~जीतबहादुर कटुवाल~
आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको धन्दा सकेर समिरा बरण्डामा बसेर सुस्ताउँदै थिइन् । बिहानै उठेर घर सफा गर्नु , दूध दुहुनु खोले पकाउनु अनि घरका सदस्यहरूलाई चिया खुवाएर बिहानको खानाको तरखर गर्दा आठ बजिसकेको हुन्थ्यो । सानी छोरीलाई हेरचाह गर्नु , बारीमा तरकारी गोडमेल गर्नु र अरु काम पनि उनीले सम्पादन गर्नु उनको दायित्व भित्र पर्दछन् ।
बरण्डाबाट पर्तिर हेर्दै थिइन् । पल्लाघरकी कोकिला दिदी आँगनमा टुप्लुक्क देखा परिन् । उनको मुखका कालो मास्कले ढाकिएको थियो । “ लक डाउनको बेला घर छोडेर हिँडनु त हुँदैनथ्यो तर मन मानेन । आज मातातीर्थ औँशी । सधैँ माइत जाइन्थ्यो । बिहा गरेको एघार वर्षमा पहिलो पल्ट आमाको मुख हेर्न पाइएन । ” उनले समिरालाई हेर्दै फत्फताइन् ।
“ आ , आफ्नी आमालाई जहिले हेरे पनि हुन्छ नि किन औँशी नै कुर्नु प¥यो नि । मलाई त खासै फरक अनुभूति छैन । भौतिक दूरी कायम गरेर बस्नुपर्छ है । ” कोकिलाको जवाफ दिँदै समिराले अलिक पर कुर्सी राखिदिइन् ।
कोकिलाले मुखको मास्क चिउडोमुनि झार्दै कुर्सीमा थ्याच्च बसिन् । अनि आँखीभौँ खुम्च्याँउँदै भनिन् ,“ हैन ,तिम्रो त मन पनि कति अररो हौ । पोहोर पनि आमाको मुख हेर्ने दिन माइत गइनौ । अहिले पनि यसो भन्छ्यौँ । ”
कोकिलाले पोहोरको कुरा सम्झाउँदा समिराको मनै अमिलो भएर आयो । “ आफ्नो माइत जाने मन कसको हुँदैन र ! आफ्नी आमाको दर्शन गर्ने इच्छा कसको हुँदैन र ! ” उनले मनमनै सम्झिन् ।
एकैछिनको सन्नाटा चिर्दै समिराले भनिन् , “ यसपालि त कोरोनाको महामारीले अन्य क्षेत्रहरूलाई जस्तै चाडपर्वलाई पनि असर पारेको छ । मुलुक एक महिनादेखि लक डाउनको जन्जिरले जकडिएको छ । मान्छेलाई हातमुख जोर्न त धौधौ परेको छ भने चाड र संस्कृतिका लागि खासै उत्साह पनि छैन । संस्कृति र चाडपर्व त बाँचेपछि पो मान्नुपर्छ । पहिला त सुरक्षित रहनु प¥यो ,स्वस्थ बन्नु प¥यो । बाँचियो भने अर्काे साल पनि त चाडपर्व मान्न पाइन्छ । “
,“ मातातीर्थ औँशीको अघिल्लै दिनदेखि बाटामा भिडभाड हुन्थ्यो । खानेकुरा फलफूल र कपडाका पसल खुब चम्किन्थे । यसपालि त कोरोना लकडाउनका कारणले हिँडडुल गर्न त पाइदैन । बस चल्ने त कुरै भएन । साथमै हुनेले र नजिकै हुनेले आमाको दर्शन गर्लान् । टाढा हुनेले त फोनमा कुरा गरेरै चित्त बुझाउनु पर्ने भो । मैले त आमालाई यसपालि चौवन्दी चोलो र दुई आनाको औंठी बनाइदिउँला भनेको त जुर्दै जुरेन । “ कोकिलाले नजानिँदो पाराले रवाफ प्रदर्शन गरिन् ।
