~वम देवान~
सभामा–
एकपल्ट साडी तानिदा दुशासनबाट
द्रौपदी !
कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको
अपमान बगेथ्यो,
बाढीमा उर्लँदो रगतको
डढेथ्यो रगतको आगोमा
विषाक्त विचार कलंकित रगतको ।
झुल्केथे युद्ध–मैदानमा
वीरत्वका सहस्रौं घामहरु,
ताँदोमा आग्नेयास्त्र बनेर गाण्डीव धनुको,
सजिएर गर्वसाथ हातहरुमा, सत्यको न्यायको ।
कुन क्युरियोमा
मुर्ला भएर सडिरहेछ गाण्डीव धनु,
लजाएर सजिन नपुंसक हातहरुमा ?
नत्र टंकारहरु सुनिनु पथ्र्यो,
आज–
सयौं पल्ट साडी तानिदा गल्लीमा झाडीमा,
उठनुपथ्र्यो जुर्मुराउँदै प्रतिज्ञाहरु ।
तर ए आजकी द्रौपदी !
त्यो आशा नराख
उठाउ गाण्डीव आफ्नै हातमा
छेडीदेऊ युद्ध आफ्नै खुट्टामा उभ्भिएर
नत्र शकुनिबाट क्यासिनोमा किनिएर
डिस्को र क्याबिनहरुमा हर रात नांगिदै रहनेछौ
यहाँका सडक र फाँटहरुमा
बलात्कृत भएर हत्या गरिएकै हुनेछौ,
अहो !
कति सजिलैसित बाँड्छन्तिमीलाई,
आफ्खुसी,
कति मनपरिसित अंश लगाउँछन्
के दालभात हो – नारी भाग लगाएर खाने ?
पनेरो सुरक्षित छैन,
घाँस काट्ने पाखो सुरक्षित छैन,
विद्यालय कार्यालय वा कुनै बजार सुरक्षित छैन ।
हेर !
महाबली भीमसेन रातको एक बजिसक्यो
पप्लु खेलिरहेछ,
धनुर्धारी अर्जुन ! भट्टीमा तीन बोतल तानेर,
गल्लीमा उफ्रदै झगडा गरिरहेछ,
धर्मराज युधिष्ठिर
एकहातमा मूर्ति र अर्को हातमा
चरेसको ब्रिफकेस बोकेर
स्मग्लिङको योजनामा डुबिरहेछ
अभिमन्युलाई ब्लू फिल्म हेर्न पठाएर
कृष्ण स्वयं तिमीलाई बलात्कार गर्न
षडयन्त्र गरिरहेछ ।
द्रौपदी !
छाडिदेउ अब अर्काको भरोसा,
आफ्नो लागि आफैले तरवार र धनु उठाऊ,
आफ्नो इज्जतका लागि आफैले प्रतिज्ञाहरु उठाऊ,
आफ्नो जीवनका लागि आफैले आग्नेयास्त्र उठाऊ ।