कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~

एकतमासले बगेर
भारीका भारी सपनाका नदीहरु
भविष्य खोज्दै मिसिन्छन
पुगेर निलो महासागरमा ।

यहिँ सपनाका नदीहरुको विचमा
अग्लो कद बनाएर बसेका
अग्ला चट्टानहरु
नदीबाट सृजित
शितल हावा स्पर्श गर्दै
हरेक दिन उभिरहेका छन्
उपेक्षित नजर लाउदै
उठेका छालहरूलाई ।

गौरव गर्छ
नदीको विचमा
आफु उभिन पाउनुमा
निलो आकाशको छाँयासंगै
आफ्नो प्रतिविम्व
र आफुलाई
नदीले बगाउन नसक्नुमा ।
तर खोज्दैन कुनै कारणहरु
यी सपनाका नदीहरू
एक तमासले बगीरहनुको ।

यी चट्टानहरु
न देख्छ न सुन्छ
नदीहरुमा तैरिदै बग्दै आएका
आमाहरुको दुध र माया
श्रीमतीहरुकोको आँशु र यौवन
बाहरुको रगत र पसिना
छोराछोरीहरुको भविष्य र तोतेबोली
चेलीहरुको आशिर्वाद
भाईहरुको छुटेको साथ
र नदीहरुका आफ्नै लाचार सुस्केराहरु ।

तर
विर्सेको छ चट्टानहरुले
नदीहरुको यो लामो यात्रामा
उ पनि क्रमसः स्खलित हुँदै गईरहेको
विर्सेको छ उसले
आफू माथि उभिएको
अजङ्ग पहाडको खोजमा
आफु अवस्थित भएको
असार साउनको बाक्लो झरीमा
यी विशाल पहराहरु गलेपछी
झर्ने ठाँउ त
यहिँ नदी नै हो
त्यो बेला चट्टानहरुको
अग्लो कदको अस्तित्व कहाँनिर हुन्छ?
नदीहरुको स्वभाव हो
ऊ जसको माथीपनि दौडेर
आफ्नो गन्तव्य पहिलाउँन सक्छ
र उसको चौडा छातीमाथी फेरी
टाढा टाढाबाट बसाई सरेर आएका
हजारौ जलहाँसहरु
सधा झैँ उस्तै गरी
स्वतन्त्ररुपमा पौडिएर रमाउन सक्छन ।

शिलापत्र अनलाईन खबर पत्रिकामा प्रकाशित

१५/१२/२०१९
दिक्तेल खोटाङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.