दुवैले कुराकानी थाती राखेर पर बाटोतिर हेरे । बाटो पनि सुनसान थियो । कोही सडकमा देखिएका थिएनन् । सिरसिर हावाले सिसौका कलिला पालुवा यताउति हल्लिरहेका थिए । अनि वृक्ष शाखामा एक हुल पक्षी कल्याङकुलुङ गरेर बाझिरहेका थिए । पहेँलो पुच्छर भएको सानो चरा पर्तिरको हाँगामा बसेर रमिता हेरिरहेको थियो । कोकिला हाइ काडदै उठेर घरतिर लागिन् ।
समिराले बाख्रालाई घाँस हालिदिइन् । सानी छोरी अझै सुतिरहेकी थिइन् । बिहानै सबैलाई चिया खुवाइसकेर आमालाई फोन गरेर फोनमै आमाको दर्शन गरेकी थिइन् । धेरैबेर कुरा गर्ने फुर्सद थिएन । लक डाउन सकिएपछि आउँछु , पिर नगर्नु होला भनेर फोन राखिदिइएकी थिइन् । अहिले पो उनलाई आमाको यादले पिरोल्यो । एक पटक झलक्क हेर्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो ।
समिराले बाल्यकालदेखिकै स्मरण गरिन् । आमाले उनलाई ताते गर्दै हिड्न सिकाएको ; मामा,काका, नाना गर्दै बोल्न सिकाएको ; कोखाइ गर्दै खान सिकाएको । समिरालाई सानाका सबै कुरा याद छैन । तर आमासँग सम्बन्धित कतिपय घटना मिठो सपनाजस्तै अझै भुल्न सकेकी छैनन् । एउटा सन्तानलाई हुर्काउँदा बढाउँदा आमाले कति त्याग र कस्ट उठाएकी हुन्छिन् भन्ने कुरा उनी अलिअलि अनुभव गर्दैछिन् । घटना नौ वर्षको झाडा पखालाले इन्तु न चिन्तु हुँदा आमाले उसलाई बोकेर रुँदै एक घण्टा हिँडेर डाक्टरकहाँ लगेको सम्झना शिलामा खोपिएका अक्षरजस्तै उसको स्मृति क्यानभासबाट अहिलेसम्म मेटिएको छैन । उनलाई ज्वरो आउँदा आमालाई पिरले सताउँथ्यो । उनकी आमालाई उनलाई पिठ्युमा बोकेर बारीमा मकै गोडेको याद छ । काँखमा बोकेर बोकेर गाउँघर डुलाएको स्मृति पनि ताजै छ । आमा कतै गएर घर कसैले खान दिएका एक कोसा केरा पनि छोराछोरीलाई सम्झेर पोल्टामा हाल्नुहुन्थ्यो । उहाँ आफ्ना सन्तानलाई आफूलाई भन्दा माया गर्नुहुन्थ्यो । उहाँ बिहानै उठेर पानी ल्याउनुहुन्थ्यो । आगो फुक्नुहुन्न्थ्यो । घर लिपपोत गर्नुहुन्थ्यो । गाईवस्तुलाई घाँस ,खोले गर्नुहुन्थ्यो । बारीको काम गर्नुहुन्थ्यो । अनि आफ्ना छोराछोरीलाई खाना पकाएर खुवाएर घरको कामधन्दा सकेर खेतमा काम गर्न जानुहुन्थ्यो । आराम भन्ने कुरा उहाँको दिनचर्यामा अटाउँदैनथ्यो । मेसिनझैँ उहाँ काममै अविरल व्यस्त हुनुहुन्थ्यो । अझै पनि उहाँमा श्रममैत्री स्वभाव विद्यमान छ ।
उहाँका स्नेहालु हातमा अनौठो जादु रहेको छ । टाउकोे दुख्दा आमाले मायालु पाराले निधार छामेपछि हलुका महसुस हुन्छ । उहाँ टाउकामा सुम्सुम्याएर मातृस्नेह खन्याएको मलाई असाध्य मन पर्छ । उहाँका मुखको बोलीबाट अव्यक्त कुरा अनुहारको भाषाबाट व्यक्त भइरहेका हुन्छन् । उहाँ हाम्रा लागि महान हुनुहुन्छ । हुनत सबै बाबुआमा छोराछोरीका लागि महान हुन्छन् । कति छोराछोरीले अनुभूति गर्छन , कतिले गर्दैनन् । कतिले आमाबाबु बितेपछिमात्र आमाबाबुको मशत्व बोध गर्छन् । छोराछोरीको सफलतामा आमाका आँखामा झल्किने सन्तुष्टी र फ¥याकफुरुक बिछटट किसिमको हुन्छ ।
