~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
गाउँमा गर्मीको रमाइलो मौसम थियो । सुनजस्तो पहेँलो मकै, हरियो जौ र चौरमा चाङ मिलाएर राखिएका परालका कुन्युको दृश्य राम्रो देखिन्थ्यो । सेतो सारस राता लामालामा खुट्टाले हिँडदै नबुझिने भाषामा कुरा गर्थ्यो । उसले आफ्नी आमासँग त्यस्तो भाषा सिकेको थियो । मकै बारी र चौरको चारैतिर ठूलो जङ्गल थियो । त्यसको माझमा गहिरो पोखरी थियो । गाउँमा घुम्नु साँच्चै रमाइलो थियो । खोलाका छेऊमा घमाइलो ठाउँमा किसानको रमाइलो पुरानो घर थियो । घरदेखि खोलासम्म ठूलाठूला पात भएको काउसोको झयाङ उम्रेको थियो । झयाङ यति अग्लो थियो कि त्यसभित्र केटाकेटीहरू उभिए पनि देखिँदैनथे । त्यसभित्र बस्दा जंगलको माझमा बसेजस्तो लाग्थ्यो । यस्तो आरामदायी ठाउँमा एउटी पोथी हाँसले गुँड बनाएर बसेकी थिई । त्यो हाँस आफ्ना फुलबाट चल्ला कहिले निस्कला भनेर पर्खिरहेकी थिई । चल्ला निस्कन ढिला भइसकेको थियो र ऊसँग गफसफ गरेर समय काट्न अरू हाँस आउन छाडेका थिए । यसैले पर्खँदापर्खँदा ऊ दिक्क भइसकेकी थिई । अरू हाँसहरू झयाङभित्र बसिरहनु वा चिप्लो बगरमा हिँडनुभन्दा पानीमा पौडन रुचाउँथे ।
आखिरमा एउटापछि अर्को फुल चर्कन र फुट्न थाले । सबै फुलबाट एकएक वटा ज्युँदा प्राणी निस्के । तिनीहरूले टाउको उचालेर चीँचीँ गरे । आमाले क्वाक क्वाक गरी । त्यसपछि तिनीहरूले पनि आमाले जस्तै सकेसम्म राम्ररी क्वाक् क्वाक् गरे । तिनीहरूले आफ्नो चारैतिर र वरिपरिका पातहरूलाई हेरे । हरियालीले आँखालाई राम्रो गर्ने हुनाले आमाले पनि तिनीहरूले हेर्न खोजेजति हेर्न दिई । फुलभित्रको उकुसमुकुस र बाहिरको खुला संसारलाई दाँज्दै हाँसका ती टिउराहरूले भने, “संसार कति विशाल रहेछ !”
“के तिमीहरूलाई यो नै सारा संसार हो जस्तो लागेको छ ?” आमाले सोधी, “बगैँचा नदेखेसम्म पर्ख । बगैँचा यहाँभन्दा धेरैपर पादरीको खेतसम्म फैलिएको छ । तर मैले यति टाढासम्म हिँडने हिम्मत गरेकी छैन । के तिमीहरू सबै फुलबाट बाहिर निस्क्यौ ?” आमाले भन्दै थिई । “होइन, सबैभन्दा ठूलो फुल त बाकी नै छ । यसबाट कहिलेसम्म टिउरो निस्कने होला ! म त थाकिसकेँ ।” त्यसपछि ऊ फेरि गुँडमा कोरल्न बसी ।
त्यसै बेला एउटा पोथी हाँस उसलाई भेट्न आई । उसले सोधी, “तिमीलाई कस्तो छ ? फुलबाट टिउराहरू राम्रैसँग निस्के ?”
