्यो ।

तर, बाबाको काखमा खेल्ने बानी नपरेकी छोरी आउन मानिन् । त्यसैले राकेशलाई भित्रभित्रै नरमाइलो अनुभव भयो । अरू बेला खासै वास्ता गर्न नसकेको वा वास्ता गर्नै नखोजेकोमा उसलाई खेद लाग्यो । कहिलेकाहीँ चञ्चल स्वभावका केटाकेटी चकचक गर्दै आफ्ना, छेउमा आउँदा, सानोतिनो गल्ती गर्दा हप्काउने, रिसाउने, गाली गर्ने गरेकोमा उसलाई हुनसम्मको पश्चाताप लाग्यो । आफ्नो हप्कीदप्कीकै कारण केटाकेटी आफ्नो छेउमा आउन नमानेका हुन् भन्ने उसले निष्कर्ष निकाल्यो ।

“बहिनी खोइ त आमा ?” रोजीलाई परिपरि नदेखेपछि उसले सोध्यो ।

“आफ्नै कोठामा होली, भाउजू चाहिँको मोबाइल लिएर गा’थी ।” आमाले सामान्य जवाफ दिइन् ।

“क्भ्भ् रोकियो, आनन्दै भा’ होला तिनलाई । अब पढ्न ओढ्न छोडेर मोबाइलमा झुन्डिने भइसकी ।” ऊ आफँै भुतभुताउन थाल्यो ।

“किन बर्बराउनुभएको ?” कोठामा छिर्दै सुमित्राले भनिन्, “विचरी ¤ क्भ्भ् को कति तनाव छ उनलाई । तपाईँले ख्याल गर्नुभएकै छैन । यतिकै भुतभुताउनुहुन्छ ।”

राकेश केही नबोली सुमित्रालाई हेरिरह्यो ।

“अनलाइनबाट पढाइ हुँदै छ उनको । अहिले शिक्षकहरू पनि अनलाइन आउनुहुन्छ रे । त्यसैले मोबाइल लिएर गएकी हो ।” सुमित्राले स्पष्ट पार्दै भनिन् ।

यहाँ पनि आफू गलत भएकोमा राकेशलाई नरमाइलो लाग्यो । अझ त्योभन्दा पनि क्भ्भ् स्थगित भएको दिन आफूले बहिनीप्रति गरेको व्यवहार सम्झेर ऊ अब दुःखी भयो । वर्षभरि मिहिनेत गरेर उत्साहका साथ क्भ्भ् परीक्षाको तयारी गरेकी उनी अघिल्लो दिन बेलुकी परीक्षा स्थगित भएको सुनी गहभरि आँसु पारेर बसेकी थिई । सम्हाल्न गा¥हो भएर रोइरहेकी आफ्नी बहिनीलाई उसले खुबसँग झपारेको थियोे ।

अहिले स्थगित भएर के भो त ? पछि भइहाल्छ नि । यसमा रुनुपर्मे कुरा के छ ? बहिनीको मानसिक अवस्था नबुझी उसले यसरी नै हप्काएको थियो । त्यसपछि झन् ठुलो स्वरले रुँदै आफ्नो कोठाभित्र पसेकी थिई । त्यस दिनदेखि यता उनले आफ्नो दाजुसँग राम्ररी बोलेकी पनि थिइन् । आजै हो बोलेकी । त्यो क्षण सम्झेर उसको मन अमिलो भयो ।

उसले परिवारसँग समय बिताउन नपाएको धेरै दिन, धेरै महिना हुँदै धेरै वर्ष बितिसकेको थियो । लगाम लगाएको घोडाले सिधामात्र देख्छ । उसको हविगत पनि त्यहीँ लगाम लगाएको घोडाजस्तै भएको थियो, कामको लगाम, थकानको लगाम, तनावको लगाम लगाएर सिधा दौडेको दौड्यै ।

“म त सबैबाट कति टाढा भएको रहेछु । कसैको भावना नै बुझ्न नसक्ने भएँ” राकेशले उदास हुँदै भन्यो ।

“भावना नबुझ्ने हुनुभएको होइन, बुझ्ने चेष्टा नभएको हो ।” सुमित्राले सहज हुँदै भनिन् ।

