~कृष्ण राजभण्डारी ~
केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । “आज किन ढिला नि ?” श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, “तपाईको आज भोलि मति विग्रिएको जस्तो छ ?”
यो सुन्ना साथ एक्कासी मेरो आँखा उनको अनुहारमा ठोकिन पुग्यो । उनको अनुहारमा आक्रोशले भरिएको थियो । उनको अनुहारमा हेरिरहे र सोचे “आज भोलि समय ठिक छैन, साँझ ढिलासम्म वाहिर नबस्नु भनेकी भए कति राम्रो हुन्थ्यो, तर फरक किसिमले भनिन् । मैले उनको भनाइको जवाफ दिन उचित ठानिन ।
“सुन त आज पनि गायत्री लोग्नेलाई कराउदै छिन् । भिमसेनले पिएर आए जस्तो छ ।” मैले कुरालाई अन्यत्र मोड्न खोजे । “लोग्ने मान्छेहरु को मात्र गतिला छन् र ? आफ्ना श्रीमतीलाई दुख दिन जानेका त हुन्छन् नि ।” मेरी श्रीमतीले यसै निहुमा मलाई समेत मुछेर भनिन् ।
“तिम्रो श्रीमानलाई अरुसँग दाँज्न मिल्दैन । मैलै यसरी कहिल्यै पनि पिएर आएको छैन।” मैले आफ्नो निर्दोषिताको स्पष्टिकरण दिएँ ।
हुन त पिएकै निहुमा झगडा नभए पनि यस्ता सामान्य झगडा त मेरो पनि प्राय झै भइरहेकै हुन्थ्यो । झगडामा एकले अर्कोलाई भनेका कुराहरुलाई त्यती हेक्का राखिदैन र वास्ता गरिदैन र मात्र हो, झगडा त कति पटक पर्यो पर्यो । चियाको तातो चुस्कीसँगै विगतका झगडाहरु सम्झन्छु । छोरा–छोरीको स्कूलबाट वाइट बिल पठाएको रहेछ। “लिनुस्!” श्रीमतीज्यू भित्रबाट हातमा बिल देखाउदै फेरि मेरो नजिक आइन् ।
मलाई चियाले मात लागे जस्तो हुन्छ, शरीरका अङ्गहङ्गमा रीसका आवेगहरु सलवलाउन थाल्छ । म सम्हालिन खोज्छु, । तर सक्तिन । “स्कूलको फिस त अस्ति मात्र तिरेको होइन र ? फेरि यो कुन महिनाको बिल ल्याएको ?” मेरो मुखबाट एक्कसी प्रश्नहरु खनिन थाल्छ । बिल शव्दसुन्यो कि कराउन थाल्छ ।
“यो बिल शव्दसंग नै एलर्जी भएको छ कि के हो तपाइको ?” श्रीमतीज्यू झन ठूलो स्वरमा कराउदै बिल नदिइ भित्र जान्छे ।
महिनामा कति मात्र बिल आउछ ? छोरा–छोरीको स्कूलको विल्, छोराको औषधिको बिल, पानीको बिल, बत्तीको बिल, टेलिफोनको बिल र राशनको बिल । अझ पत्रपत्रिका, केवल र इन्टरनेटको बिल त बाँकी नै छ । यी बिलहरु फेरि कति छिटो छिटो आएर सताउछन् वा ? बिल शव्द सुन्नै वाक्क लाग्न थालि सक्यो । आफ्नो तलव भने महिनाको अन्तमा वल्लतल्ल एक पटक लिइन्छ । त्यसमा पनि कहिले वाढी पिढितलाई चन्दा कटाएको हुन्छ, कहिले भूकम्प पिडित र द्धन्द पिडितलाई त कहिले विभिन्न चिट्टाहरुमा कटाउने गर्छन् । त्यस माथि नागरिक लगानी कोषमा नकटाए आयकर लाग्छ रे । सवै तिर कटाएर पाएको रकमले कतिवटा मात्र बिलको भुक्तानी गर्नु ? पाएको तलव चालु बिलको भुक्तानी तिर्नै पुग्दैन । मीठो खानु, राम्रो लगाउनु र अरु मनोरन्जन गर्ने इच्छाहरु त सधै पेन्डिङ्गमा रहने गर्दछ । म आफ्नो मासिक आय व्ययको विवरण सम्झदै टोहोलाई रहन्छु । श्रीमतीज्यूले धन्य पुर्याएकी छिन् । उनको मितव्ययीता देखेर दया पनि लाग्छ । तर यसरी दया देखाइयो भने झन खर्चालु हुन्छिन् । त्यसको बढ्दो भार आफैंले बोक्नु पर्ने हुन्छ, त्यसैले समय समयमा नियोजित रुपमा कराउनै पर्छ । मनमनै झगडा गर्नै पर्ने वाध्यता पनि सम्झन्छु ।
