कविता : बर्बरिकको बयान

~प्रदीप ज्ञवाली~

म शिरोच्छेदित बर्बरिक
इतिहासको कठघराबाट
सुनाउँदैछु आज
आधुनिक महाभारतको एउटा ज्यूँदो कथा

पन्छाएर आफ्नो सोझो भाइलाई
गद्दीनसीन थियो
सत्तामोह र चक्रवर्ती उन्मादमा अन्धो
एउटा राजा धृतराष्ट्र
साथमा थियो उपद्र्याहा राजकुमार दुर्योधन
दिउँसै जो खेल्थ्यो मान्छेको शिकार
र वरिपरि थिए केही थान
भ्रष्ट, द्रोही र जाली भारदारहरू
अनि सँगै थियो कपडी शकुनी
यौटा थियो अभागी राज्य हस्तिनापुर
अन्धो राजाबाट आक्रान्त
गिँडबाट छुटिएको म मात्र टाउको बर्बरिक
साक्षी छु इतिहासको यो बुढो पीपल जस्तै
बयान गर्दैछु आज यौटा नयाँ महाभारतको
लुटिँदा कौमार्य दिउँसै सयौं नमिताका
रातो बन्थ्यो सेतीको बगर
गरिंदा सम्साँझै चीरहरण द्रौपदीहरूको
बादलले मुख छोप्थ्यो हिमाल
अन्धो धृतराष्ट्र
दुःशासनको परपीडक हाँसोमा
मुस्काइरहन्थ्यो एउटा कामुक मुस्कान
निर्लज्ज गनिरहेका हुन्थे खल्तीको दक्षिणा
द्रोणाचार्य गुरुहरू
कपाल कन्याउँदै छट्पटाइरहन्थे
लाचार भीष्म पितामहहरू
आँसुले चेलीहरूको/पग्लिँदै जान्थ्यो धरती
र रोइरहन्थ्यो चुपचाप नीलो सगर
दुब्लाउँदै थियो हस्तिनापुर/मोटाउँदै थियो दरबार
भाँचिंदै थिए कलम/टल्किंदै थिए तरवार
फुटाइँदै थिए सारंगी र कुल्चाइँदै थिए गायकहरू
देखिजान्ने गवाह सबै बारदातको
छलिएर टाउको छिनाइएको म बर्बरिक
आज बकपत्र लेख्दैछु इतिहासको अदालतमा

जलाउन खोजियो लाहाको घरमा
हजारौं सत्यनिष्ठ/न्यायनिष्ठहरू
मारिए राति-राति खाण्डवको जंगलमा
सयौं रत्न/सरोजहरू
सयौं भीम र सयौं मदनहरू
देश निकाला गराइए/झ्यालखानमा सडाइए
न्यायका अनेकौं योद्धाहरू
षड्यन्त्रका अनगिन्ती सुसेलीको
पीडाका बेगिन्ती सुस्केराहरूको
सुनिजान्ने साक्षी म बर्बरिक
सुनाउँदै छु इतिहाससामु
मेरो अन्तस्करणको आवाज
कहँदैछु आज कथा महाभारतको
सर्वस्व लुटिंदा पनि चुपचाप सहने
छाल झेल्ने होइन, त्यससँगै बहने
र पत्नीसमेत हारेर जुवामा
लुरुलुरु जंगलमा जाने र गुप्तवासमा रहने
साँच्चै हुस्सु थिए/सोझा थिए पाण्डवहरू
अन्त्यमा माग्दा
मात्र खुट्टा टेक्ने पाँचवटा गाउँहरू ?
फर्किनु पर्दा रित्तो हात
सत्ताउन्मादमा अन्धो धृतराष्ट्र
शिकारको शोखमा मत्त दुर्योधनहरू
सियोको टुप्पो जति धरती पनि
दिन नहुँदा तयार
सुरु भयो महाभारतको डरलाग्दो युद्ध
प्रपञ्चले गर्दा
न्याय पक्षमा लड्नबाट वञ्चित बर्बरिक
सुनाउँदैछु आज कथा महाभारतको
जो चलेको थियो सिंगो युगैभरि

बगे खोलाहरू रगतका
षड्यन्त्रपूर्वक मारिएका अभिमन्युहरू
र पनि झुकेन न्यायको झन्डा
सुकेन सत्यको दूबो
ढालिए इच्छामृत्यु भीष्म
मारिए अजम्बरी द्रोणी अजेय द्रोणहरू
माटोमा मिले छली जयप्रथ, कपटी शकुनि
र इतिहास बने अदम्य ठानिने कर्णा कृपाचार्यहरू
हेर्दाहेर्दै
गर्ल्याम्म ढल्यो
धनी बाबुको बिग्रेको छोरो दुर्योधन
पुत्रशोकले मेवाको बोटझैं लड्यो अन्धो राजा धृतराष्ट्र
बसेर पिपलको रूखमा म बर्बरिक
आज सुनाइरहेछु आफूले देखेको
यौटा कथा महाभारतको

युगौँदेखि उभिएर निश्चल
यो पिपलको बोटमाथि
मैले देखेको छु सयौं राजाहरूको पतन
मैले देखेको छु सयौं साम्राज्यहरूको विघटन
तर कहिल्यै देखेको छैन मैले
सत्यको हार, न्यायको हार
कहिल्यै देखेको छैन मैले
जनता/जनार्दनको हार
मेरै आँखा अगाडि
भत्किएको छ ऊ धृतराष्ट्रको दरबार
र उसको छोराको त्यो बलात्कारी कक्ष
पर धुवाउँदैछ अझै पनि
विलासी महलको खण्डहर
र फर्फाउँदैछ गोधूलि साँझमा
जनताको पताका फर्फ फर्फ

युगौंदेखि उभिएर निश्चल
शिरोच्छेदित म बर्बरिक
सुनाइरहेछु आज यौटा
आधुनिक महाभारतको कथा ?

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.