~हाङयुग अज्ञात~
ओ ! माओ जेदोङ
तिम्रा कविताका हरफहरूमा
जब शहीदहरू रून्छन्
र आसुहरू हिउँ बनेर वषिर्न्छन्
तब सोच्नु तिम्रो देशमा
फेरि त्यो रातो तारा उदाउने छैन
फगत ढल्नेछ बाटो ढाकेर पुरानो रूख
र छेक्नेछ मानिसहरूको यात्रा,
रगत उमाल्ने
तिम्रा विचारहरू बोक्दाबोक्दा
बूढो भएको कुनै मजदुरजस्तो
जिर्ण शब्दहरूले बुनिएको रातो इश्वरमा
अब केवल मुट्ठीभर सास मात्र बाँकी छ
तेसैले बाटोमा हिँड्दाहिँडदै
त्यो जतिबेला पनि ढल्न सक्छ
अथवा निर्माणाधीन् कुनै टावरको २२ तलाबाट
त्यो खुट्टा चिप्लेर पनि खस्न सक्छ
अथवा कुनै सिकारू डाक्टरका हातबाट
त्यो वैधानिक रूपमै मारिन पनि सक्छ
तेसैले, ओ ! माओ जेदोङ
जब हिमपातमा अल्झिएर
तिम्रो कुनै भूपू छापामारले
आफ्नै घाँटी रेट्छ
तब सोच्नुतिम्रो देशमा
फेरि रातो तारा उदाउने छैन,
हुनान प्रान्तबाट भागेर आएकाहरूले
यहाँ यो बन्दरगाहमा जहाजहरू रोपे
र फलाए यन्त्रहरू जस्तै देखिने मानिसहरू
ती मानिसहरूको छातीभित्र तिमीले तन्काएको
साँस्कृतिक क्रान्ति र लामो परेडका डोबहरू
जो खत बनेर बसेका छन् लहरै
तिहीँनेर पनि
शहीदहरू रून थालेका छन्
र हाम्फाल्न थालेका छन् अभिभावकहरू
तिम्रा भाषणहरूको उचाइबाट
च्यापेर काखीमा नाबालक छोराछोरी
हाम्फाल्न थालेका छन् आत्महत्याको छलाङ
यी अग्लाअग्ला घरहरू झ्यालबाट
हाम्फाल्न थालेका छन्
तिम्रा तन्नेरी छापामारहरू
पुँजीको समुद्रमा निराशा र अभावको मृत्यु
अँगालेर हृवीलचियरसितै वृद्घ र रोगी बाआमा
अन्तिम-क्रान्तिको एकमुट्ठी सास फर्दै
हाम्फाल्न थालेका छन् मुक्तिको ल्हासा,
हो, माओ जेदोङ !
तिम्रो आरू फुलेको गीतभरि पनि
शहीदहरू खुब रून्छन्
पश्चातापको नीलो आँसु
र बगाउँछन् सिरानीमा दुःखको जियाङ नदी
साँच्चै, हाँसी हाँसी प्राण उर्त्र्सग गर्ने
तिम्रा राता र वीर शहीदहरू रून थालेका छन्
त्यो ताइवान, त्यो तिब्बत
त्यो तियानमेन, त्यो इँट्टाभट्टा
त्यो कोइलाखानी, त्यो सिचुवान
त्यो बन्दुकको नालबाट निस्केको राज्यसत्ता
त्यो तिम्रा फर्मेसन, ब्रिगेड र बटालियन
त्यो तिम्रा कमान्डर, मिलिसिया र जासुसहरू
सप्पैसप्पै एकैचोटि रून थालेका छन्
र हाँस्दैछ खेलौना र दुधको बट्टामा
त्यो धुर्त जर्ज डब्लु बुशको महान् अमेरिका,
हो, साइँला दाइ !
फूलमाया तामाङलाई बर्म्बईबाट धादिङ फर्काउनु छोडेर
जब जन्ती जान्छन्
दिल्लीमा हाम्रा क्रान्तिकारी नेताहरू
तब मेरा कविताका हरफहरूमा पनि
दशौं हजार शहीदहरू रून थालेका छन्
बिहारी मुकुन्डो लगाएको गणतन्त्रको विरूद्घमा
सप्तकोसीको बाढी बन्नलाई
दशौं हजार शहीदहरू रून थालेका छन्
र हाँस्न थालेको छ नागार्जुन डाँडा
र हाँस्न थालेको छ सिंगापुर डिस्को
तेसैले माओ जेदोङको देशभन्दा अलि तल
प्रचण्डको देशमा ओ ! साइँला दाइ
हाम्रो जनगणतन्त्र कहिले आउला –
हाम्रो जनगणतन्त्र कहिले आउला –
(यो कबिता हंगकंगमा आयोजित क.साईलालाईनै(गोपाल किराति, सस्कृति तथा राज्य पुन सम्रचना मन्त्री) सुनाईएको हो।
September 22, 2008
(स्रोत : खोटाङ डट अर्ग)