मेरो श्रीमतीज्यू पनि प्राइभेट अफिसमा काम गर्न थालेकि छिन् । दुवैको कमाइले अव चाही घर चलाउन केही सजिलो हुन्छ हगि ? मैले उनी समक्ष आशा र सुशीको कुरा राखें । घर खर्च चलाउने जिम्मा त लाग्ने मान्छेको हो । मेरोे तलव चलाउन पाइदैन । जुनसुकै काममा महिला सहभागीताको कुरा गर्छन्, घर खर्च चलाउने काममा महिलाहरु सहभागी हुन किन मिल्दैन ? मैले कडा प्रतिवाद गरे । मेरो भनाइप्रति कडा रुपले असहमति जनाइन् । मैले धेरै वोल्न चाहिन ।
सवै घर व्यवहार उनैले हेर्ने गर्छिन् । म त्यसको कुनै वास्तै गर्दिन थिएं । जव जव घाटा वजेट चलाउनु पर्ने अवस्था आउछ तव उनले मलाई खर्च विवरण देखाउने गर्छिन् । यसबाट वजारमा महङ्गी बढेको अनुमान गर्न सकिन्थ्यो । होइन वचत हुँदा मलाई वास्तै नगर्ने अनि खर्च नपुगेपछि मात्र किन देखाउछौं ? म उनलाई प्रश्नगर्थें । मेरो प्रश्न गराइबाट उनी आक्रोशित हुन्थिन् । मेरो पनि तलव वाहेक थप आम्दानी छैन । जसरी पनि पुर्याउनै पर्छ । आफ्नो निरिह्यता सहितको वास्तविकता देखाए पनि उनी गुनगुनाइ रहन्थिन्् ।
कति नै अफिसर भनेर विवाह गरियो । खान लाउन सधैको धौ धौ । जीवनका आधारभूत कुराहरुमै नपुग्ने गरी कसरी निर्वाह गर्नु ? बरु तरकारी पसलेसंग विवाह गरेकि भए यस्तो समस्या त भोग्नु पर्दैनथ्यो होला ? उनी मलाई सुनाउने हिसावले गुनगुनाउदै थिइन् । उनको भनाईमा गडिदो चित्त दुखाइको भाव बुझिन्थ्यो । तरकारी पसलेसगै विवाह गरेकीले त हो नि गायत्रीले सधै जड्याहा लोग्नेको कुटाइ खानु परेकि ?अहिले सम्म तिमीले एक थप्पड पिटाई खानु परेको छैनौ नि । अप्रत्यक्ष रुपले फुलाउदै उनको नजिक जान्छु । खोइ पर जानस्, उनी मलाई धकेन्दै भान्छामा जान्छिन् । खाना खान वोलाएकि हो र ? म उनीसंग वोल्ने बहाना खोज्छु । पाक्दै छ । ग्यास सकिन लागे जस्तो छ, आज ग्यास राम्ररी वलेको छैन । म पुन वरण्डामै पर्किन्छु ।
अलिक हलुका अनुभव के गरेको थिएं, फेरी ग्यासले टेन्सन थपिदियो । अरु कुरा त पैसा भए सजिलै पाइन्छ तर यो ग्यास पैसा भए पनि पाइदैन । सधै लिने गरेको ठाँउमा कहिल्यै छ भन्दैन । अरु ठाँउमा बढी मुल्य नतिरे पाइदैन । यो कस्तो वजार व्यवस्था हो ? वाक्कै लाग्छ । सरकारले पनि वास्तै गर्दैन । हुन त म पनि सरकारी कर्मचारी नै हुँ । त्यसमाथि पनि अधिकृत । म एक जनाले वोलेर के नै हुन्छ र ? यँहा नारा जुलुस्, चक्का जाम र तोडफोड् गरेपछि मात्र सुनुवाई हुने चलन छ । पिडितको सामाजिक हैसियत हेरेर घटनाको सुनुवाइ हुने गर्दछ । सामान्य व्यक्तिको गुनासो कसैले सुन्दैन ? पिडित सधै मर्कामा परेको पर्यै हुन्छ । मेरो नैराश्यताका सिमाहरु झनै फराकिलो हुदै जान्छ । म यस्तै निराशाजनक सोचाइमा डुविरहेको हुन्छु , ल जाँऊ , खाना तयार भयो । श्रीमतीले खाना खान वोलाउछिन् । म भान्छामा जान्छु ।
