~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
खेलौनाहरूले भरिभराउ एउटा कोठा थियो । त्यो कोठा केटाकेटीहरूको थियो । दराजमाथि माटाको एउटा खत्रुके थियो । सुँगुरका ढाडमा पैसा खसाल्ने प्वाल थियो । त्यो प्वाल पहिले त सानो थियो तर पछि ठूला सिक्काहरू पनि सजिलै पसुन् भनेर त्यसलाई ठूलो पारिएको थियो । त्यसभित्र थुप्रै सिक्काहरू खसाल्दा टिङ्रिङ्ग बज्न छाडिसकेको थियो । यौटा जाबो खुत्रुके सुँगुरले त्यसभन्दा बढी के चिताउन सक्थ्यो र ! उसले दराजबाट तल हेर्यो । तल खेलौनाहरू छरिएका थिए । उसलाई राम्ररी थाहा थियो अहिले उसका पेटमा रहेका पैसाले तल छरिएर रहेका सबै बस्तु किन्न सकिन्थ्यो । यसउसले ऊ अलि घमन्डी भएको थियो ।
हुन त त्यहाँ रहेका अरुलाई पनि त्यो कुरा थाहा थियो तर तिनीहरू बोल्दैनथे । दराजको बीचको घर्रा आधा खुला थियो र त्यहाँबाट एउटा अधबैसे पुतली घाँटी तान्दै बाहिर हेरिरहेक थिई ।
कोठामा सबै कुरा छरिएका थिए । भित्तेचित्रहरू पनि जथाभावी टाँगिएका थिए । यो कुरा स्वयं भित्तेचित्रहरूलाई थाहा थियो, तर यसबारे तिनीहरू विरोध गर्न चाहँदैनथे ।
अहिले मध्यरातको बेला थियो । जुन झ्यालबाट कोठाभित्र पोखिइरहेको थियो र उज्यालो फिजिएको थियो । अब कार्यक्रम सुरु हुनै लागेको छ । निम्तो सबैलाई पुर्याइसकिएको छ, भनुँ सबै पुतलीलाई र तिनका पनि खेलौनाहरूलाई समेत । माटाको त्यस खुत्रुके सुँगुरले मात्र लिखित निम्तोपत्र पाएको थियो किनभने उ माथि, सबभन्दा माथि बसेको थियो । सके मौखिक निम्तो उसकहाँसम्म पुग्न सक्तैनथ्यो । तर उसले निम्तोपत्र पाइसकेर पनि आफ्नातर्फबाट देखाउनुपर्ने कुनै शिष्टाचार भने देखाएन र आफू उपस्थित पनि भएन । उसका बिचारमा उसको सहभागिता ऊ जहाँ छ त्यहीँबाट हुनुपर्छ भन्ने थियो र उसका तर्फबाट त्यही कुरा लागू गरियो ।
कार्यक्रममा सबभन्दा पहिले प्रहसन, त्यसपछि चियापान र अन्त्यमा मन्तब्य दिने कुरा थियो ।
एक्कै ठाउँमा उभिएर अघिपछि हल्लिरहने घोडाले आफ्नो शुद्व रगतको विषयमा गन्थन सुनायो र गाडीमा सयर गरिरहेकी पुतलीले पनि बाफबाट चल्ने आफ्नो रेलगाडीबारे बकबक गर्न थाली । त्यसरी नै तख्ताघडीले आफ्नै तालमा ढ्याङ्ग्रो ठोक्यो ।
प्रहसन सुरु भएपछि दर्शकहरू पनि आआफ्नो रुचिअनुसार तारिफ गर्दै हेरिरहेका थिए । कसैले बूढा कलाकारहरू राम्रा हुँदैनन् भनेर आफ्नो राय व्यक्त गरे । पटाकाले चाहिँ आफू त सबैलाई मन पराउँछु भन्ने कुरा राख्यो । फिकदानीले भने यो र ऊ भनी भेदभाव राख्न नहुने कुरा अघिसार्यो ।
प्रहसन त्यति उल्लेखनीय थिएन तर कलाकारहरूको प्रस्तुतिचाहिँ प्रशंसनीय रह्यो । अझ कुनैकुनै कलाकारले त डबलीभन्दा बाहिर आएर समेल अफ्नो अभियन प्रस्तुत गरे र त्यसले गर्दा प्रहसन अझ रोमाञ्चाकारी बन्यो । दराजका घर्रामा रहेकी अधबैंसे पुतली प्रहसन हर्दाहेदै भावुक भएर घर्राबाट तल हामफाली । त्यसरी नै दराजमाथिको खुत्रुके सुँगुर रङ्गमञ्चमा आफू पनि सहभागी बन्न आतुर बन्यो, उ परिआए ज्यानै फाल्न पनि तयार भयो ।
सबै प्रसन्न मुद्रामा थिए किनभने कार्यक्रम राम्ररी चलिरहेको थियो । त्यसपछि तिनीहरूले एकमतोले चियापानको कार्यक्रम रद्द गरे । अनि सबैले आ-आफ्ना विषयमा सोच्न थाले । खुत्रुके सुँगुरले पनि आफ्नो सम्पूर्ण ध्यान आफूमै केन्द्रित गर्यो र गम्दागम्दै त्यसले आफ्ना इच्छापत्र र अन्त्येष्टिबारे समेत सोच्न थाल्यो ।
भ्वाङ्ग ! लौ, माटाको खुत्रुके सुँगुर साँच्चै भावुक भएर अकस्मात् तल खस्यो र त्यसभित्र रहेका सानाठूला सबै सिक्काहरू यत्रतत्र पुगे । खुत्रुके सुँगुरका पेटमा सबभन्दा बढी थिचिएर बस्नु परेकाहरूचाहिँ फुक्का हुन पाएकामा सबभन्दा बढी खुसी हुँदै गुड्न र उफ्रन थाले । खुत्रुके सँगुर भने फुटेर टुक्राटुक्रा भयो । पछि ती सबै बटुलेर रद्दीको टोकरीमा फ्याँकिए ।
त्यसपछि पोलेका माटाको अर्को टलकदार खुत्रुके त्यहाँ आइपुग्यो । यसरी नयाँ खुत्रुकेको कथा सुरु भयो , तर हाम्रो कथा भने यहीँ टुङ्गियो।
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)