“एउटा फुल अझै कोरल्न बाकी छ ।” उसले भनी, “यो त फुट्दै फुट्दैन । तर अरू टिउरालाई हेर त । तिमीले अहिलेसम्म देखेका टिउराहरूमध्ये यिनीहरू सबैभन्दा राम्रा छैनन् त ? तिनीहरू दुरुस्तै तिनका बाबु जस्ता छन् । तर ऊ कति निर्दयी छ भने अहिलेसम्म एक पल्ट पनि भेट्न आएको छैन ।”
“नफुटेको चाहिँ फुल हेरुँ त ।” अर्की पोथी हाँसले भनी, “त्यो फुल पक्कै पनि टर्की कुखुराको फुल हुनुपर्छ । यसमा मलाई कत्ति पनि शंका छैन । मैले पनि झुक्किएर यस्तै फुल कोरलेकी थिएँ । त्यसबाट निस्केका टिउराहरूलाई जति सिकाए पनि पानीसँग डराए । म कत्ति कराएँ, तर काम लागेन । तिनीहरू पानीमा जानै मानेनन् । खै, फुटन बाकी फुल हेरुँ त । हो, यो टर्कीकै फुल हो । मैले भनेको मान । यो फुललाई त्यत्तिकै छाडिदेऊ र अरू टिउरालाई पौडी खेल्न सिकाऊ ।”
“मलाई अरू केही दिन त्यो फुल कोरल्न देऊ,” आमा हाँसले भनी, “यति धेरै दिनसम्म कोरलिसकेँ । अब केही दिन त हो नि ।”
“तिम्रो खुशी” भन्दै त्यो हाँस बिदा भई ।
आखिरमा त्यो ठूलो फुल पनि फुट्यो । त्यसभित्रबाट हाँसको टिउरो चीँचीँ गर्दै बाहिर निस्क्यो । त्यो टिउरो अरूभन्दा धेरै ठूलो र नराम्रो पनि थियो । हाँसले उसलाई अचम्म मान्दै हेरी र कराई, “कति ठूलो हो यो टिउरो ! यो त अरूजस्तो पनि छैन ! यो टर्की पो हो कि ! पानीमा गएपछि त थाहा भइहाल्छ । पानीमा लैजान धकेल्नु पर्ने पो हुन्छ कि !”
भोलिपल्ट मौसम रमाइलो थियो । हरियो झ्याङमाथि न्यानो घाम लागेको थियो । यसैले आमा हाँसले साना टिउराको बथानलाई पानीमा लगी र छ्याप्ल्याङ गरी पानीमा हामफाली । “क्वाक् क्वाक् !” ऊ कराई । टिउराहरू पनि एकपछि अर्को गर्दै पानीमा फालहाले । तिनीहरूको टाउको पानीमा डुब्यो । तर उनीहरू सजिलैसँग पानीमाथि तैरिए । तिनीहरूले सजिलैसित खुट्टाले पानीलाई धकेलेर पौडिन थाले । कुरूप टिउरो पनि अरूसँगै पानीमा पौडिन थाल्यो ।
“अँ, यो त टर्की होइन रहेछ !” आमाले भनी, “उसले कति राम्रोसँग खुट्टा चलाएको छ ! ज्यू पनि सिधा राखेको छ । यो त मेरो आफ्नै चल्ला हो । जे होस्, ठिकसँग हेर्दा ऊ त्यति नराम्रो पनि छैन । क्वाक क्वाक ! मेरो पछिपछि आऊ । म तिमीहरूलाई रमाइलो संसार देखाउँछु । खेत बारीमा लैजान्छु । तिमीहरू मसँगसँगै हिँडनुपर्छ । टाढा जानु हुँदैन । नत्र कसैले तिमीहरूलाई कुल्चनसक्छ । सबैभन्दा मुख्य कुरा, तिमीहरू बिरालोदेखि होशियार हुनपर्छ ।”
उनीहरू बारीमा पुग्दा हल्लाखल्ला भइरहेको थियो । बाम माछाको टाउकोको कुरामा दुइटा परिवारबीच झगडा भइरहेको थियो । आखिरमा त्यो टाउको बिरालोले लग्यो । “हेर नानी हो, संसारको नियम यस्तै छ,” आमा हाँसले आफ्नो चुच्चो तिखार्दै भनी, किन भने उसले पाएकी भए त्यो टाउको आफैले खाने थिई ।
“हेर, अब आफ्ना खुट्टाको काम देखाऊ । तिमीहरूको बानी कस्तो रहेछ भनी थाहा पाउने बेला यही हो । ऊ त्यो अगाडिको बूढो हाँसलाई तिमीहरूले बडो नम्र भएर ढोग्नुपर्छ । यहाँ भएकाहरूमध्ये ऊ सबैभन्दा माथिल्लो खानदानको हो । उसको ज्यूमा स्पेनी कुलको रगत छ । त्यसैले उसलाई आदर गर्नुपर्छ । उसको खुट्टामा रातो कपडा बाँधिएको तिमीहरूले देखेनौ ? हाँसको लागि यो निक्कै ठूलो र विशेष सम्मानको चिन्ह हो । यसले गर्दा मानिस र पशुपंछी सबैले उसलाई चिन्छन्, अनि ऊ हराउने डर हुँदैन । हिँड अब । आफ्ना खुट्टा नखुम्च्याऊ । राम्रो कुलमा जन्मेको हाँसले आफ्नो बाआमाले जस्तै खुट्टा सकेसम्म फैलाउँछ । यसरी । अब घाँटी घुमाऊ र भन ‘क्वाक्’ ।”
