~कृष्ण सेन ‘इच्छुक’~
तिमीभित्र पनि मान्छेको मुटु छ भने
मुटुभित्र जीवनको ढुक्ढुकी छ भने
आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ
आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर
तैपनि मसँग
तिनको आलो रगतको कुन्ड छ
यो तिनकै चिनो हो तिमीले लैजाऊ
मसँग तिनको रातो चेतनाको पुण्ज छ
यो तिनकै नासो हो तिमीले लैजाऊ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर ।
तिमीसँग पनि मान्छेको मन छ भने
मनभित्र आगो र जलन छ भने
आऊ, एकचोटि माथि मेलगैरीमा आऊ
आऊ, एकचोटि तिनकै बलिवेदिमा आऊ
र, मेरो छातीमाथि
बर्बरहरुको वीभत्स नाङो नाच हेर
हेर, न्रिशंस जल्लादहरुको टाउको माथि
निर्लज्ज प्रजातन्त्रको ताज हेर
घर घर निहत्या मान्छेको शिकार खेल्ने
नरभक्षी कायरहरुको जङली राज हेर
म त निस्पन्द र निस्पृह सेतु जैसीको घर
म त मूक र अबुझ सेतु जैसीको घर
तैपनि मसँग
तिनकै आलो रगतले कुँदेको
बलिदानको रक्तिम अभिलेख छ हेर
मसँग तिनकै साहसले खोपेको
नौलो इतिहासको स्वर्णिम पृष्ठ छ हेर
म त निस्पन्द र निस्पृह सेतु जैसीको घर
म त मूक र अबुझ सेतु जैसीको घर।
यहाँबाट टाढा- टाढा
रगतका टाटाहरु नदेखिए पनि
रक्तमुछेल प्बाङ् र हुकामहरु देखिन्छन्
गोलीले क्षेतविक्षेत काँक्री र चुनवाङहरु देखिन्छन्
आउँदा- जादा बाटाभरि तिमीलाई
चर्को आतङ्क र सन्त्रासहरुका बीच पनि
झरीको घामजस्तै कन्चन
स्यार्पु र कमलदहका स्निग्ध मुस्कानहरु देखिन्छन्
समयको प्रतिकूल धारासित जुध्दै
हावामा नयाँ युगको पहरा दिइरहेका
चाँप र गुराँसका सँग्रामी अभिवादनहरु देखिन्छन्।
तिमीसँग पनि मान्छेको सपना छ भने
सपनाभित्र उज्ज्वल भविस्यको सुन्दर प्रस्तावना छ भने
आऊ, एकचोटि यो कहर काटिरहेको पहरमा आऊ
आऊ, एकचोटि यो स्तब्ध-स्तब्ध र आहत पलमा आऊ
र, तिम्रा संचेतनाहरुको मिठो स्पर्शले
तिनका सुन्दर सपनाहरु झकझकाउ
र, यो क्रान्ति- कुण्जको अनन्त अग्निगर्भमा
तिम्रै मुक्तियात्राको अखन्ड धुनी जगाउ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर
तैपनि मसँग छ
सिस्ने र जलजलाका शिखरहरु अङ्कमाल गर्ने रहर
म त सेतु जैसीको ऐतिहासिक घर
आलो रगतले कुँदेको
म त पूज्य शहीदहरुको पवित्र स्मृतिस्थल।
(स्रोत : नेपालीकविता डट कम)