“तिमीले ठिक भन्यौ सुमित्रा, सहि हो । मैले चेष्टा गर्नुपर्छ ।” यति भन्दै ऊ जुरुक्क उठेर गई रोजीको कोठातिर पाइला चाल्यो ।

रोजी भिडियो च्याटमा व्यस्त थिई । च्याटमा शिक्षक र अरू दुईजना साथीहरू पनि थिए । अचानक दाजुलाई कोठामा देखेर उनी छक्क परिन् । साथीहरूलाई पछि कल गर्छु भन्दै मोबाइल बन्द गरिन् र दाजुलाई उत्सुकतापूर्वक हेर्दै बसिन् ।

राकेशलाई अप्ठ्यारो लाग्यो तापनि बहिनीको पढाइ बुझ्ने चेष्टा गर्न कुराकानीलाई अघि बढायो ।

“कस्तो चल्दै छ तिम्रो पढाइ ?” राकेशको छोटोे प्रश्न थियो ।

“राम्रो चल्दै छ दाइ, अहिले सामाजिकको छलफल गर्दै थियौँ ।” रोजीले भनिन् ।

“अस्ति बुझ्दै नबुझी मैले तिमीलाई हप्काएँ, सरी है ।” राकेशले अप्ठ्यारो मान्दै भन्यो ।

दाजुको कुरा सुनेर रोजी भावुक भइन् । क्भ्भ् को अघिल्लो दिन चैत पाँच गते साँझ छ बजेतिर परीक्षा स्थगित भएको समाचार सुनेकी थिइन् । छाँगाबाट खसेझैँ भएकी उनले आफू सपनामा हो कि विपनामा हो ठम्याउन सकेकी थिइनन् । किनकि क्भ्भ् परीक्षा दिन गएको, परीक्षा नै छुटेकाजस्ता विपनाझैँ लाग्ने सपनाहरू उनले धेरैपल्ट देखिसकेकी थिइन् । त्यसैले यो समाचार पनि सपना हो जस्तो लागेको थियो । धेरैपछि मात्र उनले समाचार सही हो भनी ठम्याएकी थिइन् । त्यहीँ अवस्थामा दाजुले झपार्दा उनको मानसिक तनाव सो¥हमाथि सत्र भएको कुरा उनले सम्झिन् ।

एकछिनको मौनतापछि रोजीले भनिन्, “त्यो दिन साँच्चिकै नरमाइलो दिन थियो । धेरै समयदेखि दिन रात नभनी खुबै मिहिनेत गरेका थियौँ । सर म्यामहरूको पनि निकै मिहिनेत लागेको थियो हामीलाई तयारी गराउन । टाउको भाउन्न रिँग्याएको थियोे समाचार सुनेर । केही दिन अगाडि नै स्थगित गरेको भए पनि त्यति सारो हुने थिएन । भोलि क्भ्भ् परीक्षा दिने सपना तुन्दै कोठाभित्र बसेर दिनभरि पढ्दै बसेका मजस्ता सबै विद्यार्थीहरूलाई मलाईजस्तै भयो होला ।”

भन्दाभन्दै दाजुलाई पुलुक्क हेरिन् । गम्भीर हुँदै बसेको राकेशले बहिनीलाई उत्साहित पार्न भन्यो, “त्यो तयारी त खेर गएको छैन नि । अब लकडाउन खुलेपछि परीक्षा छिट्टै नै होला ।”

“तयारी खेर त जाँदैन दाइ, तर फलाम तातेको बेला हान्न पाएको भए अझ राम्रो हुन्थ्यो ।” दाइको कुरा भुइँमा झर्न नपाउँदै रोजीले भनिन् ।

राकेश केही बोलेन । केबल बहिनीलाई हेर्दै बस्यो । सानी चुलबुले बहिनी ठुली भएर यस्तो कुरा गर्न जान्ने भइसकेको उसले पत्तो नै पाएको थिएन । आज बल्ल मौका मिलेको थियो ।

दुईजना राती अबेरसम्म कुरा गर्दै बसे । राकेशले आफ्नी बहिनीको पढाइका साथै उसको भावना पनि बुझ्ने प्रयत्न गर्दै थियोे । कुरा टुङ्ग्याएर गुड नाइट भन्ने बेलासम्ममा दुवै प्रसन्न मुद्रामा थिए ।