हाँसका टिउराहरूले आमाले सिकाएजस्तै गरे । तर अरू हाँसले उनीहरूतिर हेर्दै भने, “हेर, हामी छँदाछँदै, अझै नपुगेझैँ, अर्को बथान हाँस पनि आइपुग्यो ! तिनीहरूमध्ये एउटा टिउरो कस्तो अनौठो खालको छ हेर त । उसलाई यहाँ आउन नदेऊ ।” यति भन्दै एउटा हाँस आएर उसको घाँटीमा थुँग्यो ।
“उसलाई नछोऊ । उसले केही बिराएको छैन,” आमा हाँस चिच्याई ।
“हो, तर ऊ कति ठूलो र कुरूप छ !” इर्ष्यालु हाँसले भन्यो, “यसैले उसलाई लखेट्नुुपर्छ ।”
“बाँकी टिउरा त निक्कै राम्रा छन् ।” खुट्टामा कपडा बाँधेको हाँसले भन्यो, “त्यही एउटा नराम्रो छ । मेरो विचारमा त्यसकी आमाले त्यसलाई सपार्नसक्छे ।”
“त्यो संभव छैन हजुर,” आमाले जवाफ दिई, “ऊ सुन्दर नभएर के भयो र, उसको आनीबानी निक्कै राम्रो छ । ऊ अरूभन्दा राम्रोसँग पौडनसक्छ । मेरो विचारमा ऊ हुर्केपछि राम्रो हुनेछ र त्यति ठूलो पनि हुनेछैन । फुलबाट निस्कन उसलाई धेरै समय लाग्यो । यसैले उसको ज्यू ठिकसँग बनेन ।” यति भनेर उसले उसको घाँटी मसारी र प्वाँखहरूलाई सम्म पारेर मिलाइदिई । उसले थपी, “यो भाले हाँस हो । यसैले पीर मान्नु पर्ने कुरा केही छैन । ऊ ठूलो भएपछि बलियो हुनेछ र आफ्नो स्याहार आफै गर्नसक्नेछ ।”
“अरू टिउरा त राम्रा छन् ।” बूढो हाँसले भन्यो, “लौ अब ढुक्क होऊ । अनि बाम माछाको टाउको भेटायौ भने मकहाँ ल्याउन नबिर्सनु नि ।”
यसरी त्यो हाँसको बथान निर्धक्क भएर बस्न थाल्यो । तर फुलबाट सबैभन्दा पछि निस्केको, हेर्दा कुरूप देखिने त्यो बिचरो टिउरोलाई हाँसहरूले मात्रै होइन कुखुरा र अरू चराले पनि ठुङेर, घचेटेर अनि जिस्क्याएर हैरान पार्न थाले । “ऊ धेरै ठूलो छ,” सबैको भनाइ यही थियो । टर्की कुखुराको एउटा भाले थियो । ऊ जन्मँदा नै खुट्टामा धारिलो ऐँडी लिएर जन्मेको थियो । उसले आफूलाई त्यहाँको राजै ठान्थ्यो । जहाजले धुवाँ ओकलेजस्तै गरी फुसफुस गर्दै रिसले रातोपिरो भएर ऊ टिउरोमाथि जाइलाग्थ्यो । बिचरा टिउरोलाई कता भाग्ने भन्ने पनि थाहा थिएन । गोठको चारैतिरका सबै पशुपन्छी उसलाई देखेर हाँस्थे, खिसी गर्थे । बिचरो टिउरो साह्रै दुःखी हुन्थ्यो । दिनदिनै उसको दुःख बढदै गयो । सबैले उसलाई लखेट्न थाले । उसका आफ्नै दाजुभाइ र दिदी बहिनीहरू पनि ऊप्रति निर्दयी थिए । उनीहरू भन्थे, “छि ! कस्तो नराम्रो जन्तु ! यसलाई बिरालोले लगे पनि हुन्थ्यो ।” कहिलेकाहीँ उसकी आमाले समेत ऊ जन्मँदै नजन्मेको भए बरु बेस हुन्थ्यो भन्थी । हाँसहरूले उसलाई ठुङ्थे भने कुखुराहरूले पखेटाले हिर्काउँथे । हाँस र कुखुरालाई चारो ख्वाउने केटीले लात्तीले हानेर उसलाई पर धपाउँथी । अचाक्ली भएपछि आखिरमा ऊ त्यहाँबाट भाग्यो । ऊ काँढे बार नाधेर झ्याङमा पुग्दा त्यहाँ बसेका सानासाना चराहरू तर्से ।
“म कुरूप भएकोले चराहरू डराएको होला,” उसले मनमनै भन्यो । उसले आँखा बन्द गर्यो र अझै टाढा जङ्गलजस्तो चौरमा नपुगेसम्म उड्यो । चौरमा झाडी र बुट्यानहरू थिए । ठाउँठाउँमा पानी जमेको थियो । त्यहाँ जंगली हाँसहरू बस्थे । थाकेर अनि दुःखी भएर उसले त्यहीँ रात काट्यो ।
बिहान उड्ने बेलामा जंगली हाँसहरूले नयाँ हाँसलाई देखे । तिनीहरूले उसलाई घेरेर सोधे, “तिमी कस्तो खानदानको हाँस हौ ?”
