~हरि आत्रेय~
“भाइ बैनी हो, भोली देखी टिफिनमा जङ्क फुड नल्याउनु है । स्कुलमा यस्तो निर्णय भएको छ ।” छुट्टी हुने बेला मिसले सुनाउनु भयो ।
भोली पल्ट स्कुल जाने बेला भयो । ममिले टिफीनमा मलाई मन पर्ने चाउचाउ दिनुभयो ।
“ममि आज देखी जङ्क फुड लानपाइदैन रे । मिसले भन्नु भाको।”
“बेलुका नै भन्नु पर्दैन त ?”
“बेलुका होमवर्क गर्दा गर्दै भन्नै बिर्सेछु क्या ममि।”
“केही तयार छैन,के गर्ने त ! आज यहि लैजाउ । भोली देखी बनाउँला। काममा जान ढिला भइ सक्यो।”
प्वाँ,…… प्वाँ……, प्वाँ……, । गाडिले हर्न बजायो ।
ममिले झोला मिलइदिनु भो र बस चढाएर काममा जानुभयो । मनमा धेरै डर लागिरहेको थियो । आज मिसको पिटाइ खानु पर्नेभयो । के गरौ के गरौ भइरहेको थियो । बसमा सगै बसेको मिल्ने साथीलाइ साधें ।
“बसुधा हेर न, मैले त ममिलाइ भन्न बर्सेछु ।”
“के कुरा ?”
“हिजो मिसले टीफिनमा जङ्क फुड नल्याउनु भनेको कुरा । “
“के ल्यायौ त ?”
“उहि मेरो मन पर्ने चाउचाउ । गेटमै चेक हुन्छ होला ? भनन् के गर्ने ?”
“रेखा, फाल्देउ । पिटाइ सानु भन्दा त फाल्नु नै बेस ।”
“नाइ बसुधा । मैलाई एउटा आईडिया आयो ।”
“के आयो त्यस्तो अइडिया ? “
“हाम्रो स्कुल नजिकै बस्ने माग्ने बुढी आमालाइ दन्छु ।”
स्कुल आइपुग्यो । सबैजना बसबाट ओर्लन थाले । गेटपाले अंकलले सबैको झोला चेक गर्न थाल्नुभयो । म बाहिर तिर लागें अंकलल देख्नु भएछ ।
“रेखा, ए रेखा कता गएको ? आउ ।”
“अंकल, म कलम किन्न गाको।”
“ल छिटो आउ है।”
हतार हतारमा अमालाई चाउचाउ दिएर फर्कीहाल्याँ । धन्न पाले अंकलले देख्नु भएनछ ।
“खै त तिम्रो टिफीन ?” पाले अंकलले सोध्नु भयो । म अक्क न बक्क भएँ । “ए, व्यागमा राख्न छुटेछ अंकल ।”
“ल भोली देखी नविर्सीनु है ।” पाले अंकलले भित्र पठाउनु भयो । अंकललाई ढाँटेकोमा मनमनै पिरपरिरहेको थियो ।
“भाई बैनीहरू अर्को सूचना नभए सम्म स्कुल छुट्टी छ है ।” मिसले भन्नु भयो ।
“के को मिस?” रेखाले सोधिन् ।
“विश्व भरी कोरोना भन्ने रोग आएको छ । यो सरूवा रोग हो । मानिस बाट मानिसमा अति छिटो सर्छ । हामी घर घरमा सुरक्षित भएर बसेमा यो रोग सर्न सक्दैन । त्यही भएर । अर्को सूचना नभए सम्म घरमै बस्नु है । बाहिर नजानु । घरमा पनि सबैलाई त्यसै भन्नु ल ?”
“हुन्छ मिस।” हामी सबै छुट्टी भने पछि धेरै खुसी भयौ । पुलिसले बाहिर कोही हिड्न दिएन । घरमै लकडाउनमा राख्यो ।
टिङ्र,….. टिङ्र । घरको घण्टी बज्यो । पुलिस आएको रहेछ । बाबाले एक बुढी आमालाई हातमा समातेर भित्र ल्याउनु भयो । आमाको हातमा एउटा कागज पनि थियो । बाबा त्यो कागज हेर्दै आमाको अनुहार हेर्दै पिलपिल रोईरहनु भएको थियो । “बाबा किन रुनु भएको?” बाबा झन् बेस्सरी रूनुभयो ।
“नानु मेरो बाबा, तिम्रो हजुर बाबा बितेपछि आमामा बिर्सने, एकोहोरिने रोग लाग्यो । धेरै उपचार गरियो । निको भएको थिएन । एक दिन आमा राति उठेर हिड्नु भएछ । धेरै खोजियो । सूचना गरियो । कहि फेला पारिएन । आश मारेर बसियो । अहिले कोरोना रोग विश्वभरी नै महामरीको रूपमा फैलिएको छ । महामारीको बेलामा कोही बाहिर निस्कन पाइदैन । सडकमा बन पाईदैन । सडकमा रहेका असहायकालाई घर ठेगना खोजीखोजी पुलिसले घरमा पुर्याउने गरेको छ । यो हजुर आमाको नागिकता हो । यसैको अधारमा पुलिसले आज घर ल्याइदिएको छ । त्यैले म खुसीमा रोएको हो छोरी ।”
मैले यसो नियालेँ । वहाँ त मैले चाउचाउ दिएको आमा पो हुनुहुदो रहेछ । धन्य बाबा,कोरोनाको कारणले आज हामीले हजुर आमा पायौं । अब नाम पनि “होरोना हजुर आमा” राख्खौं है बाबा ।
हरि आत्रेय,
-तनहँु, हालः सानोठिमी भक्तपुर ।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)
कथावस्तु र लेखनशैली एकदमै मन पर्यो ।