लकडाउनको समय फेरि एक हप्ता लम्बियो । कोरोना नियन्त्रणमा आएको थिएन । इटाली, इरान, अमेरिका लगायतका देशहरूमा लाखौंलाख मानिसहरू सङ्क्रमितहरू भए भने मृत्यु सङ्ख्या पनि बढ्दै थियो । त्यसैले नेपाल सरकारले फेरि तिमीहरू अझै घरमै बस, परिवारसँग समय बिताओ भन्यो । राकेश र उसको परिवार आज्ञाको पालना गर्दै घरभित्रै बसिरहे ।

“ममि मैले बनाएको चित्र राम्रो छ ?” एकदिन रोहिणीले सुमित्रातिर कापी सोझ्याउँदै भनिन् ।

“खोए त म पनि हेरूँ मेरी छोरीको चित्र ।” सुमित्रातिर सोझिएको चित्रकापी लिन खोज्दै राकेशले भन्यो । तर, छोरीको मुख निन्याउरो भएको देखेर उसले आफ्नो हात हटायो ।

“आहा ¤ कति राम्रो रै’छ । देखाऊ त बाबालाई ।” आफूले हेरिसकेपछि कापी राकेशलाई दिंदै सुमित्राले भनिन् । राकेशले पनि चित्र हेर्दै उत्कण्ठले तारिफ गर्यो, “आहा ¤ मेरी छोरीलाई यति राम्रो फूल बनाउन आउँदो रै’छ । मलाइ त थाहै थिएन ।”

“मलाई घर पनि बनाउन आउँछ ।” तारिफले फुलेर राकेशको छेउमा जाँदै रोहिणीले भनिन् ।

“हो र ? लौ त लौ, बनाएर देखाऊ ।” मख्ख हुँदै राकेशले भन्यो ।

“बाबा, मलाई त झन हिमाल, रुख, चरा, मान्छेको चित्र बनाउन आउँछ ।” अघिदेखि कसैको वास्तै नगरी साइकल खेल्दै बसेको रोहणले बहिनीलाई गरेको तारिफ सहन नसकेर बोल्यो ।

सुमित्राको आँखामा पुलुक्क हेर्दै मन्द मुस्कानका साथ राकेशले भन्यो, “ए हो र ? देखाऊ त देखाऊ ।”

दुवैजना आफ्नो बाबालाई चित्र बनाएर देखाउन तँछाडमछाड गर्न थाले । उनीहरू बाबाको मुखबाट प्रसंशाका अमृतवचन सुनेर निकै मख्ख परे । धेरैपछि त्यो परिवारमा यस्तो रमाइलो वातावरण छाएको थियो । सुमित्रा, आमा र रोजी तीनजनाको चर्तिकला हेर्दै मख्ख परे ।

“स्कुलमा अरूका बच्चाहरू स्याहार्दा स्याहार्दा आफ्नो बच्चाहरूलाई स्याहार्ने फुर्सदै भएन ।” सियोमा धागो छिराउँदै सुमित्राले भनिन्, केटाकेटी चित्र कोर्दैमा व्यस्त थिए । सबैजना सुमित्राको भावना बुझ्ने चेष्टा गर्दै थिए । उनले सिरानीको खोलमा सियो नचाउँदै फेरि भनिन्, “बिहान नौ बजे हतार हतार स्कुल गएर पाँच छ बजेसम्म मेसिनले झैँ काम गर्नुपर्छ अनि थकित भएर घर आउँदा कसरी बच्चाहरूलाई हेर्न सकिनु ? त्यसैले मैले त यो समयलाई निकै मूल्यवान ठानेकी छु । जति सकिन्छ, सदुपयोग गर्नुपर्छ ।”

“हो त, तिमीहरू भएर मलाई पनि धेरै सजिलो भा’छ ।” प्रायः चुपचाप बसिरहने आमाले पनि मुख फोडिन् । घरधन्दा, सरसफाइ गर्दैमा समय गएको थाहै हुँदैन । त्यसमाथि यी केटाकेटी चकचक गरेर हैरान नै पार्छन् । मेरो त सासै फुल्छ यिनीहरूलाई कराउँदा । अहिले त धेरै सजिलो भएको छ ।”