समीराले आफ्नी आमाको निश्चल अनुहार आफ्ना दुई आँखा अगाडि सल्बलाएको देखिन् ।
अघि कुरैकुरामा कोकिलाले पोहोरको कुरा सम्झाइदिइन् । समिरालार्ई पाहोरको मातातीर्थ औशीको याद आयो ।
मातातीर्थ औशीका दिन आमाको मुख हेर्न जानका लागि समिराले महिना दिन अघिदेखि नै मनभित्र अभिलाषाको विरुवा रोपेकी थिइन् । जतिजति औंशी नजिक आउँथ्यो उतिउति उत्साहको बिरुवा झ्याङिदै गएको थियो । अघिल्लो दिन नै हाट गएर आमालाई सम्झेर रातो मजेत्रो किनेकी थिइन् । अनि आधा दर्जनजति चुरा किनिन् । आधा आधा किलो स्याउ र अङ्गुर किनिन् । हुन त आफ्नी आमालाई साडी नै किन्ने विचार थियो । तर पैसाले पुगेन । यतिकैमा चित्त बुझाइन् । उपहारको फुर्तिभन्दा पनि ज्यादा मातृदर्शनको अभिलाषा उनको मनमा विकसित थियो । उनलाई आँगनमा देखेर आमा मुसुक्क मुस्काउँनेछिन् । बुबाको हृदय खुशीले नाङ्लोजत्रै हुनेछ । भाइबहिनी पनि दिदीको अघिपछि गर्दै दङ्गदास बन्नेछन् । उनले मनमनै माइतघर पुगेको मधुर कल्पना गरिन् ।
बेलुकाको खाना खाँदै गर्दा सासूले भनिन् , “ एक दिनका लागि मरिहत्ते गरेर माइत जान पर्दैन । अर्काे महिना जानु । ”
एकाएक सासूको कुरा सुनेर समिराका नौनाडी फतक्क भए । कति दिनदेखिको मनमा गोडमेल गरेको उत्साहको विरुवा ओइलिने लक्षण देखियो । हृदयको अभिलाषा धरापमा पर्ने छाँट आयो । उनको मुहारको रङ फेरियो । मजेत्रोलाई शिरमा मिलाउँदै बिस्तारै भनिन् , “ हैन ,आमा ! भोलिपल्ट त बिहानै आइहाल्छु नि । बरु बिहानै एक भारी घाँस काटेर राखिदिन्छु । आमाले पनि जसरी नि आउनु है , भन्नु भा छ । ” समिराले सकेसम्म आफ्नो बोलीमा नम्रताको लेपन लगाउँदै बोलिन् । “ त्यसो भनेर कहाँ हुन्छ ? म बूढी मान्छे यी गाईवस्तु स्याहार्न सक्दिन । घरको धन्दा कसले गर्छ ? फेरि तेरा नन्द आमाजू पनि भोलि आउँछन् । उनीहरुलाई कसले पकाएर खुवाउँछ ? जान पर्दैन । जान मन लागे अर्काे महिना जानु ।”
सासूले अन्तिम निर्णय सुनाइन् । ससूराले पो यस बेला केही सहानुभूति देखाउलान् भन्ने झिनो आशा थियो । तर सासूको हैकमका अघि विचरा नतमस्तक थिए । भित्र मनमा लागे पनि भन्ने आँट उनमा थिएन ।
चार वर्षदेखि त्यस घरमा बुहारी बनेर भित्रिएदेखि समिराले बुझेको ब्रह्म ज्ञान थियो यो ।
