~ज्ञानेन्द्र खतिवडा~
हामी-
केटाकेटी नै थियौं,र
गएको प्रत्येक साँझ भुलेर नै
दिनभरि खेल्थ्यौं
साँच्चै त्यो डरलाग्दो साँझ
हामी खेलेरै भुल्थ्यौं
हामी केटाकेटी नै’थ्यौं
त्यो विकराल साँझ
सधैँ हाम्रो घरमा
भैँचालोको खुट्टा टेक्दैटेक्दै आउँथ्यो
कि त-
टायरटन नमिलेको बाङ्गो-टिङ्गो/वबलिङ गर्दै
कुद्ने चक्काजस्तै
दैलाबाट भित्रिन्थ्यो
र, सोझै हाम्रो भोजनभन्दा पहिले नै
भान्साघर पस्थ्यो
अनि त्यहाँ बस्ता वा मनेबोराबाट
सास फेरे झैं
एउटा गुन्टामा गएर ठोकिन्थ्यो
लात, घुस्सा अनि भारको दाउरा
यस्तरी बर्सन्थ्यो कि-
मध्यरातमा कुकुर रोएको
आवाजभन्दा किजात फरक नपर्ने
एकोहोरो रोवाइ हुन्थ्यो
तर त्यो रोवाइ हामी केटाकेटीको जस्तै
हाब्रो च्यातेर आउँदैन्थ्यो
त्यो टायरटन नमिलेको भत्किएको गाडी
साँझ टरेपछि
मध्यराततिर आमाको ग्यारेजमा
डेन्टिङ-पेन्टिङ हुन्थ्यो क्यारे
र, फेरि बिहान
हाम्रो बाउ भएर
घरबाट ठिकठाक
सधैँ झैं निस्कन्थ्यो।
हामी केटाकेटी नै थियौं
तर कुनै दिन
हाम्रो दिनभरिको आमा
साँझमा आमा हुन् कि गुन्टा
हामी चिन्नेसक्दैन’थ्यौं
<>
यो उहिलेको दृश्य
मेरा आँखा अघि
तब तब आइरहन्छ
जब जब म साँझमा
घर भित्रिएपछि-
यो भएन/ त्यो भएन / त्यो खै….. भनेर
श्रीमतीलाई कराउन थाल्छु-
अनि त ..
मेरो कुरो भुइँमै खस्न नदिइ
श्रीमती उल्टै आइलाग्छे
त्यसपछि म आफैंं चुप लाग्छु र
बाहिरिन्छु
अनि सम्झन्छु-
कठै मेरी आमााले- किन ‘विरोध’ शब्दसँग
परिचय नगरी नै बसिन्
उनको युगको प्रत्येक साँझ ।