कविता : मेरा बा

~सुनील बाबु श्रेष्ठ~

घुप्लुक्क घामका झुल्काहरु
धर्तीमा पोखिन नपाउदै मेरा बा कामको लागि
झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै
माथि माथि डाँडाको थुम्कोमा पुग्थे ।
अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै
निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे
र, दुईचार गाँस तातो भात टिप्दै
हतारिदै हतारिदै पुनः अर्को काममा पुग्थे ।

थाहा छैन मेरा बा’ले यो जागिरे जीवनमा
कति चोटी सुर्य उदाएका देखे होलान
कति चोटी सुर्य अस्ताएका देखे होलान ।
तर मेरा बा जोतिरहे आफ्ना लालाबालाका अनुहारमा जुन ल्याउन
आफ्ना घरको झ्यालबाट न्याना घामका झुल्काहरु पसाउन
ताकी आफ्ना सन्तानका ओछ्यानहरुमा ढुसी नउम्रिउन
र, चिसाले आत्तिएर आधा निन्द्रामा नउठून भनेर ।

मेरा बा’को सबैभन्दा प्रिय र ठुलो सम्पत्ति थियो ‘इमान’
माल कमाउने अड्डा भनेर चिनिने अड्डामा हुँदापनि कुनै गरिवको श्वास लुतेंनन
छोराछोरीको लागि कुनै आमाले साचेर राखेको गाँस लुछेनन
कसैको घरको धुरी च्यातेनन
मेरा बा भन्नुहुन्थ्यो
‘आफ्नै पसिना र मिहिनेतभन्दा पर गएर कुनै गरिवको आशा र आँसु नलुट्नु’ ।

मेरा बा निराशा नै निराशाका भारी बोकेर
फुटेका पैताला र च्यातिएका टोपी लगाएर कार्यालय आएका मान्छेहरुलाई
जतिसक्दो चाडो घर पठाऊन आतुर हुन्थे
त्यस वापत आफ्नै सहकर्मीहरु
मेरा बा’लाई लुकीलुकी आँखा तर्थे र मौका पर्खेर बस्थे ।

पूर्वका मेरा बा’लाई इमान राखे वापत
सरुवाको नाममा कर्णालीको कालिकोट हुत्ताईन्थ्यो
कहिले अनकन्टार गाउँमा फालिन्थ्यो
राज्यले गौरव गर्नुपर्ने माया गर्नुपर्ने मेरा वा’लाई
कहिले निलम्बन गरिन्थ्यो
कहिले झुटा मुद्धा लगाइन्थ्यो
आफनै देशमा लुकेर बस्नुपर्ने बनाइन्थ्यो
विचारा रोगले च्यापेका मेरा रोगी बा
जवर्जस्ती व्यवस्थाको बिद्रोही बनाईयो ।

चालीसौ जागिरे जीवन भरी आकासतिर हेरेर कुनै दिन
मेरा बा’ले खुईया गर्दै सुस्केरा हालेको देखिएन
कसैप्रति गुनासो गरेकोपनि सुनिएन
आफ्नै कर्ममा विश्वास गरिरहे
त्यो भन्दा पर पर गएर मेरा बा’ले अरु कुनै सन्तोष खोजेनन ।

तर उत्तार्धमा मेरा बा’ले
आफ्नो अधिकार पाउन, बाँच्ने आधार बनाउन काठमान्डू आएर
दुईचारवटा सयका दामहरु चडाउनुपर्यो
मेरो बा’लाई जवर्जस्ती इमान बेच्न लगाईयो
किनकि बाँकि जिबन मेरा बा’लाई आरामले बाच्नु थियो ।

कहिले हात नथापेका मेरा बा
आज कसैको हातमा दाम राख्दिनुपर्दा अफसोच मानिरहेका छन्
किनकी ति हात थाप्नेहरु
कोहि असाहय थिएनन्, कोहि रोगि थिएनन्
थिए त ति लुटिएका आलिसान बंगलामा
मोजमस्ती गरिरहेका सच्चा राष्ट्रसेवकहरु ।

बल्ल आज मेरा बा’ले आकाशतिर हेरेर लामो सुस्केरा हाले
छक्क पर्दै जडवत धर्तीमा उभिरहे…..उभिरहे…. ।

रातोपाटी अनलाईन खबर पत्रिकामा प्रकाशित

२०१९/०९/१४
दिक्तेल खोटाङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.