उसले टाउको निहुराएर तिनीहरूलाई आदर सम्मान गर्यो र सकेसम्म विनम्र भयो । तर एक शब्द पनि बोलेन । जङ्गली हाँसहरूले भने, “तिमी त साह्रै कुरूप रहेछौ । तर तिमीले हाम्री छोरीबेटीहरूमाथि आँखा नगाडेसम्म केही डर छैन ।”
बिचरो टिउरोको बिहे गर्ने बिचारै थिएन ! उसले त केवल घाँसमा आरामसँग बस्न र चौरको पानी खान खोजेको थियो । दई दिन चौरमा बिताएपछि दुइटा भर्खरका जंगली हाँसहरू त्यहाँ आइपुगे । तिनीहरू फुलबाट निस्केको धेरै भएको थिएन । यसैले अलि उत्ताउला देखिन्थे । तीमध्ये एउटा टिउरोले भन्यो, “सुन त भाइ, तिमी साह्रै कुरूप रहेछौ । यसैले तिमी हामीलाई निक्कै मन पर्यौ । तिमी हाम्रो अगुवा भएर हामीसँगै जान्छौ ? अर्को चौर यहाँबाट धेरै टाढा छैन । त्यहाँ राम्रीराम्री हाँसहरू छन् । तिनीहरू कसैको पनि बिहे भएको छैन । तिमीले तिनीहरूमध्ये कुनैसँग बिहे गर्नसक्छौ । तिमी यस्तो कुरूप भएको हुनाले त्यहाँ तिम्रो बिहे हुनसक्छ । तिम्रो निम्ति यो राम्रो मौका हो ।”
त्यही बेला “ड्वाङ, ड्वाङ” बन्दुक पडकेको आवाज आयो । ती दुइटा हाँस त्यहीँ घाँसमाथि ढले । पानीमा रगतको छिटा परेर रातो भयो । “ड्वाङ, ड्वाङ” वरपर पनि बन्दुक पडकेको सुनियो । घाँसमाथि बसेको हाँसको पूरै बथान उडेर गयो । चारै दिशाबाट गोली चलेको आवाज आयो । हाँसको शिकार गर्ने त्यो राम्रो ठाउँ रहेछ । चौरलाई चारैतिरबाट शिकारीहरूले घेरेका थिए । केही शिकारीहरू रुखको हाँगामा बसेर गोली चलाउँदै थिए । बन्दुकबाट निस्केको कालो घुवाँ बादलझैँ उडेर हरिया रुखहरूमाथि पुग्यो र पानीमाथि फैलियो । धुवाँको पछिपछि शिकारी कुकुरहरू दगुरे । ती कुकुरहरूलाई देखेर बिचरो टिउरो डरले आत्तियो । उसले पखेटा मुन्तिर टाउको लुकाएर तिनीहरूबाट जोगिन खोज्यो । त्यही बेला एउटा डरलाग्दो कुकुर उसको नजिकैबाट आयो । उसले मुख खोलेको थियो । मुखबाट रातो लामो ज्रि्रो झुण्डिएको थियो । उसका आँखा डरलाग्दोसँग चम्किरहेका थिए । उसले तीखा दाँत देखाउँदै टिउरो भएतिर सुँध्यो । त्यसपछि टिउरोलाई नछोइकन ऊ दगुर्दै पानीमा गयो । शिकारी कुकुरबाट जोगिएकोमा टिउरोले लामो सास फेर्यो, “म कुरूप भएकोले नै कुकुरबाट जोगिएँ । यसै कारण कुकुरले पनि मलाई टोकेन । म नराम्रो भएको पनि बेसै भयो ।” चौरमा बन्दुक पड्किरह्यो, गोली चलेको आवाज सुनिँदै थियो । टिउरो हलचल नगरी बसिरह्यो ।
साँझ पर्न लागेपछि सबै शान्त भयो । तैपनि बिचरो टिउरो यताउति चल्न डरायो । उसले चुपचाप कैयौँ घण्टा बितायो । अनि आफ्नो वरिपरि चनाखो भएर हेर्यो र जतिसकेको छिटो चौरबाट बाहिर गयो । ऊ खेत बारी र चरन पार गर्दै थियो अचानक हुरी चल्न थाल्यो । उसलाई अगाडि बढ्न गाह्रो भयो । साँझपख ऊ एउटा थोत्रो छाप्रोमा पुग्यो । त्यो छाप्रो यति थोत्रो थियो कि कतातिर पहिले ढल्ने भनेर निधो नभएर नै त्यो अहिलेसम्म नभत्केजस्तो देखिन्थ्यो । हुरी जोडले चलेकोले ऊ छाप्रो भन्दा पर जानै सकेन । ऊ त्यसैको छेऊमा बस्यो । छाप्रोको ढोकाको एउटा कब्जा फुस्केर ढोका राम्ररी नलागेको उसले देख्यो । ढोकामुन्तिर टिउरो छिर्नसक्ने ठाउँ थियो । ऊ भित्र पस्यो र त्यहीँ रात काट्यो ।