राकेशको दुर्लभ समय यसरी नै परिवारको साथमा हाँसिखुसीका साथ बित्न थाल्यो । कहिले पढ्ने पढाउने, कहिले मिलेर सरसफाइ गर्ने, अनि कहिले मिलेर पकाउने, खाने त कहिले विभिन्न खेलहरू खेलेर रमाइलो गर्दागर्दै उनीहरूले दिन बितेको पत्तै पाएनन् ।

लकडाउन फेरि पनि लम्बिदै लम्बिदै गयो । कोरोनाका कारण विश्वमा मृत्युु सङ्ख्या साढे एक लाखको हाराहारीमा पुग्यो । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या एक, चार, आठ, बा¥ह हुँदै पैंतालीस पुग्यो । त्यसैले लकडाउनका दिन लम्ब्याउनु र अझ कडाइ गर्नु स्वभाविकै थियो । मानिसहरू अधैर्य भएर बाहिर निस्किने प्रयास गर्दथँे तर राकेशको परिवार भने धैर्यतापूर्वक रमाइलोसँग दिन बिताउँदै थिए । उनीहरूलाई यो लकडाउन आफ्नै सुरक्षाको लागि हो र यसलाई पूर्णतया पालना गर्नुपर्छ भन्ने सचेतता पनि थियोे । त्यसैले अति आवश्यक सामग्री लिन, विशेष गरी तरकारी लिन राकेश आफैँ दुई तीन दिनको एकपल्ट बाहिर निस्किन्थो । कोलाहलबाट पर, मानसिक तनाव र शारीरिक थकानबाट मुक्ति, मात्र पारिवारिक प्रेमको मिठो अनुभुति मनमा सङ्गाल्दै उनीहरूको दिन बित्न थाले । न कहिँ पुग्ने हतारो थियोे न त केही छुट्ला भन्ने चिन्ता ।

एकदिन रोहण र रोहिणी एक अर्कासँग जिस्किँदै भाग्दै खेलिरहेका थिए । रोहिणीले रोहणलाई प्याट्ट हानेर भागी । रिसाएर रोहण बहिनीलाई पछ्याउन थाल्यो । भाग्दाभाग्दै लुक्ने ठाउँ नपाएपछि हजुरआमा हजुरआमा भन्दै पुकार्दै आमाको काखमा लुट्पुटिन पुग्यो । यो दृश्य देखेर राकेश मुसुमुसु हाँस्दै हेरिरहेका थिए । अनायास उसको मानसपटलमा बाल्यकालको झझल्को आउन थाल्यो ।

त्यो काख त्यहीँ थियो, जहाँ स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो । अरूको लाख आमाको काख भनेझैं त्यस काखमा बस्न पाएपछि अरू सारा सुख फिक्का पथ्र्यो । मोबाइलमा समाचार पढ्दै बसेको ऊ पढ्न छोडेर आमालाई नियाल्न थाल्यो । निधारको छेउछाउमा फुल्न थालेको सेतो कपालले आँखामा डिस्टर्व गर्दै थियोे । निधार र गालामा जिन्दगीका अनेक दुःख, सुख र व्यवहारले बनाएका खोंचहरू देखापर्न थालेको थियो । सानो छँदा डिम्पल बुढी भनेर बुबाले जिस्काउनु भएको कुरा उसले बिर्सेको थिएन । तर, अहिले त्यो डिम्पल सुकेर गहिरो डोब बनाउँदै चिउँदोको छेउसम्म लम्बिएको देखियो । बुबाको स्वर्गवासपछि एक्लो मन र एक्लो जीवनलाई बुझ्ने चेष्टा कहिले गर्न नसकेको महसुस भयो । भौतिक शरीर एउटै घरमा भए पनि आफूले आमालाई कहिले आत्मिक आड भरोसा नदिएकोमा खेद भयो ।

