कविता : हारिरहेछ मान्छे

~राज अनुराग~

रम्दै खुल्दै जान्छ कसैको आवाजमा बोल्दैन प्रकृति
शोषण गर्ने सोस्छन् चुस्छन् रत्ति पनि डग्मगाउँदैन प्रकृति ।
सबैलाई खुला विना भेदभाव रम्न दिने प्रकृतिको संस्कृति
मान्छेको खेलले आजित हुँदा अवतार लिन्छ तर हार्दैन प्रकृति ।

घमण्ड गर्छ मान्छे जित्छु भन्छ प्रकृतिलाई तर त्यसको मापक छैन
बिज्ञानको अन्वेषणमा केहि क्षण हाँस्छ अर्को तर्फ आँसुको मापन छैन ।
आफ्नै घमण्डले प्रकृतिसँग लड्न तम्सिन्छ मान्छे रणमैदानमा
अनि सक्दो लड्छ अनि छट्पटाउँदै मर्छ तर देख्दैन आफ्नो प्रवृति ।

आकाश धर्ती खुला हुँदा मान्छे मात्रै बन्द छ निवासमा
अरुलाई थुन्‍ने आफु स्वतन्त्र छु भन्‍ने मान्छे आफै थुनिदैछ ।
उसको बिज्ञान र आविश्कारले संसार परास्त गर्ने घमण्डमा
अरुलाई शिकार गरी आहार गर्ने मान्छे आँफै शिकार हुँदैछ ।
अरुलाई सानो देख्‍दै तुक्ष मान्‍दै रमाउँदा आफ्नै अहंमतामा
आज शुक्ष्म जिवाणु भन्दा सुक्ष्म हुँदै त्यसैसँग हारिरहेछ मान्छे ।

राजकुमार बास्तोला “राज अनुराग”
इनरुवा न पा ५ सुनसरी
हालः काठमाण्डौ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.