उनले गरेकि सम्वोधन प्रति मेरो ध्यान आकृष्ट हुन्छ । उनको यो सम्वोधन गराइ समय समयमा परिवर्तन हुदै आइरहेकोछ । यस सम्वोधन गराइले उनको खुसीपनको मापन गर्ने गर्दछ ।
छोरा छोरी नँहुदा हाम्रो आम्दानीले घर धान्न राम्रो पुग्थ्यो । त्यतीखेर उनले “हजुर“ शव्दले सम्वोधन गर्नेगर्थिन । यो सुन्दा मलाई कता कता आनन्द लाग्दथ्यो । र भन्थे विवाह गर्दा पढेलेखेकि युवतीसंग नै गर्नु पर्नेरहेछ । यो सम्वोधन छोरा नजन्मिएसम्म कायम रह्यो । छोरा जन्मिए पछि परिवर्तनको लक्षणहरुदेखिन थाल्यो । छोरा हुर्काउनै कठिन । सधै झै विरामी परिरहने । औषधी उपचारमा खर्च वढ्न थाल्यो । यसको असर अन्यत्र पनि पर्न थाल्यो । फलस्वरुप उनले सम्वोधनमा “तपाई“ शव्द प्रयोग गर्न थालिन् । उनले पनि काम गर्न थालेदेखि “तिमी“ शव्दले सम्वोधन गर्नथालिन् । मैले यसलाई वाहिरी वातावरणको प्रभाव वा घनिष्ठ आत्मियताको रुपमा लिने गरेको थिए । म भित्र बाध्यता वा एक किसिमको कमजोरीले आश्रय लिन थालेको थियो । छोरा छोरी दुवै स्कूल जान थालेदेखि खर्च वढेको छ । म प्रति घर परिवारको जिम्मेवारी र अपेक्षा वढेको छ । वजार भाउ वढेको छ । विविध कारणले हिसाव विवरण झनै चौपट वन्दै गएको छ । अहिले उनले पनि छोराको “वाउ“ वा “ए“ भनेर वोलाउने गर्छिन ।
अव त श्रीमतीज्यूको सम्वोधनलाई त्यति ध्यान दिन छाडिसके । त्यो भन्दा ठुलो पिडा अर्कै छ, त्यो हो हामी वीचको सम्वन्धलाई कसरी स्थायित्व दिने ?
महिनाको दुई हप्ता हामी वीच राम्रो सम्वन्ध रहन्छ । जव तेश्रो र चौथो हप्तामा प्रवेश गर्न थाल्दछ अनि स्कूलबाट ह्वाइट बिल, पानी, बत्ती र टेलिफोनको बिल आउन थाल्दछ । त्यसपछि घरको रौनक अर्कै हुन्छ जुन मासिक तालीकाको रुपमा हुने गर्दछ ।
एक दिन अफिसबाट घर आएपछि सदा झै म चिया पिएर वसिरहेको थिएं । एक जना कलेजको साथीकि श्रीमती आइन् । उनी नव दुलही झै झपक्कै सिगारिएकि थिइन् । कान, गला र हातका नाडिमा गहनाको प्रदर्शन त्यस माथि बहुमुल्य साडी, चोलो, जुत्ता र व्याग । यसले उनको श्रीमान्को आम्दानीको स्तर देखाउथ्यो । श्रीमतीज्यूको मात्र होइन उनको लवाइ प्रति मेरो पनि ध्यान गयो । अहिले उहाँ कहा हुनुहुन्छ ? मैले सोधे, बीरगंज भसांरमा हुनुहुन्छ । मेरो प्रश्न भुइमा खस्न नपाउदैन उनले भसांरमा हुनुलाई गर्व मानेर हतारले सुनाइन् । उनको सजावट देखेर मेरी श्रीमतीज्यू आफूलाई हिनतावोध मान्दै थिइन् अनि मलाई नामर्द लोग्ने । उनको हेराइ र घुराइबाट यही झल्किन्थ्यो ।
“तपाईहरु सँगै जागिर खाएको भन्नु भएको होइन ?” श्रीमतीज्यूले सोधिन् ।
हामी वीचको आयस्तरमा किन यति ठूलो फरक ? मेरी श्रीमतीज्यूको सोधाइमा यही व्यङ्गात्मक भाव लुकेको अनुमान लगाए ।
“हो, हामीले सगैं जागिर खाएका हौं ।” उनको सोधाइको सहज जवाफ दिए ।
जव उनी बिदा भएर गइन् श्रीमतीज्यूले अघि मैले गरेका अनुमानहरुलाई सिधै सोधिन् । तपाई पनि त्यस्तो ठाँउमा जान मिल्दैन ?