त्यो छाप्रोमा एउटी महिला, टम बिरालो र एउटी कुखुरी बस्थे । घरपेटीले टमलाई साह्रै माया गर्थी । उसलाई “मेरो सानो छोरा” भनेर बोलाउँथी । टमले जिऊ फुलाउन, आङ बटार्न र घुर्नसक्थ्यो । उसलाई उल्टोतिरबाट मसार्यो भने उसले भुत्लाबाट झिल्का निकाल्नसक्थ्यो । कुखुरीका खुट्टा छोटा थिए । यसैले मायाले उसलाई “पुड्की कुखुरी” भनेर बोलाइन्थ्यो । उसले सेता ठूलाठूला फुल पार्थी । उसकी मालिक्नीले उसलाई आफ्नै छोरीलाई जस्तै माया गर्थी ।
विहान उनीहरूले छाप्रोभित्र अनौठो पाहुनालाई देखे । उसलाई देखेर टम बिरालो घुर्नथाल्यो । कुखुरी पनि काँकाँ गरेर कराउन थाली ।
“यो के हल्ला हो ?” कोठाको वरिपरि हेर्दै बूढी घरपेटी कराई । उसका आँखा कमजोर भएको हुनाले उसले टिउरोको सट्टा मोटो हाँस देखी । उसलाई त्यो हाँस कसैको घरबाट भागेर आएको जस्तो लाग्यो । “कति राम्रो उपहार !” ऊ खुशीले चिच्याई, “यो पक्कै पनि भाले हाँस होइन होला । अब मैले हाँसको फुल पाउने भएँ । केही दिन पर्खेर हेरौँ ।” यसरी टिउरोले तीन साताको परीक्षण कालभरि त्यो छाप्रोमा बस्न पायो । तर उसले फुल कसरी पार्नसक्थ्यो र !
टमले घरको मालिकजस्तो र कुखुरीले मालिक्नी जस्तो व्यवहार गर्थे । तिनीहरू घमण्डी थिए र कुनै पनि कुरा गर्दा म भन्नुको सट्टा “हामी र संसार” भन्थे । उनीहरूले आफूलाई आधा संसार ठान्थे । उनीहरूले भनेको कुराभन्दा अरूको बिचार बेग्लै हुनसक्छ भन्ने टिउरोलाई लाग्थ्यो । तर कुखुरीले यस्तो तर्क सुन्न चाहन्नथी । “तिमीले फुल पार्न सक्छौ ?” ऊ सोध्थी । टिउरोले सक्तिन भनेपछि ऊ भन्थी, “त्यसो भए चुप लाग ।” त्यस्तै गरी बिरालोले सोध्थ्यो, “तिमीले आङ बर्टार्न, घुर्न र भुत्लाबाट झिल्का निकाल्न सक्छौ ?” “अहँ, सक्तिन ।” “त्यसो भए बुद्धिमानहरू कुरा गरिरहेको बेलामा तिमीलाई बोल्ने अधिकार छैन ।” बिरालोले भन्थ्यो । यसैले त्यो टिउरोले बडो दुखी भएर एउटा कुनामा बसेर रात काटयो ।
बिहान घाम लागेर ताजा हावा कोठामा पसेपछि टिउरोलाई पानीमा पौडन मन लाग्यो । उसले मन थाम्न सकेन र कुखुरीलाई मनको कुरा भन्यो ।
“कस्तो वाहियात कुरा गरेको !” कुखुरीले भनी, “तिम्रो केही काम छैन यसैले यस्तो नचाहिने कुरा गर्छौ । तिमीले घुर्न वा फुल पार्न जानेको भए तिम्रो मनमा यस्तो विचार आउँदैनथ्यो ।”