ऊ जुरुक्क उठेर गई आमाको काखमा लुत्पुटिएर बसेकी छोरीलाई जिस्काउने बहानामा नजिकै बस्न गयो । “मेरी आमा हो, खोइ म सुत्छु ।” छोरीलाई जिस्काउँदै आमाको काखमा टाउको अड्याउन खोज्यो छोरीले नाइँ–नाइँ भन्दै उसको टाउको हटाउन खोजिन् ।

“मेरो छोरो हो, तिमी उता जाऊ ।” आमाले पनि मौका छोपेर नातिनीलाई जिस्काइन्  ।

नभन्दै रोहण आफूलाई लखेट्दै अगाडि आइसकेको भएर रोहिणी त्यहाँबाट उठेर भागिन् ।

राकेश आमाको काखमा टाउको राखेर बसि नै रहयो । आमालाई वर्षौँपछि आफ्नो मातृत्व सल्बलाएझैँ भयो । आफ्नै छातीको दस धारा दूध चुसाएर हुर्केबढेको छोरो आज वर्षौँपछि काख खोज्दै आउँदा एक्लिएको मनमा राहत महसुस गरिन् । नाति नातिनी त प्रायः साथमै रहन्थे, तापनि आज उनको छातीभित्र मातृत्व उर्लेको थियोे । चालै नपाई उनले राकेशको कपाल सुम्सुम्याइन् । शब्द दुवैको फुटेन तर दुवैको मनमा वार्तालाप चलिरह्यो ।

“छोरा, यतिका वर्षसम्म तिमीकहाँ हराएका थियौ ?”

“म यहीँ थिएँ आमा तर समयको रफ्तारमा दौडिदा दौडिँदै समयले नेटो काटेको थाहै पाइनँ ।”

“थाहा छ, म कति निरस जीवन बाँचिरहेकी छु ? तिम्रो बुबाले छोडेर गएपछिको एकलास जीवन, नितान्त एक्लो ।”

“हो आमा, म पनि एक्लो नै भौतारिरहेको रहेछु । मन र भावना नै नभएका रोबर्टहरू झैँ । चारैतिर कोलाहल, चिच्याहट, मात्र मेसिनहरूको आवाज, रोबर्टहरूको आवाज ।”

“छोरा, तिमी नै हो मेरो मनको आड भरोसा, यो परिवारको मुटु । दिल दिमाग नभएको यन्त्रमानव नबन ।”

“आमा, यो केही दिनमा मेरो मन फर्केको छ । छोराछोरीलाई बुबाले मलाई दिनुभएझैँ माया, प्रेम, स्नेह दिन सिकेको छु । सुमित्रालाई आफ्नोपन, आत्मीयता दिएको छु । आदर, सद्भाव दिएको छु । बहिनीको भावनालाई ह्दयङ्गम गरेको छु । अनि तपाईँको मातृस्नेहले आज फेरि आफूलाई सजिव र पूर्ण बनाएको छु ।“

यी दुई मनहरूको आत्मालाप एक अर्काले सुने नसुने पनि दुवैजना भावविभोर भए । धेरै वर्षपछि आमा छोराको आत्ममिलनले दुवैलाई भावुक बनायो । त्यही भावुकता आँसुको थोपा बनी आमाको आँखाबाट टप्प झर्यो र राकेशको गालामा पर्यो । राकेशले ‘आमा’ बाहेक अरू शब्द निकाल्न सकेन । दुवैजना यसरी नै धेरै बेर बसिरहे । निःशब्द बसिरहे तर आत्मलाप गर्दै बसिरहे ।

लकडाउन थपिएर लम्बिदै जाँदा मानिसहरू अधैर्य भएर बाहिरी दुनियाँको सुख खोज्दै गर्दा राकेश भने मानसिक सुख र शान्ति, पारिवारिक खुसी खोज्दै थियो । आफू र आफ्नाका लागि यस्तो समय पहिला त आएको थिएन र पछि पनि सायदै आउलान् । त्यसैले उसले आफू वचन र अरूलाई बचाउनमात्र नभई यस्तो दुर्लभ समयको सदुपयोग गर्ने विचार गरी आफ्ना वरिपरिका मनहरूसित खुसीसाथ बिताउने निष्कर्षका साथ लकडाउनलाई पूर्णतया पालना गर्दै घरमै बसिरहयो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.