मिल्छ । तिमीले केही कुराहरु गुमाउन तयार हुनु पर्छ । सक्छौ ? मैले प्रतिप्रश्न गरे ।
के कुरा हो त्यस्तो ? उनले जान्न इच्छुक गरिन् ।
केही समयको लागि श्रीमान्को साथ गुमाउनु पर्ने हुन्छ । उस्तै परे सधैको लागि पनि तयार हुनुपर्छ । सक्छौ ? अफिसबाट आउन १० मिनेट ढिला हुदा त मसंग स्पष्टिकरण सोध्थ्यो ? लामो समय छुट्टिनु पर्दा के गर्छौ ? उनले निर्णय लिन सकिनन्, त्यसैले उनी वोलिनन् ।
हामी यसै विषयमा कुरा गरिरहेकै थियौं । रेडियोमा साझ ७ वजेको समाचारका मुख्य अंश आइरहेको थियो । राजश्वछलीमा सहयोग पुर्याउने बीरगंज भसारका अधिकृत लगायत अन्य पाच जना कर्मचारी प्रहरी नियन्त्रणमा, कानूनी कारवाही शुरु ।
ती को को परेछन् जान्न उत्सुक भएँ । अफिसका हाकिम सावलाई फोन गरेर सोधे । घटनामा मेरो साथि समेतको सम्लग्नता रहेको रहेछ । हाकिमसावको अध्यक्षतामा म समेत सदस्य रहेको छानविन समिति गठन भएको जानकारी पाएँ । अनुसन्धान तथा कारवाहीको क्रममा ठूलो रकम धरौटी माग गरियो । उनको घर जग्गा लगायत श्रीमतीको गहना समेतको विक्रिले पुगेन ।
केही दिन पछि तिनै साथीको श्रीमती मेरी श्रीमतीसंग सहयोगको लागि पुन आइन् । यस पटक उनी सामान्य पोशाकमा आएकी थिइन् । कान, गला र हातका नाडीहरुमा पहिले झै सुनको प्रदर्शन थिएन । उनको अनुहारमा चमक थिएन । बोलीमा समेत शिथिलता थियो । उनमा आएको यो परिवर्तन देखेर मेरी श्रीमतीज्यूले मलाई त्यस्तो ठाँउमा सरुवा नजान सल्लाह दिन थालिन् । खान लाउन जस्ता आधारभूत आवश्यकता सहेर कतिदिन वस्नु ? राम्रो लगाउने र मीठो खाने तिम्रो चाहना पुर्याउन सकेको छैन । छोरा छोरी पनि हुर्किसके । खर्च बढ्ने दिनहरु आउदै छन् । मैले तिनै साथीको ठाँउमा तत्काल सरुवा जाने चाहना देखाए । उनले विगतमा आफूले गरेकि गल्तीप्रति माफि मागिन् र भविष्यमा पनि नगर्ने वचन दिइन्। “मेरो हजुर, त्यस्तो ठाँउमा सरुवा जाने इच्छा नदेखाइस्योस्“ । उनले मलाई फकाउन थालिन् । म उनको परिवर्तित व्यवहारलाई नियालेर हेरिरहेको थिए । उनको अनुहार अनि आँखामा माया, प्रेम र मोहनीको जादूले भरिएको थियो । थाहै नपाई उनी मेरो आगाँलोमा वाधिन आइसकेकी थिइन् । म उनको मायामा भुलेछुु । मैले उनको त्यो मोहनी रुपी अगाँलोबाट टाढा हुने प्रयास गर्नै सकिन ।