“तर पानीमा पौडी खेल्दा कस्तो मज्जा आउँछ !” टिउरोले भन्यो, “पानीभित्र पसेर पूरै ज्यू डुबाउँदा कस्तो आनन्द आउँछ । ज्यू फुर्तिलो हुन्छ ।”
“बहुलाहालाई मात्रै यस्तो कुरामा मज्जा आउँछ !” कुखुरीले भनी, “नपत्याए बिरालोसँग सोध । मलाई थाहा छ ऊ सबैभन्दा बुद्धिमान छ । उसलाई पानीमा पौडन मन लाग्छ कि लाग्दैन सोध त । मेरो कुरा सुन्नु परेन, तर घरपेटी मालिक्नीको विचार सुन त । हाम्री मालिक्नी जत्तिको चलाख महिला यो संसारमै छैन । उनलाई पौडी खेल्न मन लाग्छ होला ? अथवा टाउकोसम्म पानीमा बुड्नु उनलाई रमाइलो लाग्ला ?”
“तिमी मेरो कुरा बुझदिनौ,” टिउरोले भन्यो ।
“हामीले तिम्रो कुरा बुझदैनौँ रे ? कसले तिम्रो कुरा बुझ्छ त ? अचम्म ! तिमीले आफूलाई बिरालो र बूढी महिलाभन्दा चलाक ठान्छौ कि क्या हो ? मेरो त कुरै छाडुँ । यस्तो बहुलट्ठी कुरा नगर । तिमीले यहाँ बस्न पायौ । यसको लागि आफूलाई भाग्यमानी सम्झ । के तिमी न्यानोसँग बस्न पाएका छैनौ ? के तिमी केही सिक्नसक्ने समाजमा बस्न पाएका छैनौ ? तर तिमी त साह्रै कुरौटे पो छौ, सँगत गर्न लायकका रहेनछौ । मैले तिमीलाई योभन्दा पनि तीतो कुरा भन्नसक्थेँ, तर मित्रताको नाताले भन्दिन । बरु मेरो सल्लाह मान्छौ भने जतिसकेको चाँडो फुल पार्न र घुर्न सिक ।”
” मलाई अब फेरि संसारमा पस्नुपर्छ जस्तो लाग्न थालेको छ, ” टिउरोले भन्यो ।
“हो, त्यस्तै गर ।” कुखरीले भनी ।
अनि टिउरो छाप्रोबाट निस्क्यो । उसले पौडी खेल्ने र पानीमा डुबुल्की मार्ने ठाउँ भेटायो । तर ऊ साह्रै कुरूप देखिएको हुँदा अरू पशुपन्छीहरू उसको नजिक पनि आएनन् ।
शरद ऋतु आयो । रुखका हरिया पातहरू सुन्तला र सुनौला रङ्गमा फेरिए । त्यसपछि शिशिर ऋतु आयो । चिसो बतासले रुखका सुकेका पातहरूलाई हावामा नचाउँदै भुइँमा झार्यो । असिना र हिउँको भुवाले गह्रुँगो भएका बादलहरू तलतल उड्न थाले । काला कौवाहरू उन्युँमाथि बसेर “का ! का !” गरेर कराउन थाले । यस्तो दृश्यले जसलाई पनि कँपाउनसक्थ्यो । सानो टिउराका लागि सबै कुरा उराठलाग्दा थिए ।
एक दिन साँझपख राता बादलहरूको बीचमा घाम अस्ताउन लागेको बेलामा सुन्दर चराहरूको एउटा बथान झ्याङबाट बाहिर निस्क्यो । यस्ता राम्रा चराहरू टिउरोले पहिले देखेको थिएन । तिनीहरू रजहाँस थिए । तिनीहरूले आफ्ना लामा घाँटी शोभायमान ढङ्गले घुमाउँथे । तिनको प्वाँख धेरै सेतो भएर टल्कन्थ्यो । तिनीहरूले अनौठो आवाज निकाल्दै आफ्ना सुन्दर पखेटा फिँजारे अनि जाडो छल्न समुद्रपारि न्यानो देशतिर उडे । तिनीहरू माथिमाथि हावामा उडेको सानो टिउरोले हेरिरह्यो । तिनीहरूलाई देख्दा उसको मनमा अनौठो बिचार आयो । कुमालको चक्काझैँ ऊ एक्लै पानीमा फनफनी घुम्यो । रजहाँसहरू उडेको दिशातिर घाँटी तन्कायो र ठूलो स्वरले करायो । आफ्नो स्वर सुनेर ऊ आफै तर्स्यो । के उसले ती सुन्दर र प्रशन्न चराहरूलाई कहिल्यै बिर्सन सक्ला ? अन्त्यमा तिनीहरू देखिन छाडेपछि उसले पानी भित्र डुबुल्की मार्यो र बुडेकै ठाउँबाट बाहिर निस्क्यो । ऊ खुशीले बौलाहाजस्तै भयो ।