भोलिपल्ट मातातीर्थ औंशीका दिन आमालाई फोन गरेर मलाई भएन पछि आँउछु भनिन् । फोन गरिसकेपछि मन थाम्न सकिनन् । घोप्टो परेर रुँदा रुँदा गरिन् । उनको असन्तुष्टि आँसु बनेर बग्दा पनि सकिएन । दिउँसो नन्द र आमाजू आए । उनीहरुलाई खाना खाजा खुवाइन् । घर धन्दा गरिन् । तर उनको आङमा अझै पहारिलो घाम लागेको थिएन ।
नन्दले भनिन् , “ भाउजू त माइत जानु भएनछ । हुन त कर्म दिने आमा पनि त कर्म दिने आमा जस्तै त हो , यतै मुख हेरे पनि भै हाल्यो नि । ”
आफ्नी छोरीको कुरा सुनेर सासू गजक्क परिन् । सबै जना ठाँटिएर माइत गएको देख्दा समिराको मन औधी पोलेको थियो । यही बेला नन्दको रुखो बोलीले उनको मन झनै कुँडियो ।
“ हो त नि , जन्म दिने र कर्म दिने उस्तै हुन् । तपाई पनि उतै सासूको मुख हेर्नु भा भइ हाल्थ्यो नि । किन आउनुभा । ” नन्दलाई यसो भनेर मुख बुजो लाइदिन उनलाई मन लागेको थियो तर मुख थामिन् । चाडबाडका दिन माइत आएकी चेलीको चित्त दुखाउन उचित लागेन । उनले यसो भन्नु हो भने बिनसित्तिमा घरमा ठूलै रडाको हुन सक्थ्यो । अनि यसको सबै दोष समिराकै थाप्लामा आइपथ्र्याे । नन्दलाई पनि के थाहा होस् , समिरा आफैँ जान नचाहेकी हुन कि आमाले जान नदिएको हो भनेर ।
“ मलाई त यो देखावटी कुरा पटक्कै मन पर्देन । कतिपयले त फेसबुकमा फोटो हाल्न कै लागि अनेक नाटक गर्छन । ” समिराले मनमनै भनिन् ।
केही दिन अघि एकजना साथीले कुरैकुरामा भनेकी थिइन् , “धेरैजसोले बाँचुन्जेल बाबु आमाको राम्रो हेरचाह गर्दैनन् अनि मरेपछि मात्र बाबुआमाको महत्व बोध गर्छन् । मरेपछि खा बाबै लड्डु भनेजस्तै हो यो । वर्षको तीन सय चौसठ्ठी दिन बाआमालाई बेवास्ता गर्छन् अनि एक दिन चाहिँ अनेक पकवान्न खुवाउँछन् ,वस्त्र चढाउँछन् । यो सबै ढोङ यो देखावटीपन हो । ”
समिरालाई ती साथीले भनेको कुरा घत लाग्यो । उनले यो पनि भनेकी थिइन् , “वृद्ध आमाबुबाको सेवा नै सबैभन्दा ठूलो धर्म हो । उहाँहरुको आदर गर्ने , बोलेका कुरामा झर्काे नमान्ने ,सञ्चो विसञ्चो दैनिक सोधिरहने गर्नुपर्छ । बुबाआमा भनेको संसार देखाइदिने साक्षात ईश्वर हुन् । ”
साथीले भनेको कुराले उनको मन छोयो । अनि आजकाल संस्कार संस्कृति ,चाडपर्वमा अलिकति तडकभडक पनि मिसिएको ठानिन् । “यसपालि त यस्तै भो । लक डाउनले गर्दा जान पाइएन । अर्काे साल त जसरी भए पनि आमाको मुख हेर्न जान्छु ,जान्छु । ” समिराले बिस्तारै बोलिन् ।
उता टाटनामा बाँधेका बाख्रो प्या प्या गरी घोक्रो फुटने गरी कराएको आवाज आयो । अल्झिएकी क्या हो । बाख्राको आवाजले सानी छोरी पनि ब्युझिएर रुन थालिन् । छोरी लिन जाउँ कि बाख्रा हेर्न जाउँ दोधार हुँदै समिरा बाख्रा भएतिर दौडिन् ।
रतुवामाई ८ ,दाम्राभिट्टा मोरङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )