~रक्ष राई~
सोंचे थें,
हामी फेरि घमासान युद्द लड्ने छौं
किल्ला किल्लामा ठोक्किने छौं
सीमानाहरुमा सिंगौरी खेल्ने छौं
मेरो हातमा फेरि बलभद्रको खुकुरी जाग्ने छ
हामी फेरि नालापानी युद्द लड्ने छौं ।
सोंचे थें,
डाँडामाथिबाट ढुङ्गो लडाएर फेरि तिमी
अक्करको भीर ओरालो लखेटिने छौ
तारेभीरको भीरमाहुरीको खुदो
र अरिङ्गालको गोलो संगसंगै चाख्न पाउने छौ
म ब्यग्र थिएँ, सीमानामा फेरि
तिम्रो टाउको छिनाल्न
म ब्यग्र थिएँ, नालापानीमा फेरि
तिम्रो रगतको खोलो बगाउन
म ब्यग्र थिएँ, तिम्रो रगतको दाग लागेको मेरो खुकुरी फेरि
टिस्टा नदीमा पखाल्न ।
तर तिमी आएनौ युद्दभूमिमा
तर तिमी आयौ, मेरो पार्ल्यामेण्टको ढोकामा
हातमा फूलको गुच्छा बोकेर
कोटको जेबमा वल्कर पेन सिउरेर
अनि ओंठमा सम्झौता पत्रको मुस्कान च्यापेर
त्यसपछि हठात् त्यहीनेर
मेरो स्वधिनताको छाला काढियो
र हजुरको बुटजुत्ता सिलाइयो
हौ, त्यहाँ देखि यहाँसम्म
हजुरको छायाँ सामु झुकेर
“सलाम हजुर !“ भन्दैछु
हजुरको घोडाको जत्थालाई यस्सो बाटो छोडेर
“जदौ, मालिक !“ भन्दैछु
हजुरको कुकुरसंग पनि झ्युक्किएर
“जय होस् प्रभु !“ भन्दैछु ।
म त बुददु भएर बहादुर भएको मान्छे
धेरै कुरा बुझ्दिन,
दुई सय बर्षपछि बल्ल अलिअलि सोंच्दैछु
खुकुरी, खुँडा र तरवार भन्दा
बन्दुक, तोप र गोलाबारुद भन्दा
सैयौं गुना घातक र खुनी हुँदोरहेछ
फूल, कलम र मुस्कानको हतियार
दुई सय बर्षपछि बल्ल अलिअलि बुझ्दैछु
समय संगसंगै
युद्दको परिभाषा र अश्त्रको रुप पनि बदलिदो रहेछ
र दुश्मनको अनुहार मित्र
र मित्रको अनुहार दुश्मन बन्दोरहेछ ।।
– बुइपा, खोटाङ
हाल : बेलायत, वेल्स