उसलाई ती चराहरूको नाम थाहा थिएन । न त तिनीहरू कता गए भन्ने नै थाहा थियो । तैपनि, उसको मनमा ती चराहरू प्रति माया जाग्यो । यस्तो माया संसारका अरू चराहरूमाथि लागेको थिएन । उसले ती चराहरूलाई इख गरेको त होइन तर आफू पनि तिनीहरू जस्तै राम्रो हुन पाए हुन्थ्यो भन्ने उसलाई लाग्यो । बिचरा त्यो कुरूप टिउरो ! उसलाई कसैले माया र प्रोत्सहान दिएको भए ऊ सामान्य हाँसहरूसँग पनि खुशी भएर बस्ने थियो ।
जाडोको मौसम थियो । चिसो झनझन बढ्दै गयो । बरफझैँ जम्न नपरोस् भनेर टिउरो दिनभरि पानीमा पौडिरहन्थ्यो । तर हरेक रात ऊ पौडने पानीको आकार साँगुरिँदै थियो । आखिरमा ऊ पानीमा पौडन खोज्दा हिउँको ढिक्कासँग उसका खुट्टा ठोक्किन थाले । बाकी पानीलाई जम्न नदिन उसले निक्कै खुट्टा चलायो । आखिरमा ऊ थाक्यो र हलचल नगरी बस्यो । अनि ऊ पनि पानीमा जम्यो ।
भोलि पल्ट विहान त्यही बाटो हिँडिरहेको एक जना किसानले उसलाई देख्यो । उसले काठका जुत्ताले हिउँ फुटाल्यो र टिउरोलाई घरमा लगेर आफ्नी पत्नीलाई दियो । भान्सा कोठाभित्रको न्यानोले टिउरो बिउँतियो । तर केटाकेटीले ऊसँग खेल्न खोज्दा उसलाई तिनीहरूले पिट्न आएजस्तो लाग्यो । यसैले ऊ तर्सर भाग्न खोज्यो । बेसुरले भाग्दा ऊ दूधको कुँडेमाथि पर्यो । कोठाभरि दूध पोखियो । यो देखेर किसानकी पत्नीले हत्केला बजाई । त्यो सुनेर टिउरो झन तर्स्यो । त्यहाँबाट उडेर ऊ मोही पार्ने ठेकीमा पुग्यो । त्यसपछि खानेकुरा राख्ने बाटामा पर्यो । त्यहाँबाट निस्केपछि फेरि अर्को भाँडोमा पुग्यो । ऊ विचित्रको स्थितिमा फँस्यो । किसानकी पत्नीले चिच्याउँदै चिम्टाले झटारो हानी । केटोकेटीहरू हाँसे र चिच्याए । टिउरोलाई समात्न खोज्दा उनीहरू एकअर्कासँग ठोक्किए र एकअर्कामाथि लडे । संयोगले ढोका खुल्लै रहेछ र ऊ भाग्यो । बाहिर निस्केर बिचरो टिउरो झयाङभित्र लुक्यो र भर्खर परेको हिउँमाथि लखतरान भएर बस्यो ।
कठ्याँग्रिने जाडो यामभरि टिउरोले भोग्नुपरेको दुःख र उसले खाएको हण्डरको बारेमा सबै कुरा सुनाएँ भने साह्रै दिक्क लाग्नसक्छ । तर जाडो याम सकिँदा ऊ एउटा हरियो चौरमा थियो । घाम न्यानो थियो । चखेवा चराहरू गाइरहेका थिए । उसले वरिपरि वसन्त ऋतु आइसकेको देख्यो । पखेटा फटफटाएर हावामा उड्दा उसले आफ्ना पखेटाहरू बलिया भएको चाल पायो । कसरी यस्तो भयो भनेर थाहा पाउँदानपाउँदै ऊ उडेर एउटा ठूलो बगैँचामा पुग्यो । बगैँचामा मिठा फलफूलका बोटहरू थिए । मगमग बसाउने फलको बोझले लच्केका हरिया हाँगाहरूले खोलाको पानीलाई छुन्थे । खोला सम्म परेको चौरको वरिपरि घुमेको थियो । वसन्त ऋतुको आगमनसँगै सबै कुरा सुन्दर देखिन्थे । नजिकैको घारीबाट तीन वटा सुन्दर सेता रजहाँसहरू पखेटा फटफटाउँदै, निश्चल पानीमा हलुकासँग पौडँदै निस्के । तिनीहरूलाई देखेर टिउरोले पहिले देखेका सुन्दर चराहरूलाई सम्झयो । पहिले भन्दा अहिले उसको मन अनौठो किसिमले उदास भयो ।
“ती सुन्दर चराहरू भएको ठाउँमा जान्छु म,” ऊ उत्तेजित भएर करायो, “म नराम्रो छु । तिनीहरूले मलाई मार्नसक्छन् । मारे मारुन् । तर म तिनीहरूकहाँ जान्छु । हाँसबाट ठुङिनु, कुखुराबाट पिटाइ खानु, चारा ख्वाउने केटीको लात्ती खानु वा जाडोमा भोकाएर मर्नुभन्दा ती रजहाँसबाट मारिनु बेस ।”
त्यसपछि टिउरो खोलातिर उड्यो र ती सुन्दर रजहाँसहरूतिर गयो । नयाँ हाँसलाई देख्ने बित्तिकै तिनीहरू पखेटा फिँजारेर उसलाई भेट्न आए ।
“मलाई मार,” भन्दै टिउरोले आफ्नो टाउको निहुराएर पानीसम्म पुर्यायो र मृत्यु पर्खेर बस्यो ।
तर निर्मल पानीमुनि उसले अनौठो कुरा देख्यो । उसले आफ्नै छाया देख्यो । कालो, खैरो नराम्रो र हेर्नै मननलाग्ने चराको ठाउँमा उसले सुकुमार सुन्दर रजहाँस देख्यो । यदि रजहाँसकै फुलबाट जन्मेको रहेछ भने किसानको गोठमा हाँसको गुँडमा जन्मे पनि केही फरक पर्ने रहेनछ । यतिका दुःख कष्ट झेलेकोमा उसलाई अहिले खुशी लाग्यो, किनकि त्यो दुःखले उसलाई यो खुशी दिलायो । ती ठूला रजहाँसहरू उसको वरिपरि आए र स्वागतको संकेत स्वरूप उसको घाँटीमा आआफ्ना चुच्चाले मसारे ।
त्यही बेला बगैँचामा केही केटाकेटीहरू आए र पानीमा रोटी र केक फ्याँके ।
“हेर त, अर्को नयाँ रजहाँस आएको रहेछ ।” एउटा केटोले भन्यो । अरू सबै दंग परे । उनीहरू “अर्को रजहाँस आयो, नयाँ रजहाँस आयो” भन्दै खुशीले गाउँदै, नाच्दै, ताली बजाउँदै आफ्ना आमाबालाई सुनाउन घरतिर गए ।
त्यसपछि उनीहरूले अरू धेरै रोटी र केक पानीमा फाले र भने, “नयाँ रजहाँस सबैभन्दा राम्रो छ । ऊ कति सानो र हिस्सी परेको छ ।” अनि पाका रजहाँसहरूले उसको अगाडि टाउको निहुराए ।
यो देखेर उसलाई संकोच लाग्यो र लाजले उसले पखेटाभित्र टाउको घुसार्यो, किनकि यस्तो बेलामा के गर्नुपर्छ भन्ने उसलाई थाहा थिएन । ऊ निक्कै खुशी थियो तर उसमा कत्ति पनि घमण्ड थिएन । कुरूप भएकोमा उसले अरूबाट घृणा र दुःख पाएको थियो, तर अहिले उनीहरूले नै आफूलाई सबैभन्दा सुन्दर चरा भनेको सुन्दैथियो । उसको अगाडि बास्ना छर्ने रुखहरू समेत पानीसम्म निहुरेका छन् । घाम न्यानो र चम्किलो भएको छ । उसले पखेटा फट्फटायो, मसिनो घाँटी ढल्कायो र प्रसन्न भएर भित्री मनले भन्यो, “कुरूप टिउरो छँदा यस्तो खुशी मैले सपनामा पनि देखेको थिइन ।”
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)